२०७२ साल वैशाख, हामी नेपालीहरुको नयाँ वर्षको पहिलो महिना, नयाँ संकल्प, सपना र अठोटका साथ वर्ष ०७२ सफल बनाउने उल्लासमा थियौं। वैशाख १२ गते मध्यान्न प्राकृतिक विपत्ति महाभूकम्प हामीले भोग्नु प¥यो। काठमाडौं उपत्यकासहित १४ जिल्लाका भूकम्पले क्षतिग्रस्त बनायो। गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पले झण्डै १० हजार मानिसको ज्यान लियो। हजारौं अशक्त बने। असंख्य मात्रामा पशुपंक्षी पनि मारिए प्रकृतिक विपत्तिमा। मानिसका अर्बौंको सम्पत्ति बिनाश गर्यो भूकम्पले। नयाँ संकल्पसहित नयाँ वर्ष जिउने सपनाहरु तासका महलझै क्षण भरमै ढले। सपना, संकल्प र अठोटका महलहरु ढलेका वर्ष मनमा धेरै पीडा छ र अनगिन्ती वियोगका कथाहरु पनि, विनाशकारी भूकम्प गएको एक वर्ष पुरा भएको छ यही सेरोफेरोमा आज भूकम्पद्धारा ढलाइएको एउटा सुन्दर घरमा बुनिएको मन पुनर्निर्माणको कथा भन्दैछु।
रमेश शर्माको परिवार
यही भूकम्पमा परी मेरो चिनजानका रमेश दाइकी २८ वर्षीय श्रीमती र २ वर्षे काखे बालकको सिन्धुपाल्चोकमा मृत्यु भयो। भाउजु गाउँकै सरकारी विद्यालयमा शिक्षिका थिइन्। शिक्षित र स्वावलम्वी श्रीमती पाउँदा दाइ पनि आफूलाई भाग्यशाली ठान्थे। दाइ वैदेशिक रोजगारीका शिलशिलामा दुबईमा थिए। बिहे भएको भर्खर ३ वर्ष पुगेको मात्र थियो। दाइ–भाउजु र पुरा परिवार खुसी थियो। अझ छोराको जन्मपछि त छुट्टै हर्षोल्लासको वातावरण थियो। विषेश गरी हजुरआमाको खुट्टा त भुइँमा नै थिएन। अझ गाउँलेलाई भोजै पो खुवाएकी थिइन् अरे उनले, नाती जन्मिएको खुशीयालीमा। हुन त यो कुनै नौलो कुरा होइन समाजमा सधै जसो यही त देख्न पाइन्छ ‘छोरा जन्मे भोज, छोरी जन्मे शोक’। मैले देख्दा र सुन्दा उनीहरुको जीवन मिठासपूर्ण चल्दै थियो। नयाँ वर्षको रौनक सकिँदा नसकिँदै वैशाख १२ को कालो दिन आयो।
शनिवार छुट्टिको दिन भएकाले गीता भाउजु घरकै काममा व्यस्त थिइन्। विशेष गरी सरसफाईमै उनलाई भ्याइनभ्याइ थियो। अझ, दुधे बालकको च्याँ च्याँ। छोरालाई घरभित्र सुताएर उनी आँगनमा लुगा धुँदै थिइन्। एक्कासी जमिन हल्लिन र थर्किन थाल्यो। भाउँजु ‘भुँइचालो भुइँचालो’ भन्दै घरभित्र रहेको छोरालाई लिन भित्र दौडिन्। छोरालाई बोकेर ढोका निर आइपुग्न नपाउँदै पुरै घर उनीहरुमाथि खस्यो। उनी र उनको काखको छोराले ‘ऐया’ पनि भन्न पाएनन्। छिमेकी बाँकी परिवारले हेर्दा हेर्दै उनीहरुले प्राण त्यागे। निरन्तर आइरहेको परकम्प र पुरै गाउँ शोकमा डुबेका बेला उद्धार पनि तत्काल हुन सकेन। तुरुन्तै रमेश दाइ विदेशबाट फर्किए। काजकिरिया पनि भयो। त्यो घरमा त्यो बेला आँसुको ताल फुट्यो र त्यही तालमा हामी पनि डुब्दा डुब्दै पौडिएर निस्कियौं तर त्यो परिवार निस्कन सकेन।
