मृत्युको सट्टा दोस्रो बिहे रोजेँ

  • Get News Alerts

आजकै दिन म सधै मीराको जन्मदिन मनाउँथे । उनी रातो लुगामा सजिन्थिन् । मन खुसि हुन्थ्यो । र, आजै उनको दुई वर्षको पुण्यतिथिमा घरमा श्राद्ध थियो । जताततै पहेँलो । छोरो मोहित पहेँलो टिकामा भित्र–बाहिर गर्दा मीरालाई सम्झिएर मेरो मन भक्कानियो । मैले आफूलाई थाम्नै सकिनँ । भित्र कोठामा पसेँ । मनलागे जति रोएँ ।
 
त्यसैले आज खुसी र दुख दुबै छ मलाई । मिरा गुमाएको दु:ख छ । अहिले उदाएको पुस्तकको खुसि पनि । मेरो पुस्तकको लागि यहाँ यति धेरै व्यक्तिहरु आइदिनुभयो । मन त तपाईँहरु सबैलाई यहीँ अगाडि स्टेजमा राख्ने छ । तर, ठाउँ पुग्दैन । त्यसैले तपाईँ सबैलाई मैले मेरो हृदयमा राखेको छु । 
 
...
 
खास मलाई जन्मिन मनै थिएन । मेरो इच्छा नुहँदा नहुँदै म बुवाआमाको इन्टरेस्टमा जन्मिएँ । बेलाबेला लाग्छ म नजन्मिएकै भए हुन्थ्यो । त्यसमाथि पनि चेतनशील भए पछि झन् यो संसारमा जिउन झन् गाह्रो छ । जन्मिँदा जन्मिएकामा पीर हुर्कँदै गएपछि पढ्न नसकेकोमा पीर, एसएससी दिने बेला पास नभइएला भन्ने पीर, प्रेममा पर्न थालेपछि बिहे नहुँदै प्रेमिकाले छोड्ली भन्ने पीर, विवाह भएपछि छोरा छोरी जन्मिएनन् भन्ने पीर, जन्मिएपछि जन्मिएकामा पीर' सधैँ पीरै पीर ।
 
त्यसैले मलाई लाग्छ मानिस भन्दा त चेतना नभएको पशु हुनै वेश रहेछ । 
 
तर, सम्झिँ ल्याउँदा पशुलाई पनि कहाँ सजिलो छ र ।
 
मृग भनेको अवोध प्राणी हो । त्यसले कसैको केही बिगार्दैन । त्यो भेजिटेरियन हो । अरु कुनै जनावरको केही बिगार्दैन । घाँस खान्छ । उफ्रि हिँड्छ । नबिराउनु, नडराउनु भन्छन् । तर, मृगले केही नबिगारे पनि बाघले पनि त्यसैलाई झम्टिन्छ, स्यालले पनि त्यसैलाई झम्टिन्छ ।
 
फेरी बाघ त जंगलको राजा हो । उसलाई के को टेन्सन भन्ठान्यो । उसको रामकहानी उसैलाई थाहा छ । बुढेसकालमा उसलाई जति टेन्सन कसैलाई हुँदैन । जवान छँदासम्म उसले जंगल थर्काएर बस्छ । बुढो भए पछि दाँत किरा लागेर झर्छ । आँखामा मोतिबिन्दु हुन्छ । सिकार खोजेर ल्याउने बल हुँदैन । उसको जतिको कारुणिक मृत्यू कसैको हुँदैन । हामी जसले आफूलाई बाघ ठान्ने गरेका छौं, हाम्रा नेताहरु जो आफूलाई बाघ ठान्नुहुन्छ उहाँहरुको भोली त्यसतै बुढो बाघको हालत हुन्छ । 
 
जंगल छोडौं । पानीमुनिका माछालाई आनन्द साच्योँ । त्यहाँ पनि गोइ, अक्टोपसले माछा खाइदेला भन्ने पीर । अर्को माछाले आहारा बनाउला भन्ने पीर । आकाशका चरा स्वतन्त्र छन् भन्ठान्यो । तिनीहरुलाई पनि चिल आएर ठोकिएला भन्ने पीर । गुलेलीले हान्ला भन्ने पीर । अरुको सिकार भइएला भन्ने डर । आखिर शान्ति कहाँ छ । टेन्सन कहाँ कसलाई छैन ?
 
