कुरा गत साताको हो, बेलुकाको ८ बजे तिर खाना खाएर परिवार यसो हिड्दै घुम्न निस्केका थियौं।
पोखराको न्यूरोडमा सवारी साधन चेक जाँच भइरहेको थियो। हामी पोखरा उपमहानगरपालिका तल पुगेर पुनः त्यही बाटो फर्किदै थियौं। बाइकमा सवार एक जोडीलाई ट्राफिकले रोकेर केरकार गरिहेका थिए।
एकछिन हामी रोकियौं र रमिते झै ट्राफिकका गतिविधि र ती जोडीको अनुनय विनय हेरिरह्यौ। बाइकवाला जोडीसँग लाइसेन्स ब्लु बुक नभएर चेकिङमा परे होलान् भन्ने लाग्यो। तर, ट्राफिकले लाइसेन्स र ब्लुबुक भएर मात्र हुन्छ भन्दै हप्काइरहेको सुनेपछि हामीले मापसे होला भन्ने ठान्यौं। तर, मापसे पनि नगरेको कुरा त्यही प्रहरीबाटै बुझियो। मनमा झन् यो जोडी किन समातिएका रहेछन् भन्ने खुल्दुली बढ्दै गयो।
यसै बीच एक प्रहरी पोशाकमा रहेका व्यक्तिले भने ‘सिधै गलफ्रेण्ड भन्ने ...? ऊ तेरो गलफ्रेण्ड भन्ने के प्रमाण छ? जो, पायो त्यहीलाई गलफ्रेण्ड भन्दै हिड्छस्? हामीलाइ नटेर्ने....? आदि इत्यादि भन्दै झपार्न थाले।
बल्ल कुरोको चुरो बुझियो उनी सवारी चेकिङमा रोकिनुको कारण। त्यस मध्येका अर्काले पनि चर्कै स्वरमा साइडमा उभिएकी हाफ पाइन्ट लगाएकी किशोरीलाई झपारे। ‘किन यस्तो लुगा लगाएर हिँडेको लाज शरम छैन?’
ठूलै अपराध गरेर समातिए झै ति किशोरी पनि डरले थर थर कामिरहेकी थिइन्। फेरि अर्का ट्राफिक पोशाक लगाएका प्रहरी बोले, ‘गाडी बोलाएर गाडीमा हालेर मामा घर पठाइ दे, एक रात मामा घरमै बस्छन्, बडो गर्लफ्रेण्ड लिएर हिड्ने हैन?’
ट्राफिकले यसो भन्दा, छेऊमा बसेकी किशोरी निकै आत्तिइन्, आँखाभरी आँशु पार्दै ‘प्लिज प्लिज’ भनेर गुहारीरहेकी थिइन्। यता युवक पनि कान समाएर एकचोटीलाई माफि दिनुस् हजुर, गल्ति भो भन्दै याचना गरिरहेका थिए। युवक भन्दै थिए ‘मैले सोझै भने यिनी मेरी गलफ्रेण्ड हुन्, कसरी दिदि बहिनी भनूँ हजुर? मैले झुठ बोलेको होइन मलाई माफ गरिदिनुस्’ बडो निरीह पारामा युवक आफूले कुनै गल्ति नगरेको कुरा प्रष्टाउँदै थिएँ तर प्रहरीले तीनपुस्ते सोध्दै झपारीरहेका थिए।
यी सारा दृश्य हेर्न त्यतिबेला सम्म १०, १५ जना मानिस जम्मा भइसकेका थिए। पोखरा उपमहानगरपालिकाको गेट अगाडि रातको ८.४५ भइसकेको थियो। एक जना ट्राफिक पोशाकमा अन्य ३ जना प्रहरीको पोशाकमा थिए। तर सबै तिनै जोडि माथि विभिन्न प्रश्न गर्दै ‘इन्टरटेइन’ गरीरहेका थिए। ‘त्यस बीच कति लाइसेन्स, ब्लु बुक विना कुदे, कति मापसे खाएर गुडे उनीहरुलाई पत्तो थिएन। गलफ्रेण्ड भन्यो भन्दै तिनै जोडिलाई घेरेर रमाइरहेका थिए।’