दाइको रगत ‘छोरा’ र मुटुकी टुक्रा ‘श्रीमती’ चुँडेर लगेको थियो दैवले। राहत वितरण होस् वा समाचार संकलनका क्रममा मेरो त्यो परिवारसंग भेट भइनै रहन्थ्यो। तर घाउ आलै थियो। केवल पीडा नै पीडा थियो। केही समयपछि सुनें, दाइको बिदा सकिएपछि उनी विदेश फिर्ता भएछन्। फेसबुकमार्फत देख भेट पनि भइनै रहन्थ्यो। समयसंगै परिस्थिति बिस्तारै सामान्य बन्दै थियो। तर परिवारले त्यो चोटमा मल्हम लगाउन सकिरहेको थिएन।
बिहेको निम्तो
यस्तैमा झण्डै एक महिना अगाडि मलाई एउटा फोन आयो। चिने जानैको स्वर थियो, एक छिनमा ‘बहिनी’ भन्ने बित्तिकै चिने रमेश दाइ रहेछन्। सञ्चो–बिसञ्चो गफगाफ चलिरहेको थियो। ‘तिमीलाई निम्तो दिन फोन गरेको’ भने उनले। म आश्चर्यचकित पटक्कै भइन् र भाइको बिहे हो, दाइ भनेर सोधे। रमेश दाइले जवाफ फर्काए होइन। फेरि एक मनले सोचे। भाउजु र बाबु बितेको एक वर्ष पनि त भएको छैन। त्यो घरमा बिहे कसरी हुन्छ? मैले फेरि जिज्ञासा राखे। ‘त्यसो भए के को निम्तो दाइ?’ उनले अलि अप्ठ्यारो मान्दै भने,‘बिहे छ मेरो, अलि हतार भयो ......गते ११ बजे बालाजु बाइसधारामा आउनु।’ म अक्क न बक्क भएँ एकदम निशब्द, केही बोल्न सकिनँ, बधाइ पनि भन्न सकिनँ। उनले ‘हेल्लो हेल्लो’ भन्दै फोन कतिबेला राखेछन्, थाहा भएन।
म सब पुनरावृत्ति गरिरहेकी थिएँ। चलचित्रको रिवाइन्ड या फ्ल्यास ब्याक जस्तो। ति मिजासिली, शिक्षित, सुन्दर भाउजु, ति अबोध बालक, त्यो चट्याङ सरह आएको भूकम्प, ति सबै पल चलचित्र हेरे जस्तै मेरो मानस्पटलमा घुमिरह्यो । मलाई कुनै भयले समातेको थियो। तर भन्नु पर्दा मलाई कुनै अनुभव नै भइरहेको थिएन त्यो समय, न दुःख, न खुशी, न आँसु न उल्लास केही पनि थिएन पुरै बेहोस, जब म एक छिनमा होसमा आए तब म आक्रोशित भए। आफैसंग प्रश्न सोधिरहे र आफै उत्तर पनि दिइरहे तर केही प्रश्नका उत्तर मैसंग पनि थिएनन्। सायद हामीमध्ये कसैसंग पनि छैन। आखिर दाइले बिहै किन गर्दै छन्? त्यो पनि श्रीमती र छोरा बितेको १ वर्ष नबित्दै? के त्यस्तो बाध्यता थियो र? खै, कुन र कस्तो माया रहेछ उनको साह्रा जीवन साथ दिने वाचा गरेकी श्रीमती र छोराप्रति?
अस्तिसम्म बेहोस भइ रोइकराई गर्ने ति दाइ, ति परिवार बिहेको लागि कसरी राजी भए? कहाँ गयो त्यो खसेको आँसुको डाम? के त्यो सब अब नयाँ श्रीमती र नवबुहारी पाउने आशामा बिलिन भए? वाह! हाम्रो समाज। एक वर्ष पनि नबित्दै त्यो ठूलो घाउ पुरै निको भइ नयाँ रङ्ग बदलिएछ। मलाई जान्न इच्छा थियो दाइसंग बिहे गर्ने को रहेछिन्? अविवाहित वा एकल महिला, जन्ने रहर यस अर्थमा थियो कि दाइले उनको संगै अरु कसैको जीवन सङ्लो पार्दै थिए या श्रीमती अभावको खाँचो पुरा गर्दै? ती स्त्रीको बारेमा थाहा पाउन धेरै समय लागेन मलाई, दाइ भन्दा पाँचसात वर्ष कान्छी रहिछिन् उनी, आश्चर्य चकित भएँ म। अविवाहित कलकलाउँदो बैँस भएकी उनले के सोचिन र दाइसंग बिहे गर्न राजी भइन्? उनको परिवारले कस्तो अवस्थामा निर्णय लियो? म जवाफबिहीन भएकी छु।
वर्ष दिन नपुग्दै किन बिहेवारी?
