मैले पहिलो पल्ट कहिले रेडियो सुने हेक्का छैन । जहिले हेक्का हुने गरी सुने अरुलाई जस्तै मेरो मनमा पनि त्यही प्रश्न उब्जेको थियो, यति सानो भाँडो भित्र यत्रो स्वरमा बोल्ने मान्छे कसरी बसेको होला ? कसरी अटाएको होला ?
दिन यस्तो पनि आयो, एक दिन म आफै रेडियोमा बज्न थालेँ । पहिलो पल्ट रेडियो सुन्नेले मेरो आवाज सुनेर शायद मेरै जस्तो प्रतिक्रिया गरे होलान्, यति सानो भाँडोमा यसरी बोल्ने मान्छे कसरी अटाएको होला ?
र, अहिले पनि पहिलो पल्ट रेडियो सुन्दा केटाकेटीको बाल सुलभ जिज्ञासा हुन्छ होला, रेडियोमा मान्छे कसरी बोल्छ ! रेडियोले गीत कसरी बजाउँछ ? र रेडियोभित्रबाट समाचार कसरी बज्छ, सबै कुरा त्यो सानो
रेडियोलाई कसरी थाहा हुन्छ ?
यी सारा प्राविधिक कुरा भए । अर्थात् यी प्रश्न अब नहुन पनि सक्छन् । किनभने हिजो मैले सुन्दा रेडियो नेपाल एउटा थियो र त्यसमा सीमित स्वहरु हावामा ठोक्किएर कान सम्म पुग्थे । मैले बोल्ने बेला रेडियो नेपालको एकाधिकार भत्केर एफएमको जमाना आइसकेको थियो । र पनि रेडियो दुर्लभ र विशेष नै थियो ।
अहिले झण्डै गाउँगाउँमा एण्टेनाको टुपी ठडिएका छन् । समय यस्तो पनि आयो शहरमा नयाँ बन्दै गरेको घरको कुनै कोठामा स्टुडियो बनिरहेका हुन्थे । र स्रोताका कानसम्म पुग्न आवाजहरु आपसमा ठोक्किएर एक अर्कामा अलमलिएका छन् । स्रोताले सुन्दा ती आवाजमा सग्ला र गहकिलो पन आएको छैन । ती लरबरिएका छन् । कतै हराएका र हतास छन् ।
विशेष भाँडो किनि रहनु नपर्ने भएकाले मान्छेहरु अहिले हात हातका मोबाइलमा प्राप्त रेडियो बज्ने सुविधालाई आफ्नो अनुकुल उपयोग गरिरहेका छन् । छुट्टै एउटा विशेष भाँडो किनिरहनु पर्ने झण्झटबाट मुक्ति मिलेके छ । र चल्तीका भाषामा भनिने गरे जस्तो सूचना प्रविधिले साँघुरो बनाउँदै लगेको दुनियाँमा रेडियो पनि यस्तो चिज भएको छ मान्छे नचाहेर पनि सुन्न बाध्य छ अथवा यसैसँग यसो पनि भनौँ मान्छे चाहेर पनि रेडियो सुन्न सकिरहेको छैन । हात हातमा बज्ने रेडियोको सुविधा हुँदा पनि रेडियो सुन्ने इच्छा मर्दै गएको छ ।
त्यसैले धेरैजसो रेडियोको आवाज हावामै हराइरहेका छन् ।र ख्याल ख्यालमै सुरु भएको रेडिायोको डेढ दशकको यात्रामा मैले रेडियोलाई फर्केर हेर्ने जमर्को गरेको छु – मकवानपुरबाट मेरो रेडियो यात्रा सुरु भयो । जानेर नजानेर मैले बोलेको, बजाएको कार्यक्रमका स्रोता राम्रै थिए । ती चीठी पठाउँथे र हौस्याउँथे । तिनको सम्झना चिठीमा गाभिएर आउँथ्यो । मन एक तमासले रमाइलो हुन्थ्यो र काम गर्ने उत्साह झन् बढेर जान्थ्यो ।
मकवानपुरबाट चितवन हुँदै मेरो रेडियो यात्रा काठमाडौं आयो । एउटा जिल्लामा सिमित स्टुडियोबाट मेरो आवाज देशभर पुग्ने नेटवर्कमा विस्तार भयो । यही डेढ दशकमा सूचना प्रतिको चेतनाले हो वा व्यापार प्रतिको चासोले हो रेडियोको संख्या बढेर देशभर झन्डै ५ सय पुग्न लागे ।
यसका एकदम धेरै सकरात्मक पाटाहरु छन् । तर सिक्काको अर्को पाटो पनि छ, सुन्नेहरु मात्रै होइन रेडियोमै काम गर्नेहरु, रेडियो चलाउने साहुजीहरु, रेडियोको विकास र विस्तारमा काम गर्नेहरु सबैको एउटा दुखेसो पनि सँगै आइरहेको छ, रेडियो स्तर हिजोको जस्तो रहेन । रेडियो खस्क्यो ।
हो ।
करिअरको डेढ दशकमा मलाई पनि त्यस्तै लाग्छ । वर्षौ यही पेशामा बिताएकाहरु अघि मैले रेडियोमा बोलेको समय खास केही होइन । खास केही नभएको यही बेलामा पनि मलाई खास केही लागेका छन्, जुन कुरा सुन्दा केही असहज र तीतो लाग्न सक्छ । तर मलाई त्यस्तै लाग्छ ।
प्रश्न अन्य क्षेत्रमा पनि यही छ, तर रेडियोमै काम गर्नेहरुका लागि यो प्रश्न विशेष छ, के रेडियोको स्तर खस्केकै हो ? सँयौं संख्यामा बढे पछि लाखौ स्रोताकोमा पुग्ने भएपछि र प्रतिस्पर्धा भएपछि स्तर बढ्नु पर्ने रेडियोको स्तर किन बढ्न सकेन ?
