देशको राजनीति र समाजमा भएका अन्यौलतालाई थाती राखेर प्रधानमन्त्री र उनको दल आफ्नो सम्पूर्ण शक्तिसाथ जसरी पनि मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा संसद्मा पेश भएको विधेयक पास गराएरै छाड्ने दाउमा लागिपरेका छन्। जुन प्रवृत्ति सरासर गलत मात्र नभई आफू सत्तामा भएको चरम दुरुपयोग पनि हो। आफ्नै पार्टीका एक नेता एवम् निष्ठावान् र वफादार पूर्वप्रधानमन्त्रीलाई बदनाम गर्नेगरी अघि बढाइँदै छ।
मनमोहन अधिकारीबारेमा मेरो पुस्ताले उहाँको प्रत्यक्ष कार्यकाल देख्न नपाए पनि उहाँबारे इतिहासमै पढेर भए पनि ठूलो श्रद्धा र सम्मान राख्छ, चाहे ती जुनसुकै पार्टीमा आबद्ध किन नहोऊन्। तर आज आएर तिनै व्यक्तिको नाममा उहाँकै पार्टीका केही स्वार्थ बोकेका व्यक्तिले व्यापार गर्न खाजेको देख्दा उहाँप्रति उहाँकै अनुयायीले किन अन्याय गर्न लागे होलान्? भन्ने प्रश्नहरूले हरबखत सताइरहेको छ।
आफ्नो सत्ता र शक्तिको दुरुपयोगको आडमा विधेयक धेरै अगाडि बढिसकेको बेला मनमोहन मेमोरियल बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष एवम् पर्यटनमन्त्री आनन्द पोखरेलले राजिनामा दिनुभएको छ। मन्त्री पोखरेलले आफ्नो राजिनामामा मनमोहनको नाममा धेरै विवाद गर्न नहुने, नेताको नाममा नाफामूलक व्यवसाय संचालन गर्न उचित नहुने भनेर उल्लेख गर्नुभएको छ, जुन कुरा राजेन्द्र पाण्डे र डा.बंशिधर मिश्रहरूले पनि बुझ्न जरुरी छ।
मन्त्रीको कदम सही हो कि गलत भन्ने प्रश्न पनि उब्जिएको छ। तर पाण्डे र मिश्रका गुटलाई मन्त्रीको कदम गलत लाग्ला। तर उहाँको यो कदमले यदि अहिलेको विधेयक रोकियो भने पछि उहाँको यस कदमको उच्च मूल्याङ्कनसाथ सही ठहरिने छ। किनकि उहाँको यो कदमले निम्तिन लागेको ठूलो व्यथितिको अन्त्य हुने छ, जसको प्रमुख श्रेय उहाँलाई जानेछ।
पाण्डेजी अनि मिश्र, तपाईंहरूको आफ्नो पार्टीका नेता एवम् हाम्रो देशको पूर्वप्रधानमन्त्री मनमोहन मैले सुनेअनुसार आफ्नो जीवनकालमा कुनै विवादमा पर्नुभएन रे! आज ठूलो विवादमा पारिएको छ, तर जनताहरूले उहाँको नाममा व्यापार गरिनुहुन्न भनिरहेका छन्। उहाँका सच्चा अनुयायीहरूले उहाँको नाममा जालझेल भयो भनिरहेका छन्। यस्तो अवस्थामा पनि बलजफ्ती अगाडि बढ्नु कत्तिको उचित होला त?
मनमोहन तपाईंहरूको पार्टी नेता भएर आदर गरिनुपर्छ भनेर तपाईंहरूले भनिरहनुभएको छ। तर माफ गर्नुहोला, तपाईंहरूले चाल्न थाल्नुभएको तरीकाले त उहाँको आदर नभएर उहाँको नाममा व्यापार गर्न खोजिएको कुरा घामजत्तिकै प्रस्ट छ। यही कुरालाई मध्यनजर गरेर समाजका प्रतिष्ठित बुद्धिजीवीहरू यसो हुनबाट रोकिनुपर्छ भनेर लागिपरेका छन्। किनकि ती बुद्धिजीवीहरूले पूर्वप्रधानमन्त्री मनमोहनप्रति ठूलो आस्था राख्नुका साथै ठूलो सम्मान जनाउँछन्।
केही दिन पहिले तपाईंहरूको पार्टीका केही उच्च पदस्थहरूसँग भेट गर्ने मौका मिलेको थियो, जुन भेटमा स्वयं तपाईंहरूकै पार्टी नेताहरू पनि खुशी हुनुहुन्नथ्यो। र, उहाँहरूले यसरी विधेयक अगाडि बढाएर मनमोहनको नाममा नाफामूलक निजी संस्था खोलिनुभन्दा राष्ट्रियस्तरको सरकारी संस्था खोलिनुपर्छ भन्ने विचार व्यक्त गर्नुभएको थियो।
