निता र विकास एक अर्कालाई धेरै माया गर्थे र उनीहरू दुबैको परिवार त्यो मायामा सहमत थिए । १० वर्षअघि वैशाख महिनामा निता र विकासको बिहे गर्ने मिति तय भयो ।
नितालाई हामीले बेहुलीको श्रृंगारमा सजायौं । राम्री त उ छँदै थिई त्यो दिन बेहुलीको श्रृंगारमा निकै सुन्दर देखिएकी थिई । सबैका नजर उसैमाथि थिए। हामी जिस्काउँथ्यौं– विकासले त आज अरु केही पनि नहेर्ने भो। उ लजाउँदै मुस्कुराउँथी । उसको श्रंगार सकुञ्जेल विकासले धेरैचोटी फोन गरिसकेको थियो। तर हामीले ती दुईलाई जिस्काउने र थोरै मायाले सताउने भनी कुरा गर्न दिएनौं।
नितालाई तयार गरेर बिहेको जग्गेमा राखिसकेका थियौं। निताले माइतीको जग्गेमा गर्नु पर्ने विधि पण्डितले भनेअनुसार गर्दै थिई । सबै जना जन्ति आउने पर्खाइमा थिए। निकै चहलपहल थियो। बिहेको घरमा झिलिमिलीको सजावट, ठूलो स्वरमा गित बजिरहेको माहोल नै रमाइलो थियोे ।
बिहेको शुभ साइत एघार बजे थियो तर साढे एघार बजिसक्दा पनि जन्ती आएन। निताको मोबाइल बज्न छोडेको पनि आधा घन्टा भैइसकेको थियो । बुवाको मोबाइलमा फोन आयो जुन खबरले एकाएक संसार अँध्यारो भयो। निताको खुसी पोखियो। टेकेको जमिन भासियो।
उदयपुरबाट काठमाडौं आइरहेको कार हेटौँडामा दुर्घटना भयो । बेहुला विकास बसेको कार दुर्घटना भएको रहेछ। विकासको बाटोमै मृत्युु भैसकेको थियो भने घाइतेलाई उपचारका लागि अस्पताल लिइएको रहेछ।
एकैछिनअघि गीत घन्किएको आँगनमा रुवाबासी चल्यो। निताको होस हरायो उ पल्टिई जग्गेमै बेहोस भएर। निताको श्रृङ्गार, मुहारको रौनक र चमक हरायो कहिल्यै नफर्किने गरी।
नितालाई नर्भिक अस्पतालमा लगियो। बिहान १२ बजे अस्पताल पु¥याइएकी निताको बेलुका पाँच बजेसम्म पनि होस आएन । हामी सबै आत्तिएका थियौं। डराएका थियौं। अकल्पनिय ठूलो झट्का लागेकाले होसमा नआएको डाक्टरले बताए। अब एक घण्टासम्म निता होसमा न आए खतरा हुने डाक्टरको भनाई थियो।
बेलुकाको साढे पाँच बजे निता होसमा आई । विकासको नाम लिदैँ रुन थाली । तर विकास त्यो उसको आँसु देख्न र आवाज सुन्न नसक्ने ठाउँमा गइसकेको थियो ।
विसेक भएपछि अस्पतालबाट नितालाई घर ल्याइयो। निताको मायाले अर्कै लोकमा बसाई सारिसकेको थियो । निताको सपना, हाँसो खुसी सबै भताभुङ्ग भइसकेका थिए । विकाससँगै निताका सारा खुसी गइसकेका थिए। बाँच्नै चाहन्नथी। मर्न प्रयास नगरेकी पनि होइन तर सकिन। अन्त्यमा उसले बाँच्ने अठोट गरी। केहीय यस्तो गर्छु जसले विकासको आत्माले शान्ती पाओस् भन्ने प्रण गरी।
विकासको मृत्युु भएको दुई वर्ष भएपछि निताको फेरि बिहेको लागि कुरा आउन थालिसकेका थिए । निताको बुवाआमाले जोड गर्न थालिसक्नु भएको थियो तर निताले निधो गरिसकेकी थिई –अब कहिले पनि बिहे नगर्ने । विकासको यादमा जिन्दगी बाँच्ने ।
उसले नाईँ भनेपछि घरमा पनि बिहेको लागि कर गरेनन्। निताले क्याम्पस पढाउन थाली। बाहिर सबैको सामु हाँस्छे, बोल्छे तर त्यो हाँसो भित्र निकै गहिरो पीर लुकेको देखाउँदिन उ सबैकोसामु ।
अहिले निता पोखरामा बस्छे। उसको कोठा विकासका फोटाले भरिएका छ। भन्छे –विकास मसँगै छ सधैँ सपनामा आउँछ।
निताले एउटा बृद्धाश्रम खोलेकी छ । जहाँ आफ्नै सन्तानबाट ठगिएका, हेला गरिएका वृद्धवृद्धाको स्याहार गरिरहेकी छ।
आफ्नो पढाउने पेशालाई निरन्तर दिने वृद्धवृद्धाको सेवा गर्ने नसकेपछि आफू पनि यही वृद्धाश्रम गएर बस्ने योजना छ उसको।