हामी सेलाङ डाँडा पुग्ने बित्तिकै घामले 'बाईबाई' गर्यो। लामा र फिक्का छायाँ विलय भए। डाँडाको चुच्चोबाट देखियो- हाडे उन्यूँको जंगल फाँडेर बसाइएको तीन चकला बस्ती। त्यहि उन्यूँले छाएका र बारेका करिब डेढ सय झुप्रा।
माथिबाट हेर्दा त बस्ती असाध्यै सुन्दर देखिन्थ्यो। पारिपट्टि जुगल हिमाल मनमोहक दृश्य, वरिपरि हरियो बुट्यानको झाडी, बिचमा लस्करै झुप्राहरू, तल एउटा सानो खहरे खोला।
डाँडामा सुस्केरा हाल्दा हामीलाई यस्तो लागेको थियो कि, गाउँमा त हावा नै खाएर पनि बाँच्न सकिन्छ होला। तर सत्य फरक रहेछ। हामीलाई बिस्तारै भोक र थकाईले गाँज्न थाल्यो। जुगल हिमालबाट आएको सिरोटोले हिर्काउन थाल्यो। हामी बस्तीतिर झर्यौं।
बस्तीका झुप्राहरू मान्छेविहीन थिए। तीन-चारवटा झुप्रामा चिहायौं पनि। कोही मानिस नदेखेपछि एकैछिन त हामी आत्तियौं। हामी सेलाङमा नै रात बिताउने उद्देश्यले गएका थियौं। अब कहाँ बस्ने, के खाने? साँझ छिप्पिन थालिसकेको थियो, फर्कने सम्भवना थिएन।
निराश मुद्रामा बस्ती छेवैको चउरमा पुगेर बस्यौं। कोही आउँछ कि भनेर तलमाथि हेरिरह्यौं।
यतिबेलै एकजना महिला तलतिरबाट आउँदै गरेको देख्यौं। थोरै भए पनि खुसी सञ्चार भयो। हामी खुसी हुनुको पछाडि खान र वस्न पाइने कुरा मात्रै थिएन। हाम्रो काम पनि पुरा गर्नु थियो। समाचार र भिडियो खिच्नु थियो– भूकम्पपछि सात गाउँबाट विस्थापित भएर सेलाङको जंगलमा बसिरहेका सिन्धुपाल्चोकका भूकम्पपीडित नागरिककको।
उनी नजिकै आइपुगेपछि हामीले कुरा गर्न खोज्यौं। उनी बेस्मारी लजाइन्। बोल्दै बोलिनन्। म उठेर उनको छेवैमा गएँ र भनेँ, 'दिदी हामी काठमाडौंबाट आएको, तपाईंहरुसँग भेट्न भनेर।'
उनी मुस्कुराइन्। बल्ल उनी बोलिन्, 'म त राम्रोसँग नेपाली बोल्न जान्दिनँ सिन्धुपाल्चोकको।' उनी आफ्नो तामाङ लबजका कारण हामीसँग बोल्न हिच्किचाएकी रहिछन्।
मैले उनलाई सहज बनाउने प्रयास गरेँ, 'लवज जस्तो भए पनि के फरक पर्छ र? तपाईं यति राम्रो नेपाली बोल्नुहुँदो रहेकछ। तपाईंको घर चाहीं कुन हो नि?'
चोर औंलाले एउटा टहरो देखाइन्, 'घर त छैन सर, हामी ऊ त्यो छाप्रोमा बस्छौं। सरहरु पनि आइज न!'
