आउँदो मंसीर ४ को चुनावका पोष्टरहरु पहिलेकाभन्दा भिन्न हुनेछन् । कांग्रेस, एमाले, एमाओवादी, मधेसी फोरमहरुले आफ्ना पोष्टरहरुमा माक्र्स, लेनिन, विपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मनमोहन, गजेन्द्र नारायण सिंहका फोटोहरु मात्र छाप्ने छैनन् ।
ती फोटालाई यसपाली दिवाकर गोल्छा, राज्यलक्ष्मी गोल्छा, राजकुमार गोल्छा, विनोद चौधरी लगायत अन्य व्यापारीका तस्वीरले ओझेल पार्नेछन् ।
वाणिज्य शास्त्रको पढाइ अथवा व्यापारिक सफलताले राजनीतिमा पनि सफल तुल्याउँछ भन्ने कुनै ग्यारेन्टी छैन । देश चलाउन व्यापारमा भन्दा अझ धेरै वहृत ज्ञानको आवश्यकता पर्दछ ।
अमेरिकाको कुरा गरौं । त्यहाँको इतिहासमा पनि कुनै पनि सफल व्यापारी एक सफल राष्ट्रपति हुन सकेका छैनन् ।
प्रेसिडेन्ट जर्ज डब्लु बुस, जसले हार्डवर्डबाट एमबीए गरेका थिए, विजनेशमा परिपक्व थिए, उनको अपरिपक्क निर्णयले इराकसँगको लडाई भयो जसको भर्पाइ अहिले पनि अमेरिकाले गर्न सकेको छैन ।
त्यो खाली यौटा अप्रिय निर्णय थियो । जसले अमेरिका लगायत पश्चिमका अन्य राष्ट्रहरुलाई ठूलो आर्थिक मन्दीमा धकेल्यो । त्यसैले होला अर्का अमेरिकी राष्ट्रपतिका उम्मेदवार मिट रोम्नी एक सफल व्यापारी थिए ।
जो बाराक ओबामाभन्दा निकै सफल व्यवसायी थिए तर पनि अमेरिकी राष्ट्रपति हुन सकेनन् ।
भारतमा पनि अनिल अम्बानी जो ठूला घरानाका ठूला व्यापारी हुन् । उनी पनि राजनीतिमा गएर धेरै टिक्न सकेनन् । आफ्नो व्यापारमा भएको ठूलो नोक्सानी र असफल हुँदै गएको आफ्ना व्यापारीक प्रतिष्ठानहरु जोगाउन बाध्य भएर राज्यसभाबाट राजिनामा दिनु परेको थियो ।
संसारकै सबैभन्दा बढी कम्प्युटर बनाउने लेनोभ ग्रुप बेइजिङका लिउ चुन्जीले भनेका थिए ‘अबदेखि हामीले व्यापारको बारेमा कुरा गर्नुपर्छ । हामी
व्यापारी हौँ । हामीले खाली व्यापार सम्बन्धी कुरा गर्नुपर्छ । हाम्रो यस किसिमको व्यापारिक जमघटमा अहिलेको राजनीतिक र आर्थिक वातावरणमा राम्रो विजनेस गर्नु नै हाम्रो कर्तव्य हो ।’
यसरी चीनमा पनि व्यापारीहरु राजनीतिभन्दा कसरी व्यापार अझै राम्रो गर्ने भन्ने बारेमा सोच्छन् ।
यदि नेपालका व्यापारीहरुले समाजमा परिवर्तन ल्याउन खोजेका हुन् भने सोसीयल कर्पोरेट रेस्पन्सिविलिटि (सिएसआर–सामाजिक दायित्व) पुरा गरेर पनि देश र जनताको सेवा गर्ने प्रशस्त ठाउँ छन् । हामीले आम्दानी अनुसार कर ति¥यौं भने देश बन्छ बन्छ । राजनीतिबाट भन्दा बढि योगदान गर्न सकिन्छ ।
विल गेट्स जो संसारकै धनी र सफल व्यापारी हुन् उनले गेट्स फाउन्डेसन अन्तर्गत संसारभरिका अति गरिबीमा रहेका मानिसहरुलाई उकास्ने काम गरिरहेका छन् ।
उनले भारतको विहार जस्तो ठाउँमा आएर गरिबको सेवा गरिरहेका छन् । त्यसको लागि उनले कुनै राजनीतिक दल पकड्नु परेन । भारतकै अर्का व्यापारी रतन टाटाले गरिब जनतालाई मध्यनजर गर्दै भारतमा एक लाखमा कार र मुम्बई र गुजरात जस्ता शहरहरुमा चार लाखमा घरको व्यवस्था गरेका छन् । उनले आफ्नो समूहको खूद नाफाबाट ४ प्रतिशत गरिबको सेवाको लागि छुट्याएका छन् ।
यसरी व्यापारीहरुले जनताको सेवा गर्ने प्रशस्त क्षेत्र छन् । गरिबी जनताको मनको पोष्टरमा उनीहरु बस्न सक्नु प¥यो । कुनै राजनीतिक दलको पोष्टरमा आफ्नो फोटा राख्नु कुनै ठूलो कुरा होइन उनीहरुको लागि । नेपालका प्रतिष्ठित र फोब्र्स पत्रिकामा पनि पर्न सफल व्यापारी विनोद चौधरीको फोटो पनि हामीले एमालेको पोष्टरमा देख्न पाउने छौँ ।