यो टेन्सन कहाँबाट सुरु भयो त ? मलाई जन्माईदिने बुवाआमाबाट । उहाँहरुलाई जन्माउने बाजेबजैहरुबाट । मानव जुनी ल्याइदिने देवताबाट ।
 
हामी सधैँ देवतालाई रहस्यको रुपमा हेर्छौं । आजसम्म कोही छैन जसले भन्न सकोस्, मैले देवतालाई भेटेको छु । त्यसैले मलाई देवताको अस्तित्वमा विश्वास लाग्दैन । तर फेरी कहिलेकाहीँ डराउँछु पनि । कतै देवताले केही बिगारिदिने त होइन ? मानिसलाई त यत्रो दुख छ भने भगवानलाई किन दुख दिनु भनेर म सानो तिनो कुरामा भगवान गुहार्दीन । सबै आपत आफै सल्टाउँछु । ठुलै केही आइपरे भगवान्लाई पुकारौंला भनेर जोगाएर राख्छु । 
 
तर श्रीमती मिरा बिरामी हुँदा मैले भगवानलाई जोगाएर राखेको चाकडी सबै गरेँ । मन्दिर धाएँ । मन्त्रका किताबहरु ल्याएर पाठ गरेँ । तर देउताले मेरो पाठ सुनेनन् । मेरी श्रीमतिको भौतिक शरिर मबाट छिनेर लगिदियो । म घोर पीडामा भएका बेला रिस पोख्न खोजेँ ? श्रीमती बिरामी हुँदा देउताबाहेक डाक्टर, आफन्त सबैले मेरो साथ दिए । त्यसैले मैले रिस भगवानलाई नै पोखेँ ।
 
देवतासँग रिसाएर मैले उनलाई एउटा कविता लेखेँ । तर मेरो पुस्तकको पाण्डुलिपि पढ्ने डा. रविन्द्र समिर र अमर न्यौपाने भाईले त्यसलाई पुस्तकमा अटाउन मानेनन् । आज म त्यही कितावमा नअटाएको कविता यहाँ बाचन गर्न चाहन्छु जहाँ मैले भगवानसँग बदलाका शब्द पोखेको छु । बाचन गरिसकेपछि तपाईँहरुले यो अशं पुस्तकमा राख्नुपथ्र्यो भने म झन् खुसि हुने थिएँ ।
 
अर्को जन्ममा म देवता हुन्छु
 
अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु
 
तिमीहरूको चिना म आफैं लेख्छु
भए जति दशा तिमीहरूलाई खन्याउँछु
सानो छँदै टुहुरो बनाउँछु
जन्मस्थलबाट उठिबास लगाउँछु
 
मेरो मन्दिर घुम्न लगाउँछु
भजन किर्तन गर्न लगाउँछु
मेरा खुट्टा ढोग्न लगाउँछु
खुट्टा पखाली जल खुवाउँछु
 
धुप दीप बाल्न लगाउँछु
दान दक्षिणा गर्न लगाउँछु
यति धेरै चाकडी गराउँछु
वर दिनुको साटो बरबाद बनाउँछु
 
अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु
 
तिमीहरूको पनि म प्रेसर बढाउँछु
मुटु चलाउन यन्त्र जडाउँछु
पाठेघरमा ट्युमर रोप्छु
पित्तको थैलीमा ढुंगा ठोक्छु
एकएक दिनको हिसाब गर्छु
मिर्गौलामा पनि रोग थप्छु
देवताहरू हो,
अर्को जन्ममा म देवता हुन्छु
तिमीहरुलाई म मान्छे बनाउँछु ।
 
...
 
भगवानको रहस्यवादमा विश्वास गर्छौं, हामी । छैठीमा भाविले आएर भाग्य लेखिदिन्छ भन्छौं । मेरो बा पण्डित हुनुहुन्थ्यो । उहाँले पनि ठ्याक्कै घडी पला मिलाएर लेख्नु भएको थियो होला मेरो चिना । मेरो जिन्दगीको मोड छर्लंग देखिन्थ्यो होला । तर, त्यो अनुसार भयो भएन थाहा छैन । मैले आफ्नो भाग्य थाहा पाउन चिना देखाउन पाइन । त्यसैले मैले आफैँ कोरेको चिनामा संसारको सबैभन्दा बढी भाग्यमानि पनि भएँ र संसारको सबैभन्दा बढी अभागी पनि । 
 