राजेन्द्रजी तपाईंले त प्राध्यापक डा.गोविन्द के.सी.लाई खुलारूपमै आलोचना गर्नुथाल्नुभएको पनि धेरै भइसक्यो। अनि तपाईंले आफ्ना पार्टीका साथीहरूलाई मनमोहनको नाम सुनेर गोविन्द के.सी.लाई ज्वरो आउँछ अनि उहाँ अनसन बस्नुहुन्छ भनेर व्याख्या गर्दै हिँड्नुभएको रहेछ। तर अहिले प्रा.के.सी.भन्दा पहिले नै नागरिक अगुवाहरू जागेका छन्, के तिनलाई पनि मनमोहनको नाम सुनेर ज्वरो आएको हो त? होइन, पक्कै होइन। उहाँहरूलाई त चित्त नबुझेको कुरा त तपाईंहरूले आफ्नो संसदीय शक्तिको दुरुपयोग गरेर गलत ढंगबाट प्रतिष्ठान बनाउन लागेकोमा हो। गलत परिपाटी बसाल्न लाग्नुभयो भनेर हो। मेडिकल शिक्षामा विकृति निम्त्याउन लाग्नुभयो भनेर हो। अनि पूर्वप्रधानमन्त्रीको नाम दाउमा राख्नलाग्नुभयो भनेर हो। बस् त्यत्ति मात्र हो।
मेरा एकजना प्राध्यापकले कुनै बेला मानिसमा हुने अन्धोपनहरूको प्रकारहरू भन्दा भनेका केही प्रकारहरू मेरो सम्झनामा छन्ः जन्मजात अन्धोपन अर्थात् जन्मँदै आँखा नदेख्ने। जन्मिसकेपछि हुने अन्धोपन, जुन विभिन्न कारणले हुन सक्छ। जस्तै चोटपटक अनि विभिन्न रोगहरूले गर्दा। क्रोध अन्धोपन अर्थात् रिसको बेला आँखा नदेख्ने। लोभ अन्धोपन अर्थात् केही कुराको लोभमा परेर बाँकी कुरा नदेख्ने। इत्यादि।
हो, तपाईंहरूचाहिँ लोभ अन्धोपनमा पर्नुभएको छ। जसले गर्दा तपाईंहरूले देश र जनताको हित बिर्सनुभएको छ, आफ्ना महान् नेताको नाम दाउमा राख्नुभएको छ। तपाईंहरूलाई अहिलेसम्म साथ दिनुभएका अहिलेको पर्यटनमन्त्री अचानक बाहिरिएर आफ्नो गल्ती स्वीकार्नुभएको छ, जुन कुरा तपाईंहरूले पनि सिक्न जरुरी छ। तपाईंहरूले देश र जनताका लागि हामीले राजनीति गरेका हौँ भनेर बोलीमै मात्र सीमित राख्ने अनि आफ्नो स्वार्थका लागि समाजलाई अनियन्त्रित बनाउनेदेखि लिएर आफ्नै नेताको नाम बेच्न पनि पछि नपर्ने? एक पटक गम्भीर भएर सोच्नुस् त, तपाईंहरूले कस्तो राजनीति गरिरहनुभएको छ?
यति भन्दाभन्दै पाण्डे अनि मिश्रज्यू, तपाईंहरूप्रति मेरो सहानुभूति पनि छ। किनकि म चाहन्न तपाईंहरूको लगानी डुबोस् भनेर। तसर्थ सरकारले त्यसको विकल्प दिनुपर्दछ तर अहिलेजसरी विधेयक अगाडि बढाएर प्रतिष्ठानको रूपमा आउन लागेको छ, त्यसरी होइन। किनकि त्यसले गलत नजिर बस्ने पक्का छ, समाजमा अनि उच्च शिक्षामा खैलाबैला ल्याएर अनियन्त्रित बनाउने पक्का छ। अबको कुनै कदम चाल्नुअघि गम्भीररूपमा सोचेर कदम चाल्नुपर्दछ। नत्र त्यसले दूरगामी असर निम्त्याउने पक्का छ। हाम्रो देश संघीय संरचनामा गइसकेको छ। यस्तो बेलामा मनमोहनको नाममा प्रतिष्ठान नै खोल्ने हो भने, कुनै एक प्रदेशमा सरकारी स्तरको प्रतिष्ठान उहाँको नाममा खोलियो भने उपयुक्त हुने देखिन्छ। तर अहिलेको कदम रोकिएन भने उहाँप्रति प्रतिष्ठा नहुने पक्का छ।
तसर्थ अब आफूलाई मनमोहनका सच्चा अनुयायी भन्ने कमरेडहरूले पर्यटनमन्त्री पोखरेललाई साथ दिन जरुरी छ, अनि पर्यटनमन्त्रीज्यू पनि आफ्नो विचारमा अडिग रहन जरुरी छ। यदि त्यसो गरिएन भने समाजमा नराम्रो नजिर बस्ने, मेडिकल शिक्षामा गलत प्रवृत्तिको स्थापना हुने अनि संसद्लाई आफ्नो स्वार्थमा प्रयोग गरिने प्रवृत्ति बस्ने पक्का छ। अनि सबभन्दा दुःखद् कुरा त एक निस्ठावान् नेता एवं पूर्वप्रधानमन्त्रीको नाममा व्यापार हुनेछ। यो सबै हुन नदिन जरुरी छ। भएको लगानी पनि नेपालीकै भएकाले त्यसलाई डुब्न नदिएर उचित विकल्प खोजिनुपर्दछ, जसले गर्दा विन–विन परिस्थितिको सिर्जना हुनेछ, जुन अहिलेको उचित विकल्प हो।