दुई वर्षअघी २०६८ असोज २४ मा गैरआवासिय नेपाली संघको पाँचौं विश्व सम्मेलनका लागि संसार भरीबाट काठ्माडौं उत्रिएका आफ्नो दलका समर्थकहरूलाई निवासमै डाकेर कांग्रेस सभापति सुशील कोइरालाले अध्यक्ष पदका उम्मेद्वार जीवा लामिछानेलाई जिताउन निर्देशन दिए । त्यसै राती प्रतिनिधिहरुको बाक्लो बसाईं रहेको सुन्धारा र बागबजारका होटलहरूमा सभापति कोइरालाको निर्देशनको सर्कुलर बाडियो ।
अर्कातिर नेकपा एमालेका भीम रावल र ईश्वर पोख्रेलले पनि जीवा लामिछनेको पक्षमा मतदान गर्न आफ्ना समर्थकहरूबिच गोप्य उर्दी जारी गरे । माओवादीले नेपाली डायस्पोरामा मजबुत पकड हुँदाहुँदै पनि अध्यक्षमै लडाउन सक्ने आफ्नो उम्मेद्वार फेला पार्न सकेन ।
माओवादीका राम कार्कीले अध्यक्षका उम्मेद्वार लामीछाने र उपेन्द्र महतोसँगको छोटो वार्तापछी आफ्नो मौन समर्थन रहने र चुनावनै भएमा आफ्ना समर्थक माझ लामिछानेलाई मतदान गर्न सर्कुलर गरिने बताएपछी काठमाडौंको गैर आवासिय माहौलले अर्कै मोड लियो ।
दोस्रो दिन उद्घाटन समारोहका लागि आर्मी क्लब पुगेका प्रतिनिधिले तिनका पार्टी नेताको निर्देशन अनुसारनै लबिङ शुरु गरे, त्यहाँको वातावरण एक महिनाअघिको चुनावी अभियानभन्दा ठीक विपरित जीवा लामिछनेको पक्षमा देखियो । र, गतिलो जन समर्थन हुँदाहुँदै पनि बहालवाला अध्यक्ष तथा पुनः उम्मेद्वार बनेका देवमान हिराचनले सोल्टी होटलको बन्द सेमिनार पुग्दा नपुग्दै आफ्नो उम्मेद्बारी फिर्ता लिएको घोषणा गरे ।
जबकी चौथो सम्मेलनमा राम थापाको पक्षमा सहमति भई सकेपछी पनि एमालेका ईश्वर पोख्रेलले मल्ल होटेलको लबिमा हिराचनलाई कुनै पनि हालतमा सहमतिमा नजान बरू चुनाव मै प्रतिश्पर्धा गर्नका लागि दवाव दिएपछि रातभरिको सहमति अर्कै तर्फ मोडिएको थियो ।
तर पाँचौ सम्मेलन आइपुग्दा एमालेका उम्मेदवार भनेर अड्कल काटिएका हिराचन रातभरिमै आउट भए र कांग्रेस सभापति सुशिल कोइरालाको शब्दमा ‘नेबिसंघमा काम गरेको केटो’ जिवा लामिछाने एमालेलगायत सबै पार्टीहरूको लिस्टमा दरो गरेर ‘इन’ भए ।
अहिले पनि बिदेशमा एनआरएनको माहोल उस्तै छ, ३० लाख नेपालीहरू बिदेशमा रहेको भनिएको भए पनि एनआरएनमा यसको १० प्रतिशत पनि आवद्ध गराउन सकिएको छैन ।
जसले सदस्यताबापत संकलन हुनसक्ने ठूलो राशी कागजमा मात्र सीमित भएको छ भने बाहिर रहेका ति प्रवासी नेपालीहरूलाई अटाउन सक्ने कुनै माहोल बनेको छैन । बेलायतमै हेर्ने हो भने १ लाख ३० हजार नेपाली रहेको अनुमान छ जबकी यसको १० प्रतिशतले पनि संस्था सदस्य लिएका छैनन वा तिनलाई सदस्य बनाउन खासै पहल गरिएको छैन ।
संस्था भित्र प्रवासी नेपालीहरुको हितभन्दा पार्टीगत राजनीति बढी मौलाएको छ जसको पछील्लो उदाहरण बिभिन्न देशमा रहेका यसका शाखाहरुको अधिवेशन हो, जहाँ पार्टीगत आधारमा कार्यसमितिहरूमा बाँडफाँड गरिएको छ । जसको असर दिर्घकालिन रूपमा मात्र होइन अहिले नै देखिन सुरू भएको छ र १० वर्षअघी स्थापना गरिएको यो संस्थाको डोरी कमजोर बन्दै गैरहेको छ ।
बितेका चार वर्षमा एनआरएनको माथिल्लो तहले स्वदेशमा लगानी लैजाने जुन सपना बाँडेको थियो तिनमा कुनै प्रकारको प्रगती देखिएन, देशमा लगानी लैजाने र एनआरएन कोष बन्न नसकेको निरासा दुई वर्षअघी देखि उस्तै थियो र जीवा लामिछनेको कार्यकालले पनि त्यो निरासालाई पन्छाउन कुनै कार्यक्रम ल्याउन सकेन । यिनकै कार्यकालमा यो संस्था लगभग फुटको संघारमा पुगेको छ र ठूलो बौद्धिक जमातले एनआरएन अभियानबाट बिस्तारै टाढिने संकेत गरेको छ ।
