प्रकाश आस्थाको बिचरा, लोग्नेमान्छेलाई लेख नै मान्न सक्दिनँ। यो त लेख नै होइन। यो पुरुषको आवरण ओढेर महिलामाथि जनाइएको असन्तुष्टि तथा संकुचित आक्रोश मात्र हो। लेख कहिले पनि व्यक्तिकेन्द्रित हुनै सक्दैन। कुनै पनि बस्तु, व्यक्ति र परिस्थितिका सवल पाटा मात्रै या त दुर्बल मात्रै पक्ष हूँदैनन्।
दुवै पक्षलाई केलाएर मध्यमार्गी धारले मात्रै कुनै पनि विषय र समस्या निक्र्यौलमा अर्थ राख्छ भन्ने मलाई लाग्छ, भलै यो उहाँको व्यक्तिगत विचार हो। तर शिक्षित पुरुषले नारीमाथि राखेको यो संकुचित हेराइले मन नै अमिलो भयो। समाज अहिले समयसँगै फड्को मार्दैछ। सँगसँगै महिलाका सवाल केही बलिया देखिएका छन्। बलिया यस अर्थ देखिएका छन् कि महिला अहिले आत्मनिर्भर बन्दैछन्। श्रीमान तथा परिवारको परनिर्भरतामा बिस्तारै कमी हुँदैछ। वैदेशिक रोजगारीमा पनि पुरुषसँगै महिला सहभागिता बढ्दै छ। जसका कारण पुरुषसँगै महिलाले पनि घरको जिम्मेवारी उठाउन सक्षम छन्। अहिले पुरुष मात्र घर चलाउने ठेकेदारको रुपमा छैनन्, त्यसमा महिलाको साथ उत्तिकै छ। पुरुष मात्रै अहिले साउदी अरबमा भेडा चराउँदै छैनन्, महिला पनि त्यही साउदी अरबमा कसैको घरमा जुठा भाडा माझ्दैछन्।
स्वेदशमा पनि पुरुषसँगै मजदुरी गर्दैछन्। इँटा बोक्दैछन्। बालुवा चाल्दैछन्। रिक्सा–टेम्पो चलाउँदैछन् भने अर्कोतिर शिक्षिकादेखि बैंकर, सभासद्देखि राष्ट्रपति पनि बन्दैछन्। महिलाको आफ्नो श्रीमान्, घर, परिवार र समाजप्रतिको यो सक्षमता, यो जिम्मेवारीबोध, आर्थिक सहयोगलाई तपाईं पुरुषको बिचरा, नामर्द तथा निरीहतासँग तुलना गर्नुहुन्छ भने यसमा महिला के गर्न सक्छे र? तर मेरो दृष्टिकोणले यसमा पुरुषलाई बिचरा, नामर्द र निरीह देख्दैन। म त यसमा एउटा सुन्दर समानता देख्छु। सभ्य समाज देख्छु।
इतिहासले पनि पृथ्वीनारायण शाह र तेन्जिङ नोर्गे शेर्पाको मात्रै वीरगाथा लेखेको छैन, त्यहीनेर राजेन्द्र राज्यलक्ष्मी शाह र पासाङ ल्हामु शेर्पाको वीरंगना पनि लेखेको छ। विचरा न त महिला हो न त पुरुष हो। यो त हेर्ने दृष्टिकोण मात्र हो। तपाईं सम्बन्धबिच्छेद गर्दा महिलाप्रतिको प्राथमिकता तथा सहुलियत देख्नुहुन्छ तर आफैँले जन्माएको बच्चाको नागरिकता सवालमा महिलाको मुद्दा कमजोर बनेको देख्नुहुन्न।
श्रीमतीको मृत्युपछि किरियामा श्रीमान्को छुट तथा श्रीमान्को मृत्युपछि महिलामाथि हुने असमानता देख्नुहुन्न? एउटी महिला बिहे गरी आउँदा श्रीमान्बाट केके पाई हिसाब राख्न सक्नुहुन्छ तर माईतीमा के के छोडेर आई त्यसको हिसाब राख्न अस्वीकार गर्नुहुन्छ। तपाईं प्रत्येक पटक महिलाले परपुरुषसँग सम्बन्ध राखेको लेख्न र भन्न सक्नुहुन्छ। तर पुरुषले परस्त्रीसँग सम्बन्ध राखेको किन लेख्न र भन्न सक्नुहुन्न? अवैधानिक सम्बन्धमा के दुवै पक्ष उत्तिकै जिम्मेवार हुँदैनन् र?
असमानता धेरै छन् महिलाका सवालमा। उठ्न बाँकी मुद्दा पनि धेरै छन्, उठेका मुद्दाले पनि न्याय नपाएका घटना पनि धेरै छन्। र, अर्को कुरा यदि यस्तो सोंच पुरुषको प्रतिनिधिमूलक हो भने सायदै आउला समानता। कुनै आवरण ओढेर लेखिएको लेखले न त राम्रो सन्देश दिन्छ न त समस्या समाधान नै दिन सक्छ।
समाज परिवर्तनका लागि र महिला समानताका लागि पुरुषको साघुरो सोंच र महिलामाथि अंकुश होइन, तपाईं पुरुषकै फराकिलो दृष्टिकोण र आत्मीय साथको जरुरी छ। खराब महिला या पुरुष होइन, खराब नियत हो। बिचरा महिला या पुरुष होइन, बिचरा त बिचार हो। कमजोरी महिलामा पनि छ, पुरुषमा पनि छ। हामी त्यही कमजोरीलाई मुद्दा बनाएर कसैको मुल्यांकन गर्न सक्दैनौँ न त समुन्नत समाजको कल्पना नै गर्न सक्छौँ। बरु कमजोरीलाई सच्चाएर दुवै सँगै अगाडि बढ्न सकियो भने समुन्नत र सभ्य समाज बन्ने थियो कि?