सानैमा आमाको काख छुट्यो म यसै अभागी भएँ । आमा जस्तै गरी ममता दिने दिदी पाएँ मेरो भाग्य त्यहीँ थियो । विन्दु दिदीले मलाई आमा जतिकै माया दिएर हुर्काउनु भयो । 
 
सानैमा मैले बुवा गुमाएँ । म अभागी थिएँ । अहिले बुवा बिर्साउने छोराहरु पाएको छु । मलाई त्यति नै माया गर्छन् । यिनीहरु नै मेरा बुवा हुन् जस्तो लाग्छ । मेरो बाल्य अवस्था बिताएको नक्सालमा मेरा थुप्रै बालसखा थिए । तिनीहरुको साथ सानैमा छुट्यो र मदनकृष्ण श्रेष्ठ जस्तो व्यक्तिको साथ पाएँ मैले । मेरो जीवनमा त्यति ठूलो भाग्य नै कुनै छैन । 
 
संसारमा मैले सबैभन्दा बढी माया गर्ने र मलाई सबैभन्दा बढी माया गर्ने श्रीमती मीरालाई गुमाए । त्यति ठूलो दुख मलाई कुनै छैन । म जति अभागी कोही भएन । र, मैले फेरी रमिला पाएँ म फेरी भाग्यमानि भएँ । त्यसैले लाग्छ म संसारको सबैभन्दा भाग्यमानि मानिस हुँ र त्यति कै अभागी पनि ।
 
मेरो चिना हराए पनि अब मलाई लाग्न थालेको छ जीबनमा पाउनुपर्ने दुख र सुख दुबै पाईसकेँ । छोराहरु हुर्किसके । आफैँ दक्ष छन् । मैले मीरा बितेको डेढ वर्षपछि रमिलासँग बिहे गरेँ । कति मानिसले भने– श्रीमती बितेको डेढ वर्षमै बिहे गर्यो । तर त्यो डेढ वर्षको समय पर्नेलाई मात्रै थाहा हुन्छ । एक्लोपनको पीडा भोग्नलाई थाहा हुन्छ । सिति मिति मानिसले एक्लोपनको पीडा भोग्ने आँट गर्नै सक्दैन । डेढ वर्षपछि कि म डिप्रेसन भएर जान्थेँ । कि मैले मृत्यू रोज्नुपथ्र्यो । रक्सि नपिई मलाई निद्रा नलाग्ने भइसकेको थियो । मैले डिप्रेशनको सट्टा दोस्रो बिहे रोजेँ । मृत्यूको सट्टा दोस्रो बिहे रोजेँ ।
 
मेरो हालत देखेर बसुन्धारा भुसाल दिदीले रमिलालाई मागीदिनुभयो । कति मानिसले त भने 'रमिलासँग पहिल्यै देखि प्रेम थियो रे । हो प्रेम छ । तर अहिले विवाह पछि । अमर प्रेम छ हामीबीच ।
 
यो किताबमा मैले मिरा गुमाएपछिको एक वर्षमा भोगेका तिनै वियोगका कथा लेखेँ । कसलाई पीडा सुनाउँदै हिँडौं । मैले सबै पीडा कलमको माध्यमबाट कपिलाई सुनाएँ । यो गर्न मलाई डा. रविन्द्र समिले सधैभरी उत्साह दिनुभयो । मेरा लेखाईमा भाई अमर न्यौपानेले जोड, घटाउ, गुणन, भागा गरिदिनुभयो । फलामका मेरा शब्दलाई सुन बनाएर निकालिदिनु भयो । फाईन प्रिन्टका भाईहरुले यसलाई निकाल्न सहयोग गर्नुभयो । मिरा सधैँ बालबच्चालाई माया गर्थिन् । छोरो त्रिलोकले अमेरिकाबाट पठाएको पहिलो कमाईबाट उनले बालबच्चालाई खुवाउने र लुगा दिएकी थिइन् । उनको यही सपनाका लागि मैले काभ्रेमा दुई रोपनी जग्गा दान गरेर बालबच्चालाई सहयोग गर्ने निधोँ गरेको छु । यस पुस्तकबाट जम्मा भएको रकम त्यही च्यारिटीलाई दिन्छु । 
 
यहाँ मीराको भाई, बुहारी छन् । म तिमीहरुलाई बचन दिन्छु भौतिक शरिर नरहे पनि म तिमीहरुको दिदीलाई यसैगरी बचाई राख्छु । छोराहरुलाई बचन दिन्छु, म तिमीहरुको आमालाई बचाई राख्छु । 
सरी र थ्यांक्यू सार्है सहज तर अति गहन अर्थ राख्ने शब्द हुन् । मेरा सबै गल्तीमा म सबैलाई सरी भन्छु र सबै सहयोगहरुलाई धन्यवाद भन्छु । 
... 
 
