भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभयो, आजभन्दा झण्डै छब्बीस सताब्दीपूर्व तत्कालीन राजघरानामा र गृहत्याग गरी संसारका मानवजातिलाई दुःखबाट मुक्त दिलाउने र परम शान्ति तथा निर्वाणको अवस्था साक्षात्कार गराउने दिव्य शिक्षा तथा विद्या समेत प्रदान गर्नुभयो। उहाँको शिक्षा अष्टांग मार्ग हो जुन जीवन पथका वृत्ति, व्यवहार, आचरण आदि निर्दिष्ट कार्यहरूबारे आठवटा सम्पक पथमा आधारित र दुःखको कारण र निवारणबारेको ज्ञान आर्य सत्यहरुमा समाहित छन्। यहाँ ‘सम्यक’ र ‘आर्य’ शब्दलाई बुझ्न जरुरी छ, बुद्धले बताउनुभएका यी मार्ग र सत्यबारे बुझ्न। तर यो बुझाई कुनै कथा वाचकले पुराण भनेजस्तो गरी सतही ज्ञानले मात्र बुझ्न सकिन्न र यो बुझ्न सम्भव पनि छैन यथार्थ रुपमा। यसका लागि अभ्यास चाहिन्छ, साधना चाहिन्छ, संस्कार र परिश्रम दुवै। त्यो साधनाको प्राप्तिको रुपमा बुद्ध स्वयंले विभिन्न गुरुहरुको सामिप्यमा गई धेरै अभ्यासहरु गरेपछि कुनैबाट पनि चाहेजस्तो र अनुभवगत रुपमा जीवन मुक्ति अर्थात् पूर्ण स्वतन्त्रता र शान्ति प्राप्त गर्न सक्ने नदेखी आफैं दृढप्रतिज्ञ भई बोधगयामा बोधीवृक्ष मुनिस्थिर आसनमा आरुढ भएर जुन ज्ञान अर्थात् अनुभवगत शुद्ध–बुद्ध अवस्था प्राप्त गर्नुभयो, त्यो प्राप्त गराउने साधना विपश्यना थियो, उहाँको आफ्नै अविष्कार।
बुद्धको महापरिनिर्वाण भएको केही महिनामा नै बुद्धवाणीको संगायन त भयो तर बुद्धवाणी पढेर वा अर्थ लगाएर मात्र खासै प्रतिफल प्राप्त नहुने, त्यसको उपयोगिता, शुद्धता कायम गरिराख्न उपयोगी भए पनि ती शब्दहरु पनि पुराण वा कथा सुनेजस्तो नै हो अक्षरका रुपमा र मुख्य कुरा धम्म–साधना अभ्यास हो र त्यो नभएसम्म वास्तविक ज्ञान अनुभवमा आउँदैन, किनकि आफू स्वयंले अनुभवगत रुपमा अभ्यास नगरी, शरीरलाई तप नगराई बुद्धवाणी बुझ्न सकिन्न। बुद्धले प्राप्त गर्नुभएको शान्त–सौम्य अवस्था अर्थात जीवन मुक्तिको त्यो निर्वाण अवस्थाबारे बोल्न सकिन्न, केवल कल्पनामात्र हुन जान्छ अभ्यासबिनाको बौद्धिक ज्ञानले।
बुद्ध स्वयंले भन्नुभएको छ– आऊ, स्वयं अनुभव गरेर हेर, साधनाबाट अनि तिमी विश्वास गर्ने छौ, यस पद्धतिलाई भनेर । त्यसैले आज जति पनि धर्म साधनाका विधिहरू छन्, तीमध्ये वैज्ञानिक, सत्य–तथ्यमा आधारित, अनुभव तथा बोधगम्य र समान अभ्यासबाट समान प्रतिफल दिने विपश्यना नै हो भन्ने मान्यतामा मजस्ता साधक दृढ छौं र यसो भन्नमा पर्याप्त आधार, तथ्य र साधनाको सामथ्र्य पनि छ, जुन विपश्यनाले प्रदान गर्छ।
