१३० वर्ष अघि विख्यात रुसी साहित्यकार लियो टल्सटायले 'मानिसलाई कति जमिन चाहिन्छ?' शीर्षक कथा लेखेका थिए। आइरिश कवि जेम्स जोएसले साहित्य जगत्कै उत्कृष्ट लेखन मानेको उक्त कथामा जमिनको भोको किसानलाई एक दिन गजबको अफर आउँछ- दिनभर कुदेर जति जमीन घेर्न सक्छ, हजार रुबलमा त्यति जमिन पाउने तर सूर्यास्तसम्म हिँड्न शुरु गरेको बिन्दुमा नपुगे त्यो पैसा पनि गुम्ने र जमीन पनि नपाउने।
पाहोम नामको त्यो किसान कोदाली लिएर दिनभर कुद्छ, ठाउँ ठाउँमा निशानाकोरूपमा क्वाक्छ अनि अघि बढ्छ। लोभका कारण निकै टाढासम्म कुदेको उसलाई दिन ढल्कँदै गर्दा सूर्यास्तसम्म बिहानको ठाउँमा फर्कनुपर्ने शर्तले झस्काउँछ। ऊ झन् बेतोडले दौडेर घाम डुब्ने बेला शुरुको स्थानमा पुग्छ तर दिनभरको थकानले ऊ यति गलिसकेको हुन्छ कि निशानामा पुग्नासाथ ऊ ढल्छ र त्यहीं उसको मृत्यू हुन्छ। अन्ततः उसको मृत शरीरलाई नोकरले घचेट्दै छ फिट लामो चिहानमा लगेर गाड्छ।
संसारमा त्यस्ता मानिस विरलै हुन्छन् जसको जीवन धेरथोर टल्सटायको काल्पनिक पात्र पाहोमसित नमिलोस्। ती थोरै, जसले मृत्यूको शाश्वत अनिवार्यतालाई ध्यानमा राखेर जीवन बिताउँछन्, ती मरेर गए पनि तिनको जीवन स्मरणीय बन्छ र मृत्यूको दशकौं वा शताब्दीयौंपछि पनि तिनको यश संसारमा कायम रहन्छ।
***
सुशील कोइराला अब रहेनन्। तपाईं हामीजस्तै बहूसंख्यक मानिसहरूझैं उनको जीवनमा पनि पाहोमको जीवनको झल्को मिल्थ्यो। उनी दुई दुई पटक क्यान्सर भएर पनि त्यसबाट बाँचे। बाँचे मात्र हैन, राजनीतिक जीवनलाई सक्रिय राखिराखे अनि आफ्नो राजनीतिक महत्वाकांक्षालाई किञ्चित् कम हुन दिएनन्।
सुशीलजीको दृष्टि प्रस्ट भविष्यतिर सोझिएको थियो। लोकतान्त्रिक विधिबाट पाएको भए पनि धेरैले कोइराला परिवारको विरासतकारूपमा उनले पाएको भनेर मान्ने गरेका काँग्रेस सभापतिको पद मृत्यूका बखतसम्म उनीसँगै थियो। तर उनको दृष्टिचाहिं सोही पदको दोस्रो कार्यकालतिर सोझिएको बुझिन्थ्यो।
राजनीतिक जीवनको त्यही पुनर्ताजगीको अभ्यासमा लाग्दालाग्दै सुशीलजीको भविष्य दृष्टिमा अटाउन नसकेको काल आयो र टप्प टिपेर उनलाई लग्यो।
अक्सर मानिसको मृत्यू उसको जीवनका उज्याला र सकारात्मक कुराहरुबारे प्रकाश पार्ने अवसरकारूपमा लिइन्छ। अहिले सञ्चार माध्यमहरू त्यस्तै सामाग्रीहरुले भरिभराउ छन्। त्यसैले यो समयमा सुशीलजीका कमजोरी वा अँध्यारा पक्षहरुबारे शायदै चर्चा होला।
