हिजोको संसार आज कहॉ पुग्यो विकासको गतिले। आज भोलिको दुनियाँमा मानिसहरु पत्र-पत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेटका विभिन्न सामाजिक सञ्जालहरुबाट एकछिन् पनि टाढा हुनु सक्दैनन्। यही दौरानमा हामी नेपालीहरु पनि अघि पछि दौडिरहेका छौँ। नेपालका धेरै मिडियाहरु मध्ये एक भरपर्दो र विश्वासिलो सञ्चारमाध्यमका रुपमा बिबिसी नेपाली सेवालाई लिने गरिन्छ। हरेक दिन हरेक हप्ता त्यहाँबाट प्रसारण हुने कार्यक्रमहरु सुन्ने हेर्नेहरुको भिडमा हामी धेरै सामेल भएकै छौँ।
पारी जाउँ भिरैभिर
वारी पीरै पीर
टाढाको गाउँमा
डॉडाको बस्तिमा
बॉचेका मान्छेहरु...
साझा सवाल कार्यक्रममा बॉचेका मान्छेहरु भनेर एउटा यस्तो कारूणिक यथार्थ भिडियो कार्यक्रम प्रशारण गरियो यसले लाखौँ नेपालीहरुको अन्तरमनलाई छियाछिया पारेर गयो। भाव विहल बनायो, आँशुका भदौरे झरीहरु दर्काई दियो। इन्टरनेटको पहुँच हुनेहरुले भाइरल गरे त्यो भिडियोलाई ट्वीटर, अनलाइन पोर्टल, फेसबुक जस्ता सामाजिक सञ्जालमा। धेरैले उजेलीका सपनाहरुमा तुसारापात भएको र ति तुसारापातलाई विकासको बसन्तको पारिलो घामले हटाउनुपर्छ हामी जुटौं सरकार उठोस् भनिरहेका छन्। तर मेलोमा हलो अड्काएर गोरु मात्र चुटिरहनेहरुलार्इ उजेलीका करुणाले छोयो छोएन कुन्नी हलीमध्येका क जना पात्र त त्यहाँ पनि उपस्थित देखिन्थे केही आशा पनि देखाएर ओरालो हानिए अघिपछि अनावश्यक लर्कोहरुसँगै।
चप्पल पनि राम्रो लाउन नपाएको सेलाङ काफ्ले गाउँमा मन्त्रीको सुटेड बुटेडलाई प्रकृतिले पनि गिज्याए जस्तो देखिन्थ्यो। ति उजेलीहरुलाई त थाहा थिएन के सुट के बुट को मन्त्री को सरकार? त्यत्तिकैमा फिल्मी जगतका महानायक राजेश हमाल पुग्दा ति अबोध उजेलीहरुलाई लाग्यो होला हैन कुन सुखलोकका मान्छेहरु हाम्रो गाउँमा प्रवेश गरे। यिनीहरु बस्ने देश त कति सुन्दर र बिकसित होला, किन पो यस्ता मान्छेहरु देखा परे नाटकमा जस्तै सपनामा जस्तै एकपछि अर्को गर्दै हाम्रो बस्तिमा।
तर जे होस् हमाललाई चाहिँ धेरै उजेलीहरुले सुनेका देखेका रहेछन् सानो मोबाइलको स्क्रिनमा भए पनि हिरो हुन् भनेर। ति फिल्मका एकादेशका हिरो आफ्नै सामुन्ने देख्दा कस्तो लाग्यो होला उजेलीलाई? के यो विपना हो? के म आज होसमा त छु? मैले जे देखें त्यो नै सत्य भइदिए कति बेस्सरी अघाउन्जेल हेर्ने थिए होला आँखा छलीछली। अनि आफ्नो गाउँका कति ब्यथाहरु भन्ने थिए हुँला ति सुनिदिने बुझिदिने विकसित राजकुमार जस्ता मान्छेलाई यस्तै यस्तै..कति कति। तर त्यो दिन उजेलीको सपना थिएन विपना नै थियो।आफू जत्रै घाँसको भारीले थिचे पनि अघि पछि हेर्दै उजेलीले हमालसंगै कुरा गर्दै थिइन्, आफ्नो गाउँ लिएर आउँदै थिइन्,कल्पनामा आकाशको चम्किलो तारा समातेर बस्तिमा लिएर गए झै। सायद जिन्दगीकै पहिलो पल्ट होला उजेलीले आफ्ना अध्याँरा बस्तीका कुरा यसरी ति सुकिला मान्छेसँग पोखिन्। त्यहाँ यस्तो एउटा करुणा फैलियो सुकिला मान्छेहरु रोए, गाउँ रोयो, हुँदा हुँदै देश रोयो, विदेश रोयो जो नेपाली मन बोकेर हिडेको छ उसका आँखाहरुबाट आँशु पोखिए उजेली बनेर।