आजको यो लेखको सन्दर्भ–प्रसंग के भने यस्तो साधना विद्या बुद्ध पछि झण्डै लोप हुन गएको अवस्थाबाट पुनः संसारलाई दिने महापुरुष प्रमुख विपश्यनाचार्य नै हुनुहुन्छ, श्री सत्यनारायण गोयन्का, जस्को नाम अध्यात्म जगतमा, साधना जगतमा सबैले सुनेको, बुझेको र पढेको नाम हो। तिनै पुज्य गुरुजीले हिजो अर्थात सेप्टेम्बर ३० को राति ९० वर्षको उमेरमा भारतको महाराष्ट्रमा शरीर त्याग गर्नु भयो, महापरिनिर्वाण प्राप्त गर्नु भयो। उहाँको अध्यात्म अवस्था के थियो? वुद्ध दर्शनमा उल्लेखित साधनाका क्रमहरु तथा जन्मजन्मान्तरमा के कस्तो अवस्था पार गरी उहाँ यो जन्ममा आइपुग्नुभएको थियो, यो त साधकहरूले स्वयं उहाँका वाणी, साधना निर्देशनमा दिइएका ज्ञानबाट अनुभव गर्नुपर्ने सुक्ष्म विषय हो र कुनै तर्कबुद्धिको विषय होइन। कतै देखिने र सिधा भन्ने विषय पनि होइन। तर एउटा कुरा चाहिँ भन्न मन लाग्छ बुद्धको साधना पद्धतिलाई यसरी वैज्ञानिक रुपमा र सबै देश कालमा बुझिने गरी सार्वजनिन रुपमा बुद्धपछि संभवत पूजनीय गुरु गोयन्काले नै प्रष्ट पारेको हो भन्दा अतिशयोक्ति नहोला नै?
यसको फैलावट पनि त्यही रुपमा हुन गएको छ। साधना पनि छ, पुष्टि पनि छ, साहित्य पनि छ एकै साथ। यी महान् उपलब्धि सामान्य व्यक्ति वा साधकबाट सम्भव हुने विषय होइनन्, यो अध्यात्मको उपल्लो अवस्थाको नतिजा हो र एउटा अस्तित्वको वृहत आयोजन हो निश्चित प्रयोजनको लागि।
बर्मा देशमा मारवाडी समुदायमा जन्मिएका एउटा व्यापारी कसरी विपथ्यनाका प्रमुख आचार्य हुन पुगे भन्ने लामो अध्याय छ र यसको चर्चा अलग्गै गर्नुपर्ने हुन्छ अर्थात इच्छुक जिज्ञासुहरुले १० दिवसीय विपश्यना साधनाका क्रममा वा गुरुबाट लिखित पुस्तकहरुको माध्यमबाट समेत यो मर्मस्पर्शी र रोचक प्रसंगबारे थाहा पाउन सक्नुहुन्छ । आज विपश्यना साधनाका स्थायी निवासीय तपोभूमिहरु भारतमा र संसारभरि नै नै सयकडौं केन्द्रहरुका रुपमा स्थापित छन् जसले करोडौं साधकहरुलाई साधनामार्गमा प्रवृत्त गराई यो धर्मको लाभान्वित मार्ग प्रशस्त गरेका छन्। नेपालमा पनि ध्यान भन्नासाथ विपश्यना साधनाको नाम अग्रपङ्तिमा आउँछ र यो साधना पद्धति, यसका आचरण व्यवहारका शिलसदाचारहरु अरुभन्दा वैज्ञानिक साथै शुद्ध छन् र केही कठिन चाहिँ जरुर छन् अनुसरण गर्न। यहाँ कुनै सम्मोहन र आलम्वन छैन, झोला–माला, टिका र तमक–झमकका झाँक्री छैनन्। यतिसम्मकि साधना कक्षमा बुद्धलगायत गुरुका तस्बिर सम्म छैनन्। आलम्वन, सम्मोहन र चमत्काररहित वैज्ञानिक विद्या भएकै कारण यसले दुर दराजका देशहरुबाट समेत वैज्ञानिक, डाक्टर, प्राध्यापक