बुवाले आरएक्स बाइक किन्नुभएको भर्खरभर्खरै थियो। वर्षायाममा आफ्नै घरसम्म बाइक आउँदैन थियो। बुवा कहिले बिष्ट गाउँको सुस्मा (स्कुलको साथी) को घरमा बाइक राख्नुहुन्थ्यो त कहिले घरमाथिको ईचोट गाउँमा।
जताबाट आए पनि डेढ फिटे गोरेटो बाटो हुँदै घर आउनुपर्थ्यो। हुस्सु लाग्ने दशैँको मौसम र झरी परेको साँझ घरसम्म आउँदा धानका सितले निथ्रुक्क भइन्थ्यो। १३ दिने दाजुभाइहरुको सानो वस्ती भएको चोक्टिएको गाउँ थियो हाम्रो।
नुन किन्न परे पनि कि मूलपानीको सिमानाको दिनेशको पसल पुग्नुपर्थ्यो कि तल 'शरियाको पसल' पुग्नुपर्थ्यो। मनोहरा खोला तरेर बोडे हुँदै पुगिने भक्तपुरको ठिमी हाम्रा लागि शहर थियो त्यो बेला। त्यहीँका नेवारले आएर हाम्रो गाउँमुन्तिरको गाउँमा पसल खोलेका थिए। शहरबाट पसल खोल्न आएका भएर त्यो भेगैभरी उनीहरु 'शरियाको पसल' ले परिचित थिए।
...
दशैँताका स्कुलबाट बेफुर्सदमा बसेका हामी भुराहरु त्यही शरियाको पसल वरिपरि घुम्थ्यौं। त्यो बेला एक मोहोर पर्ने योयो चकलेट खुबै चर्चित थियो। ल्याक्टो त धेरै पछि आयो। योयो चकलेट धेरै बटुल्न सक्नु ठूलो पुरुषार्थ हुन्थ्यो। जति धेरै बटुल्यो त्यति राम्रो सजाउने सामान बन्थ्यो।
पारि घरकी गंगा हाम्रो दिदीकी साथी थिई। सबै भुरा बटुलेर भाँडाकुटी खेल्ने भएर हामी उसलाई दिदी नभनी गंगा भन्थ्यौं। अग्ली भएकीले रिस उठेको बेला चाहिँ हामीले घारे नाम राखेका थियौं। भातपकाइ, भाँडाकुटी खेल्ने बेजोडको खुबी थियो उसको। हामीलाई चकलेटको खोल बटुल्न लगाउँथी। अनि जिरो वाटको चिम (दशवाटका साना रंगीबिरंगी चिमलाई त्यतिबेला सबैले जिरोवाट भनिन्थ्यो) कसैको घरमा जलेको भए गज्जबै हुन्थ्यो।
गंगा त्यो चिम बीचमा राखेर योयो, ल्याक्टो चकलेटको खोललाई पत्रपत्र बनाउँदै वरिपरि मुजामुजा बनाउँथी। हेर्दाहेर्दै धागो बानेपछि दलानमा झुन्ड्याएर कोठा सजाउने गज्जबको सजाउने चीज बन्थ्यो त्यो चिम र चकलेटको कागज।
दशैँमा सरियाको पसल वरपर चकलेटको कागज बटुल्न हामी दिनभर त्यतै हराउँथ्यौ। सम्झना र म त कतिपटक चकलेट किन्नेहरुले खोल नफाल्दासम्म पछिपछि लागेका पनि छौं। हामीलाई देखाउन त्यहीँ नजिकको माईलाकाजीको छोरा महेश चकलेट किन्थ्यो अनि धेरैबेर हातमै चकलेटको खोल खेलाएर बस्थ्यो। त्यो बेला सिद्दार्थ बनस्थली पढ्ने गाउँभरमा उसका दाजुभाइमात्रै थिए। उनीहरुसँग सहरियाको संगत छ, बिग्रिएका हुन्छन् भनेर हामी चकलेटको खोल माया मारेर भए पनि सगत गर्न धक मान्थ्यौं।
'तेरो बुवाले मोटरसाइकल किनेको छ रे हो?' एकदिन महेशले भन्यो, 'तेरो बुवालाई भनेर मोटरसाइकल चढ्न दिने भए म चकलेटको खोल सधैँ तँलाई दिन्छु।'
उसले त्यति भनेको मात्रै थियो, सम्झनाले भनी, 'चकलेट त हामी पनि किन्न सक्छौं चाहिँदैन तेरो खोल। कति सयहजार पर्ने मोटरसाइकल तँ किन्न सक्दैनस् क्यारे।'
मलाई त्यो दिन बुवाले मोटरसाइकल किनेकोमा खुबै गर्व भयो।
...
