त्रिभुवन विश्वविद्यालयबाट पासआउट भएको दश वर्ष भयो। बेथिति चाहे घरमा होस्, चाहे राजनीतिमा– केही नबोली, असन्तुष्टि नपोखी मूकदर्शक भइरहन मनले मान्दैन। छिप्पिँदै जाँदा यो स्वभाव झन् चर्को हुँदै गएको छ । जुन समयमा मेरो राजनीतिक– सामाजिक चेतना खुल्यो, त्यसले कमै मान्छेलाई राजनीतिलाई अछुतो राखेको होला। सशस्त्र द्वन्द्वदेखि जनआन्दोलन ६२÷६३ सम्मको छिटाबाट म पनि अछुतो रहिनँ ।
अहिले न म त्रिविको विद्यार्थी रहेँ, न रह्यो पचहत्तरै जिल्लाका साथीहरूको जमघट। कहाँ पोखिने? कहाँ टेबल ठटाउने? कहाँ भोट हालेर कसैलाई जिताउने र हराउने? यस्तोमा ट्विटर राजनीतिक सामाजिक बहस गर्ने क्याम्पसको चिया पसल बन्यो। चिया सुर्किंदै घरि के, घरि के विषयमा ट्वीटिनसम्म ट्वीटिरह्यो ।
चियापसलको अड्डा जमाउने कुनोमा गफ्फिएजस्तै आफ्नै ट्विटोस्पेयर बनायो र एउटै विषयमा ट्विटररर्सलाई उनिदिन ह्यासट्यागिदियो। कसैलाई समर्थन गर्न चियाको चियर्स गरेजस्तै रिट्वीटिदियो। ट्वकिङ गर्यो, ट्वेटिङ गर्यो... ट्वीटर १ सय ४० क्यारेक्टरमा औंला ठड्याएर आवाज बुलन्द गर्ने माइतीघर मन्डला बन्यो।
हो, ट्वीवर मेरो लागि त्रिविको रातो भवनमा रहेको चिया पसल हो जुन स्ववियुको अन्ठाउन्न सालको चुनावताका तातो चियासँग तातिँदै साथीहरूसँग बहस गर्ने जक्सन हुन्थ्यो। मेरो लागि ट्वीवर कीर्तिपुरको नयाँबजारमा रहेको कृष्णको फोटोकपी पसल हो जहाँ ठेलीका ठेली नोटहरू फोटोकपी गरिरहँदा त्रिविको पढाइबारे झोक्किँने गर्थ्यौं।
साँच्चै ! ट्वीवर मेरो लागि लन्डनको हाइडपार्कमा रहेको ‘स्पीकर्स कर्नर’ हो जहाँ अभिव्यक्तिको स्वतन्त्रता पनि स्वतन्त्र हुन्छ।
मैले ट्वीटिन थालेको धेरै भएको छैन। म बिबिसी वल्र्ड सर्भिस ट्रस्टमा रेडियो नाटक लेखन र निर्देशन गर्थेँ । अफिसमा फेसबुक र ट्वीटर सहकर्मीहरुको दैनिकीको एउटा हिस्सा बनिसक्दा पनि मलाई त्यसको तरंगले छोएकै थिएन । पटक्कै थिएन । म त विकिपिडिया र युट्युबमै रमाउँथे । मलाई लाग्थ्यो, सोसल मिडिया विशेष गरी फेसबुक भनेको एक्काइसौं शताब्दी ‘नारसिस्ट’ हुँदै गएको प्रमाण हो । जहाँ ‘म’ ‘म’ र ‘म’ नै केन्द्रबिन्दु हुने गर्छ ।
सोसल मिडियाप्रतिको मेरो धारणामा एकसय असी डिग्रीको परिवर्तन भयो, अरब स्प्रिङबाट, सन् २०१० ताका।
सोसल मिडिया अरब स्प्रिङको कारकतत्व थियो या यो केवल यसलाई सघाउ पु¥याउने साधनमात्र थियो– छुट्टै बहसको विषय हो। जसरी सोसल मिडिया शान्तिपूर्ण आन्दोलन गर्नेहरूको गान्धीको डान्डीमार्च बन्यो, रूपमा हैन सारमा, मलाई गहिरो प्रभाव पा¥यो।
केही समयपछि अरब स्प्रिङ्गबारे बिबिसीले बनाएको डकुमेन्ट्री पनि हेर्न पाएँ। त्यसमा सोसल मिडियाले अरब स्प्रिङमा खेलेको महत्वपूर्ण भूमिका खोतलेको थियो। कोठामा युट्युबमा गीत हेरिरहेका केटाकेटीहरू रातारात आन्दोलनकारी बनेको दृश्यले मलाई भित्रैदेखि जुरुक्क उचाल्यो। यसपछि मैले ठानेँ– सोसल मिडियालाई भर्चुअल माइतीघर मन्डला बनाउने। अनि त ट्वीटर मेरो लागि बिहानको योगाजस्तै अनिवार्य भयो। बिहानको पत्रिकाजस्तै यथार्थको डोज बन्यो। बिहानको चियाले लती बनाउने निकोटिन भयो ट्वीटर।
