साँझ ड्युटीको बेला थियो! इमर्जेन्सीमा बिरामी आएको थाहा भयो। गएर हेरियो। इमरजेन्सीको ६ नम्बर बेडमा एकजना अधबैसेजस्तो जनजाति अनुहार भएको मान्छे सुतेको थियो। छेवैमा मलिन अनुहारमा अन्यौलतामा अल्झिएका आँखा भएकी एकजना आइमाई थिइन्, पक्कै उनको श्रीमती हुनुपर्छ।
त्यो मान्छेको अनुहारमा रगत लत्पतिएको थियो, टाउकोमा पट्टी बाधेँको थियो, र सम्भवतः बेहोसीको हालतमा थियो। कुरा प्रस्ट थियो, लडेर टाउकोमा चोट लागेको थियो होला। अहिलेसम्म म अनुमान मै ब्यस्त भैरहे।
बिरामीको छेउमा गएर आफू न्युरो सर्जरीको ड्युटी डाक्टर भएको परिचय दिए। अनि बिरामीको आफन्तसँग कुरा सुरू भयो।
नाम सोधे- वीरबहादुर गुरूङ, उमेर ३४ वर्ष, अनि घर सिन्धुपाल्चोक। काम ज्यालादारी, अनि घरमा ऊ, श्रीमती, र दुई छोरी, एकजना ११ बर्ष, र अर्को ४ वर्षको (परिचय वास्तविक होइन)। के भएको हो भनेर सोधेको, त्यो मान्छे एकजना साहुकोमा ज्यालादारी गर्दोरहेछ, विशेष गरि भारी बोक्ने। बलियो बांगो भएकोले उसको त्यो काम भएको हुनसक्छ। अनि त्यो घाइते भएको दिन पनि ऊ काम गर्दैथ्यो रे, सामानसहित भर्याङको तीन खुटकीलोबाट झरेछ, र टाउकोमा चोट लागेको रहेछ। घटना भएको बिहान ८ बजे, यहाँ काठमान्डौं आइपुग्दा साँझको ८ बजेको थियो। लडेर बेहोस भएपछि होसमा नै आएको छैन भन्ने थाहा पाइयो।
उसको बारेमा सबै कुरा सोध्ने क्रममा रक्सी सधैं खाने भएको थाहा भयो, तर संयोगले त्यो दिन खाएको थिएन रे। उसको पुराना रोगको बारेमा बुझ्दा उसलाई बिगत ८ वर्षदेखि छारे रोग रहेछ, र उसले त्यो रोगको औषधि खाएको रहेनछ।
छारे रोग हुनु कुनै नौलो कुरा होइन, र त्यो रोगको निदान र उपचार नेपालमा सम्भव नभएको नि होइन। किन नखाएको भनेर सोध्दा लामो समय खानुपर्ने भएको कारणले नखाएको रे, झन्झट हुने भएर। त्यो दिन पनि सामान बोकेको समयमा उसलाई छारे आएर लडेको रहेछ। अरू कुनै रोग वा अम्मल भएको पत्ता लागेन।
त्यसपछि बिरामीको जाँच सुरे गरेँ, बिरामी अर्ध बेहोस थियो, दुखाइ सामान्य थाहा पाउने, र सामान्य नबुझिने आवाज निकाल्न सक्ने, तर दाहिने हात र गोडा चलेको थिएन। बाहिर देखिने चोट खासै थिएन, ढाडको हड्डी, छाति, र पेट पनि सामान्य नै थियो। अब जटिलता टाउकोमा नै थियो भन्न गाह्रो परेन। त्यसपछि सीटी स्क्यानको रिपोर्ट हेर्न बाँकि थियो। सीटिको रिपोर्ट त आयो, तर राम्रो सन्देश लिएर आएन। टाउकोको देब्रे भागमा धेरै रगत जमेको थियो, अन्दाजी २०० मिलिको हाराहारीमा। अब यसको लागि त तुरून्तै अपरेसन गर्नुपर्छ। त्यसको निम्ति बिरामिकी श्रीमतीलाई सम्झाइयो।
मजदुर मान्छे, र घरमा कमाउने अरू कोहि नभएको, अब आर्थिक समस्या सबैलाई थाहा नै हुन्छ। त्यहाँ पनि त्यस्तै भयो। पैसा पटक्कै नभएको अवस्था उनले हामीलाई बताईन्। अब अपरेसन गर्न जति ढिलो भो, परिणाम उति नै नराम्रो। त्यसपछि विकल्पको बारेमा छलफल भयो। बिरामीको ठेकेदारले केही पर्यो भने फोन गर्नु भनेर एउटा नम्बर दिएको रहेछ। त्यो नम्बरमा फोन गरेको, ब्यस्त भइरह्यो।
पछी थाहा भो, सम्भवतः कल ब्लक गर्या रहेछ। अनि प्रहरीलाई बोलाएर फोन गर्न लगाएको, फोन लाग्यो। पुलिसलाई बिरामीको अवस्था भन्न लगाएपछि ठेकेदार आउने भए, तर धुलिखेलबाट बाइकमा। त्यसबीचमा हामीले बिरामी आइसीयू सारेर अपरेसको तयारी सुरू गर्यौ।