त्यतिबेला गाउँमा कसैको बाइक थिएन। बाइकको खुसी दिदी र मलाई भन्दा दाइलाई ज्यादा हुँदो हो। सधैँ दशैँ कुरेर बस्नुहुन्थ्यो । दशैँको छेकोमा गाउँभरका सबैले काम सकेर चाडबाड मनाउन हाम्रो घरपछाडिको टारमा धान काट्थे। धानका ठोसामात्रै भएको टारैटार घरमा बाइक बुवा दशैँ आएपछि बल्लतल्ल ल्याउनुहुन्थ्यो।
१२/१३ वर्षको हुनुहुँदो हो, दाइले त्यही दशैँमा बाईक सिक्नुभयो। महेशले देखोस् भनेर म दाइलाई उसकै घरतिरको बाटो हुँदै पिङ खेल्न जान कर गर्थेँ। बाटो असजिलो भए पनि दाइ मेरो करले झिँगटी घरतिरको बाटो लैजानुहुन्थ्यो।
...
त्यही वर्ष हो, पहिलोपटक बुवाको बाइकमा अगाडि बसेर दशैँमा लुगा हाल्न गएको। मैले शहर देखेको पनि पहिलो वर्ष होला। बुवा इन्डियाबाट ल्याएको कालो लेदरको ज्याकेट लगाउनुहुन्थ्यो। त्यो ज्याकेट लगाएर बाइक चलाउँदा मलाई हाम्रो बुवा खुबै हिरो लाग्नुहुन्थ्यो।
त्यो दशैँमा दिदीको पनि फुरफुर अलि बढी नै थियो। अहिले भनिने पइन्ट हिल जुत्तालाई त्यतिबेला हामी 'पईन्टोल' भन्थ्यौं। मभन्दा एक दशक जेठी भए पनि दिदीले बुवालाई घरमै डिमान्ड सुनाइसक्नुभएको थियो- पोहोर सुदर्शन काकाको छोरीहरुले लगाएको जस्तै प्यारालल कुर्ता सुरुवाल र पईन्टोल जुत्ता।
गाउँभरि दशैँमा खसी काट्ने भए पनि हाम्रो घरमा कहिल्यै काटमार गर्न हुँदैन भन्नुहुन्थ्यो बुवा। सधैँ बुवाको सानोदेखिको साथी सुदर्शन काकाको घरमा खसी काटेर आधाआधा भाग लगाउने चलन थियो। अष्टमी, नवमीको दिन मनोहरा खोला पारिको बाराही थानमा पूजाको भाग लिएर चढाउन जानुपर्थ्यो। त्यो बेला काकाको छोरीहरु सोनी, अनिता र विनिता सधैँ राम्रा राम्रा लुगा लगाएका देखिन्थे। हाम्रा लुगा बुवाहरुले सधैँ सँगै ल्याइदिनुहुन्थ्यो। फरक थिएनन् होला तर हामीलाई उनीहरुकै लुगा मन पर्थ्यो।
काका प्राय भक्तपुरको सुकुलढोकामा लुगा किन्न लैजानुहुन्थ्यो। बुवा हामीलाई अफिस नजिकै भएर चाबहिल चोकमै लैजानुहुन्थ्यो।
दिदीले भनेजस्तै प्यारालाल कुर्ता र सुरुवाल त कति चाँडै भेटियो। मेरो लुगा भेटिएको थिएन। म पनि दिदीको जस्तै लुगा किनिदिन बुवालाई जिद्दी गरिरहेको थिएँ। मेरो उमेरलाई प्यारालाल कुर्ता कहाँबाट पाउनु?
अब मलाई के त?
