यो समय प्रेम सप्ताह अर्थात् भ्यालेण्टाइन डे को हो। बाहिरी संस्कृतिप्रति नेपाली युवायुवतीहरूका आकर्षण बढेको छ।
भर्खरका नव युवायुवती, बाआमा र परिवारजनबाट लुकेर गर्नुपर्ने प्रेम अनि फिल्म हेर्नुपर्ने। आइसक्रिम खानुपर्ने। सहरका महंगा रेष्टुरेष्टमा लन्चडिनर गर्नुपर्ने। महंगा फेसनमा मात्र रूची राख्ने प्रेमिका!
सस्तो होस् पनि कसरी र।
खर्च नगरौं त बल्लबल्ल बनेकी प्रेमिका फुत्कने डर। गरौँ त कहाँबाट ल्याउने पैसा?
यो निम्न मध्यमबर्गीय सहरी नेपाली युवाका पीडा नै हो।
के प्रेम गर्न भ्यालेनटाइन डे नै चाहिन्छ त?
होइन भने हाम्रा युवायुवतीको पश्चिमी संस्कृतिप्रति यो मोह किन यति धेरै?
यसको एउटै कारण हो, नक्कल। आफ्नोलाई पाखे देख्नु र अर्काको नक्कल गर्नु।
यतिबेला भ्यालेनटाइनको रौनकले सहरिया युवायुवतीलाई उद्धेलित बनाएको छ।
सेक्सपियरको रोमियो जुलिएट अनि मुमताज र शाहजाँहले गरेका प्रेम संसारमा उत्कृष्ट मानिन्छन्। ती व्यक्त प्रेम थिएनन्। अव्यक्त थिए।
शाहजाँहले आफ्नी प्रेमिकालाई पसलमा सजाइएका महंगा गुलाबी फूल उपहार दिएर प्रेमलाई बलियो बनाएका थिएनन्। न त मुमताजलाई लिएर कतै डेटिङ नै गएका थिए।
सत्य के हो त?
त्यसबेला यस्तो सुविधा थिएन कि? उनीहरूले प्रेमलाई किन्ने बिषय होइन भन्ने कुरामा बिश्वास गरे? उनीहरूले नै जानून्।
समय फेरिएको छ। यो त प्रेम किन्न सक्नेको समय भएको छ। जोसँग धैरे पैसा हुन्छ, उसैसँग महंगो प्रेम हुन्छ।
के हो त भ्यालेनटाइन डे?
रोमन पादरी भ्यालेन्टाइनले जेलमा परेका कैदीलाई ईशापूर्व २ सय ७८ मा सामूहिक विवाह गराए। त्यसपछि तात्कालीन रोम सम्राट क्लोडिअस द्धितीय क्रुद्ध हुँदै पादरी भ्यालेण्टाइनलाई मृत्युदण्डको सजाय सुनाए। त्यस दिनको सम्झनामा संसारका प्रेमीहरूले यस दिवसलाई मनाउने गरेका छन्।
युवायुवतीहरूका प्रेमिल भावनालाई बन्दी भएकै कारणले रोक्न नमिल्ने पादरी भ्यालेनटाइनको तर्क थियो। उनको त्यति क्रान्तिकारी सोंचप्रति युवायुवतीको समर्थन नहुने कुरै थिएन। फलस्वरूप तिनै सन्ट भ्यालेण्टाइनलाई सम्झँदै धेरै बर्ष पहिलेदेखि रोमबाट भ्यालेण्टाइन दिवस मनाउन थालिएको हो।
क्लोडिअस यति क्रुर थिए कि उनले आफ्ना सैनिकहरूलाई कहिल्यै बिदा दिंदैनथे। छुट्टी नपाएका कारण सैनिकहरू उनीहरूका प्रेमिका र श्रीमतीसित भेट गर्न छट्पटाउँथे। त्यसैले रोममा कोही खुसी थिएनन्।