देभरमा यति धेरै रेडियो खुले पनि त्यसको स्तर मापन बारे कुनै अध्ययन अहिलेसम्म भएको छैन । रेडियोले प्रस्तुत गरिरहेको कण्टेण्ट बारे खासमा अध्ययननै भएको छैन । भएका केही विकासे अध्ययनले आफ्नो निहित स्वार्थ राखेर गरेकाले त्यसले विस्तृत कुरा समेट्न सकेको छैन ।
जसरी व्यक्ति कमजोर हुनुमा व्यक्ति आफै जिम्मेवार हुन्छ त्यसैगरी रेडियो कमजोर भएको लाग्छ भने त्यो कमजोरी रेडियोमा काम गर्नेहरुकै कारणले हो । पक्कै हो प्रत्यक्ष अनुभव गर्न सकिन्छ, स्रोता घटेका छन्, हिजोको जस्तो क्रेज आज छैन । यसका भित्री कारण विश्लेषण जिम्मा अनुसन्धनका पण्डितहरुलाई दिऊँ । डेढ दशकको अनुभवमा कोदे शैलीमा म पनि भन्न सक्छु, हो रेडियोको स्तर घटेको छ ।
त्यसका कारणहरु पनि मेरा आफ्नै अनुभवमा आधारित छन् ।
पहिले त हामीले यति भन्न लाज मान्नै पर्दैन, हामी रेडियोकर्मीले आफ्नो कद छोट्यायौ र रेडियोको हिजोको साख जोगाउन सकेनौं । जिल्ला जिल्लामा कुनै खुद्रा पसलजस्तै गरी रेडियो त खोल्यौ तर समाज र स्थानीय प्रति हाम्रो कर्तव्य के हो भनेर हामीले सम्झिन सकेनौं । कुनै अमुक नेताको भाषण र केही बताउनु भयो पत्रकारितामा हामीले दिन कटायौ र रेडियोको महत्ता र हामीले हाम्रो योगदानको पनि कटौति गर्यौं ।
हामीले हिजोको दिनमा पाठकको सद्भाव स्वरुप आउने चाङ्का चाङ् पाठक पत्र भुल्यौ ।
किन भने विस्तारै हामीले आफूलाई व्यक्तिगत स्वार्थमा बदल्यौ र रेडियोबाट पनि हामीले स्वार्थ बजायौ । हिजो रेडियोबाट आफ्नो कुरा सुनिरहेका स्रोता अहिले स्वार्थ सुन्न बाध्य भएका छन् । यही स्वार्थको स्वरले हाम्रो (रेडियोको) विगतको छवि, महत्व, आवश्यकता र सम्मानलाई विस्तारै धूमिल पार्दै लग्यो । लगिरहेको छ ।
रेडियो र रेडियोकर्मीबाट श्रोताले गरेको अपेक्षा पूरा गर्न हामी चुकिसकेका छौँ । स्रोताले चाहेको र उनीहरुसित भएको निकटता, हितैषि भाव दोहोर्याउन पनि त्यति सजिलो छैन अब ।
मूल कुरा हामीले कर्तव्य भुल्दै गयौ । पशुपतिको पुजारीको काम पूजा गर्नु त हो तर विधिवत पूजा गर्नु चाँहि खास काम हो । पूजा त जसले पनि गर्न सक्छ । विधिवत पूजा सबैले गर्न सक्दैन । रेडियोमा पनि विधिवत पूजा गर्नु पर्ने हामी रेडियोकर्मीले विधिको खिल्ली उडायौँ र आफू पनि त्यसैसित उड्यौ । जब विधि र कर्तव्य भुल्दै शुभचिन्तक भड्काइन्छ, विस्तारै भविष्य अध्यारो हुदै जान्छ । सम्मानको सिंढीबाट उँधो झर्न सुरु हुन्छ । रेडियो र रेडियोकर्मी अहिले त्यही उँधो झर्ने बिन्दूमा छन् ।
