नेतृत्व त्यो वर्गबाट हुनुपर्छ जुन वर्गको उ प्रतिनिधित्व गर्छ। अहिलेका अधिकांश नेतृत्व उच्च वर्गमा जिउँछन् र निम्न र मध्यम वर्गको भोट आशा गर्छन्। ति वर्गहरुको समस्यालाई साँच्चिकै समस्या चुनावका बेलामात्र देख्छन्।
सामाजिक संजालमा लोकप्रिय भएको बासु क्षितिजको एउटा यथार्थपरक व्यंग्यचित्रमा नेताका चुनाव चिन्हक रुपमा कुर्सी, रुपैयाँको बन्डल, गगनचुम्बी महल, बिलासी गाडी, हेलिकप्टर, हवाइजहाजले उनीहरुको आकांक्षा प्रतिबिम्बित गरिएको छ भने मतदाताहरुका लागि खाना, नाना, बाटो, बिद्यालय, सानो घर, मोटरबाटो, पुल, रोजगारीको लागी कारखानाजस्ता चाहना देखाइएको छ। यो ब्यंग्यचित्रले अहिलेको नेपालको राजनीतिमा देखिएको फरक चाहना वा “कन्फ्लिक्ट अफ इन्ट्रेस्ट” सहज रुपमा प्रस्तुत गर्छ।
खेतिकिसानी गर्नेले मात्र मल, बिउ सिँचाइको समस्या थाहा पाउँछ। खेती नगर्नेले किसानको नेतृत्व गर्नै सक्दैन। बिद्यार्थीको संगठनको नेतृत्व छोरा नै बिदेशमा उच्चशिक्षा पढ्दै गरेको बाबुले गर्नै सक्दैन। गाउँको तरकारी फलफूलले भोगेको बजारको समस्या सपिङ मलमा लत लागेकाले बुझ्न सक्दैन। फोनको भरमा सरकारी खर्चमा पानी ट्यांकी घरमा खसाल्नेलाई मेलम्ची बनाउनुभन्दा ढिलो बनेर त्यसबाट आउने कमिशन प्यारो हुन्छ, आम मानिसलाई भोग्नु परेको पानीको समस्या बुझ्नै चाहँदैन। आफ्ना सन्तानलाई उच्च स्तरका निजी बिद्यालयमा पढाउने नेतृत्वलाई गरिबका बच्चाहरु पढ्ने सरकारी बिद्यालयका समस्या समस्यै लाग्दैन। चिलगाडीमा सयर गर्नेलाई सडकको समस्याले छुँदै छुँदैन।
नेपाली मिडियामा कहिलेकाहिँ विदेशका उच्च नेतृत्बका साधारण जीवनशैलीले स्थान पाउँछन्। बेलायतका प्रधानमन्त्री भुमिगत रेलमा साधारण यात्रुको रुपमा कार्यालय जान लागेको, ईरानका पूर्ब राष्टपति रेलमा बिश्बद्यालयमा पढाउन जान लागेका वा नर्बेका प्रधानमन्त्री ट्याक्सी चालकको रुपमा आफ्ना मतदाताको समस्या बुझ्दै गरेका जस्ता हाम्रो समाजमा “अचम्म” मान्नु पर्ने तस्बिरहरु आउँछन। के हामी हाम्रो देशका इमान्दार मानिसहरुले सादा जीवन जिउँदा गर्व गर्न सक्छौं?
हाम्रो समाजमा नियम मिचेर हिंड्ने मानिसलाई बाठो वा चलाखको रुपमा चित्रित गरिन्छ। जो फटाहा कुरा गरेर आफ्नो कुरा माथि पार्छ उसलाई बाठोको रुपमा सक्षम मानिन्छ। जो मानिस इमान्दारीतासाथ समाजमा नियम मानेर चल्छ उसलाई सोझो वा लाटो मानिन्छ।
यसरी नकारात्मकता लाई प्रश्रय दिइन्छ र समाज फेरि आफ्नो राजनितिक नेतृत्व इमान्दार होस् भन्ने कल्पना गर्छ। समाजले बिद्यार्थीहरुको शिक्षाप्रति समर्पित ईमानदार शिक्षकलाई कदर गर्छ कि दलका झोला बोकेर फट्याइँ गर्दै अकूत कमाएको शिक्षकलाई? कस्लाई सफल मान्छ समाजले? नियुक्तिमा को छानिन्छ? पैसा कमाउने बाहेक समाजलाई सकारात्मक योगदान दिनेहरुलाई कदर गर्न ढिलो भैसकेको छ।
प्राय: नेपालीहरुलाई चाहिएछ नपढी वा मिहेनत नगरी (चोरेरै भए पनि) सिप केही नजाने पनिटन्न नम्बर आएको प्रमाणपत्र, त्यो प्रमाणपत्र देखाएर जागिर (त्यो पनि प्रतिस्पर्धा गरेर हैन,भनसुनको भरमा)।
जागिर कहाँ - टन्न कमाउने ठाउँमा (भ्रष्टाचार हुने अड्डा), कति पैसा चाहिने- काम क्यै गर्न नपर्ने उडाएर मोज गर्न पुग्ने! यो गर्न सक्ने मानिस सफल सक्षम र बाठोको रुपमा चित्रित हुन्जेल हाम्रो विकास सम्भव छैन।
के हाम्रो समाज आफ्नै वर्गबाट इमान्दार नेतृत्व छान्न तयार छ त?