तर पछिल्लो समय राष्ट्रिय राजनीतिको केन्द्र वा सो वरपर रहेको उनको जीवनका उज्याला पक्षहरुबारे मात्र चर्चा हुँदा नेपाली राजनीतिका धेरै कमजोर र अँध्यारा पाटाहरुबारे प्रकाश पार्ने एउटा अवसर गुम्न जान्छ। त्यसबाहेक मानिसलाई उसको जीवनकालमा दानवीकरण गर्ने अनि मरेको बखतदेखि देवत्वकरण गर्ने परम्परामा पनि अब बदलाव आउनु जरुरी छ। यो समयमा सुशीलजीको निजी जीवनमा प्रवेश गरेर उनका खोट निकाल्नु सर्वथा अनुचित हुन्छ तर उनको सार्वजनिक जीवन र खास गरी राष्ट्रिय राजनीतिमा उनले खेलेको भुमिकाको सन्तुलित र आलोचनात्मक खोजीनीति हुनु मेरो विचारमा स्वभाविक हो।
***
राजनेताका रूपमा सुशीलजीको सबैभन्दा ठूलो कमजोरी इच्छाशक्तिको कमी थियो। न असल काम गरेर छाप छोड्ने इच्छाशक्ति, न त खराब काम रोक्न सक्ने इच्छाशक्ति। जबसम्म काम चल्छ र प्रलय भइहाल्दैन, तबसम्म चुप लागेर बसिरहने। प्रधानमन्त्री बन्नासाथ पारदर्शिता र मितव्ययिताको नमुना बन्ने वाचा गरेका कोइरालाको कार्यकाल निकट विगतका अरु सबै जसो प्रधानमन्त्रीहरुको कार्यकाल झैं छिट्टै बिर्सन लायक बन्न पुग्यो। उनको सबैभन्दा ठूलो कमजोरी नै गठबन्धनको अर्को सहयात्री दल र सरकारमा त्यसको नेतृत्व गर्ने व्यक्तिलाई राज्यको दिशा निर्देश गर्न खुला छाडिदिनु थियो। कति अवस्थामा त यस्तो लाग्थ्यो, प्रधानमन्त्रीकारूपमा उनको छायाँ मात्र बालुवाटारमा छ, वास्तवमा सरकार त अर्कैले चलाइरहेको छ।
कोइरालाको त्यस्तो प्रवृत्ति नजिकबाट भोगेका पूर्व मुख्य सचिव लीलामणि पौड्यालको एउटा उल्लेखनीय अनुभव छ। कोइरालाको कार्यकालभर (विभिन्न पक्षको निहित स्वार्थमा आँच आउने भएका कारण कसैले पदमा रहँदा गर्न नरुचाउने) असल काम गर्न खुट्टा नकमाउन सम्झाउँदै उनले बारम्बार कोइरालालाई भन्थे- तपाईंलाई न संविधान नबनुन्जेल कसैले फाल्न सक्छ, न त संविधान बनिसकेपछि तपाईंलाई कसैले यो पदमा टिकाउन नै सक्छ। त्यसैले जबसम्म पदमा हुनुहुन्छ, निर्धक्क भएर काम गर्नुस्, भोलि तपाईंलाई कसैले पनि व्यक्तिकारूपमा सम्झने हैन, प्रधानमन्त्रीकारूपमा तपाईंले गर्नुभएको कामका लागि सम्झने हो। पदमा रहुन्जेल अधिकार प्रयोग गरेर सही काम गर्न र गलत काम रोक्न किन डराउनेरु
अक्सर चुपचाप यस्तो सुझाव सुन्ने तर कार्यान्वयन नगर्ने सुशीलजीले एकपल्ट रुष्ट हुँदै जवाफ फर्काएका थिएः तपाईं मलाई मात्र भन्ने। अरु पनि मलाई मात्र भन्ने। जानोस्, पहिला वामदेवलाई भन्नोस्। मैले मात्र भनेर हुन्छ, ममात्र सरकार हो?