उनको प्रतिष्ठित व्राण्ड वाईवाई अखाद्य बस्तु प्रयोग भएको भनेर ललितपुर जिल्ला प्रशासन कार्यालयबाट मुद्दा चलाइएको छ । भ्याट छलीमा उनी अग्रस्थानमा परेको जगजाहेरै छ ।
चौधरी एक उदाहरणमात्र हुन् । यस अवस्थामा व्यापारीहरु जनताको सेवा र देश निर्माणको लागि राजनीतिमा आएका हुन् भन्दा अचम्म लाग्दछ ।
विपी कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मनमोहन जस्ता नेताले आर्थिक विकास, सामाजिक न्याय, समान अवसर देशमा नहुनुको पछाडि केही सिमित उच्चवर्गको हातमा रहेको राज्यसत्तालाई ठान्थे । राजनीतिक अधिकार जनतामा नआएसम्म आर्थिक विकास र राजनैतिक विकास देशमा आउने छैन भनेर उनीहरुले गरेको संघर्ष, त्याग एवं वलिदानलाई यी घरानीया व्यापारीहरुले प्रतिस्थापन गर्दा ती पोष्टर हेर्दै भवे सार्कीहरुले (हेर्नुहोस् ....)मन कुढाएर चित्त बुझाउनुपर्ने छ ।
भवे शार्की लामो राजनीतिक इतिहास भएर पनि टिकटका लागि केही रकम सापट लिएर काठमाण्डौ आई सुन्धाराका गेष्ट हाउसमा केही रात विताए । टिकट नपाएर घर फर्केका सयौं त्यागी, कर्मठ कार्यकर्ताका प्रतिनिधि पात्र मात्र हुन् उनी ।
यी व्यापारीका फोटो पोष्टरमा देख्दा भवे शार्की जस्ता निम्सरा कार्यकर्ताको कानमा केही समयपछि तर ठूलो धमाकाकासाथ पड्किने आताशाबाजीको डड्याम डड्याम डड्याम आवाजको झल्को अहिले नै आउनेछ ।
दलहरुले व्यापारीलाई टिकट दिनुहुन्न भन्ने हैन । तर राजनीतिक विचारधारा, सैद्वान्तिक धरातल, निष्ठा र जनसेवाको भावनाको खडेरी नै हुने हामी व्यापारीले राजनीतिमा कति योगदान गर्न सकिएला ।
व्यापारीको परमधर्म भनेकै मुनाफा कमाउनु हो । आफूले गरिआएको काम इमान्दारीसाथ गरेर ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो कर्तव्य हो ।
दशै मुखमा आएको छ । मौका प¥यो भने हामी कृतिम अभाव सिर्जना गर्छौं । नाफा कमाउन कालोबजारी गछौं । चाडबाडको मौकामा भाउ बढाएर ग्राहकलाई चोकेमा पाछौं ।
भुटुन, मसला, तरकारी, चामल, पीठो सबैथोकमा मिसावट गर्छौ । त्यसरि कमाएको पैसाको पनि पुरापुर आयकर तिर्देनौ ।
हामी नै चुनाव उठेर जनतालाई सेवा गर्छु भनेर कस्सिदा आफैप्रति कति इमान्दार हुन सकिएला ।
राजनीति आम रुपमा व्यापारीको धातुसँग मिल्ने कर्म हैन । परोपकार, त्याग, निष्ठा, समर्पण, समभाव यसका आधारभूत गुण हुन् । हामी यी कर्ममा बाँधिन नसकेका सयौं उदाहरण आम मानिसको स्मरणमा पनि छ ।
‘गरिखान पाए भयो’ हाम्रो मूल मन्त्र नै यहिँ हो । त्यसैले २००७, २०१७, २०३६, २०४६, २०५९, २०६१, २०६३ लगायत सबै ठूला परिवर्तनमा हामी जहिलेपनि नयाँ शक्तिसँग लाहसियौं । धेरैजसोले दिपावली गरियो ।
नयाँलाई रिझाएर आफ्नो व्यापार÷व्यवसाय अघि बढाउन पायो हुन्थ्यो भन्ने हाम्रो एउटै दाउ थियो ।
त्यसरि नाफालाई सर्वोपरि ठान्ने हामी अहिले किन राजनीतिमा हाम फाल्न खोजिरहेका छौं ? जोखिम मोल्न खोजिरहेका छौं ?
की पत्रकार विजयकुमारले बारम्बार भनेजस्तै ‘राजनीतिलाई मुलुकको सबैभन्दा ठूलो नाफा धन्दा’ ठानेर हो ।’
(दाहाल मोरङ्ग व्यापार संघका कार्यकारी सदस्य हुन् ।)