मलाई सानामा सबैभन्दा मन नपर्ने चिज पुस्तक थियो । किताब देख्यो कि रिस उठि हाल्थ्यो । दिदी आमाको करले आँखा अक्षरमा अडाए पनि ध्यान लट्टाइँ, चंगा, खोपि र साथीहरुसँग लिन बाकिँ गुच्चामा हराईरहेको हुन्थ्यो । जो मान्छेलाई किताब हेर्नै मन लाग्दैन थियो आज उसैले किताब लेखेको छ । 'चिना हराएको मान्छे' ।
 
(स्वर्गीय पत्नी मीराको पूञ्य तिथी पारेर आफ्नो पुस्तक विमोचन कर्यक्रममा हरिब‌ंश अचार्यले दिएको मन्तव्यको अंश

प्रतिकृया दिनुहोस

बिज्ञापन

ब्लग

  • उनीसँग बिहे हुँदा श्रीमानलाई एचआइभी भएको ११ वर्ष भइसकेको रहेछ उनीसँग बिहे हुँदा श्रीमानलाई एचआइभी भएको ११ वर्ष भइसकेको रहेछ

    नौ कक्षामा पढ्दापढ्दै १९ बर्षे बमकलाको ३४ वर्षे केटोसँग धुमधामले बिहे भयो। उनको एसएलसी पास गर्ने सपना तुहियो। तर आफन्त यसरी फकाउँथे, 'एसएलसी पास गर्ने फलामे ढोका छुन नसकेर के भो त, श्रीमानले तेरै लागि टन्नै सुनका ढोकाहरु बनाउनेछन्।'

    निशा राई

  • हामीले यी सग्ला हातहरु गुमायौँ भने? हामीले यी सग्ला हातहरु गुमायौँ भने?

    हामीलाई बाटो हिँड्न समस्या छैन। अग्लाअग्ला भवन चढ्न समस्या छैन। धरहरा सजिलै चढिदिन्छौँ। मन लागेको पहाड चढ्छौँ। खोला तर्छौँ। जहाँ जान मन लाग्छ त्यहाँ पुगिदिन्छौँ। किनकि हामीसँग सग्ला दुई खुट्टा छन्। सग्ला हात छन्। सग्ला आँखा छन्। हाम्रो शरीर सबल छ। केही बेर कल्पना गरौँ, कुनै दुर्घटनामा हामीले यी सग्ला हात खुट्टाहरु गुमायौँ। आँखा गुमायौँ। हाम्रो शरीर नचल्ने भयो। त्यसपछिको रहर?

    मनीषा गौचन

  • सूचनाको हकको ७ बर्ष सूचनाको हकको ७ बर्ष

    सूचनाको हक सुशासनको लागि एक महत्वपूर्ण औजार हो र यसको प्रयोगको आधारमा यसबाट लिन सकिने उपलब्धी निर्भर रहन्छ। यस सात बर्षको अन्तरालमा विभिन्न बिषम् परिस्थितिहरुका बावजुद यस हकको प्रभावसम्बन्धी केहि सकारात्मक सन्देश र संकेतहरु देखिएका छन्। तसर्थ, सबै सरोकारवालाहरुको पहलमा आफ्नो आफ्नो क्षेत्रबाट सकारात्मक भुमिका निर्वाह गरी नागरिकलाई यस अधिकारको प्रयोग गर्नसक्ने बनाउने र सार्वजनिक निकायहरुले ऐन बमोजिमको जिम्मेवारी बहन गर्ने वातावरणको निर्माण गरिएमा सूचनाको हक जवाफदेहीता एवं पारदर्शिताका लागि एक सफल औजार सिद्ध हुने निश्चित छ।

    टंकराज अर्याल

लोकप्रिय

सिफारिस

सूचनापाटी