सबैभन्दा पहिला ट्वीटिन थालेँ, आफ्नै गन्थनबाट । त्यसपछि राजनीतिक बेथितिको झाँको झार्नेदेखि समाजको टिप्पणी गर्नेसम्मको आवाज बन्यो ट्वीटर ।
जसै घेरा फराकिलो बन्दै गयो, जिम्मेवारी पनि बोध हुँदै गयो, अभिव्यक्ति स्वतन्त्रताको। मनोरञ्जनको लागि ट्वीट गर्ने हो भने अर्कै कुरा, नत्र ट्वीटरलाई प्रभावकारी रूपमा प्रयोग गर्ने हो भने आफूले लेख्ने ट्वीटप्रति जिम्मेवार हुनैपर्छ ।
मेरै उदाहरण दिन्छु, आवेशमा आएर भटाभट ट्वीट गर्ने सुरमा मैले दुईपटक गल्ती गरेको छु। त्यसका लागि सम्बन्धित निकायसँग मैले माफी पनि मागेको छु। तथ्यमा गल्ती हुन गएको थियो त्यतिबेला।
त्यसपछि हो मेरो काँचो रिस पोख्ने शैली परिस्कृत बन्दै गयो। आफूलाई लागेको कुरा तत्कालै लेखिहाल्ने भन्दा पनि तातो विषयलाई सेलाएर मनतातो बनाई पस्किने बानी पर्दै गयो।
ङ
यसका लागि धैर्य त चाहिन्छ नै। साथमा चाहिन्छ अनुसन्धान गर्ने जाँगर पनि। कमसेकम मेरो लागि त उपयोगी नै साबित हुन गयो।
पृथ्वीको रङ हजार, मान्छेको ढंग हजार भनेजस्तै, ट्वीट्को रङ हजार, ट्वीपलको ढंग हजार । कसले किन ट्वीट गरेको छले ट्वीटरमा कति घण्टा झुम्मिने निर्धारण गर्दो रहेछ । जस्तो लाइभ ट्वीट गर्न मन पराउनेहरूलाई त लाइभ फिड गर्ने दिनभरको जागिरसरह हुने भयो । मेरो पनि दैनिकीमा ट्वीटरले फरक त पारेको छ। यसलाई दुव्र्यसन सरहको लत त भन्न मिल्दैन। तर लतचाहिँ लागेकै हो।
मेरो ट्वीटोस्पेयरका पत्रकार ट्विटररर्सहरूले संकलन गरेको समाचार छुस्स लाएर ट्वीटरमा चुहाइदिन्छन्। घरमा पत्रिका नआउँदै त्यो समाचारको भेउ पाइने भएकाले पनि ट्वीटरमै प्राय बढी झुम्मिन्छु। त्यसबाहेक कहिलेकाहिँ कुरा नचपाई कडा कुरा ट्वीटिँदा छद्य नामधारीहरू ‘आ–क्र–म–ण’ को शैलीमा कुर्लिन्छन् । त्यतिबेला दैनिकी बिग्रिने गरी आफू पनि ट्वीटिरह्यो। परिणाम हुन्छ टपरटुइयाँ दोहोरी ।
एकपटक मैले ट्वीट गरेको थिएँ– ‘मुसाको चटनी, शङ्खे किराको तरकारी, रातो खुर्सानी पोलेको खान मन लाग्यो।’ त्यसपछि एकजना छद्य नामधारीले मेरो जातलाई लक्षित गरेर होच्याइहाल्यो । अनि त दिनभरि ट्वीटको ब्याड्मिन्टन सुरु भयो। अन्तमा लाग्यो उसलाई मजा लागिरहेछ, मेरो चाहिँ टाउको दुखिरहेछ।
तर आजकाल छाला बाक्लो हुँदै गएको छ, सहिन्छ। ट्वीट्र चलाउने बानी दैनिकीमा समायोजन भइसकेकाले पनि होला। दिन नै बिग्रिने गरी ट्वीट्र चलाइन्न। एक किसिमको लक्ष्मणरेखा कोरिदिएको छु। समयसमयमा रावणरुपी ट्रोलरहरूले त्यो रेखा पार गर्न बाध्य पार्छन्। त्यही पनि त्यो रेखा अनवरतरूपमा तानिराखेकै हुन्छु– ट्वीटर र आफ्नो कामको बीचमा। यसबाहेक ट्वीटर कम्पोज गर्न मलाई एक घण्टा त लाग्छ नै। मनमा फुरेका ट्वीटर हुबहु म ट्वीट गरिहाल्दिन। १४० क्यारेक्टरभित्र अटाउन मात्र मेरो ध्याउन्न रहन्न। यसको लय र शब्द छनोटमा पनि ध्यान दिन्छु। यसकारण पनि मेरो बिहानको समय यसैमा खर्चिन्छ।