हामी उनको पछि लाग्यौं। एउटा स्यानो झुप्रोअघि उभिइन् र बोरा काटेर बनाएको ढोका खोलिन्। गत बैशाख १२ गते गएको भूकम्प गएकै दिनदेखि पोक्ची तामाङ र उनका श्रीमान् भीम बहादुर तामाङ यहि छाप्रोमा बसिरहेका छन्।

झुप्रोभित्र पस्ने बित्तिकै हामी स्तब्ध भयौं। ढोकाको छेवैमा तीनतिर ढुङ्गा राखेर बनाएको अँगेनो, अँगेनोमाथि कोदोको ढिँडोको माम्री कटकटिएको एउटा पुरानो, कालो फलामे कराई, अँगेनोको छेवैमा दुईटा सिल्भरको थाल, बोड्को र एउटा अम्खोरा लडिरहेको, एकापट्टी कुनामा नलपराल ओछ्याएर त्यसमाथि राखिएको कालो/मैलो डसना, एउटा सुकिलै ब्ल्याङ्केट(सायद कसैले राहत दिएको), एउटा कुनामा कुखुरा छोप्ने डोको र अरु केही खिचि्रमिचि्र।
दुइटा पोथी कराइरहेक थिए। उनले डोकोभित्रबाट पोथीलाई छाडिदिइन्। पोथीहरू हान्निँदै आएर ढिँढोको माम्री ठुङे र स्वच्छन्द हुँदै बाहिरिए।
आगो जोर्न थाल्दै गर्दा सोधिन्, 'सरहरलाई भोक लाग्यो होला, के खान्छ त?' उनको यो सद्भावले हाम्रो भोक हरायो। त्यहि ढिँडोको माम्री सिल्भरको थालमा हालेर अगाडि राखिदिइन्। बिहानै पिँधेर राखेको नुनखुर्सानी पनि। हामीले नखाइरहन सकेनौं। कुखुराले जुठो हालेको ढिँडो खाँदा पनि हामीलाई दिगमिग लागेन। हाम्रो दिगमिगलाई उनको प्रेमले पखालिसकेको थियो।
उनले आधा बित्ता लामो सुर्ती बेरिन् र सल्काउन दिइन्। मैले नै सूर्ती सल्काइदिएँ। खरो सुर्तीले मुखै सुकायो। उनलाई मागेर आधा अम्खोरा पानी पिएँ।
एक सर्को सुर्ती तानेपछि भनिन्, 'सरहर त जाँड खाँदैन होला, खाने भए छ।'
मलाई जाँड चाख्न मन लाग्यो। दिदीले फिर्के लगाएर दुई बोड्का जाँड हालिन्।
मैले सोधें, 'दिदीको घर चाहिं कहाँ थियो नि!'
'ऊ....पारि गोल्चेमा। यहाँबाट हिडेर जाने हो भने हामी आइमाईलाई दुई दिन लाग्छ,' यति भन्दैमा उनका आँखा रसाइसकेका थिए। 'भूकम्पले तपाईंको केके बिगार गर्यो दिदी?' सकेसम्म नम्र भएर सोधेँ।
'संसारै लग्यो सार। १८ वर्षको छोरो मर्यो, तीन वर्षको छोरी, घरबार सबै लग्यो!'
एक पटक घुँक्क गरिन् अनि घोप्टो परेर रुन थालिन्। मलाई ब्यर्थै सोधेँछु जस्तो लाग्यो। पाप्रा बस्न लागेको घाउ खुर्केर खुर्सानी दलिदिएजस्तो लाग्यो। अनि आफैंले मल्हम लगाउने प्रयास गरें, 'नरुनुस् दिदी, सबैतिर यस्तै भएको छ।'
मुन्टो उठाएर पछ्यौराको फेरले आंशु पुछिन्। उनको आँखाबाट बगेको आंशु चाउरी परेको गालामा लडिबुडी गर्दै छातीमा खस्यो। नाकबाट सिँगान चुहिएको थियो। ठूलो बुलाकी बेस्मारी हल्लने गरी सिँगान पुछिन्। त्यो दृश्यले मेरो पनि आँखा रसायो। एकछिन मौनता छायो। दिदीको सुँक्कसुक्क आवाजबाहेक केही सुनिएन। अनि दिदी आफैंले भन्न थालिन्, 'मलाई त कालले पनि पत्याएन सार। हामी बिहानको मेलो सकेर खाना खाँदै थियौं। गोठमा गाई कराएपछि म घाँस हाल्न बाहिर निस्केको थियो।...'
उनी बोल्दाबोल्दै रोकिइन्। हामी पनि केही बोलेनौं। एकैछिन निस्तब्धता छायो। निकैबेरपछि उनले भनिन्, 'अनि मेरो त संसार गयो सार।'
यसपछि निकैबेर उनी रोइरहिन्।
मैले सम्झाउने प्रयास गरेँ, 'जे नहुनु थियो, भैसक्यो, सबैतिर यस्तै भएको छ। आफूलाई सम्हाल्नुस्।'
उनले रूवाई कम गर्दै लगिन्। अनि सोधेँ, 'यहाँ कहिले कसरी आउनुभयो त?'