म अलि बढी नै जिद्दी स्वभावकी थिएँ।
'मेरो सानछोरोलाई म पसलभरीको राम्रो लुगा किनिदिन्छु,' बुवाले फकाउनुभयो र हामीलाई मिठाई पसल लैजानुभयो।
दिदीले हलुवास्वारी खाने भन्नुभयो। म बम्किएकै थिएँ। बुवाले मलाई दुधमलाई मगाइदिनुभएको रहेछ। मैले बुवा मलाई फकाउन खोजिरहेको बुझिसकेको थिएँ। अर्को पनि डिमान्ड गरेँ। मलाई लुगासँगै हिल जुत्ता पनि चाहिन्छ । बुवाले हुन्छ भन्नुभयो।
बल्ल म त्यो मिठाई खान थालेँ। मलाई खुबै मिठो लाग्यो। बुवाले सोध्नुभयो, 'मेरो सान्छोरोले खाएको मिठ्ठाइको नाम के थाहा छ?'
मैले एकसासमा उत्तर दिएँ, 'कचौरी ।' प्लाष्टिकको कचौरामा भएकोले मलाई त्यसको नाम कचौरी होला जस्तो लाग्यो, भन्दिएँ।
मिठाई पसले हाँस्यो। बुवा गजक्क पर्नुभयो।
मलाई दिदीको जस्तो प्यारालल कुर्ता सुरुवाल भेटिएन। सेतो र रानी कलर मिसिएको मुजैमुजा भएको घाँघर बुवाले ५ सय ५० मा किनिदिनुभयो। अनि त्यो सँग लगाउने कालो स्ल्याक्स पनि। दुबै छुट्टाछुट्टै पसलमा। दिदीको जति अग्लो नभए पनि हिल जुत्ता चाहिँ मलाई पनि भेटियो। मरुन कलरको। अनि पो आयो दशैँ।
...
अघिल्ला वर्षहरुमा दिदी र मैले एकएक वर्ष बिराउँदै दशैँमा लुगा हाल्ने गर्थ्यौं। म टिका आउन पहिल्यैदेखि त्यही लुगा लगाएर पिङ खेल्न जान थालेको थिएँ। दिदीले देखे पाता फर्काउनुहुन्छ भनेर भगवती र म दिदीको आँखा छलिछली पिङ खेल्न जान्थ्यौं।
त्यो दशैँ हाम्रालागि विशेष थियो। पुरानो घरमा सँगै अर्को एकसरो घर जोडेको वर्ष थियो त्यो। पुरानो र नयाँमा एकैनासले कालिमाटी, बालुवाको लिउन लगाएर अगाडि घुमाउरो कौसी निकाल्दा त गाउँभरिको रोज्जा घर भएको थियो। मलाई हाम्रो अर्ध गोलाकार घर विश्वको थोप्लो होला जस्तो लाग्थ्यो। जियोमेट्रीमा पढ्दा कम्पासको सियोले कापीको बीचमा घोपेर वरिपरि सर्कल बनाएजस्तै। यो विश्वमा हाम्रो घर त्यही थोप्लो रहने ठाउँमा त्यत्रै भएर बसेको होला जस्तो लाग्थ्यो।
...
भित्रै धारो भएको ट्वाईलेट पनि त्यसै वर्ष बन्यो हाम्रो घरमा। त्यही दशैँमा बुवाले सोनी २१ ईन्चको कलर टिभी, सोनीकै सेकेन्ड ह्यान्ड एनेलग क्यामेरा र सोनीकै डिभीडी प्लेयर ल्याउनुभयो।
दशैँमा हाम्रो एक किसिमको रमाइलो हुन्थ्यो घर सिँगार्ने अर्को किसिमको रौनक ममीहरुको हुन्थ्यो। ईचोट पछाडिको पाखामा आकाशे रङ्गको निलो माटो पाइन्थ्यो। ममीहरु भीरमा चढेर धोक्रोभरि त्यो माटो ल्याउनुहुन्थ्यो।
दशैँको किनमेल गर्न बोडे ठिमी जाँदा त्यो माटोमा मिसाउने निलो रंग पनि ल्याउनुहुन्थ्यो। प्राय: घटस्थापनाको अघिल्लो दिन घर पोत्ने दिन पर्थ्यो। ममी पुरानो टालो भिजाएर माटोमा चोबल्दै भित्तामा छ्याप्नुहुन्थ्यो । अनुहार, टाउको र जिउमा माटोको छिट्टा पर्ने भएर दाइ वा बुवाको पुरानो सर्ट लगाएर भित्ता पोत्नुहुन्थ्यो। त्यो बाहेक ममीलाई टिकाको अघिल्लो दिनसम्म वर्षे बाली भित्राउने चटारो परिरहन्थ्यो। मटानमा धान नअटाएपछि दिदी र ममी बुईँगलमा धान ओसार्नुहुन्थ्यो। मलाई घरमा धान धेरै भयो भनेर झिँजो लाग्थ्यो।
...
