यतिखेर नेपाली क्रिकेटमा फरक र भिन्न स्वरहरूले महत्वपूर्ण स्थान पाएको छन्। त्यो के हो भने जे भयो, बरू ठीकै भयो। अर्थात अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपाली क्रिकेट संघ (क्यान)माथि प्रतिबन्ध लगाउँदै गर्दा यस्ता स्वरहरू यत्रतत्र गुन्जिएका छन्।
मुलुकको प्रतिष्ठासँग गाँसिएको एउटा महत्वपूर्ण क्रिकेट खेल निलम्बनमा पर्दा खुसी र सुखी हुनेहरूको यो स्वर पीडकको बोली हो या निशानाको गोली बुझ्न भने सकिएन।
तपार्इ भन्नु होला खेल र खेलाडीमाथि त प्रतिवन्ध लगाएको छैन भनेर। हो, यस्तै प्रश्नको उत्तर खोज्नेहरूका लागि सजिलो जवाफ हो दुर्इ समुहको झगडा थियो, प्रतिवन्ध लगाइदियो भन्ने।
भुपरिवेष्टित सानो राष्ट्रको मानचित्रलाई सगरमाथा र वुद्धको पहिचानवाट अलगधारमा क्रिकेटको राष्ट्रको रूपमा चिनाउने अभियानका पारखीहरूलाई भने यो निलम्बनले मुटु दु:खेको छ, छाती पोलेको छ। भर्खरै, नामिबियाविरूद्धको जितको खुसीमा सामेल भएका लाखौं नेपाली धड्कन अबका दिनमा नेपाली क्रिकेट कहाँ पुग्ने हो भनेर खोज्न र सोच्न थालेका छन्। निलम्बन सानो कुरा होइन, यसको प्रकारान्तरमा प्रभाव निकै खराब हुने गर्दछ। खेलाडीको मानसिकता र क्रिकेटको भबिष्यका लागि यो घातक निर्णय हो।
हुन त यस्ता घटनाक्रम पाकिस्तान र भारतीय क्रिकेटमा पनि कयैन पटक नभएका होइनन् तर आइसीसी पनि सानालाई रामराम ठूलालाई सलाम गर्ने कुरामा कम देखिएको छैन। सरकार र खेल नेतृत्व परिवर्तनसँगै देखिने राजनीतिक रोगले नेपाली खेलकुद बन्दी जीवनवाट माथि उठ्न सकेको छैन। आफ्नो सरकार आफ्ना कार्यकर्ता अनि आफ्नो संघ बनाउने रोगले कयैन पटक धेरै खाले सम्भावना बोकेका खेलहरू बन्द कोठाभित्रै एकै चिहान भएका अनगिन्ती उदाहरण छन्, नेपाली खेल क्षेत्रमा।
प्रारम्भमा दरबारीया खेलका रूपमा चिनिएको क्रिकेटको नेतृत्व दरबारकै भारदारले गरे। लगभग पाँच दशकपछि पहिलो पटक निर्वाचन त भयो तर निर्वाचनमा बन्दुकका गोली समाएर मैदान आएका माओबादी साथीहरूले नेतृत्व लिँदा गोला र क्रिकेटको गोलीबीचको भिन्नता पाउन सक्नुभएन। त्यतै चिप्लियो नेपाली क्रिकेट।
पूर्वका माओवादी नेता टंक आङबुहाङ अध्यक्ष त भए गोली र गोला नछुटाउँदै कार्यकाल सकियो, साथीहरू रमेका थिए। निर्वाचनमा उनलाई बोक्ने समुह आफै चुनाब गर्न तात्तियो, सरकार फेरियो, माओवादी र एमालेका साथीहरूलाई भाग चाहियो। निर्वाचनमा जिल्ला र क्षेत्रमा अरूको कब्जा देखेपछि आत्तिएका राखेपका सदस्य सचिव केशव विष्टले माओवादीलार्इ उचालेर निर्वाचनलाई मान्यता दिएनन्। फेरि आफैले एमालेका रमेश सिलवालको अध्यक्षतामा कार्यसमिति बनाए।
उता कांग्रेस विचार बोकेका सुदूरपश्चिमका चतुरबहादुर चन्दको समूह अदालत गयो।
यस्तै विवादमा अल्झेको नेपाली क्रिकेटलाई आइसीसीले सोमबार निलम्बन गर्यो। मर्नु भन्दा बौलाउनु बेश भन्नेहरूले यतिबेला जे भयो ठीकै भयो भनिरहेका छन्।
तर हाम्रो क्रिकेट मर्नु पनि हुन्न, बौलाउनु पनि हुन्न भन्ने ठूलो जमात छ मैदानमा। मैदानमा खेल्ने मात्र होइनन्, हेर्ने पनि नेपाली क्रिकेटका सम्पति हुन् वा सरोकारवाला हुन्। निहित स्वार्थ बोकेर मुलुकको प्रतिष्ठामाथि आएको आँचलाई ठीकै भयो भन्नेहरू नेपाली क्रिकेटमा मित्र हुँदै होइनन्।
के तपार्इलाई थाहा छ ब्राजिल र अर्जेन्टिनाका राष्ट्रपतिका नाम। तर ति देश चिनाउने खेलाडी सोध्नुहोस्, नेपालकै कुनाकाप्चामा रहेका साना बालबालिकाले पनि फरर जवाफ दिन्छन्-पेले, रोनाल्डो, नैमार अनि म्याराडोना र मेसी भनेर।
पारस खड्का, शरद भेषावकर होस् वा बसन्त रेग्मी अनि शक्ति गौचन सबैको पहिचान मुलुकसँग जोडिसकेको थियो। अस्ट्रेलियाको सिड्नीमा करिब एक वर्ष अगाडि एउटा रात्रीभोजमा पारस खड्काले लगाएको जर्सी एक लाख रूपैयाँमा किनेर शानका साथ लगाउँदै हिड्ने विजय शर्माका लागि यो पीडादायक क्षण हो। खेलाडीले मासिक भरथेग १० हजार तलब पाउन नसकेपनि उनीहरूले लगाएको जर्सीको महत्व लाखमा रहेछ भनेर प्रमाणित भैसकेको थियो यतिबेला।
नेपाली क्रिकेटले विभिन्न चरणमा पाकिस्तान, बंगलादेश, न्यूजिल्यान्ड, साउथ अफ्रिकालाई हराउँदै गर्दा ठडिएको चन्द्रसूर्यको झन्डाको शानमा आँच आउने काम गर्ने केशव विष्टहरू गद्दार हुन्, देशद्रोही हुन्। कोरियामा खेलाडी भगाएको काण्डमा बदनाम भएका केशव विष्टहरूलाई राज्यले तुरून्त छानबिन गर्नुपर्छ र कारबाही पनि। राजनीति पार्टीमा गर्नुहोस् खेलकुदमा होइन। जय नेपाल,जय खेलाडी।