भूकम्प गएको भोलिपल्टै घरभित्र पुरिएका छोराछोरीलाई छाडेर उनीहरू दुईजनाले गाउँ छाडे। कहाँ जाने केही टुङ्गो थिएन। मनभरी भत्केको घर र पुरिएका छोराछोरीको भारी सम्झना मात्रै थियो। हिँड्दाहिँड्दै सेलाङ गाविसमा पर्ने फराकिलो चउरमा आइपुगे। जहाँ अरु थुप्रै गाउँबाट आएकाहरू पनि थिए। सबैको पीडा उस्तै, वेदना उस्तै। अनि सबै त्यहि चउरमा बस्ने भए। जंगलबाट स्याउला ल्याएर छाप्रो बनाए।
उनीहरुले चार दिनपछि गाउँ गएर छोराछोरीको शव उत्खनन् गरे। भत्केको घरनजिकै छोराछोरीको शव पुरेर फेरि सेलाङ फर्किए।
मुटुका टुक्राजस्ता छोराछारी वियोगको पीडा छ। बस्ने ठाउँ छैन, खानेकुरा छैन। गाउँ फर्किएर घर बनाउँला भन्ने अवस्था पनि छैन। गाउँमाथिबाट ठूलो पहिरो खसेको छ। गाउँको जमिन चिराचिरा परेको छ। गाउँको पानीको मुहान सुकेको छ। त्यसैले गोल्चे र त्यसआसपासका अरु गाउँका विस्थापित सेलाङमा नै बसिरहेका छन्। तर, सेलाङमा पनि उनीहरू ढुक्कले बस्न पाएका छैनन्। मौसमअनुसार आउने विपत्तिले उनीहरूलाई सताइरहन्छ। वर्षाको पानी झुप्रो छिचोलेर भित्रै पस्छ। वर्षामा पानीको ओछ्यानमा सुतेका उनीहरूले हिउँदका कति रात हिउँको सिरानीमा बिताए।
मौसाम मात्रै होइन, चाडपर्वले झन् कडा प्रहार गर्छन्। दशैं, तिहार, ल्होसार यसपटक उनीहरूलाई जिस्क्याउन मात्रै आए।
अहिले सेलाङका भूकम्पपीडितलाई झुल्कने घामले पनि पीडा दिन्छ, रातमा तप्किने शीतले पनि पीडा दिन्छ। जुगल हिमालको सिरोटो पीडा नै थपेर जान्छ।

उनीहरू अहिले जहाँ छाप्रो हालेर बसेका छन्, त्यो आधा जग्गा सरकारी हो भने आधा व्यक्तिको नाममा छ। उनीहरू कतिन्जेल त्यहाँ बस्न पाउने हुन्, कुनै ग्यारेण्टी छैन।
उनीहरूलाई अहिले बाँचेको हो कि सपनामा रुमल्लिरहेको हो, पत्तो छैन। सरकार कहाँ छ? सरकारले के गर्छ? भन्ने पनि थाहा छैन।
यो एउटा झुप्रोको भित्रको मात्रै वास्तविकता होइन, यहाँका हरेक झुपडीभित्र यस्तैयस्तै असङ्ख्य पीडा छ। पोक्ची तामाङले हामीलाई एउटा प्रतिनिधि कथा सुनाइन्।
कुराकानी गर्दागर्दै उनी कोदोको पीठो रयाल्नु थालिन्। सिस्नु खुँडिन्। हामी उनकै घरमा पाहुना बन्यौं।
भीमबहादुर राती अबेला फर्किए। भोलिपल्ट भीमबहादुरसँगै सेलाङको विस्थापित बस्तीका झुप्र चहार्यौं। हरेक झुप्रोमा उस्तै दर्दनाक र कारुणिक पीडा। उनीहरूको पीडाले मन भारी भयो तर सद्भावले त्यत्तिकै हलुङ्गो पनि बनाइदियो।
भूकम्पको एक वर्ष पुग्नै लाग्दा भूकम्पबाट सबैभन्दा प्रताडित सिन्धुपाल्चोकको सेलाङ पुग्दाको स्थिति उत्तिकै दर्दनाक छ। सरकारको गतिले भन्छ, कतै उनीहरुको अर्को वर्ष पनि यस्तै पीडामा बित्ने त होइन?
सेलाङवासी अझै सरकार पर्खिरहेका छन्।