देखि लिएर कलाकार, वकिल, दार्शनिक सबै विधाका बुद्धिजिवीहरुलाई समेत यस साधना पद्धतिमा आकर्षित गरेको छ। यो साधना वास्तवमा अनुशरण गर्न लायक छ र तत्काल फल दिने खालको छ। शील, समाधि र प्रज्ञा यसका तीन अङ्ग छन् र यो राम्ररी बुझ्न एक पटक विपश्यना साधना गर्न जानुपर्छ। धर्म साधना के रहेछ र किन भन्ने कुरा विपश्यनाबाट राम्ररी थाहा पाउँछ मानिसले।
यो विपश्यना साधनालाई अहिलेको जगतमा पुन प्रवर्तन गराउने कार्य गुरु गोयन्काले गर्नुभयो, त्यो पनि एउटा धनाढ्य परिवार र वैवाहिक जीवनमा बाँधिनु भएको गृहस्थले। सन् १९२४ मा जन्मनु भएका गुरु गोयन्काले के गर्नु भएन जीवनमा! वर्माको मारवाडी चेम्बर अफ कमर्सदेखि रामकृष्ण मिशनको स्थापना र सक्रियतामा रहनुभयो शुरुमा। उहाँले तत्कालीन वर्मामा कलाकेन्द्रको स्थापनादेखि हालसम्म स्वयंले सिर्जनशील भई अनेकौं कविता ६४ भन्दा बढी पुस्तक र सयकडौं लेखहरू लेख्नु भएर कला, साहित्य सृजना र अध्यात्म जगतलाई अतुलनीय योगदान पु¥याउनुभयो। यी कृतिहरु हाल विभिन्न भाषामा प्रकाशित पनि छन्। यी मध्ये विपश्यना साधना सम्बन्धी कृतिहरु महत्वपूर्ण र अतुलनीय छन्। विपश्यना साधनाको सबै अभ्यास पुज्यनीय गुरुजीको निर्देशनमा संचालन हुन्छ र श्रव्य–दृष्यमा पनि गुरुजीकै प्रत्यक्ष भूमिका छ। यसमा कुनै थपघट छैन। वर्मामा महात्मागान्धी स्मारक ट्रस्टको स्थापना देखि सत्यनारायण मन्दिर र अनाथालय–आश्रम सम्मको स्थापना गर्नु भएका गोयन्का गुरुले जन्म सिद्ध संस्कार लिएर एकै जन्ममा कति धेरै विशिष्ठ चरित्र, व्यवहार, आचरण तथा अध्यात्मको विशिष्ठ स्थान प्राप्त गर्नु भयो, जीवनभर नै लोक कल्याणमा बिताउनु भयो। आफु माइग्रेनको विरामी भएका कारण सन् १९५५ मा रंगुनमा विपश्यनाको गुरु सयाजी ऊ वा खिनद्वारा संचालित १० दिवसीय साधना शिविरमा भाग लिनु भएका वहाँ छोटो समयमा नै यो महत्वपूर्ण साधना पद्धति र बुद्धवाणीलाई आफुले आर्जन गरेको अनुभवगत प्रज्ञाबाट संझाउन सफल हुनुभयो। उहाँका गुरु स्वयंले यो विद्या २,३०० वर्ष पहिले भारतबाटै वर्मामा आएको र वर्मामा मौलिक रुपमा शुद्ध र सुरक्षित रहेकोले सन् १९६९ मा गुरु सयाजी ऊ बा खिनले विपश्यनाको आचार्य पदद्वारा प्रतिष्ठित गरी गोयन्काज्यूलाई विपश्यनाको अनमोल रत्न भारतमा नै फिर्ता गर्ने उद्देश्य सहित पुरानो ऋण चुक्ता गर्ने पुनित कार्यभार सम्पनु भयो। शुक्ष्म रुपमा बुझ्दा यो दिव्य विधान अन्तरगत नै वहाँ भारत आउनु भयो सन् १९६९ मा र सोही वर्ष प्रथम शिविर शुरु गर्नु भयो। साथै विभिन्न स्थानमा सयकडौं शिविर