भनिन्छ, काल बाजा बजाएर आउँदैन। नेपालमा गत वर्ष आजैकै दिन अर्थात २०७२ साल वैैशाख १२ गते एउटा विनाशकारी भूकम्प गयो, जसले झन्डै ९ हजार मानिसको ज्यान लियो। ह्जारौं मानिसलाई घाइते बनायो र थुप्रै मानिसहरुलाई घरबारबिहीन बनायो।
भूकम्प घरिघरि आइरह्यो पराकम्पन बनेर। एक वर्ष पुगिसक्दा पनि पराकम्पन जाने क्रम अझै रोकिएको छैन। गत वैैशाख १२ गतेको भूकम्प डरलाग्दो थियो। ऋाज वैशाख १२ गतेलाई सम्झिँदा पनि आङ सिरिङ हुन्छ। मलाई त्यो दिन हिजो जस्तो लाग्छ। मेलै छोरालाई जन्म दिएको मात्रै २२ दिन भएको थियो। दुईदिन अघि मात्र उसको बाबा नेपालबाट अस्ट्रेलियाका लागि उड्नुभएको थियो।
शनिवारको दिन भूकम्प जानु केहीबेर अघिमात्रै उहाँसंग केहीबेर स्काइपमा कुरा गरेर म विस्तरामा पल्टिरहेकी थिएँ। झ्याल ट्यार्र गरेपछि भूकम्पको शंका लाग्यो। म बाबुलाई काखमा च्यापेर बाहिर निस्कन विस्तराबाट झरें र पाइला चाल्ने प्रयास गर्दागर्दै म थचक्कै भूइँमा पछ्छारिएँ, अगाडि बढ्न सकिनँ। काखमा २२ दिनको छोरोसहित म भूकम्पको झट्कासंगै तलमाथि उचालिए र पछारिएँ। ढोका आफै बन्द भयो, घरको जगैदेखि हल्लिएजस्तो भएको थियो।
ठूलो र अनौठो आवाजसंगै कहिले उत्तर र दक्षिण कहिले तल र माथि पछारिने र थेचारिने भैरहँदा दिमागले अरु केही सोच्न भ्याएन, पक्कै मर्ने भयौं, बरु हामी आमाछोरालाई उद्धारकर्मीले कुन अवस्थामा भेट्ने होलान् भन्दै हैटी भूकम्पमा उद्धारका क्रममा भेटिएका एक आमा र उनको बच्चाको आधा शरीर पुरिएको चित्र दिमागमा खेलिरह्यो। मरेपनि बाँचेपनि हामी आमाछोरा छुटिने छैनौं भन्ने मलाई लागेको थियो, मैले उसलाई छातिमा टाँसेर भूकम्पको कम्पनसंगै पिङ खेलिरहेकी थिएँ, उसले भूकम्पको पत्तै पाएन, उ निद्रामै थियो। केहीबेर पछि भूकम्प रोकियो। म बाहिर जानका लागि उठ्दा उठ्दै दाइको फोन आयो, अनु, कहाँ छौं? हामी ज्ञानेश्वर पार्कमा सुरक्षित छौं, आमा पनि सन्चै हुनुहुन्छ, घरभित्रै भए बाहिर निस्किहाल। त्यति भन्दैमा फोन काटियो, बुबा र आमा (सासु–ससुरा) दौडिदै माथि आउनु भयो, तिमी आतियौं? उहाँहरु खाना खाने तर्खरमा हुनुहुन्थ्यो, भूकम्पले भूइँमा लडाएछ। बुबाले बाबुलाई काखमा लिनुभयो, हामी अतालिँदै सबैजना जम्मा भएको घर नजिकैको खुला ठाउँमा पुग्यौं, बच्चा, बुढाबुढी, बिरामी, घाइते सबै त्यहाँ भेला भएका थिए। कोही रोइरहेका थिए।
घरबाट बाहिर निस्किसकेपछि पो देखियो हाम्रो घर पल्तिरको एउटा घर आधा भत्किएछ, पल्लो घरकी बजैको भाग्ने क्रममा इटाले लागेर टाउकोमा चोट लागेको थियो। बाटो पारिको राममेटलको घर आधा भासिएछ। हाम्रै एक छिमेकी अर्को घरको सटर भासिएर पुरिँदा समयमा उद्धार हुन नपाएकाले त्यही प्राण त्यागेछन्, उनका परिवार र श्रीमती रोइरहेका थिए। शोभा भगवती जाने बाटोका अधिकांश घरहरु भाँसिएका थिए, हाम्रै टोलमा सप्ताह पूजा लगाइरहेको एक घरका ११ जना परिवार र पाहुना समेत घर भासिँदा पुरिएर ज्यान गुमाएछन्। यी खबरहरु सुन्दै गर्दा मुटुको धड्कन बढिरहेको थियो, अन्य ठाउँहरुमा कति क्षति भयो होला भन्ने कुराको कल्पना गर्दै थिएँ।
