भारतीय नाकाबन्दी खुल्यो। तर नाकाबन्दीबाट त्रसित नेपाली मन अझै खुलेको छैन। न नाकाबन्दी लाग्दा नाकाबन्दी लगाउने घोषणा गरियो, न त खोल्दा नै खुलेको घोषणा भयो। अघोषित रुपमै खुलेको हुँदा खुलेको हो होइन भन्ने कुरामा पनि अझै आमजनमानसमा आशंका छ। तथापि नाकाबन्दी लगाउनु अगाडि जसरी वीरगञ्ज नाकाबाट सामान निकासी पैठारी हुन्थ्यो त्यसैगरी निकासी पैठारी हुन थालेकोले नाकाबन्दी खुलेको भन्न सकिने भयो।
आखिर नेपालमाथि भारतले नकाबन्दी किन ग¥यो यो रहस्यकै गर्भमा छ। पर्दापछाडि जे जे रहस्य भए पनि पर्दाअगाडि चाहिँ नेपालले घोषणा गरेको संविधान र त्यो संविधानमा मधेशवादी दलको असन्तुष्टिसँग देखाइयो। त्यही पनि प्रष्ट भनिएन। बरु भारतीय अधिकारीहरुद्वारा मधेशवादी दलले नाकाबन्दी गरेको भनियो। मधेशवादी दलले पनि त्यसलाई सकारे। जसले जे भने नि जे सकारे पनि नाकाबन्दी भारतले गरेको हो भन्ने सबैलाई थियो। नाकाबन्दी लगाउनुको कारण बाहिर भनिएको मात्र थिएन भन्ने नेपाल भारत सम्बन्धका जानकारहरुले पनि मत छँदै थियो। जसरी नाकाबन्दी लागाउनुको दृश्यमा देखाएइको कारण मात्र थिएन त्यसैगरी खोलिनुको कारण पनि मधेशवादी दलले खोलेको जस्तो देखिए पनि नाकाबन्दी खोल्नुको कारण त्यति मात्र छैन। के थिए नकाबन्दी खुला हुनुको कारण ?
सेफ ल्याण्डिङको खोजीः संविधान निर्माणको सन्दर्भमा आफ्नो सल्लाह नलिएको र नेपालले नमागी सल्लाह दिँदा पनि नेपालले नमानेको झोँकमा नेपालमाथि भारतले नाकाबन्दी ग¥यो। तर त्यसको परिणाम भारतले सोचे जस्तो भएन। न त नेपाल भारतसँग झुक्यो न त भारतले अन्तर्राष्ट्रिय समर्थन नै पायो। बरु नेपालमा विगतमा चुलिएको मोदी “पपुलारिटी” ह्वात्तै गिर्यो। यसबाट भारत पनि आफूले गल्ती गरेको महसुस गर्दै थियो, तर प्रष्ट भन्न सकिरहेको थिएन। जसरी सानो निहुँमा नाकाबन्दी गरियो, त्यसैगरी सानो निहुँ पाए नाकाबन्दी खोल्ने मुडमा भारत थियो। यस्तै असामाञ्जस्य परिस्थितिमा मधेशवादी दलको मनमुटाव र बेमेलकै अवस्थामा राजेन्द्र महतो अघि सरेर नाकाबन्दी खोल्नुपर्छ भन्नासाथ भारतलाई सेफ ल्याण्डिङ गर्ने अवसर मिल्यो र नाकाबन्दी खुल्यो।
नेपालका प्रधानमन्त्रीको अडानः प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुनुअगाडि स्पष्ट अडान भएका नेता भनिन्थ्यो। प्रधानमन्त्री भएपछि भने उनलाई धेरैले बोलीको ठेगान नभएको नेता भन्न थाले। तर भारतसँगको नाकाबन्दीको सन्दर्भमा भने उनी फेरि स्पष्ट अडान भएकै नेता देखिए। उनले भारतसँग घुँडा टेकेनन्। बरु पद छोड्ने तर भारतसामु घुँडा नटेक्ने आफ्नो अडान कायम मात्र राखेनन्, नाकाबन्दी नखुली भारत नै नजाने भनेर सार्वजनिक अभिव्यक्ति नै दिए। नेपालको प्रधानमन्त्रीलाई पहिलो विदेश भ्रमण आफ्नो देशबाट सुरु गराउने विगतको परम्परालाई निरन्तरता दिन नाकाबन्दी बाधक भएपछि भारत नाकाबन्दी खोल्न बाध्य भयो ।