संचालन गर्दै १९७६ मा आइपुगेर महाराष्ट्रको इगतपुरीमा “विपश्यना विश्व विद्यापिठ” को स्थापना गर्नुभयो। त्यसपछि यसको फैलावट यति तिव्र भयो कि यस साधनाबाट प्रत्यक्ष लाभ देखेर र मनोविकार माथिको विजय, व्यसन–विमुक्ति अनि विभिन्न तनावबाट छुटकारा आदि मानव कल्याणकारी परिणामहरु फलस्वरुप यो विश्वको कुना कुनामा फैलिन पुग्यो र आज सयकडौं केन्द्रहरु संसारभरी स्थापना भएका छन्। यति सम्मकी संयुक्त राष्ट्रसंघका महासचिव कोफि अन्नानको अध्यक्षतामा आयोजित “सहस्राब्दि विश्व शान्ति शिखर सम्मेलन” मा श्री गोयन्कालाई आमन्त्रित गरियो र वहाँले विश्वका हजारौ धार्मिक र आध्यात्मिक नेताहरुका सामु यस विद्या बारे बोल्नुभयो। यो विद्या लौकिक र अलौकिक दुवै तर्फको कल्याणमा सिद्ध छ।
यही विपश्यना विद्याबाट गृहत्यागी सिद्धार्थ गौतम भगवान बुद्ध बन्न पुगे, सम्यक–सम्बुद्ध भए। यो अमूल्य विद्यालाई गुरु गोयन्काले एउटा धर्म समुदायको संक्रिणताबाट सार्वजनिन, सर्वधर्मा, सत्यधर्मा र विज्ञानसम्मत प्रणालीको रुपमा विकसित, स्थापित र प्रसारित गर्नुभयो।
शील–सदाचारको पालना, आलम्वन रहित श्वास–प्रश्वासको स्वभाविक गतिको निरीक्षण र शरीर र मनको प्रपञ्चबाट उत्पन्न हुने संवेदनाहरुको शरीरमा सजग रुपमा रही निरिक्षण गरिन्छ यस साधनामा। संवेदनाको अनित्य धर्मलाई देखेर समत्वमा रहने अनि समत्व भाव अनि प्रज्ञापुष्ट गर्दै सत्यलाई निरिक्षण गर्दै परम सत्य अर्थात निर्वाणको साक्षात्कार गर्ने सम्मको अभ्यास हो विपश्यना । यसका बुद्धपछिको पुनः प्रवर्तक हुन गुरु गोयन्का, जसले आफ्नो जीवन यो कल्याणकारी विद्या जगाउन र फैलाउन समर्पण गर्नुभयो, मानव जातिलाई गुन लगाउनु भयो, आफू अमर हुनु भयो। भोलि अर्थात् अक्टोवर १ मा महराष्ट्रमा वहाँको पार्थिक शरीरको अन्त्येष्ठी हुने कुरा थाहा भएको छ, उहाँको चेतना र प्रज्ञा शरीर भने अमर छ। उहाँको मार्ग निर्देशनले युग युग सम्म मानवजाति लाभान्वित हुने छ र हामी यी महान् गुरुलाई श्रद्धा सुमन गरौ, नमन गरौ । यीनको दिव्य आत्माको चीरशान्तिको कामना गरौं। हे गुरु ! हामी कृतज्ञ छौ, आभारी छौ र भाग्यवान छौ, तिमीजस्ता सद्गुरु प्राप्त गरेकोमा। तिमी अमर छौ, हाम्रा प्रेरणाका स्रोत र मार्ग निर्देशक हौ साधना पथका। नेपालमा पनि विपश्यना साधना केन्द्रहरु स्थापना भई अटुट रुपमा साधना मार्ग अघि बढेको छ र धेरै साधकहरु लाभान्वित भइरहेका छन् देश विदेशका। यसमा गुरु गोयन्काको योगदानबाट बुद्ध भूमि नेपाल पनि लाभान्वित हुन पुगेको छ, सच्चा साधना र ज्ञान प्रवाहित भएको छ।