विश्व इतिहासकी पहिलो नर्स इटालीकी फ्लोरेन्स नाइटिङ्गलले अगाडि बढाएको नर्सिङ पेशाप्रति अहिले नेपाली समाजमा पनि आकर्षण बढ्न थालेको छ। तथ्यांकअनुसार नेपालमा वि.संं. १९८७ देखि वीर अस्पतालबाट औपचारिक रुपमा नर्सिङ सेवा सुरू भएको देखिन्छ। प्रारम्भमा अस्पतालबाट नर्सिङ सेवा सुरु भएको तथ्याकंको आधारमा पनि नेपालमा क्लिनिकल नर्सिङ्गको रुपमा यो पेशाको सेवा सुरु भएको स्पष्ट छ। विशेष गरी ठूला साना वा विभिन्न तहका अस्पताल र स्वास्थ्य संस्थाहरुमा क्लिनिकल नर्सको रुपमा सेवा दिँदै आएका छन्।
यस वाहेक वि.सं. २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले नर्सिङ्ग शिक्षाको औपचारिक अध्ययन अध्यापनलाई शैक्षिक कार्यतालिकामै समावेश गरेपछि नेपालमै नर्सिङ शिक्षा सुरु हुन पुग्यो। त्रिविविले सो समयमा सुरु गरेको नर्सिङको पढाइँ अहिलेसम्म आइपुग्दा अत्यन्तै सहज र सरल पनि बनिसकेको छ। हुन त नर्सिङ्ग सेवाको अध्ययन आफैमा अत्यन्तै महङ्गो छ, तर पनि विगतमा जस्तो नर्सिङ अध्ययनका लागि विदेशतर्फ जानुपर्ने वा राजधानी काठमाडाैं वा अन्य ठूला शहरहरुमा धाउनै पर्ने स्थिति अहिले छैन। सरकारी स्तरबाट मात्र नभइ निजी स्तरबाट पनि अहिले उल्लेख्य संख्यामा विभिन्न तहको नर्सिङ्ग शिक्षाको पढाइ हुने शैक्षिक संस्थाहरु नेपालका विभिन्न स्थानमा खुलेका छन्।
अनमीदेखि प्रमाणपत्र तहको स्टाफ नर्स, स्नातक र स्नातकोत्तरमात्र नभइ विद्यावारिधीसम्मको अध्ययन नेपालमा नै हुन थालिसकेको छ। अझ नर्सिङ अध्ययनको क्रममा विभिन्न तहमा मात्र नभइ सामुदायिक स्वास्थ्य, मिड्वाइफरी, ओमन्स हेल्थ, एडल्ट, पेडियाट्रिक, आइसियु, साइक्याट्रिक लगायत विभिन्न छुट्टाछुट्टै विषयको पनि पढाइ हुन थालेको छ नर्सिङ्ग सेवातर्फ। स्वदेशी र विदेशी शैक्षिक संस्थाहरुबाट विभिन्न तह र विभिन्न विषयको पढाइ गरेका नर्सहरु अहिले यिनै नर्सिङ्ग क्षेत्रका शैक्षिक संस्थाहरुका साथै सरकारी र निजी स्तरका विभिन्न निकायहरुमा प्राज्ञिक नर्सको रुपमा काम गरिरहेका छन्।
यि तथ्यहरुलाइ हेर्ने हो भने परापूर्वकालदेखि परम्परागत ढंगले सुरु भएको नर्सिङ सेवा अहिले आधुनिक र व्यवहारिक बन्दै क्लिनिकल नर्सिङ्ग र प्राज्ञिक नर्सिङ्ग क्षेत्रमा अधिक फैलिएको छ। तर क्लिनिकल र प्राज्ञिक क्षेत्र वाहेक अहिले नेपालमा सामुदायिक स्वास्थ्य नर्सिङ्गको अवधारणाको पनि पछिल्लो समयमा विकास र विस्तार भइरहेको छ। आखिर के हो त सामुदायिक स्वास्थ्य नर्सिङ्ग? अस्पताल र स्वास्थ्य सस्ंथाहरुमा विरामीहरुको स्याहार सुसार र सेवामा मात्र समर्पित हुने नर्सहरुको विगतको कार्यक्षेत्र अहिले विस्तार भएको छ। सामुदायिक स्वास्थ्य नर्सिङ्ग विषयको अध्ययन गरेका नर्सहरु अहिले स्वास्थ्य संस्थाहरुमा मात्र परिचालित नभइ ग्रामिण तथा विपन्न समुदायको बस्तीमा गएर विरामीहरुको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिने र उनीहरुको सेवामात्र गर्ने नभइ स्वास्थ्य सम्बन्धी जनचेतना विस्तार र उपचारमा प्रत्यक्ष सम्लग्न हुन थालेका छन्।