नाकाबन्दीको प्रभावहीन दबाबः नाकाबन्दी भारतले नेपाल सरकारलाई दबाब दिन फालेको कार्ड हो। तर भारतले फालेको यो कार्डले नेपाल सरकारलाई अपेक्षाकृत दबाब परेन। रक्सौल नाका बन्द भए पनि अन्य नाकाबाट ल्याइएको इन्धनले सरकारी गाडी मजाले चले। उच्च पदस्थका चुला बले। न त सरकारी उच्च पदस्थहरुले घण्टौँ लाइनमै बस्नु प¥यो। बरु यसबाट नेपाली जनतालाई भने राम्रै सास्ती भयो। सर्वसाधारणले भने कि त घण्टौँ लाइन बस्नु प¥यो कि त चर्को मूल्य तिरेर कालो बजारीयाहरुको व्यवसाय मौलाउन सहयोग गरिदिनुप¥यो। सरकार भाषणमा मस्त भयो। जनताले सास्ती भोगे। कालोबजारिया मोटाए। सररकारलाई दबाब दिन चालको कदम जनतको सास्ती मात्र भयो। त्यसले भारतलाई लाग्यो होला, आफूले हानेको तीर ठीक ठाउँमा परेन। उल्टो कामको परिणाम उल्टो आयो। भारतको भागमा नेपाली जनताको आक्रोश शिवाय केही परेन। यसकारण भारत नाका खोल्ने मनस्थितिमा पुग्यो।
मोदीप्रति नेपालीको आक्रोशः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री भएपछि गरेको नेपालको भ्रमणबाट नेपालमा मोदीको लोकप्रियता बढेको थियो। नेपाली जनताहरु “हाम्रा नेता पनि मोदी जस्तो भए पो देश बन्छ” भन्न थालेका थिए। तर नाकाबन्दी अघि शिखरमा पुगेको मोदी लोकप्रियता नाकाबन्दीपछि एकै पटक पातालमा पुगेर बिलायो। हिजो आँखा चिम्लेर मोदीको प्रसंशा गर्ने तिनै नेपाली जनता मोदीको पुत्ला जलाउन थाले। यस्तो परिस्थितिमा मोदी सरकारसँग नाकाबन्दीबाट पछि हट्नुको अर्को विकल्प थिएन।
मधेशी मोर्चामा देखिएको फुटः मधेश आन्दोलन सुरुमा जति सशक्त थियो पछिल्लो समय कमजोर हुँदै गयो। फोरम लोकतान्त्रिक पहिले नै मोर्चामा सहभागी भएन। केही समय आन्दोलन गरे पनि उसले छुट्टै आन्दोलन ग¥यो र पछि त सरकारमै सहभागी भयो। मधेशी मोर्चामा रहेका दलहरुले पनि एकले अर्काको अस्तित्वलालाई खुलेर स्वीकार गरेको देखिएन। न त आन्दोलनको नेतृत्व गर्ने सर्वस्वीकार्य नेता नै देखियो। एकले अर्कोलाई विश्वासको आँखाले हेरेको नि पाइएन। बरु नेताहरुका एक आपसमा विवादास्पद अभिव्यक्तिहरु आइरहे। पछिल्लो समय नाका खुल्ने बेलासम्ममा त उनीहरु बीच निकै दुरी बढिसकेको थियो। एकले अर्कालाई कारवाहीसम्मको निर्णय गर्ने स्थितिमा मधेशी मोर्चाका घटकहरु पुगे। परिणाम नाकाबन्दी प्रभावहीन बन्दै गयो र औपचाारिक रुपमा नाकाबन्दी खोल्ने निर्णय निर्णय समेत लिन नपाउँदै रक्सौल नाका खुल्यो ।