दिदी घरको कुनाकुनाका खोपा, दलान र दराजका सामान पन्छाउँदै ममीलाई सघाउनुहुन्थ्यो। धैँसोले कालै भइसकेका भित्ताले फेरी एकपटक नयाँ रङ्ग पाउँथे। दलानका अँगारजस्ता काठमा बीच बीचमा निलो लगाएपछि तिनीहरु पनि बैँश फर्केजस्ता हुन्थे। बारीमा सयपत्री, रक्ते फूल फुल्न थाल्थे। मुला, रायोको साग, काउली फक्रिन्थे। तोरीबारी आँखै खाने रङ्ग छरेर आउँथ्यो। घरअगाडिको लहरे पीपलका पात झन् चिल्ला र मोहक हुन्थ्यो।
बारीको तोरी पनि बाँडेगाउँमा पेल्न लगिन्थ्यो। अहिले सम्झँदा, तोरीको तेलको मिठो बास्ना अहिले नै नाकमा आएर ठोस्सिए जस्तो लाग्छ।
...
घरसँगै आँगन पनि झारहरु टिपेर फराकिला भएका हुन्थे। वर्षाको लेउ मेटिँदै गइसक्छन् दशैँसम्म। घरको पश्चिम फिक्कलको डाँडा हुँदै हाम्रो घर आउनुपर्थ्यो। त्यो बाटोको घाँस कोदालाले खनेर सिधा धर्सो लाउँदै दिदी फराकिलो बनाउनुहुन्थ्यो। बाटो माथि र मुनि दुबै तिर ढकमक्क सयपत्री फुलेका हुन्थे। अनि सधैँ फुलपाती भित्र्याउनुभन्दा पहिला दिदी २० मिटर जति लामो त्यो बाटोमा पहिला गोबरले अनि पछि रातो माटोले बाक्लो बनाएर पोत्नुहुन्थ्यो। फूल र बाटोको त्यो रङ्गको मिश्रण। ओहो।
सबै आफन्तले दिदीको प्रशंसा गर्थे। दिदीको बिहेपछि केही वर्ष मैले पनि प्रशंसा पाउन कोशिस गरेँ। तर अहँ, सकिन।
...
दशैँलाई लुगा धुने भनेपछि घरको कुनाकुनाका लुगा झिकिन्थे। दिदीआमाको घरपछाडिको इनारमा लुगा धुनेको घुइँचो लाग्थ्यो। दिदी र म शनिबारको बिहान अँध्यारोमै इनार पुग्थ्यौं। जति चाँडै जान सक्यो, पानी माथिसम्म हुनाले झिक्न पनि सजिलो र बाफिदै भएर साबुन लगाउन पनि सजिलो।
पानी झिक्ने र लुगा पखाल्ने काम मेरो भागमा पर्थ्यो। साबुन लगाउने र मिच्ने काम दिदी आफैँ गर्नुहुन्थ्यो। गाउँका अरुहरु पानी लिन इनारमा आउँदा दिदीले तन्ना र सिरकको खोल सफा पारेर धोएकोमा सधैँ प्रशंसा पाउनुहुन्थ्यो। ममी त्यही बेला पानी लिन आएको मौका परेर दिदीको प्रशंसा सुन्न पाएँ, जाँगरिला छोरीको आमा हुन पाएर गजक्क पर्नुहुन्थ्यो। म सधैँ ममीको अगाडि जाँगरिलो छोरी हुन चाहन्थेँ। कहिल्यै हुन सकिन।
ती धोएर रुगरुगाउँदो भएका लुगालाई मिलाएर आआफ्ना ठाउँमा राखेपछि एककिसिमको मिठो बासना आउँथ्यो। घर पोतेको माटोको मिठास, धोएका लुगाको मिठास, सयपत्री फूलका मिठास, मनमोहक तोरीबारीको रङको मिठास सँगै भित्रिन्थ्यो दशैँ। ओहो, त्यो पो थियो दशैँ।