काठमाडौं र विभिन्न जिल्लामा रहेका परिवारका सदस्यहरु र आफन्तहरुलाई फोन गरे, नेटवर्कको ब्यस्तताका कारण सबैसंग सम्पर्क हुन सकेन । धन्न बाँचियो भनि लामो श्वास फेर्न नपाउँदै फेरि अर्को धक्का महसुस भयो। जमिन थर्थराइरहेको थियो, विस्फोट होला कि जस्तो गरी भित्रभित्र उथुलपुथुल भैरहेको आभाष भएको थियो। वेलाबेलामा यो क्रम दोहोरिरहेको थियो। चारैतिर अग्ला अग्ला भवनहरुबीचमा रहेको केही खुला जमिनमा हामी चिसो खाँदै रात कटायौं। त्यस रात जमिनमुनिको उलपुथल रातभर जारी थियो, आँखा झिमिक्क नगरी बिहान भयो। शनिबारको मध्य दिन भएकाले अझ ठूलो क्षति हुनबाट जोगिएको थियो। सम्पूर्ण स्कूल, क्याम्पस र सरकारी कार्यालयहरु विदा हुनाले धेरैको ज्यान बच्यो।
प्राय मानिसहरु चाउचाउ र विस्कुटले गुजारा चलाएका थिए भने कसैले कसैले घरबाट पकाएर ल्याएका थिए, कसैले बाटो र चौरमै ग्यास चुल्हो राखेर खाना पकाएका थिए। चौरमा सानो बच्चासंग देखेर बाटोमा हिड्नेहरुले विचरा सुत्केरीको ज्यान बिग्रियो भन्थे, म भने अक्क न मक्क हुन्थे, मलाई बाँच्न पाएकोमा खुशी लागेको थियो। आमा बुबा भूकम्पसंग बाजी खेल्दै चारतले घरको भान्सामा पुगेर खाना पकाइरहनुभएको थियो। हामी छिटो छिटो खाना खाएर फेरि चौरमा गैहाल्थ्यौं।
भूकम्पका कारण विजुली र इन्टरनेटका तारहरु चुडिएका थिए। मोवाइल केही समयसम्म अवरुद्ध थियो। चार्ज गर्न नपाएर धेरैका फोन स्वीचअफ भएका थिए। भूकम्पको तेस्रो दिन मात्र मेरो हातमा कान्तिपुर दैनिक फेला पर्यो। कान्तिपुरमा धरहरा ढलेको, रानी पोखरी भासिएको, हनुमानढोका, बसन्तपुरका अधिकांश संरचनाहरु भत्किएका, दोलखा, गोर्खा, नुवाकोटलगायतमा कैयौं क्षति भएको देखेर म अत्तिएँ।
गोरखाको बारपाकका घरहरु पुर्णरुपमा ध्वस्त भएका थिए, हजारौं मान्छेले ज्यान गुमाए, लाखौं घाइते भए, पुरिए, कैयौं संरचनाहरु ध्वस्त भए। देश रोइरहेको थियो, मिडियाभरि भूकम्पका तस्विर र समाचारहरु छाएका थिए। यस्तो परिस्थितिमा सुत्केरी हुनुको पीडा एकातिर थियो भने अर्कातिर रिपोर्टिङ गर्न र उद्धार कार्यमा संलग्न हुन असमर्थ हँुदा मेरो मन धेरै रोयो। मेरो मन दिन दिनै दौडिरहन्थ्यो कहिले भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, दोलखा लगायतका जिल्लामा। म आफू कतै जान सकिनँ, मेरो मन मात्रै दौडिरह्यो। मन पिडाले छट्पटाइरह्यो ।
