सोमबार दिउँसो साँढे २ बजेको हुनुपर्छ। टेक्सासबाट पत्रकार विकासराज न्यौपानेको फोन आयो मोबाइलमा।
‘दाई, नयाँ कुरा थाहा पाउनुभयो ? सुशील कोइराला त बितेछन् नि ?’ उनले एकै सासमा भनिभ्याए।
लाग्यो–कतै विकासले फेब्रुअरीमै अप्रिलपूmल मनाउन त लागेनन्। किनकी हिजोसम्म बिरामी भन्ने कहिँकतै समाचार पढेको थिइन। आज एक्कासी निधनको कुरालाई कसरी पत्याउने ?
उनले ह्युस्टनमा तारा बरालसँग कुरा भएको भनेपछि अलिकति आधिकारिक जस्तो लाग्यो। थप पुष्टी गर्न मेसेन्जर खोलेँ। नेपालका कोही पत्रकार अनलाइन छैनन्। न्यूयोर्कस्थित बाणिज्यदूत कृशु क्षेत्री अनलाइनमा देखिए। पक्कै खबर होला भन्ने सोचेर जिज्ञासा राखिहालेँ मैले।
‘हो, सर साह्रै नमिठो खबर आयो,’ उहाँले भन्नुभयो। यति भइसकेपछि अब खबर सही हो भन्नेमा ढुक्क भइयो।
अब थप समाचारका लागि नेपालका अनलाइनहरूलाई रिफ्रेस गर्न थालेँ मोबाइलबाटै। त्यतिखेर नेपालमा बिहानको साढे तीन बजिसकेको थियो। कोइराला बितेको पनि तीन घण्टाभन्दा बढी भैसकेको थियो। कोही पत्रकार अनलाइन देखिन्नन्। लाग्यो–मंगलबारका कुनै पत्रिकाले पनि यो खबर लेख्लान् जस्तो छैन। किनकी पत्रिकामा समाचार आउने भए त दैनिक पत्रिकाका न्यूजपोर्टलहरूमा कमसेकम यो समाचारलाई ब्रेकिङका रुपमा त दिनसक्नुपर्थ्यो। कमसेकम पत्रकारहरू सकृय देखिनुपर्थ्यो।
यहाँ बसेर मैले जस्तो अनुमान गरेको त्यस्तै भएछ। मंगलबारका कुनै पनि दैनिक पत्रिकामा पूर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको स्वर्गारोहणका समाचार छैनन्। पाठकका हातमा नपुग्दै पत्रिका बासी भइसकेका थिए। जुन खबरलाई पुष्टी गर्न र थप विवरणका निम्ति आज आम पाठकले दैनिक पत्रिका खोज्छन् त्यसमा सबै चुके। जसरी २०५८ सालमा राजदरबार हत्याकाण्ड हुँदा पत्रिकाहरू चुकेका थिए। यद्यपी त्यतिखेर नेपाल समाचारपत्र र तत्कालीन स्पेशटाइमले पत्रिका प्रकाशनलाई ढिला गरेरै भएपनि भोलिपल्टलाई खबर दिन भ्याएका थिए।
मंगलबारका पत्रपत्रिकामा कोइरालाको निधनका खबर कुनैपनि निजी क्षेत्रका दैनिक पत्रिकाहरूमा छैनन्। यो घटनाले ‘स्टप दी प्रेस’ भनिने यो सिद्धान्तमा नेपाली दैनिक पत्रिकाहरूले यसपटक पनि हावा खाए। ‘स्टप दी प्रेस’ गरेर आफ्ना पाठकहरूलाई खबर त दिन सकेनन् नै तिनले चलाएका अनलाइनहरूमा पनि ५/६ घण्टासम्म समाचार आएनन्। यद्यपी सरकारी गोरखापत्रले भने ‘स्टप दी प्रेस’ गरेर कोइरालाको निधनको खबर ‘व्यानरन्यूज’ का रुपमा प्रकाशित गरेको छ। अर्थात् कोइरालाको सन्दर्भमा गोरखापत्रले बाजी मारेको छ स्टप दी प्रेस गरेर।
निजी क्षेत्रका मिडियाहरूले स्टप दी प्रेस त छाडौं निधनको खबर अनलाइनबाट समेत तत्काल दिन सकेनन्। यो यथार्थताको मूल्यांकन ती ती मिडियाका सम्पादन बिभागले अवश्यनै गर्नेनै छन्। आजकै बैठकमा तिनले आत्मसमिक्षा त गरेनै होला।