यस्ता बिरामीको निःशुल्क अपरेसन जेनतेन अस्पतालमा रहेको सामानले गरे पनि रगत आदि चाहिने बिरामीलाई गाह्रो हुन्छ। रगत ब्लडबैंकमा छ भन्ने थाहा पाउनेबित्तिकै लिन पठाएर हामीले अपरेसन सुरू गर्यौं।
रगत धेरै जमेको थियो, हल्का रगत बग्ने चलिरहेको थियो। अपरेसन सकियो, अपरेसन पूर्व र अपरेसनको बेलामा पनि उसको अवस्था हेर्दा आस लाग्ने ठाउँ कमै थियो। बिरामीलाई कृतिम स्वासप्रस्वास मेसिनबाट निकाल्न सकिएन। बिरामी आइसीयूमा गयो, आफन्त के होला भन्ने चिन्ता मा।
कम उमेरको मान्छे, एकमात्र कमाउने, राम्रो होस् भनेर प्रार्थना र सकेको प्रयास गर्दै उपचार गरिरह्यौं। ३ दिनसम्म सुधारको कुनै लक्षण आएन। चौथो दिनबाट हल्का सुधार त आयो, तर पर्याप्त भएन। सात दिनमा पनि यो प्रक्रिया चलिरह्यो। यसैबीचमा उनकी आमा आइन भेट्न, उनी त्यो उमेरको छोराको खुट्टा समातेर ‘चिसो छ खुट्टा, मेरो बाबु बाँच्दैन होला’ भन्दै यसरी भक्कानिएर रोइन कि त्यो क्रन्दन अझै मेरो कानमा गुन्जिरहन्छ। सात दिन ज्यादा कृत्रिम स्वास प्रश्वासमा राख्न घाटीमा प्वाल पारेर मात्र सम्भव छ, त्यसैले आठौं दिनमा अपरेसन गरेर घाटीमा प्वाल पनि पारियो।
स्थिति बिस्तारै सामान्य बन्दै आयो, कृत्रिम स्वास्प्रस्वास प्रक्रियाबाट बिरामी निस्कियो, तर देब्रे ब्रेन (dominant hemisphere) मा भएको कारणले बोल्न, बुझ्न नसक्ने, र दायाँ जिउ चलाउन नसक्ने भयो। अब थप उपचार गर्न सम्भव भएन वा गरेर फाइदा हुँदैन, त्यसैले बिरामी डिस्चार्ज गरियो।
विदेशमा यस्तो बिरामीलाई राख्न सरकारी वा गैर सरकारी तवरमा विभिन्न पुनर्स्थापना केन्द्र हुन्छन्, तर हाम्रोमा खोइ त? बिरामी घर गयो, तर मनमा मिस्रित प्रस्नहरू आइरहे।
उसको घरको अवस्था के भो होला? कमाउने मान्छे घरमा सिकिस्त, त्यसमाथि उसको स्वास्थ्य हेर्न मात्र एकजना ढुक्कै खट्नुपर्ने, ४ र ११ वर्षका छोरीहरु मात्र। मर्यो भने नौ दिनमा नौलो, बीसदिनमा बिर्स्यो हुन्छ। अब जीवन मरण दोसाधको जीवन भो नियति पुरै परिवारको।
छारेको औषधि नखाएर लडेर हातगोडा नचल्ने भएर एक बिरामी १० भन्दा धेरै भए २ महिनामा एक अस्पतालमा मात्र। अब पुरै देशमा रुखबाट लड्ने, रक्सि खाएर लड्ने, सडक दुर्घटना वा छारेको औषधि नखाएर लड्ने कति होलान? त्यसले अस्पताल, परिवार र समग्र समाजलाई नै कति बोझ परेको होला।
प्रेसर सुगर वा छारेको औषधि सधै खानुपर्छ भनेर डाक्टर छल्छन् मानिसहरू, र यस्तो बिकराल स्थितिमा आइपुग्छन्। ध्यान दिएमा यी रोगहरु त रोकथाम गर्न सकिने हैनन् र? यस्ता रोगको जीवनभरको औषधि ज्यादामा केही हजार होला, दिनको दुई खिल्ली चुरोट वा एक गिलासको रक्सीको पैसा जोगाएर नि आउन सक्छ, त्यस्तो औषधि नखाएर भएको असर असाध्यै ठूलो हुन्छ, जीवन नै जिउँदो लासजस्तो बन्छ। सधै यस्ता साना वा झन्झट लाग्ने कुरा भनेर हेल्चेक्र्याई गर्नु उचित होइन भनेर बारम्बार सम्झाए नि राम्रो सँग सम्झिने बिरामी अझै धेरै भेटेको छैन मैले।
मैले वा मजस्ता धेरै डाक्टरले सम्झाउन नसक्या हो कि नपरी विश्वास नभएको हो, थाहा लाग्न नै गाह्रो भयो।