नेपालको जस्तो संसदीय प्रणालीमा राष्ट्रको कार्यकारी प्रमुख रहने प्रधानमन्त्रीले यस्तो लाचारी प्रकट गर्नुको अर्थ हुन्छः हाम्रो शासन सत्ता संविधानले परिकल्पना गरेझैं चलिरहेको छैन।
सुशीलजीको त्यस्तो प्रवृत्तिको सबैभन्दा ठूलो छाप राज्यका विभिन्न अंगहरुमा पर्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्ति गर्ने बेला पहिले केपी ओली र प्रचण्डसित मिलेर उनले लोकमानसिंह कार्कीको नाम सिफारिश गरे। जब कार्कीको नाम सिफारिश गर्ने कदमको तीव्र आलोचना भयो, सुशीलजीले मलिन स्वरमा भन्न थालेः हो, यो सिफारिश रद्द हुनुपर्छ। जब दह्रो खुट्टा टेकेर र राष्ट्रपति रामवरण यादवमाथि आफ्नो प्रभावलाई प्रयोग गरेरै भए पनि उनले सो नियुक्ति रोक्लान् भनेर मानिसहरुले आश गरे, उनी फेरि गले र नियुक्तिको बाटो खोलिदिए। त्यस यता देशमा सु वा कुशासनको दिशामा के भयो, जगजाहेरै छ।
सम्भवतः सुशीलजीको कार्यकालको सबैभन्दा प्रत्युत्पादक कामचाहिं सर्वोच्चमा इमान्दारिता र कार्य क्षमताका लागि चिनिएका अस्थायी न्यायधीशहरुलाई असमयमै बिदा दिएर छानी छानी न्यायिक बदमासीका लागि चिनिएका न्यायधीशहरुलाई नियुक्त गर्नु थियो। ती नियुक्तिहरुमा सुशीलजीकै दलका कानुन मन्त्री नरहरि आचार्य (कामना गरौं सुशीलजीलाई समवेदना टक्याउँदा टक्र्याउँदै बिरामी परेका आचार्यको शीघ्र स्वास्थ्य लाभ होस्) र प्रधानमन्त्रीको तर्फबाट न्याय परिषदमा सदस्य रहेका अर्का व्यक्ति निर्णायक स्थितिमा थिए। पछि गएर दुई करोड घुस लिएको आरोप सार्वजनिक हुँदा त्यसको खण्डनसमेत नगर्ने व्यक्ति त्यो बेला नेपालका प्रधान न्यायधीश थिए। प्रकारान्तरले सर्वोच्च अदालतको न्यायधीश नियुक्तिजस्तो संवेदनशील काममा न्यायपालिका र कार्यपालिका दुवैतिरबाट भाग लगाएर व्यक्ति तानिएको तथा त्यसरी तान्दा सम्भव भएसम्म खराब ट्रयाक रेकर्ड भएकालाई तानिएको पुष्टि हुन आयो।
गलत काम गर्ने मानिस स्वभावतः ठूला निर्णय गर्ने बेलामा हच्किन्छ। र सो नियुक्तिका बेला सुशीलजीको अगुवाइमा आचार्य र अर्का सदस्यले दरो खुट्टा टेकेर न्यायधीश नियुक्तिको आधार न्याय सम्पादनलाई नै मानेको भए नेपालको न्यायालय अहिले फरक रूपमा हुने थियो र न्याय क्षेत्रका एक जानकारका शब्दमा केही वर्षपछि ध्वस्त भएर जाने अवस्थामा पुग्दैनथ्यो।
संविधान निर्माणको बेला सुशीलजीले नेपालको बागडोर सम्हालेका थिए र संविधान निर्माणका लागि अरु कुनै एक व्यक्तिलाई भन्दा बढी जस उनलाई जान्छ। तर संविधान निर्माणका निर्णायक क्षणहरुमा कुनै बेला गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउने र त्यसमै रहिरहने वातावरण मिलाइदिए झैं सुशीलजी पनि उदाहरणीय र सर्वस्वीकार्य राजनेताकारूपमा उदाइदिएको भए संभवतः संविधानका लागि नेपालले यति ठूलो मुल्य चुकाउन नपर्न सक्थ्यो।