यो डेढ दशकमा के भएन । २०४८ सालको प्रजतन्त्र पुनस्थापनापछि बोल्ने स्वतन्त्रता स्वरुप पत्रत्रिकाको बाढी जसरी आयो ५० को दशक पछि रेडियोको बाढी त्यसै गरी आयो । राजनीतिक उथलपुथल यही डेढ दशकमा भयो । शसस्त्र हिंसाको उत्कर्ष र अन्त्य अहि अवधिमा भयो ।
र यही अवधीमा आमसञ्चार गृहमा सेना सम्पादक भएर पनि आए । समाचार बजाउनु पर्ने रेडियो भजन र दोहोरिमा खुम्चिएका दिन पनि भोगियो । यस अवधीको शाही कदम किन सम्झिनू जरुरी छ भने त्यसले रेडियोको महत्वलाई उजागर गर्न मद्दत पुरयाएको थियो । सम्पादक सेनालाई अटेर गरेर रेडियोमा समाचार पढ्न नपाएपछि हामीले सडक र चौतारोमा समाचार भट्याएको हिजैजस्तो लाग्छ । स्वयम्भुका बाँदरलाई रेडियो बुझाएको र पशुपतिलाई रेडियोनै भेटि चढाएको पनि त्यही बेला हो ।
यसले रेडियोको आवश्यकता र सामथ्र्य बुझाउन मद्दत गरेको थियो । देशमा प्रजातान्त्रिक शासन ब्यवस्थालाई थप मजबुत बनाउने थुर्पै आधार मध्ये एउटा महत्वपूर्ण आधार बन्दै थियो अभिव्यक्ति स्वतन्त्रता । त्यसको एउटा महत्वपूर्ण पाटो रेडियो पनि थियो । जनआन्दोलन २ मा रेडियोले देशलाई रैतिबाट नागरिकको सार्वभौम मुलुक बनाउन योगदान गरेका हुन् । यी पाटोलाई हामीले पक्कै बिर्सनु हुन्न ।
रेडियोको सामथ्र्य थाह पाउन हामीलाई शाही कदमनै कुर्न पर्यो । विडम्बना ! निरंकुशताले उहिल्यै थाह पाएको रेडियोको सामथ्र्य अधिकाँश रेडियोले फेरी भुलेका छन् । सञ्चालनमा रहेका अधिकाँश रेडियो स्टेशनहरुले अहिले त्यो आधार बन्ने हैसियत गुमाईरहेका छन् ।
कारण प्रष्ट छ, सञ्चालकहरु रेडियो स्टेशन खोलिरहेका छन् तर रेडियो खोल्नुको कारण प्रष्ट्याउन सकिरहेका छैनन् । किनभने त्यसमा स्वार्थ मिसिएको छ । स्वार्थ मिसिएका रेडियोे स्वार्थ बजाइरहेका छन् । स्वार्थ सुन्न नचाहने स्रोता विस्तारै रेडियोको ट्युनिंग अफ गर्दैछन् र हामीबाट टाढिएका छन् ।
रेडियोको सामाजिक सन्दर्भ वर्ग र समूहमा बाँडिएको छ । त्यसका सामग्रीहरु पनि त्यसै गरी विभिाजित छन् । प्रसारित छन् । यसकारण रेडियो आफैले हिजोजस्तो सामाजिक आड भरोसा पाउन सकेका छैनन् ।
सबै भन्दा पहिला बुझ्नु जरुरी छ रेडियो स्टेशन किन खुल्यो ? अथवा किन खोलियो ? पछिल्लो समय रेडियोमा डरलाग्दो गरी स्वार्थको लगानी बढ्दो छ । जय नेपाल रेडियो र काम्रेड अभिवादन रेडियोको बाहुल्यता बढ्दो छ । यसको अर्थ हो रेडियो श्रोताका लागि कम कार्यकर्ताका लागि ज्यादा हुँदैछन् ।