सबै कुरा बुझेपछि ट्राफिक प्रहरी आफ्नो क्षेत्राधिकार बाहिर गएर ती जोडिलाई दुःख दिएजस्तो लाग्यो। पक्कै पनि शंका लागेमा सोधपुछ गर्नू, कागजपत्र हेर्नू, मापसे चेक गर्नू, ट्राफिक नियम विपरित सवारी साधान चलाएमा कारबाहीमा ल्याउनु ट्राफिक प्रहरीलाई दिइएको अधिकार हो कतिपय अवस्थामा स्वविवेक प्रयोग गरेर पनि काम गर्नुपर्ने हुन्छ। तर, त्यहाँ न त अधिकारको प्रयोग सही भएको थियो न त स्वविवेकनै प्रयोग भएको थियो।
म सिधै गएर सोधेँ, ‘कुन आधारमा तपाईँले यो जोडीलाई दुःख दिइरहनु भएको छ। व्लू बुक छ, लाइसेन्स छ, मापसे गरेको छैन भनेपछि तपाईँले रोक्नुको कारण?’ अप्रत्याशित रूपम मेरो प्रश्नले एकछिन प्रहरी झस्किए। तपाईँ को हो? किन चाहियो? आफ्नो बाटो लाग्नुस् समेत भन्न भ्याएँ, मैले भने म बाटो हिँडिरहेको सामान्य नागरिक हुँ, सबै कुरा देखेँ र सुनेँ पनि तर एउटै कुरा चित्त बुझेन, के आधारले यो जोडीलाई रोकेर दुःख दिइरहनु भएको छ?
एक छिन अलमलमा परेपछि उनी बोलेँ, ‘त्यसै गर्लफ्रेण्ड भन्ने?’ के लुगा लगाएर हिडेको त्यो...,’ किशोरीतिर लक्षित गर्दै भने। मैले पुनः सोधे ट्राफिक नियममा कहाँ नेर लेखेको छ, गर्लफ्रेण्ड लिएर हिड्नेलाई रोक्नुपर्छ र हाफ पाइन्ट लगाएकालाई रोक्नुपर्छ भनेर...? उनी नाजवाफ भए, ट्राफिक पोशाकमा रहेकाले भन्दै थिए मैले भनेको होइन।
‘तपाईँको कमाण्डमा भएका प्रहरीले बोलेपछि तपाईँ पनि त्यसको जिम्मेवार हुनुहुन्छ। विना आधार यसरी रोक्ने अधिकार हजुरहरूलाई छैन,’ म पनि अलि चर्को बोलेँ। एकछिन भनाभन समेत भयो।
यति भनेपछि वरपर जम्मा भएकाहरु पनि अलि नजिक आए विना आधार रोकेको भन्दै बोल्न थाले। सबैको एउटै आवाज हुन थालेपछि। ब्लू बुक र लाइसेन्स हातमा लिएका प्रहरी बोले, ‘हजुरहरू सबैको सहमति छ होइन? यिनीहरुलाई छोड्दिए हुन्छ?,’ सबैको एक स्वरमा छोड्नु पर्ने आवाज आयो। प्रहरीले युवकको हातमा ब्लुवुक र लाइसेन्स थमादिए। सबैलाई धन्यवाद दिँदै युवक बाइक स्टार्ट गरेर आफ्नो बाटो लागे।
दिनप्रति दिन बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, अव्यवस्थित पार्किङ, मापसे लगायतका कारण बढिरहेको सडक दुर्घटना न्यूनिकरणकालागि ट्राफिक प्रहरीलाई राज्यले जुन जिम्मेवारी सुम्पिएको छ । त्योभन्दा टाढा रहेर ट्राफिक प्रहरीले व्यवहार गरिरहँदा आम नागरिककले अझै पनि ट्राफिक प्रति सद्भाव र सम्मान व्यक्त गर्न सकेका छैनन्। हाम्रै सुरक्षीत यात्राका लागि खटिरहेका ट्राफिक हाम्रै लागि बोझ बनेको अनुभूति हुनु सबैभन्दा दूर्भाग्य हो। केही समय अगाडि आफैंले ‘ट्राफिक प्रहरी हाम्रै लागि’ भनेर लेखेको लेखका धेरै अंश यस परिदृश्यका ट्राफिकसँग फिटिक्कै मिल्दैनथ्यो।
यसो भनिरहँदा इमान्दार ट्राफिक प्रहरीको कर्तव्यनिष्ठतालाई भने सम्मान गर्न विर्सनु हुदैन।