घर दोलखाको शैलुङ। एक वर्षअघिसम्म घर भन्न मिल्थ्यो। अहिले पनि हामी छौ। म श्रीमती, छोरा, छोरी छन्। घर छैन। गोठमा छौं। यसरी गोठमा बसेको पनि बर्ष बित्यो अर्थात ३ सय ६५ दिन भएछ। ८ हजार ७ सय ६० घन्टा। घन्टालाई साठीले गुणा गरे मिनेट निस्केला। यो एक बर्षमा आइ पर्ने चाडबाड आए गए। सकिए। जाडो पनि आयो गर्मी पनि। बर्षा पनि भयो र हिउँदको हिउँ पनि। तर हामीले भोगिरहेको हाम्रो दैनिकी भने जस्ताको तस्तै छ।
हाम्रो दुइटा घर थिए। एउटा बाले बनाएको एउटा नयाँ। पुरानो भन्दा नयाँमा बस्न राम्रो थियो। सबै त्यतै बस्थ्यौ। हामी हुने खाने त होइनौ हुँदा खाने भन्दा अलि माथि हौ कि? हुँदा खाने भन्दा पनि हुन्छ। परिवार चलेकै थियो। कम्तिमा बस्नको लागि कुनै समस्या थिएन। भन्नका लागि गाउँमै सही दुइटा घर थिए।
एक बर्ष पहिले भुँइचालो आयो। दुनियाँलाई थाहा छ। मान्छेले ज्यान गुमाए। हाम्रो त घर त भत्किएको हो नी। चित बुझाउने बाटोथ्यो। बुझायौ। रेडियो र टेलिभिजनमा सुनियो। दुनियाँबाट सहयोग आयो। हामीले पनि केही त आश गरेका हौ। त्यो अस्वभाबिक हो र? सहयोग कता कता भए कसकसले पाए त्यो थाहा भएन। पाउने खुसी भए होलान्। दुई पटक पाउने झन खुसी भए होलान्। पटक पटक पाउने के भए? काठमाडौबाट पाँच घन्टा लोकल गाडी चढेर पुगिने मेरा ठाउँमा त्यस्तो सहयोग केही भएन। भयो कि? हामीले पाएनौं।
सहयोगले परिबार पालौला भनेर यसो भनेको होइन। अप्ठ्यारोको बेला भएर मात्रै भनेको हुँ।
सहयोगै नपाएको भन्न नमिल्ला? हामीले पाएको सहयोग यस्तो छ।
१५ सय र एउटा चाउचाउ एउटा दुई मिटर लामो त्रिपाल एक थान। भुईचालो गएको दुई महिना पछि। १५ हजार नगद ५ महिना पछि। १० हजार रूपैया एउटा ट्वाइलेट प्यान र चारवटा बाँसका भाटा नौ महिना पछि पाइएका समान हुन्।
अरुले के के पाए भन्ने समाचार रेडियो तिर सुनिन्छ। भुँइचालो गए पछि हाम्रो परिवारमा भएको परिवर्तन।
पहिले हाम्रो खानाका लागि आफ्नै अन्नपातले झन्डै पुग्थ्यो। केही पुग नपुग बजारबाट चलाइन्थ्यो। अहिले उल्टो छ। धेरै बजारबाट किनेर चलाका छौ पुगनपुग आफ्नो उत्पादन। बजार पनि छोइसक्नु छैन। महंगी बढेको छ भन्नु नपर्ला। पहिले ३० किलोको एक बोरा चामल १५ सय तिर्छु भन्यो भने लैजानुस एक दुई महिना पछि तिरे हुन्छ भन्थे। अहिले दुई हजार क्यास दिन्छु भन्दा पनि दिदैनन्। जस्तापाता, खानेतेल र चिनी मसलाको पनि के कुरा गर्नू?
