चिठी तिमीलाई लेखु भन्छु,
मनको कुरा मन मै रह्यो,
यो गीत रचना भए ताका, सामाजिक संजाल प्रयोग मै थिएन। नत्र, मायालुलाई भन्नु पर्ने मायाका कुरा मनमा राखेर को छट्पटाएर बस्थ्यो होला? मनको कुरा मनमै गुम्स्याउन कसले सक्थ्यो होला र। भ्यालेन्टाइन डे कै दिन पर्खेर वा नपर्ख्री आफ्नो मायाको अभिव्यक्त गर्थे होला।
अहिले अवस्था फेरिएको छ।
फेसबुक र ट्वीटरमा लेखिएका स्टाटसकै इशाराको आधारमा को कस्को प्रेममा पर्यो भन्ने अड्कल काटेर नै बलिउडमा मुख्य समाचार बन्छन् आजकल। धन्न बलिउड, हलिउड र कलिउड छन् जहाँ प्रेम र रोमान्सका चर्चाहरु चल्छन् र हामी रोमाञ्चित बन्छौं। आखिर प्रेमको कुरा सुन्न र सुनाउन कसलाई पो मन लाग्दैन?
हुनत भन्नेहरुले “प्रेम एक मिथ्या कल्पना हो” भन्छन्, प्रेम अनुराग र प्रेमको तृप्ती चाहीँ विराग हो भन्छन्। तर जे भए पनि प्रेम मानिसको निर्धारित लक्ष्य हो भन्ने लाग्छ मलाई। प्रेममा कम्पन हुन्छ, र त्यो कम्पनमा सुख छ, प्यासको तृप्ती छ। जीवनमा प्रेमको प्रधानता छ। एउटाले अर्कोसंग प्रगाढ सहानुभूति राख्नु र एकअर्काको अस्तित्वलाई एउटै बनाइदिनु नै प्रेम हो, प्रेम जीवनको सर्वसुन्दर लक्ष्य पनि हो । दुई मुटुबीचको प्रेम दुनियाँले थाहा नपाएसम्म यसको मजा पनि हुन्न। प्रेम जगजाहेर हुनु पर्छ भन्ने मान्यता छ मेरो। प्रेम कोही प्रतिको आकर्षणको अभिव्यक्ति हो भने ढिलो चाँढो प्रेमको सिमाना बढेर जान्छ अनि जगजाहेर हुन्छ । अझ प्रेम विवाहमा परिणत हुन सके सुनमा सुगन्ध ।
खैर, सधैभरि विवाह वा प्रेमको मौसम हुँदैन। आज संसार भरि नै मानिसहरु प्रेम दिवस मनाउने तरखरमा छन्, यही मेसोमा मेरो पनि केही कुरा भन्नु छ। गएको साल मेरो मिल्ने साथीको विहे भयो। विवाह अघि मेरो केटी साथीको एउटै शर्त थियो-विहे पछि पनि आफ्नो थर परिवर्तन नगर्ने। पृथ्वी उल्टो फन्को घुम्ने गरी उनले केही सर्त राखे जस्तो मलाई लाग्दैन। तर बहस निक्कै चर्को र तातो भयो। ठूलै बहस र छलफलपछि केटा पक्षबाट केटीको यो सर्त मन्जुर गर्यो।
भन्ने चलन छ-केटी अर्काको घर जाने जात, उसको आफ्नो नाम र थरको ठेगान हुँदैन, विवाह पछिमात्र त्यसको टुंगो लाग्छ। अझ हिन्दु धर्ममा त कन्यादानसंगै गोत्र समेत दान गर्छन्। यसरी गोत्र दान गरेपछि केटीको आत्मा विवाह गरेर गएको परिवारसंग जोडिन्छ भन्ने मान्यता पनि छ। हुनत पक्कै यस्तै हुन्छ वा मैले भोगेको छु भन्ने कोही माइकालाल आजसम्म समाजमा निस्केका छैनन्। पुरुषले सबै संस्कार छोडे पनि महिलाका सवालमा हाम्रो समाज यति संस्कारी छ, कुनै केटीले विवाहपछि पनि आफ्नो थर परिवर्तन गर्दिन भन्दा बहस र विवाद हुन्छ।
सारा खतरा मोलेर मेरी साथीले आफ्नो थर नफेर्ने प्रस्ताव राखी। केटा र केटीबीचको प्रेमको बलमा उसले त्यो प्रस्ताव राख्न सकेकी हो। अन्तत: बाहुन 'कुल'को त्यो परिवारले मेरो साथीको थर परिवर्तन नगर्ने सर्त मन्जुर गर्यो। प्रेमको तागतको सानो उदाहरण मात्रै हो, समाजको एउटा जडतालाई मेरी साथीले प्रेमको बलमा उसका लागि तोडी।
अहिले ऊ विहित छ, सिन्दुर, पोतेले सजिएर हिड्छे। म विहे नगर्नेलाई कहिले काँही उनको पोतेले जिस्काए जस्तो पनि लाग्छ। झोक चल्छ-इन्द्रचोकको पोते बजारमा गएर किनु पातेको झुप्पो र लाउँ गलामा जस्तो पनि लाग्छ। तर किनेको छैन, यी मनमा कहिले काँही उठ्ने तरङमात्र हुन्। उनको सिन्दुर र पोतेप्रति मेरो मनमा कुनै डाह छैन। छ भने उनले विवाह अघि राखेको सर्तमा छ। जुन सर्तको बारेमा मेरो मनमा बारम्बार प्रश्न उठिरहन्छ।
म सोच्छु, शिक्षित, सक्षम, रोजगार, सबै हिसावले सम्पूर्ण एउटी केटीले किन विहेपछि आफ्नो थर परिवर्तन नगर्ने सर्त राखेकी?
