खासै लेखेर वा सुनाएर हाम्रो कुरा सुनिहाल्छन् कि जस्तो त लाग्दैन यो देशका नेताहरुले तर पनि मेरो विगत र वर्तमानले केही लेख्न प्रेरित गरिरहेको छ। मनको कुनाहरूमा खुब भन्न नसकिने दुखाइले साह्रो भएर आउँछ आजभोलि किनभने मेरो साथीहरु बाटो बिराउँदै छन्।
जतिबेला नेपालमा भीषण युद्ध चलिरहेको थियो, त्यत्तिबेला लाग्थ्यो, हाम्रो नेतृत्व विश्वमा महान नेतृत्व हो। अहिले आउँदा कताकता झुटो विश्वाशको पोकाहरु बिस्तारै खुस्किँदै जाँदा ती आस्था कृतिम पो रहेछन् कि जस्तो भान हुन्छ। यो म र मेरा कमरेडहरुले भोगेको सत्य हो।
अरुले त सुनेका मात्र छन्, मेरा प्रिय कमरेडहरु, हो हामीले देखेको सपना साँचो हो मर्न कसैलाई मन लाग्दैन। यदि हामी झुटो थियौं भने भोकै रातभर लडेर खालि पेट बोकी किन मर्थे? हाम्रो जवानी बारुदको धुवासँग उडाउनुको पछाडि हाम्रो देशको भोका पेटहरु अघाउने सपना थियो हैन र?
कमरेडहरु हामीले स्विजल्याण्ड बन्छ भनेका थियौं त्यो विकट गाउँहरुमा। अनि हामीले भनेका थियौं एकअर्कामा "तपाईं र मेरो आमा रुँदा हजारौं लाखौं आमा हाँस्नेछन् यो देशमा र भनेका थियौं तपाईं र मेरो रगतले तपाईं अनि म जस्ता हजारौं युवाले फेरि अरुको देशमा रुनुपर्ने छैन। यही होइन र कमरेडहरु हामीले बाँडेका र देखेका सपना?
के लाग्छ तपाईंहरुलाई? म ठूला भनिएका नेताहरुलाई भन्न चाहन्न। म भन्न चाहन्छु मसँगै यो देशका लागि भन्दै आधा रगत बगाउने साथीहरुलाई। साथै भन्न चाहन्छु यो देशको युवाहरुलाई जसले देशको झन्डालाई पर राखेर दलको झन्डालाई सर्वोपरि ठानिरहेका छन्। पार्टी फुट्यो, यसमा विचारप्रधान भएर फुटेको हुँदै होइन।
सबलाई मुख्य नेता बन्ने भुत सवार र आर्थिक रुपमा लाभ उठाउने कुसोचको परिणाम मात्र हो। यदि जनमुक्ति सेना विघटन, संसदीय दलसँगको मिलाप र आर्थिक मात्र हो भने त १२ बुँदे समझदारी हुनुपहिले नै पार्टी फुट्नुपर्थ्यो। किनभने जनमुक्ति सेनालाई समायोजन गर्ने कुरा त अहिले तत्काल भएको हैन, यो वाद र त्यो वाद त वाहियात कुराहरु मात्र हो। मुख्य कुरा आफू केन्द्रित राजनीति गर्ने सपनाको धरहरा ठड्याउने मान्छेहरुको उपज मात्र हो। सरकारले मंसिरमा चुनाव गराउने भनिरहँदा प्रचण्ड र बैद्यले हामीलाई खुट्टा भाँच्न निर्देशन गरिसकेका छन्। अनि हाम्रा एकथरि साथीहरु जो अलि माथि पुग्छु भन्ने अभिलाषा बोक्छन् जुर्मुराउँदै मान्छे कुट्ने तालिम सिक्दैछन्।
साथीहरु १० वर्ष हामीले लडियो। ५ वर्षमा हामीलाई लडाउनेहरुको जीवन आँखाअगाडि नै कसरी परिवर्तन भयो? के हामीले बिर्सीपठाउने?
७-८ जना कसैलाई सगरमाथा चढाउन मनलाग्दा २ करोड रुपैयाँ शुभचिन्तक र अन्तर्राष्ट्रिय सहयोगीबाट पैसा प्राप्त गरे भन्दै खर्च गर्नेहरुले सहिदको परिवारलाई कति सहयोग गर्यो साथीहरु?
उफ… हामी त फूलमा भमरा भुलेजस्तो साह्रो भुलेका छौं। अब चुनाव त होला, त्यतिखेर टाउको फुटाउन तयार मेरो कमरेडहरु चुनावपछि तिमीलाई पाँचतारे होटलमा चुस्की लगाएर सुतेका हाम्रा नेताले सपनामा पनि देख्ने छैन। तर तिमी झिंगा भन्केर गनाउने हुँदा एक्लै हुनेछौ अनि हात जोड्ने छौ तिनीहरुका अगाडि जीवनको भिख माग्दै। यही हो यथार्थ देशको शहिद भइन्छ भनेर छाती फुलाउनु बेकार छ कमरेड। धेरै भए पार्टीको सहिद होला त्यो पनि नाम मात्रको। तिमीले देखेका सपना त पाँचतारेको बोतलभित्र बन्द हुनेछ। विश्वको धेरै देशहरु उन्नति गरेर ग्रह र उपग्रहहरुमा पुगिसके अनि हामी चाहिँ पार्टीको झन्डा बोकेर गल्लिगल्ली हल्लेर देशलाई ठप्प पार्न तयार हुने? कसरी देशको प्रगति हुन्छ र?