नेपालको इतिहासमा लामो समयसम्म खट्किने सुशीलजीको अर्को कमजोरीः पुनर्निर्माण प्राधिकरणमा कार्यकारी प्रमुख नियुक्त गर्नु तर पूरा इच्छाशक्तिसहित प्राधिकरणसम्बन्धी विधेयक संसदबाट पारित गर्न पनि नसक्नु, अनि त्यस क्रममा व्यवधान ल्याएर भूकम्पपीडितलाई सालभर कठ्यांग्रिन बाध्य पार्ने अर्को दललाई नांगेझार पार्न पनि नसक्नु। कालान्तरमा अर्को दलले सोही पदका लागि गरेको नियुक्ति अख्तियार र न्यायालयमा भएका नियुक्तिहरुजस्तै सो संस्थाको तेजोबध गर्ने हतियार बन्ने अवस्था अहिले सिर्जना हुँदै गएको देखिन्छ र त्यसो भएको अवस्थामा प्रकारान्तरले त्यसका लागि सुशीलजीका कदमहरूपनि आंशिकरूपमा जिम्मेवार बन्ने देखिन्छ।
लामो राजनीतिक जीवन बाँचेका सुशीलजीलाई उनको प्रधानमन्त्रीत्वकाल मात्र हेरेर मूल्यांकन गर्दा त्यसले नेपाली राजनीतिमा उनको समग्र ुलिगेसीुलाई न्याय नगर्न सक्ला तर एउटा सार्वभौम देशको कार्यकारी प्रमुख भइसकेको व्यक्ति त्यो जिम्मेवारी लिएको बेला आफूले प्रदर्शन गरेका सबलता र दुर्बलता दुवैबाट बच्न सक्दैन। त्यसबाहेक, यो लेखमा मैले सुशीलजीका सकारात्मक वा उदाहरणीय पक्षहरूउल्लेख नगर्नु भनेको त्यस्ता पक्ष थिएनन् भन्ने हैन र तिनको कुनै पनि हालतमा अवमूल्यन हुनु हुँदैन। त्यस्ता पक्षहरुबारे दखल हुने व्यक्तिहरुका तर्फबाट तिनबारे मिडियामा चर्चा हुने मेरो अपेक्षा छ।
***
हाम्रो साहित्य यसै पनि विश्व साहित्यभन्दा निकै कान्छो छ र टल्सटायले झैं सरल भाषामा मृत्यूलाई व्याख्या गर्ने साहित्यकार हामीकहाँ जन्मेका छैनन्। तर कला विधाको पछिल्लो पुस्ताले मृत्यूलाई विषयवस्तु बनाएर कामचाहिं गरेको छ। हालै प्रदर्शनमा आएको नेपाली चलचित्र पशुपति प्रसादले मृत्यूलाई विना पूर्वाग्रह, कलात्मकरूपमा देखाएको छ। चलचित्रमा मूल पात्रको जीवन र मृत्यू आफैंमा वृद्ध उमेरसम्म पनि मृत्यूको अनिवार्यतालाई अस्वीकार गर्ने मानिसको प्रवृत्तिप्रति निर्मम व्यंग्य हो।
मृत्यूको यही अनिवार्यतालाई समयमै चिनेर खास निर्णायक घडीहरुमा तत्कालको सुविधाभन्दा राष्ट्रको दीर्घकालीन हित हेरेर सही कदम उठाएको भए मलाई लाग्छ, अहिले र पछिसम्म पनि हामीले सुशीलजीलाई फरक हिसाबले सम्झन सक्ने थियौं। उनको कार्यकालमा झन् संस्थागत भएको माफियाराजले जब दशकौंसम्म नागरिकहरुलाई डसिरहनेछ, तबसम्म सुशीलजीलाई आलोचनात्मक नजरले हेर्न हामी बाध्य हुनेछौं। त्यस्ता