हामी नेपालीहरु शाहसीला वीर गोर्खाली भनेर संसार चिनीएका, भगवानको देशका भनेर कहलाएका तर कति सजिलै मन फुटाएर फेरि शाहसका बिजहरु छर्छाैं है, आफ्नै मनका कोठेबारीहरुमा। उजेलीका यथार्थ करुणाले कहिलेसम्म पोल्ने हो भत्भति नेपाली मन बोकेर हिड्नेहरुलाई? तर यो यथार्थ हो उजेलीका जस्ता हजारौं बस्तीहरु आज अनगिन्ती छन् हाम्रै वरीपरी। पूर्व ताप्लेजुङदेखि मध्य चितवन, काठमाडौं हुँदै पश्चिम कालिकोटसम्म एक सर्को नजर लगाउने हो भने हामीलाई ३६५ दिन नै मुटु भत्भति पोल्ने गरिबी र अभाबले पिल्सीएका शुद्ध नेपाली बस्तीहरु छन्। आज उजेलीको गाउँका कुरा बाहिर आएर करुणामा बग्यो तर कस्ले उजागर गर्ने काठमाडौंकै खोला किनारमा गिटी कुटेर पनि सॉझ भोका पेटहरु लिएर सुत्ने बस्ती सुकुम्बासीका कुरा? कस्ले गर्ने राउटेका कुरा? कस्ले गर्ने मुसरफ बस्तीका कारुणीक दर्दनाक कुरा? र कस्ले गर्ने हली र खेतालामै जीवन धान्नेको कुरा? खुईया गर्न मन लाग्छ देशको अबस्था हेर्दा।
बेला बेला पापी प्रकृतिले पनि थिल्थीलो बनाई दिन्छ तिनै भुइँ घर र गरिब बस्तीहरुलाई। बैशाख १२ को विनासकारी भूकम्पले पनि तिनिहरुकै जीवन टुक्रा टुक्रा भताभुङ्ग पारेर गयो छानी-छानी। हेर हजारौं अध्याराका उजेलीहरु हो मलाई त आश छैन सरकारमा हुनेहरुको। उनीहरुले त बरु तिम्रा फुल्न लागेका खुशीका बस्तीहरुमा बेला बेला सुतेकै बेला डोजर लगाएर बस्ती सखाप पारिदिन्छन्, जीवनमै तुशारापात गरिदिन्छन्। उनीहरुले त आफू सत्तामा पुग्नका लागि तिम्रा अबोध अनुहारहरुमा १ प्याकेट गुलिया चक्लेटहरु फाली दिन्छन् र भुल्याएर घरी घरी सत्तामा पुगेर तिम्रा बस्तीका विकासका बजेटहरुलाई आफ्नै बैंकका खातामा ल्यान्डिङ् गराउँछन् पैसाले भरिएर आएका जहाजहरु।
भगवान् भरोसा एकदिन यस्तो समय नआउँला भन्न सकिन्न् उजेलीहरु हो , तिमीहरुका बस्तीमा पनि ठूल्ठूला बजेटहरु पुग्ने छन् कोदोको ढिडोले नै ज्यान धानेको बस्तिमा वासमती चामल बोकेका फोरह्वील ट्रकहरु जानेछन्, गाउँमै लुक्ला एयरपोर्ट जस्तै सानो अति ब्यस्त एयरपोर्ट खुल्ने छ, भुटानी शरणार्थीका युरोप सयरका दिन खुलेझै तिम्रा पनि नखुल्लान् भन्न सकिन्न।
आज हाम्रो समाजका हजारौँ उजेलीहरुका सपनाले आफ्नो जिन्दगीको उडान भर्न सकिरहेका छैनन्। कस्ले रोक्यो त उनीहरुलाई? को हो दोषी? हाम्रै समाज वा पुरानै रीतिरीवाज? कि देशले नै रोक्यो कि भूगोलले रोक्यो? त अघि बढ्न करोडौं कस्तुरी बोकेका उजेलीहरुलाई? तर अझै पनि केही प्लेन छुटेपनि सबै सुनौला दिनका सपना बोकेका प्लेनहरु अवश्य छुटेका छैनन्, ति जहाजहरु तिमीहरुले चढ्नुपर्छ।
उजेली तिम्रा जस्ता हजारौं अध्यारा बस्तीहरुबाट तिमी जस्तै अरु पनि धेरै उठ्नु पर्छ शिक्षा लिएर शिक्षाकै ज्योति फैलाउन। आफ्ना जीवनमा लुकेर रहेका कस्तुरीहरु चिन्नलाई अघि बढ्नै पर्छ। अतितका तिता सत्यहरुलाई आफूले टेकेको भूगोलमै बिर्सिएर अघि बढ्नु पर्दछ। होला आफ्नै अगाडि आफ्नै घरले थिचेर आफ्नै दाजुभाई गुमायौं, त्यही भग्नावशेषमा जिन्दगीकै ठूलो शाहसले त्यही टेकेर अघि बढ्न जीवन घिसारी रहनु पर्दछ उज्यालोको खोजीमा जुनकिरी जस्तै।