लामो आन्दोलन र वीरगञ्जबासीको आक्रोशः मधेश आन्दोलन जति समय होला भन्ने सोचिएको थियो त्योभन्दा लामो भयो। हुन त नाका खुले पनि मधेशवादी दलले अझै आन्दोलन नसकिएको दाबी गरिरहेका छन्। अहिलेसम्मको मधेश आन्दोलनको उपलब्धि के भयो त्यो आन्दोलनकारी दललाई बाहेक अरुलाई थााहा भएन। तर सबैले थाहा पाएको कुरा चाहिँ यो आन्दोलनबाट आमनागरिकले भने सास्ती खेप्नुप¥यो। राजधानीले एउटा इन्धन अभावको सास्ती खेप्नु परे पनि मधेशले भने सबै प्रकारका सास्ती खेप्यो। दबाब राजधानीलाई भनियो कष्ट मेधेशले पनि त्यत्तिकै पायो। बीरगञ्ज क्षेत्र त झनै आन्दोलनको थप मारमा प¥यो। वीरगञ्जको बन्दव्यापार ठप्प भयो। यसले गर्दा वीरगञ्जका व्यापारी र सर्वसाधारणको समेत सहानुभूति मधेश आन्दोलनले गुमाउँदे गयो। मधेशीलाई मधेशकै समर्थन नभएपछि नाका खोल्नुको विकल्प रहेन ।
विहारका क्षेत्रीय दलसँगसँग मधेशी दलको सहयोग याचनाः नाकाबन्दी भारतको केन्द्रीय सरकारले लगाएको हो। नाकाबन्दी झण्डै पाँच महिना चल्यो। सायद थप समय नाकाबन्दीका लागि भारतको केन्द्रीय सरकारको सहयोग नपाइने संकेत बुझेरै हुनुपर्छ, मधेशवादी दल विहारकेन्द्रित दलसँग नाकाबन्दीमा सहयोग माग्न पुगे। मधेशी दलको यो व्यवहारबाट भारतको केन्द्र सरकार खुसी हुने कुरा थिएन। फलतः नाकाबन्दीको निरन्तरतामा केन्द्र सरकार उदासिन भयो। यसले नकाबन्दी खोल्ने कुरालाई थप मलजल भयो ।
नेपालप्रतिको अन्तर्राष्ट्रिय सहानुभूतिः भारतले नेपालमा गरेको नाकाबन्दीलाई अन्तर्राष्ट्रिय समुदायले एकदमै नजिकबाट नियालेको मात्र होइन, नेपाली जनताले पाएको दुखप्रति सहानुभूति प्रकट गरेको थियो। पश्चिमा मुलुकले पटक पटक नेपालमा मानवीय संकट उत्पन्न हुनसक्ने तर्फ ध्यानाकर्षण गरेका थिए। भारतप्रति प्रत्यक्ष विरोधको भाषा नबोले पनि भारतको व्यवहारमा कसैले पनि समर्थन गरेको पाइएन। चिनले पनि उत्पन्न संकटमा सहयोग गर्ने वचनवद्धता व्यक्त मात्र गरेन केही सहयोग समेत ग¥यो। यी सबै कारणले पनि भारतलाई नाकाबन्दी खोल्न कुटनीतिक दबाब परिरहेको थियो ।
तपसिलमा अन्य थुप्रै कारणह रहे पनि नाकाबन्दी खोल्नुपछाडिका प्रमुख कारण यिनै हुन्। अनपेक्षित नाकाबन्दीको परिणाम पनि अनपेक्षित नै रह्यो र खुला पनि अनपेक्षित नै भयो। समग्रमा यो नाकाबन्दी हात लाग्यो शून्य भए पनि यसको प्रभाव भने दुरगामी हुनेछ।