मेरो तात्पर्य यो होइनकी दाइले बिहे नै गर्नु हुँदैन थियो। तर आकस्मिक आइ लागेको त्यो वियोगको वर्ष दिन पनि नबित्दै यो रमझम पाच्य थिएन। मलाई लाग्थ्यो समय लाग्ला तर दाइले घरजम गुर्नपर्छ। त्यो घरमा फेरि खुसी फर्कनु पर्छ। वैशाख १२ को त्यो कहाली लाग्दो दिनले निम्त्याएका वियोगहरुमा सबैले मल्हम दलेका छैनन् होला तर दाइले त्यो घाउमा सिन्दुरको मल्हम लगाए। ठिक तीन वर्ष अघि गीता भाउजुको सिउँदो भरेको समय पनि यति बेलै थियो। त्यो स्मरण र वियोगका केही हरफ सार्वजनिक गर्ने समयमा उनले नयाँ दुलहीका साथ केही तस्विर फेसबुकमा सार्वजनिक गरे र फेरि बधाइका पात्र भए उनी। गीता भाउजुले लगाएको सिन्दुर माटोमा विलिन नहुँदै जज्ञमा अर्की कन्या कुमारीको सिउँदो भरे,बिहेमा सरिकहरुलाई भोज खुवाए।
साच्चिकै उनले प्रष्ट्याए सिन्दुरको अर्थ, जुन बजारमा एक भाँडोको पन्ध्र बीस रुपैयाँ पर्छ। त्यो खुशीयालीमा सामेल हुन मलाई मेरो नैतिकताले दिएन र म गइनँ। हो, बाध्यताले त्यो परिस्थिति सृजना गरेको हुनसक्छ तर कति निष्ठुरी मन हो त्यो, कति कठोर रहेछ कि बर्खी पनि कुर्न सकेन। गीता भाउजुको जन्मको खुशी र मृत्युको दुःख त केवल उनको आमा र बुबालाई मात्र होला। आमा र बुबाले छोरीको अभावमा छटपट्टिएर भरी पेट नखाएको कति भएको थियो होला, जब यता ज्वाँइले छोरी र नातीको बर्खी पनि नकुरी अर्की श्रीमती भित्र्याएको खुसीमा सबैलाई भोज खुवाएँ। ती आमा र बुबाको मन कति रोयो होला।
बिहेले उब्जाएको प्रश्न
जन्म, विवाह र मृत्यु नै त जीवन चक्र हो, चलिरहन्छ। रमेश दाइलाई शुभकामना तर एक गहन वैचारिक द्वन्द्व मनमा चलिरह्यो। आज दाइको ठाउँमा भाउजु भएको भए उनी के गर्थिन् होला? के यसैगरी श्रीमान बितेको एक वर्ष नपुग्दै पञ्चेबाजा घन्काएर बिहे गर्थिन्? या जीवन सुम्पिएको श्रीमान र छोराको वियोगमा जीवनभर तड्पी रहन्थिन्। हुन त मानिसको स्वभाव अनुसार फरक पर्दछ तर म यकिनका साथ भन्छु, ती भाउजुजस्ता एकल महिलाले यस्ता कदम उठाउनु परको कुरा हो। यस्ता विचार समेत उनीहरुको मनमा आउने थिएन। किनकी उनीहरु नेपाली समाजका महिला हुन्। चाहे जतिसुकै शिक्षित र स्वावलम्बी नै किन नहुन् तर महिलाको जीवन सधैँ डरको घेराभित्र सीमित हुन्छ। परम्परागत संस्कारको घेरा तोड्न नै कहाँ सक्छन र महिला? उनीहरु हमेसा पीन्जडामा नै कैद छन् समाजको लैङ्गिक, विभेदित दब्बु मानसिकताभित्र।
समाजले के छुट दिन्थ्यो भाउजुलाई, श्रीमान र छोराको निधन भएको वर्ष दिन पनि नबित्दै परपुरुषसंग जीवन सजाउन,नयाँ जीवनको सुरुवात गर्न? दिँदैन, पक्का पनि दिँदैन। कपडामा त भेदभाव छ यहाँ। रंगीन् कपडा त लगाउन नपाउने समाजमा के सपना, विपना र जीवन रंग्याउन पाउँछन् एकल महिलाले? यदि पाउँछ भने, त्यो अपवाद कहलिन्छ। महिलालाई सम्मान र मायाको खाँचो हो जसरी उनीहरु गर्दछन् निस्वार्थ माया, त्याग र समर्पण। तर खोइँ कहिले मान्ला र उनीहरुको मन पुरुष सरह खुलेर जिउन, अतित बिर्सेर नयाँ जीवन सुरुवात गर्न?
हामी संरक्षणका कुरा गर्छौ, महिलालाई पुरुषबाट संरक्षणको आवश्यकता छ, आदि, इत्यादि। यस घटनाले स्पष्ट बनाएको छ कि संरक्षणको आवश्यकता महिलालाई होइन, पुरुषलाई महिलाको संरक्षण चाहिएको हो। त्यसैले एकल महिला होस् या पुरुष दुबैलाई जीवन सजाउने उत्तिकै अधिकार छ, जीवन साथी पाउने हक छ। मैले भन्न खोजेको यतिमात्रै होकी रमेश दाइको मन पुनर्निर्माणको खुशीमा गीता भाउजुको मृतात्मा र उनको घरपरिवार हाँस्न सक्यो कि सकेन?