नर्सिङ्ग शिक्षामा आएको फराकिलो अवधारणासंगै विकसित भएको सामुदायिक स्वास्थ्य नर्सिङ्ग र यसमार्फत हुन थालेको स्वास्थ्य सम्बन्धी सामुदायिक गतिविधिहरु समाजका लागि प्रशंसनीय बन्न थालेका छन्। नेपालमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमामात्रै सामुदायिक स्वास्थ्य नर्सिङ विषयको पढाइ हुदै आएको छ। प्रतिष्ठानको सामुदायिक स्वास्थ्य नर्सिङ्ग विभागले आफ्ना कर्मचारी तथा विद्यार्थी नर्सहरुको प्रत्यक्ष सहभागितामा दुर्गम तथा ग्रामिण बस्तीसम्म गएर समग्र समुदायको स्वास्थ्य सम्बन्धी समस्याको सर्भेक्षण गर्ने, जनचेतना विस्तार गर्ने र विभिन्न रोगहरुको उपचार र रोकथामका सन्दर्भमा चलाउन थालेको विशेष अभियानलाई सामाजिक क्षेत्रले समेत उदाहरणीय र अनुकरणीय अभियानको रुपमा हेर्न थालेको छ।
अर्को तर्फ स्वास्थ्य शिविर र क्लिनिकहरुमा चिकित्सकहरुको उपस्थिति अनिवार्य रहदै आएको हाम्रो समाजमा यही सामुदायिक नर्सहरुकै सक्रियतामा धरान तथा आसपासका क्षेत्रमा नर्सेज रन क्लिनिक पनि सञ्चालन हुनु सकरात्मक बनेको छ। ग्रामिण समुदायमा गएर विपन्न वर्गलाइ सामुदायिक नर्सहरुले नै स्वास्थ्य परिक्षण गर्ने, औषधी दिने, स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने र समग्र समुदायलाइ नै स्वस्थ बनाउन सहयोग गर्ने किसिमका काम सामुदायिक नर्सिङ्ग क्षेत्रबाट हुन थालेको छ । प्रतिष्ठानको सामुदायिक स्वास्थ्य नर्सिङ्ग विभागकी प्रमुख प्रा. डा. तारा शाहको भनाइलाइ हर्ने हो भने पनि नेपालमा नर्सिङ्ग सेवाको क्षेत्रमा भइरहेको व्यापक विकास र विस्तारको क्रममा आएको सामुदायिक स्वास्थ्य नर्सिङ्गको अवधारणा अन्तरगत सामुदायिक नर्सहरुले समुदायमा नै गएर गर्ने स्वास्थ्य सुधार सम्बन्धी गतिविधि र अभियानबाट समग्र समुदायले नै लाभ लिन सक्नेछ ।
समग्रमा भन्नुपर्दा नेपालमा अहिले क्लिनिकल, अनुसन्धानात्मक र सामुदायिक रुपमा नर्सहरुले काम गर्दै आएको देखिन्छ । त्यसमा पनि स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी स्वास्थ्यकर्मीहरु यो नर्सिङ्ग सेवामा आवद्ध रहेका छन् । यस वाहेक मुलुकमा ठूलो संख्यामा सर्वसाधारण छात्राहरुको आकर्षण पनि बन्दै गएको छ नर्सिङ्ग शिक्षा। तर सहज र सरल रुपमा नर्सिङ्ग शिक्षा उपलब्ध भएपनि, ठूलो संख्यामा नर्सहरु उत्पादन हुन थालेपनि यस भित्र विभिन्न किसिमका समस्याहरु भने यथावत छन्। एकातिर नर्सिङ्ग सेवातर्फ गुणस्तरीय शिक्षा प्रदान गर्ने तर्फ शैक्षिक संस्थाहरुले ध्यान दिनुपर्ने देखिन्छ। अर्को तर्फ उत्पादित सबै नर्सिङ्ग जनशक्तिहरुले रोजगारको अवसर प्राप्त गर्न सकेको छैन।
जागिरको ठेगान नभएपछि कतिपय नर्सहरु विभिन्न संस्थाहरुमा स्वयम्सेवी बनेर काम गर्नुपर्ने वाध्यता पनि विद्यमान छ। सरकारी निकाय र निजी क्षेत्रहरुमा पदपूर्ति र नयाँ दरवन्दी सिर्जना नहुदा उत्पादित दक्ष नर्सहरुले रोजगार पाउनबाट विमुख बन्नु परेको देखिन्छ। विदेशमा जस्तै स्कुल, विद्यालय र उद्योग कलकारखानाहरुमा पनि नर्सहरुको दरवन्दी सिर्जना गरी रोजगारी दिनुपर्ने आवश्यक्ता नेपालमा देखिन्छ। विश्वमा नर्सहरुको कार्यक्षेत्र धेरै छ, तर नेपालमा सीमित रहेको र नर्सहरुका लागि आकर्षक तलब नभएको कारणले पनि धेरै नर्सहरु विदेशीनु परेको देखिन्छ।
(खतिवडा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एम.एस्सी नर्सिङ्ग तेस्रो वर्षमा अध्ययनरत छिन्।)