राजनीतिमा छिर्न योग्य युबाहरु तयार हुनु पर्यो भन्ने बहस त हामी गर्छौ। तर समस्या राजनितिमा छिर्ने ढोका कुन हो, कहाँबाट छिर्ने? कोही नयाँ मान्छेको रुपमा कसैले कुनै पार्टी गठन गर्यो भने हाम्रो समाजले यस्ले कोसँग पैसा खाएर पार्टी खोल्यो भन्छ। त्यो मान्छेको बिगत के हो, उ कति इमान्दार छ र उस्को समाजका समस्याको बुझाइ र समाधान के छ बुझ्ने कोशिस नै गर्दैन। हाम्रो समाजलाई नयाँ भिजन र कार्यशैलीको कुनै मतलब हुँदैन, केबल कति पुरानो वा चर्चित (वा कुख्यात) नेता हो भन्ने मात्र गणना हुन्छ। मिडियालगायतले पनि तिनै पुरानाहरुलाई नै प्राथमिकता दिन्छन्।
नयाँ नौलो विचार र भिजन लिएर अगाडि बढ्ने लाई तुरुन्तै स्वीकार गर्न न समाज तयार छ न मिडियाले कुनै ठाउँ दिन्छ। राजनीति गर्न कति बर्ष जेल बस्नु पर्ने वा कुन पार्टीको भातृ संगठनमा लागेर केही बर्ष बाँदरेपन देखाएर थुप्रै गाडी जलाउने, सिसादेखि मानिसको टाउको, हात, खुट्टा फुटाएको वा भाँचेको हुनुपर्ने योग्यता चाहिन्छ। हाम्रा समस्याका समाधान दिन सक्ने नेतृत्व हाम्रो समाजले छान्दैन र फेरि कुरा काट्छ केही गर्न सकेन। अझै २०-३० बर्षमा केहि गर्न नसकेका बुढाहरु चुनाबमा उठदा जिताउने हामीले? बाराक ओबामा राजनीतिमा लागेको १२ वर्षमा अमेरिकाको राष्ट्रपति भए।
बिल क्लिन्टन ४२ वर्षमा राष्ट्रपति भए। हामी कहाँ नयाँ सोच र नयाँ भिजनसहित कुनै युबा राजनितिमा आउने बाटो हाम्रो समाज, हाम्रो मिडिया र हाम्रा बिद्यमान सोचले दिने अबस्था देखिँदैन। हाम्रो समाजले आफ्नो आबश्यकताको समाधान दिनसक्ने क्षमता भएको मान्छेको पहिचान गर्न नै सक्दैन, कमसेकम हालसम्म सकेको छैन। केबल पुराना असफल फटाहा अनुहारको फत्तुर पत्याउँछ, जुन बाटोबाट कहिल्यै समाधान निस्कदैन। स्थापित फटाहाहरुलाई पुनः विस्वास गरेर समय नष्ट नगरौं।
बिकास भाग्यमा आउने होइन पौरख गरेर मात्र हुन्छ। हामी परिवर्तित हुनैपर्छ, युबा पुस्ताले कमसेकम नयाँ ढंगबाट सोच्नैपर्छ। हामीलाई हाम्रो समस्याहरुको समाधान दिन सक्ने नेतृत्ब चाहियो, नकि नयाँ समस्या निकाल्ने समाजमा बिष घोल्ने नेतृत्ब।
समाजको सोच नै परिबर्तन गर्न मिडियामा रहेका युबा पुस्ताले भूमिका खेल्नु पर्छ, हो नेपालका प्रायः मिडिया स्बतन्त्र छैनन्,प्रकाशकका आर्थिक र अन्य उद्देश्यहरु बाट संचालित छन् तर कसैले पकडमा राख्न नसक्ने सामाजिक संजाल र डिजिटल मिडिया एउटा उत्तम विकल्प हो। नयाँ नयाँ बहसहरु चलाउँ, समाजको कमी-कम्जोरी पहिचान गरौं र देशको उन्नति गराउन सक्ने बाताबरण र सक्षम नेतृत्ब बिकास गरौं।