कुनै अमूक ब्यक्ति अध्यक्ष, स्टेशन म्यानेजर र सञ्चालक भएर रवाफ देखाउन उद्यत छ । यति सजिलो भइदिएको छ कि नयाँ घरको छतमा एण्टेनाको टुप्पी ठड्याएपछि रेडियो बज्न थालको छ । तर के बज्दैछ न बजाउनेलाइ थाहा छ न सुन्नेलाई थाहा छ ।
रेडियोले प्रस्तुत गर्ने कण्टेण्ट बारे कुनै बहस भएको छैन । तिनले कसका लागि किन के दिइरहेका छन् कसैलाई चासो छैन । बस् दिइरहेका छन् त्यति हो । आवश्यक हो कि होइन र दिनु उपयुक्त हो कि होइन त्यसको कुनै मतलब छैन ।
यसैले हो रेडियो स्टेशन र त्यहाँ काम गर्ने रेडियोकर्मी दुवैसंग समाज विच्किएको । रेडियो प्रतिको विश्वसनीयता फेरि बढाउने एउटा मात्रै आधार फेरि पनि उही श्रोता नै हो । र उनीहरुको सम्मान हो ।
अमूक गाउँको रेडियो स्टेशनले त्यहीँका श्रोतालाई विश्वासमा लिनु छ, अमूक रेडियोकर्मीले आफू, आफ्नो पुस्ता र आफू अघिको पुस्ताबाट भएका कमजोरीलाई आत्मसाथ गरेर श्रोतासंग माफि माग्ने हो भने त्यो साख फिर्ता ल्याउन कुनै गाह्रो छैन ।
त्यो माफी उनीहरुले उत्पादन तथा प्रसार गर्ने कार्यक्रम र त्यसमा समेटिने कण्टेण्ट मार्फत जानु जरुरी छ ।
कुनै गाउँको रेडियो स्टेशनमा राजधानीका खबर र अमूक पार्टिको नेताले राजधानीमा गरेको भाषण भन्दा त्यहि गाउँमै किस्मत गर्नेहरुका पसिनाका कुरा, साना साना नानीका सपनाका कुरा, स्वास्थ्य र शिक्षाका कुरा, समृद्धिका कुरा सुनाउन थाल्दा हामीलाई सुन्नेहरुको ओठमा मुस्कान देखिनेछ ।
उद्यमशील बन्ने काईदा सिकाउने प्रयास, गाउँकै खेत बारीमा बगीरहेको पसिनाको मुल्य र त्यसको अर्थ बुझाउने प्रयत्न हामीले अब गर्नु पर्ने काम हो । मुख्य कुरा हामीले रेडियोबाट प्रशारण गर्ने सामाग्री श्रोताका लागि बन्यो कि बनेन भन्ने ध्यान दिनु हो ।
यति गर्न सकिन्न भने स्वतन्त्र हावामा स्वार्थको चर्को ध्वनी फालेर वायु प्रदुषण गराउने अधिकार कसैलाई छैन । विन्ति विना सुर र लयमा ट्याउँ ट्याउँ बोल्ने रेडियो बन्द गरिदिनुहोस् । चैन सित स्वस्थ भएर बाँच्न वाउनु आम नागरिकको मौलिक अधिकार हो ।
गाउँ घरका कुरा बजाएर कसले सुन्छ रेडियो ? धेरै रेडियो सञ्चालकले भन्ने कुरा हो यो । गम्भीर प्रश्न यही छ, त्यसो हो भने, जहाँको रेडियो हो त्यहीँको आवाज नबजाउँदा चाँहि रेडियो कसले सुन्छ र किन सुन्छ ?