भवनै भवनले भरिएको काठमाडाैंमा सानो बच्चासंग जोगिन निकै गाह्रो थियो, भौगोलिक विविधताको हाम्रो देशमा बाटो घाटो पनि त्यस्तै थियो, भूकम्पमा परेका घाइतेहरुको उद्धार र राहतका लागि आकाशमा जहाज र हेलिकप्टरहरु बाक्लो रुपमा नाचिरहेका थिए। भूकम्पको दोस्रो र तेस्रो दिन पालमुनि कटाएपछि चौथो दिन हामी घर नजिकैको निर्माणाधीन घरको एउटा खाली सटरमा सर्यौं। एक तले घर र खुला सटर भएकाले भूकम्प गैहालेमा रातको समयमा पनि दौड्न सजिलो हुन्छ र चिसोबाट समेत जोगिन्छ भनेर हामी त्यो सटरमा सुत्ने निधो गर्यौं। हामी रातभर जागै रहन्थ्यौं, कहिले भूकम्पले हल्लाउँछ र दोडिएर भाग्नुपर्छ भन्दै म तम्तयार भएर बस्थ्यौं। भूकम्पको डरले मलाई आफू सुत्केरी हुँ भन्ने कुरा विर्साइदिन्थो। जब म दौडिन्थें, तब अपरेशन गरेको घाउ चस्किदा बल्ल म आफू सुत्केरी भएको महसुस हुन्थ्यो।
भूकम्पको चौथो रात म कुनामा सुतेकी थिएँ। भुइँमा जस्ता पाता र त्यसको माथि कम्मल ओछ्याइएको थियो। हामी बसेको सटरमुनि सेफ्टी ट्यांकी बनाइएको रहेछ, कुनाको प्वालबाट मैले एक्कासि भित्रको भ्वाङ देखेपछि भूकम्पले भ्वाङ पारेको भन्ठानेर तर्सिएँ। म रातभर जागै रहें। भूकम्पको त्रायले जतातै जमिन फाट्ने हो कि भनेर मन डराईरहन्थ्यो। भूकम्पको पाँचौं दिनपश्चात म मेरी दिदी र हाम्रा दुई छोराहरुको साथमा तराईमा रहेको माइती घर गयौं। गौतमबुद्ध विमानस्थल बाहिर मेरो बुबा र मामा हामीलाई प्रतिक्षा गरेर बस्नुभएको थियो। त्यहाँ पुग्दा हामीलाई स्वर्गजस्तै लागेको थियो। मानिसहरु आफ्नै दुनियाँमा रमाइरहेका थिए। भूकम्पको कुनै असर त्यहाँ देखिएको थिएन।
टेलिभिजनमा भूकम्पले ध्वस्त पारेका संरचना र मानिसहरुको दर्दनाक अवस्था देखेर अतालिँदै बसेका हाम्रा आफन्तहरुले हामीलाई बाँचेर आयौं छोरीहरु भनेर अंगालोमा बेरेको याद ताजै छ। भूकम्पबाट आफू अलि सुरक्षित स्थानमा पुगेपनि मनमा डर यथावत नै थियो, काठमाडौंमा फेरि भूकम्प नगए हुन्थ्योे, हाम्रा परिवार र आफन्त लगायत थुप्रै नेपालीहरु काठमाडाैंमै रहेकाले उहाँहरुको चिन्ता लागिरहेको थियो। नभन्दै वैैशाख २९ गते फेरि अर्को ठूलो भूकम्प गयो, जसले वैशाख १२ को भूकम्पमा परी बाँचेर खुशी भएका आत्माहरुलाई फेरि रुवायो।
पहिलो भूकम्पले पुर्याएको क्षतिको लेखाजोखा, उद्धार र उत्खनन तथा पुननिर्माणकार्य गरेर नभ्याउँदै अर्को ठूलो भूकम्पले नेपाल आमालाई धरधरि रुवायो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दातृ निकाय, स्वदेशी तथा विदेशीको सहयोगमा भूकम्पमा परेकाहरुको उद्धार गर्ने काम गरे। भूकम्प गएको एक वर्ष बितिसक्दा पनि भूकम्पपीडित मानिसहरु अझै पाल र टहरोमुनि नै रात काटिरहेका छन्। खाद्यान्नको जोहो गर्नका लागि रातदिन खटिएका छन्। अझै पुननिर्माण कार्य सुरु हुन सकेको छैन। गत वैैशाख १२ मा गएको विनाशकारी भूकम्प यता गएका परकम्पनका कारण अझै नेपालीहरु ढुक्कको श्वास फेर्न सकेका छैनन्।