मेरो कमरेडहरु आफूमाथि निर्मम हुनु राम्रो कुरा हो तर जसलाई हामी रगतको बगाएर माथि पुर्याएका छौं उनीहरु आफूमाथि कहिले पनि निर्मम हुँदैनन्। बरु अझ तिमीमाथि निर्मम हुनेछ। उनीहरुको स्वार्थ पूरा गर्न यो देशलाई दुहुनो गाई बनाइरहेछन् जहाँ बाट तिमीले एक कप दुध पिउन सक्दैनौ। यो देशलाई हप्तौंसम्म बन्द गराउन तयार हुन्छन् तिनीहरु किनभने व्यक्तिगत केही पनि बिग्रँदैन यहाँ उनीहरुको। हामीलाई उनीहरुले शिक्षा, उद्योग यातायात, प्रशासन सबै ठाउँहरुमा खटाएका छन् र जिम्मेवार मानिसको संज्ञा दिएका छन्। अनि हामी मख्ख छौं हैसियत प्राप्त गरेकोमा र हामी काम गर्छौं उनैको इशारामा। हामीले कहिलेसम्म यस्तो गरिरहने साथीहरु?
देश त भाषणमा हुँदैन कर्ममा हुन्छ। जसले कर्म गरेका छन् उनीहरुको देश प्रगतिमा दौडिरहेको छ यो सत्य हो भन्ने थाहा हुँदाहुँदै पनि अब पनि तिनीहरुको भाषणमा मख्ख पर्नु मुर्खता हो। पाखुरीमा बल हुँदा देशलाई ठप्प पार्ने, भएका संरचना ध्वस्त पार्ने, विकासको नाममा कथित राजनीति गरेर देशलाई डुबाउने अनि सुन्दर देशको कल्पना गरिरहनु पागलपन हो। कुनैबेला युद्ध आवश्यक पनि थियो हामीले गरिसकियो। फेरि युद्धमा होमिनुपर्छ भन्नु त अल्पबुद्धि भएकाहरुले मात्र विश्वास गर्ने कुरा हो।
कमरेडहरु साँच्चिकै देशलाई माया गर्ने हो भने हामी बदलिन जरुरी छ। तपाईं बदल्छु भनेर लाग्ने हो भने यो सम्भव हुँदैन तर तपाईं बदलिनुपर्छ तब देश बदलिनेछ। मलाई याद आउँछ चितवनको शक्तिखोरमा कमरेड प्रचण्डले भनेका कुरा "कमरेडहरु विश्वको आँखा जनमुक्ति सेनामा छ, तपाईंहरु बोल्न जान्नुहुन्छ बोल्नुस् जान्नुहुन्न नबोल्नुस् यसैमा पार्टीको हित छ।"
हो, हामीले पार्टी हितको लागि धेरै कुरा अन्धभक्त भएर सुनिरह्यौं। जति गरियो पार्टीको लागि गरियो। तर देश र जनता त नुनजस्ता थिए जो खान्छ अस्तित्व मेटिन्छ। अब देशलाई माया गर्छु भनेर प्रमाणित गर्ने हो भने नेताको ढोका पुग्न छोडेर आफ्नो-आफ्नो काम इमान्दारीसाथ गर्नुपर्छ।
हामीले मेहेनत र इमान्दारी अपनाउने हो भने मात्र देशमा सकारात्मक असर पर्नेछ। अब हामी हाम्रो काम गरौं, हामीले सिद्धान्तमा धेरै सिकेका छौं र धेरै नेताहरुको नाडी छामेका छौं। देश बिकाशको लागि पार्टीको झन्डा हल्लाएर सम्भव छैन। काम देखाउनुपर्छ। हामीलाई थाहा छ कि "सिद्धान्तबिनाको व्यबहार अन्धो हुन्छ र व्यबहार बिनाको सिद्धान्त लंगडो हुन्छ।" हामी कतै लंगडो पो भयौं कि विचार गरौं।
सुंगुरको खोरमा पसेर हामी सुँगुर बन्दैनौ भन्नेहरु सुँगुरको लिदी नै चाखेका हामीले छर्लंग देखिसकियो र पनि हामी उनीहरुमाथि नतमस्तक भएर भरोसा गर्नु कहाँसम्मको मुर्खता हुन जान्छ। विचार गरौं साथीहरु। हामी युवाहरुले यिनी राजनीतिक दलको फटाहापनलाई सधैं स्वीकार्ने हो भने केही वर्ष पछाडि तिनीहरुको सन्तानले डिग्री गर्दा हाम्रा सन्तानले ढिँडोको फिक्री गरिरहेका हुनेछन्। त्यसैले अब हामीले सुन्ने होइन कर्म गर्न जरुरी भैसकेको छ।
बदल्ने होइन बदलिने समय भैसकेको छ तपाईंले। बदल्यो भने फेरि पहिलेकै जस्तो हुन सक्छ तर तपाईं र म बदलियौं भने हामी फेरि बदलिनुपर्ने छैन।
(शेर्पा पूर्व पिएलए प्लाटुन सहकमान्डर हुन्।)