कुरो प्रष्ट छ, काठमाण्डुमा तयार बनिबनाउ खबर प्रशारण गर्दा माथि उल्लेखित आफ्ना स्वार्थ समूहसंग कुममा कुम मिल्छ । त्यही भएर त्यसलाई खर्च कमको भ्रम, आफ्नाहरुको कभरेजले दिने फाईदाको खोजि र ठूलाहरुसंग आफ्नो संगत रहेको पुष्टि गर्ने गतिलो साधन बनाउँदैछन् अधिकाँश रेडियो सञ्चालकहरु ।
काठमाण्डुका खबर र नेताजीका भाषण सुनाएर श्रोताको बानी विगार्ने तपाई हामी नै हो । सञ्चार माध्यामले श्रोताको चाहनालाई ध्यान दिनु त पर्छ, तर समाज निर्माणका आधारमा त्यस्ता भाषणको महत्व छ की स्थानीय स्तरमा भएका सफलता र मेहनेतका कुराको महत्व छ त्यो निक्र्यौल गर्न सक्नु पर्छ ।
यदि यो पर्गेल्ने हैसियत छैन भने रेडियो स्टेशन बन्द गर्दा राम्रो हुन्छ ।
हामीले लगानी गरेका छौं त्यसको नाफा चाहियो भन्ने तर्क धेरै सुनिन्छ रेडियोमा लगानी गर्नेहरुबाट । लगानी भएपछि प्रतिफलको आशा गर्नु अन्यायोचित पक्कै हैन । तर वैध अवैध व्यापार गरेर रातारात धनि बन्ने ध्येय हो भने, अरु माध्यम रोज्दा राम्रो । रेडियोलाई नै बदनाम गर्नु जरुरी छैन । सञ्चार ब्यवसाय पक्कै हो, तर यस्तो ब्यवसाय हैन जहाँबाट रातारात धनि हुन सकियोस् ।
रेडियोमा लगानी गर्नेहरु तपाई यो सोचाईमा हुनुहुन्छ भने रेडियो स्टेशन बन्द गर्दा राम्रो हुन्छ ।
रेडियोमा लगानी गरेरै कमाउने दिन पक्कै आउँछ । त्यो देख्न पहिलो आफ्नो स्टेशनलाई सक्षम बनाउनु जरुरी छ । स्टेशन सक्षम हुनु भनेको त्यहाँ कार्यरत दक्ष हुनु हो । आफ्नो स्टेशनमा कार्यरतलाई दक्ष बनाउने जिम्मा सञ्चालक को हो । उनीहरुलाई महिना मरेपछि योग्यता अनुसारको सेवा सुविधा दिन अध्यारो मुख लगाएर त्यो कल्पना नगर्दा राम्रो ।
उनीहरुलाई आवश्यक सीप र क्षमता बढाउन, आवश्यक ज्ञान दिन, गाउँ गाउँ डुलेर उन्नती, प्रगति र आवश्यकताका सामग्री संकलन गर्ने रेडियोकर्मी तयार गर्न उनीहरुमाथि लगानी गर्नु पर्छ । रेडियोकर्मीमाथि लगानी नगरी गतिलो सामान खोज्नु भनेको मूला रोपेर आलु फलाउछु भनेजस्तै असम्भव छ ।
यदि रेडियोकर्मी माथि लगानी गर्ने हिम्मत छैन भने रेडियो स्टेशन बन्द गर्दा राम्रो हुन्छ। पक्कै बेला बदलिएको छ । सामान्य कुरा पनि तारन्तार आम मान्छेको पहुँचमा पुग्दैछन् । प्रविधिको विकास यसरी भएको छ कि शहरी क्षेत्रमा आफ्नै बारे पनि गुगलबाट पाउनु पर्ने अवस्था सिर्जना हुदैछ ।
खुसीको कुरा यस्तो बेला पनि हामीसित सयौं रेडियो छन् र स्रोता छन् । तर हामी आफ्नो गुणस्तरको कारखाना बन्द गरेर छिमेकीको कारखानाको माल बेचिरहेका छौं । स्टुडियोको एक छेउमा रहेको काठमाण्डौंबाट उपलब्ध सिग्नल रिसिभरको बटम थिचेर टेक्निसियनले रेडियो धानि रहेको छ ।
प्रविधि जतिनै विकास होस् रेडियोमा आम मान्छेले सुन्ने त आवाज हो र त्यो आवाजमा जाने कण्टेण्टनै हो। आवाज सुन्न चाहनेलाई हामी उनीहरुले चाहेजस्तो अवाज सुनाऊँ र त्यो आवाजमा उनीहरुले चाहेजस्तो कण्टेण्ट दिउँ ।
राज्यको काम रेडियो चल्न अनुमति दिनुमात्रै होइन । अावश्यकता अनुसारको चिज उत्पादन भए नभएको अनुमगन गर्नु पनि हो । त्यहाँ काम गर्नेहरुको अवस्था के छ चासो लिनु पनि हो । खुलेआम रेडियोका साहुलाई लुटिखाऊ भन्नु होइन । रेडियोको लाइसेन्स साहुको पोल्टामा हालिदिँदैमा राज्यको दायित्व सकियो भन्ने ठान्नु निकम्मा राज्यको उच्च स्तरको उदाहरण हो । के हाम्रो राज्यले रेडियोका लागि अनुगमनको कुनै काम गरिरहेको छ ?
रेडियोलाई प्रभावकारी बनाउने कामको सुरुवात अब यहीँबाट हुनु पर्छ ।