संसारमा कुनै पनि घटना दिउँसै हुन्छ भन्ने छैन। भलै भुईचालो दिउँसै गइदियो मिडियालाई निकै सजिलो बनाइदियो समाचार लेख्नका निम्ति। साँझ, राति, मध्यरातमा समेत घटनाहरू स्वभाविक रुपमा हुन्छन्। त्यही भएर अधिकांश दैनिक पत्रिकाहरू मध्यरातपछि मात्र ‘फाइनल’ हुन्छन्। अर्थात रातको एक वा दुई बजेमात्र पहिलो पेजको ले–आउट डिजाइन फाइनल गरेर प्रेसमा पठाइन्छ। राति काम गर्नुपर्ने भएकाले त्यो सिफ्टमा काम गर्नेका लागि राति १० बजेपछिमात्र कार्यालयमा आउन छुट हुन्छ।
तर यस पटक कोइरालाको निधन राति १२ः५० मा हुँदा समेत कुनै मिडियाले ‘कभर’ गर्न नसक्नु आश्चर्यको विषय भएको छ म जस्ता विदेशबाट नियाल्ने पाठकका लागि समेत। हुनत केही अनलाइनहरूमै कोइरालाको निधन राति १२ः३० मै भएको भनेर पनि लेखेका छन्। यदी १२ः३० मै भएको हो भने त झनै कमजोरी देखियो मिडियाको। रात्री डेस्कका पत्रकारहरू एक नबज्दै घर गएर सुतिसक्छन् या घटना बारे जानकारी पाएर पनि यो विषयलाई त्यति महत्व नदिएका हुन् ? दुई अहम् सवाल उव्जिएका छन्।
कोइराला बित्नुभएको एक घण्टा नपुग्दै अमेरिकामा यो खबर डढेलो जसरी फैलिइसकेको थियो। पूर्बी तट न्यूयोर्कदेखि पश्चिमी तट सानफ्रान्सिस्कोसम्म बस्ने नेपालीहरूले कोइरालाका फोटो राख्दै फेसबुकमा श्रद्धाञ्जली दिइसकेका थिए। तर नेपालमा भने कुनै अनलाइनमा कोइरालाका विषयमा समाचार थिएनन्। अमेरिकाबाट सञ्चालित न्यूजपोर्टलहरूले न्यूजब्रेक गरिसकेपछि बल्लतल्ल नेपाली समय अनुसार मंगलबार बिहान चार बजे सेतोपाटी, त्यसपछि पहिलोपोष्ट, नागरिकन्यूज, इ–कान्तिपुरले कोइराला निधनको साना समाचार राखे।
कोइराला निधनको समाचार अमेरिकासम्म आइपुग्ने तर काठमाडौंमा पक्कै गुपचुप राख्न खोजिएन होला। स्रोतसम्म पत्रकारका कति पहुँच हुने रहेछ भन्ने कुरा पनि यो घटनाले छर्लङग्याइदिएको छ। सम्पादकहरूले भन्ने गर्थे–पत्रकारहरूको काम भनेको चौबिसै घण्टा हो। निधनको खबर फैलिइसक्दा समेत अनलाइनमा समाचार दिन नसक्नुले अर्को अनलाइनको न्यूजब्रेक शैलीमा पनि प्रश्न उब्जिएको छ।
जतिखेर म काठमाडौंमा सकृय पत्रकारितामा थिएँ, कार्यालयबाट प्रायः सबैभन्दा ढिला घर निस्कनेमा पर्थेँ। कारण–समाचारनै ढिला लेख्न थाल्थे म। बेलाबेलामा मेरा व्यूरो सम्पादकहरू गुनासो पनि गर्थे। किनकि उहाँहरूलाई चाँडै घर जानु हुन्थ्यो। मैले समाचार लेख्न ढिला गरिदिँदा उहाँहरूलाई समेत घर जान ढिला हुन्थ्यो।
ढिला समाचार लेख्दाका फाइदा–राति बस्ने सरकारी निकायका बैठकका निर्णयका समाचार मैले लेख्न सक्थे। मैले आज लेखेको समाचार अरु मिडियामा तीन दिनपछि आउँथे। ढिलासम्म काम गर्दाको बेफाइदा पनि भोगेको छु मैले। म आर्थिक बिटमा काम गर्ने पत्रकार ढिलासम्म कार्यालयमा बस्दा कतिपय अवस्थामा आगलागी, चोरीका घटनाको रिपोर्टिङमा समेत मध्यरातमा जानु परेको छ।
जे होस्, कोइरालाको निधनले नेपाली मिडियालाई कमसेकम राति अबेरसम्म चनाखो हुनुपर्ने शिक्षा दिएको छ भने अनलाइनवालाहरू चौबिसै घण्टा सचेत हुनुपर्ने अवस्था छ। यो र उ होइन, आफूलाई कोइराला कोटरीको सबैभन्दा नजिकका ठान्ने पत्रकारहरू समेत चुकेका छन् समयमा पाठकलाई खबर दिन। सोसल मिडियाले उसै त चुनौति दिइरहेका समयमा यस्ता खबरलाई समयमा दिन नसक्दा त्यसको क्षति निकै महंगो पर्न जानेछ।