उसले त्यो शर्त नराख्नु पर्थ्यो भन्ने मेरो मत हैंन।
म उ भन्दा कम छैन, असमान सामाजिक परम्पराका बिरुद्ध म झन् 'चर्को' छु।
म उनको ठाउँमा भएको भए मेरो एउटै प्रस्ताव हुन्थ्यो-विवाह गर्ने केटाको थर मेरो थरमा परिवर्तन गर्ने सर्त राख्थे। उसको थर जे भए पनि मसंग विहे गरेपछि उ “दाहाल” नै हुन्छपर्छ भन्थे। हिन्दु धर्म अनुसार त गोत्र पनि बदलिन्छ। म उसलाई गोत्र पनि परिवर्तनका लागि सोध्ने थिँए-'के मसंग विहे गरेपछि तिमी आफ्नो गोत्र पनि परिवर्तन गर्न तयार छौ ?”
सुन्दा मेरो कुरा अत्यन्तै उग्र र हदैसम्मको अव्यहारिक जस्तो लाग्न सक्छ, हुन पनि आजसम्म कुन केटीले आफूले विवाह गर्ने केटालाई थर परिवतर्नको प्रस्ताव राख्ने सोचेका छन् ? संसारमा कहाँ त्यतो होला?
अझ हाम्रो सामाजिक संस्कारका हिसाबले त हामी केटीहरुले जहिले पनि आफूलाई दानको पात्रको रुपमा लियौ, अरुको घरको जिम्मा लिने, अरुको घरको भित्ता टाल्ने, अरुले हामीलाई श्रीमतीका रुपमा स्वीकारी दिनुपर्ने, अनि अरुले नै नाम र थर दिनु पर्ने? किन हामीले कहिल्यै पनि म पनि मेरो नाम र थर मैले विवाह गर्ने पुरुषलाई दिन सक्छु भन्ने बारेमा सोचेनौ? के स्त्री जाति साच्चीनै त्यति कमसल र अयोग्य हो, जसले कहिल्यै आफ्नो विवाह गर्ने पुरुषलाई केही दिन सक्तैनौ? सधै लिने मात्र? नाम, थर, सम्पति, गोत्र, कहिलेसम्म लिने?
हुँदा हुँदा आफैले पाएको सन्तानलाई आफ्नो थर दिन नसक्ने सावित भयौ। किन लोग्नेलाई भन्न सकेनौ 'यो जन्मिएको बच्चा मैले पाएको हो, मेरो नाम र थर यो बच्चाको पहिलो अधिकार हो भनेर।' हाम्रो आफ्नै लाचारीले गर्दा, हाम्रो आफ्नै कमजोरीले गर्दा आज नारा लाउँदै आमाको नाउको नागरिकताको लागि हिड्नु परेको छ। किनभने हामीलाई लिने बानी परेको छ, लोग्नेको थर लिने, घर लिने, सम्पति लिने, मरेपछि पनि पीण्ड लिने। यही लिने लाचारीले आजसम्म नेपाली नारीपछि परेका हुन् भन्ने मेरो निष्कर्ष हो।
उल्लासमय रुपमा प्रेम दिवस मनाइरहेका तमाम नेपाली युवतीहरुलाई मेरो फरक भ्यालेन्टाइन प्रस्ताव छ- तिम्रो प्रेमीले तिमीलाई रातो गुलाफ र तीन शब्दको 'आइ लभ यू' भन्दा तिमीले पनि भन्न नभुल्नु 'के तिमी मेरो असली परिचय र अस्तित्वलाई पनि स्वीकार गर्छौ त?' अनि के मन्जुर छ, हामीबाट जन्मिएको बच्चालाई मेरै परिचय दिन?