बेल्जियम, अमेरिका, जापानलगायतका देशमा अहिलेसम्मकै सबैभन्दा ठूला विवाद देखिएका छन भने बेलायतमा समानान्तर समिति गठन भईसकेको छ । कारण संस्था भित्र चरम गुटबन्दी, ब्यापारिक दुनो सोझ्याउने खालका ब्यक्तिगत फाईदाका सम्बन्धहरू, नेपाली राजनीतिक दलहरुको प्रत्यक्ष प्रभाव, र जातीय विवाद । जसको न्युनिकरणमा न त अन्तराष्ट्रिय समितिले कुनै सचेतना कार्यक्रम चलायो न अध्यक्षले ब्यक्तिगत रूपमा कुनै पहल नै गरे ।
देश देशमा रहेका एनआरएन हात हालाहालको स्थितिमा पुग्दा नेतृत्व रमिते मात्र बनिरह्यो । जर्मनीकै उदाहरण हेर्दा हुन्छ जीवा लामिछाने सहभागि भएको एउटा कार्यक्रममा अध्यक्षका प्रत्यासी बीजय मोक्तानलाई एउटा जत्थाले कुटपिट ग¥यो । लामिछानेले विवाद मिलाउने कुनै जरूरी सम्झेनन् र सुटुक्क गाडी चढेर अर्को शहर तर्फ हान्निए ।
यि सबैका बाबजुद संस्थाको विश्व सम्मेलन आगामी कात्र्तिक २ देखि ५ सम्म काठमाडौंमा हुँदै छ । दुई वर्षअघीको तुलनामा संस्थाको धेरै कुरा बद्लिएको छ, संस्थापकहरू फरक–फरक बाटोमा छन् । जीवा लामिछानेलाई एनआरएनको अध्यक्षसम्म डो¥याएर ल्याइपु¥याइदिएका उपेन्द्र महतो अहिले उनीसँग छैनन् र छैठौं सम्मेलनमा दुबैका अलगअलग उम्मेद्वार छन् ।
उर्जा क्षेत्रमा लगानी गर्न मन बनाउँदै गरेका सानातिना एनआरएनहरुले काठमाडौंमा घेडेरी किन्न उचित सम्झेका छन । अहिलेको समितिका दुईजना उपाध्यक्ष रामेश्वर शाह, हितमान गुरुङ र महासचिब तेन्जी शेर्पाले अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
संस्थापकमध्येका एक तथा संरक्षक रामप्रताप थापा र समिति बाहिरबाट अष्ट्रेलियाका अरबपती शेष घेलेको उम्मेद्वारी घोषणा भएको छ । घले वर्तमान अध्यक्ष जीवा लामिछानेका उमेद्वार हुन भने शाह उपेन्द्र महतोका ।
थापा, गुरुङ र शेर्पा कुनै माथिल्लो आशिर्बादबिना नै मतदानसम्म जान परे पनि तयार रहेको बताएका छन ।
घलेको उम्मेद्वारी नै जीवा लामिछाने र उपेन्द्र महतोको दुरी बढाउने मुख्य कारण पनि ठानिएको छ ।
जर्मनीका एक जना ब्यवसायी भन्छन–घले जी, जीवा लामिछानेका नयाँ ब्यापारिक साझेदार हुनुहुन्छ । जीवाजीले त्यो गुन तिर्न पनि उहाँलाई उम्मेद्वार बनाउनु वाध्यात्मक हो । खासमा जर्मनीको फ्राङ्फोर्टमा शेष घले र जीवा लामिछनेले संयुक्त रुपमा होटल ब्यवशाय शुरु गरिसकेका छन ।
संसारभरीबाट संस्थालाई ब्यापारीको मात्र संस्था बनाउन खोजियो भन्ने गुनासो दिनानुदिन बढ्दो छ भने प्राज्ञिक ब्यक्तिहरू संस्थाबाट कुनै न कुनै रूपमा बाहिरिदै छन । पूर्वअध्यक्ष देवमान हिराचन संस्थाबाट लगभग बाहिर जस्तै छन् । उनको ग्लोबल क्यापिटल ईन्भेष्टमेन्ट नामक संस्थाले एनआरएनकै समानान्तर रुपमा काम गरिरहेको छ । संस्थाले लगानी केन्द्रित सदस्यहरुको सञ्जाल तयार गरिने पनि जनाएको छ ।
यस्तो अवस्थामा विश्वब्यापी रूपमा छिन्नभिन्न हुन लागेको एनआरएनलाई ब्यापारीहरूको मात्र पेवा हुनबाट जोगाउनु पर्दछ । केही ब्यक्तिहरूको लहडले एनआरएनको भविश्यमा प्रश्नचिन्ह देखिएको छ ।
काक्तिकमा काठमाडौंमा हुने छैठौ अधिवेशनले पक्कै पनि केही फरक अनुभूति हुनेछ र छोडिएका लाखौं अरू नेपालीहरू यसमा जोडीने वातावरण बन्नेछ ।