हामीले पनि सम्झियौं। विस्तारै सबै ठीक हुँदै जाला। बजार पहिले झै सस्तेला। चाहिएको बेला जस्ता पाता पाइएला। भनेको बेला गोठ बनाउनै लागि भए पनि बजारमा काँटीकिला सजिलै किन्न पाइएला। एक महिना पाइएन। दुई महिना पाईएन। अहिले एक बर्ष पुगेछ। उस्तै छ। नपाउने नै त होइन। भाउको दोब्बर तिरे पछि मात्रै पाईन्छ।
पहिले त लाग्थ्यो देशमा सरकार छ। नजाएज काम गर्नेलाई कारबाही हुन्छ। हामी जनता हौ। हामीले नै चुनेका नेता छन्। मन्त्री छन्। सहयोग होला भन्नेथ्यो। झन हाम्रो त रोडसँगै जोडिएको घर हो। यी ठूलामान्छे यो बाटामा हिड्दा यसो आँखा पर्ला। बिचारा घर लडेछ भन्लान्। सोधपुछ होला। हामी पनि हाम्रो पीडालाई अलि अलि थपेर भनौला भन्नेथ्यो। दुःख पाएकै छौ त्यसमा थपथाप गरौला। एक वर्षमा कतैबाट कोही आएनन्। हामीलाई सोध्ने? कसलाई भन्नु। छिमेकी काकाकाकीलाई सुनाऔ भने उनका कथा हाम्रा भन्दा थोरै परक छ र?
भुइचालो गएको आठ महिना पछि कहिले कही मात्रै गाडी गुड्ने हाम्रो सडकमा गाडीको लाइन आयो। मन्त्री आकारे। हाम्रै मन्त्री। अस्ति भरखर जस्तो त हा नि। भोट माग्न आउँदा मेरा नाम बोलाउँदै हात मिलाकाथे। मजाले गफ गरेकाथे। मलाई भोट दिनु सुखदुःख परेको सहयोग गरौला भनेथे। हाम्रै घरमा भुटेको मकै अलिकति र उसिनेको आलु खाकाथे। साह्रै असल मान्छे लागेर हामीले पनि भोट हालेका थियौ।
मन्त्री नै भए पछि धेरै गर्लान्। यत्रो महिनासम्म केही नपाएका उनका खास हामी जनता। मनका कुरा भनौला। के भन्दा हुन् हामी पनि भैसे बजार गयौ। मान्छे नै मान्छेले घेरिएका मन्त्रीलाई पुलिस र आर्मीले घेरेर राखेकाथे। अस्ति मेरो नामले बोलाउँदा मलाई चिन्दा हुन् भन्ने ठानेको आज पुलुक्क म तिर आँखा त पर्यो तर बोलेनन्। के हाम्रो कुरा सुन्थे। आधा घन्टा बसे। उनीसँगै आएको गाडिको लाइनले धुलो उडाउदै फर्कियो।
झनक्क मनमा रिस उठ्यो। चाहिने बेलामा हाम्रो घरको आलु पनि खाने नाम पनि थाहा हुने अहिले हामीलाई चाहिने बेलामा के छ पनि नभन्ने? हुन त तिनका परिवार गोठमा बस्नु परेको थोरै हो? तिनका परिवारलाई पुसमाघको जाडोले छोको छ र? हामीलाई चाहिने पो सहयोग गर्नूनी। हामीलाई बाँसको भाटा चाहिदैन। बारी भरि उतिस, सल्लाका रुख छन्। घर लडे पनि ट्वाइलेट लडेको छैन। चलेकै छ। नलिऔ भनेको पल्लो घरको कुमारले सरकारले दिएको लिनु पर्छ रे।
कति भन्नु मनका कुरा। जसरी भने पनि सकिदैन।
यो रेडियोका मान्छेलाई कताबाट थाहा हुन्छ यति धेरै कुरा। कहिले सरकारले सहयोग गर्यो। कहिले भुइँचालोमा घर भत्किनेको घर बन्ने भो। सहयोग त कति हो कति? दुई लाख पाए। इन्जिनियरले घरको लागत उठाए। समाचारका समाचार छन्। हामीले पाएका छैनौ। हामीले सरकारका मान्छे देखेका छैनौ। अन्तका मान्छेले धेरै पाए कि बा? अझ मन्त्रीले यसो भने। प्रधानमन्त्रीले यसो भने।
घर आफै बनाऔ भने पनि असजिलो छ भन्छ्न। खै कताको नक्सा हुनु पर्ने रे। सरकारका डिजाइनमा बन्नु पर्ने रे। हामी प्रत्येक दिन उधारोमा ल्याएको पाताको छानोबाट चुहिने शित र घाम लाग्दाको तातो सहेर बसेका छौ। कसो गर्ने हो? कहिलेसम्म सहयोग हुन्छ। हेरौ। कुरा जति गरे पनि उस्तै छ। बरु काली भैसीले पाडो पाएको छ। घाँस पो काट्नु जानु पर्ला?