आलोचकहरुको पंक्तिमा फैसला (गर्ने न्यायधीश) किन्न नसकेर अन्यायमा पर्ने न्यायपेक्षीहरुदेखि इमान्दारीका लागि दण्डित हुने कर्मचारी र राजनीतिज्ञहरुसम्म रहनेछन्। शुरुमा केही समय खास व्यक्तिलाई सरकारको दुई नंबर व्यक्ति बनाउँदिन भनेर अड्डी लिएका उनले पछि गएर प्रधानमन्त्रीको पदमा रहेर सरकारका गतिविधिहरुमा पदीय हैसियतअनुसारकै नियन्त्रण कायम गर्न सकेको भए प्रधानमन्त्रीकारूपमा उनको लिगेसी फरक हुने थियो।
अब सुशीलजी नरहेपछि एउटा प्रश्न अनुत्तरित नै रहने भएको छः उनले अन्तमा उच्चारण गरेको भनिएको 'मैले बुझिसकें' भन्ने वाक्यको अर्थ के थियो? जीवनको अन्तिम क्षणमा सुशीलजीले के बुझेका हुन? जीवनको क्षणभंगुरता र मृत्यूको अनिवार्यता? सासले झैं अन्तिम घडीसम्म मानिसको साथ नछाड्ने महत्वकांक्षाहरुको निरर्थकता? मृत्यू आसन्न छ भन्ने विश्वास भएपछि मात्र बुझ्न सकिने त्यस्तो कुरा के हो? त्यही कुरा जीवनभर किन बुझिंदैन? त्यस खालको अनभिज्ञताका लागि जीवनको अन्तिम क्षणमा पश्चात्ताप हुन्छ कि हुँदैन?
सुशीलजीको पार्थिव शरीरसित यी प्रश्नहरुको उत्तर छैन तर तिनका उत्तरबारे चिन्तन, विमर्श र वैचारिक मन्थन गर्न हामी त जीवितै छौं। त्यो कहिलेसम्म त भने, हामीले अनपेक्षित ठानेको हाम्रो आफ्नै मृत्यूले हस्तक्षेप नगर्ने बेलासम्म।
काल्पनिक पात्र पशुपति प्रसाददेखि वास्तविक जीवनका सुशील कोइरालासम्मको जीवन र मृत्यूको एउटै पाठ होः आफूलाई, जीवनलाई र मृत्यूको अनिवार्यतालाई समयमै बुझ, अन्तिमसम्म नपर्ख अनि अन्तरात्मालाई साक्षी राखेर कर्म गर्दै जाऊ। वहाना नबनाऊ, जिम्मेवारी अरुलाई नपन्छाऊ अनि काम भविष्यलाई नसाँच।
मृत्यूले टिपिहाल्नुअघि सुशीलजीले कम से कम केही कुरा बुझेको बोध त गरेको बुझिन्छ, धेरैलाई त्यति अवसर पनि रहँदैन।
अनि सुशीलजीको अन्तिम वाक्यचाहिं अमर रहने मानिस झैं धनसम्पत्ति कुम्ल्याउन एकाग्र भएर लागेको नेपाली राजनीति वृत्तका सबै पात्रहरुलाई एउटा कटु व्यंग्य बनेर रहेको छ किनकि तिनले जीवन र जगत्बारे केही पनि बुझेको बोध हुँदैन।
हिन्दु संस्कार अनुसार अन्त्येष्टी हुँदा त मानिसलाई अन्ततः छ फिट लामो जमिन पनि चाहिंदैन, खरानी बगाउने पानीको एक बहाव मात्र भए पुग्छ। टल्सटायले पाहोमको कथा लेख्नुभन्दा धेरै अघिदेखि यो सरल सत्यदेखि मानिस कहिल्यै अनभिज्ञ छैन। तर किन जीवनभर मानिसको व्यवहारबाट यस्तो लाग्छ कि ऊ हजारौं वर्ष बाँचिरहनेछ र उसका आवश्यकताहरूअसीमित भइरहनेछन्? यो सत्य बुझेर पनि मानिसले किन जीवनभर बुझ पचाउँछ? कतै सुशीलजीले महाप्रस्थानभन्दा अगाडि बुझेको कुरा यही त हैन?