भ्यालेन्टाइनको हत्यापछि सम्राट क्लोडिअसको शासनबिरुद्ध सिंङ्गो रोम साम्राज्यमा विरोधको आगो सल्कियो। आन्दोलनमा उत्रिए। जनताको व्यापक विरोधलाई थेग्न नसकी क्लोडिअसको शासनको पतन भयो। त्यसपछि संसार नै प्रेम हो भन्ने नारासाथ पादरी सन्ट भ्यालेन्टाइनलाई अमर तुल्याउन १४ फेब्रुरीलाई विशेषरुपमा मनाउन थालियोे।
पश्चिमा संस्कृतिको उपज भनी यदाकदा आलोचना गरिएको सुनिन्छ। तर संसारलाइ प्रणय सूत्रको सन्देश सिकाउने काम कुनै भूगोलको पेवा होइन। बरु त्यो मानव मात्रको साझा उपलब्धि हो। प्रेम भाव फैलिनु अत्यन्तै सुन्दर पक्ष हो।
प्रेमबिनाको संसार असम्भव छ।
मानिस चाहे सफल होस् या असफल। धनी होस् वा गरीब। ठूलो होस् वा सानो। प्रेमका अनुभुतिले अंकमाल गरिरहेका हुन्छन्। त्यसैले प्रेमको अनुभुतिको खाँचो सबैलाई हुन्छ।
कसरी मनाइन्छ त भ्यालेनटाइन डे?
७ फेब्रुरीलाई रोज डे भनी मनाइन्छ। यस दिन आआफ्नालाई वा मन पराएकोलाई रातो गुलाब दिएर आफूप्रति आकर्षित गरिन्छ। हिटलरले आफ्नी प्रेमिका इभालाई ७ फेब्रुरीमै रातो गुलाब उपहार दिएको किंवदन्ती छ।
८ फेब्रुरीलाई प्रपोज डे भनिन्छ। आफूलाई मन परेको मान्छेलाई निर्धक्क प्रेम प्रस्ताब राख्ने गरिन्छ।
९ फेब्रुरी चकलेट डे भनी मनाइन्छ। यस दिन मन परेकोलाई मिठो खुवाएर भावनात्मकरुपमा नजिक बनाउने हो।
१० फेब्रुरीलाइ टेड्डी डे भनी मनाइन्छ। टेडि एकदमै नरम र मुलायम हुन्छ। कोमलताको प्रतीकको रुपमा टेड्डी गिफ्ट दिने गरिन्छ।
११ लाई प्रोमिस डे भनी मनाइन्छ। यस दिन मायालुसँग प्रेमलाई सधैँ सार्थक पार्ने कसम खाइन्छ।
१२ लाई दिन हग डे भनी मनाइन्छ। यस दिन न्यानो आलिङ्गनमा बाँधिएर प्रेमको गहिरो अनुभुति व्यक्त गर्छन्।
१३ लाई किस दिवस् अर्थात् चुम्बन दिवसका रुपमा मनाइन्छ। यस दिन मायालुलाई सुमधुर चुम्बन गरेर आफ्नो अपार माया व्यक्त गर्न सकिने विश्वास छ।
१४ तारिखलाई अन्तिम तथा विशेष महत्वको दिन, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे।
यस दिन मनका भावना खुलस्त पार्ने चलन छ। विशेष महत्वको बनाउन महंगो उपहार होइन कि अर्थपूर्ण उपहार दिने चलन छ।
रातो गुलाबले गाढा प्रेममा रहेको जनाउँछ। यदि कसैले रातो गुलाब उपहार दिन्छ र लिने मान्छेले सहर्ष स्वीकारेपछि प्रेम सुरू भयो भन्ने बुझिन्छ। मन पराइएको छ तर अभिव्यक्त गर्न सकिएको छैन भने पहेलो गुलावबाट सुरु गरिन्छ। सेतो गुलाबले पवित्र सम्बन्धलाई जनाउँछ जुन जोसुकैलाई जतिबेला पनि दिन सक्नुहुन्छ।
सारा संसार नै मायामा बाँचेको छ। प्रणय दिवसको तयारीमा रहेका सम्पूर्ण प्रेमीहरूलाई शुभकामना।