गैरआवासीय नेपालीको विश्व सम्मेलन कात्तिक २ देखि ५ गतेसम्म काठमाडौंमा हुँदैछ।
एक दशकको यात्रा पूरा गरेको गैरआवासीय नेपाली संघको आउँदो सम्मेलनको रौनक विगतभन्दा फरक हुने संकेत देखिएको छ। सम्मेलनको महिनौंअघिदेखि संघको दुई वर्षका लागि चुनिने अध्यक्षमा कम्तीमा ५ जनाले उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन्। गैरराजनीतिक चरित्रको सामाजिक संस्था भनिए पनि संघभित्र प्रत्यक्ष वा अप्रत्यक्ष अस्वस्थ प्रतिष्पर्धा भित्रिएको छ।
योपटकको अध्यक्ष पदमा संस्थाको स्थापनाकालदेखि नै सक्रिय जर्मनीका रामप्रताप थापा, अष्टे«लियाका धनाढ्य शेष घले, दक्षिण कोरियाका तेन्जी शेर्पा, मध्यपूर्वका रामेश्वर साह र बेलायतमा बस्ने पूर्वगोर्खा हितमान गुरुङले उम्मेदवारी घोषणा गरेका छन्। उक्त पदका लागि यसअघि कहिल्यै चुनाव भएको थिएन। अरु पदका लागि उम्मेद्वारी घोषणा सिलसिला जारी छ।
अध्यक्षका प्रत्यासी थापा गैरआवासीय नेपाली अभियानको सुरुदेखि नै सक्रिय थिए भने हाल संघको संरक्षक छन् । क्याप्टेन गुरुङ र साह दुवै वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने शेर्पा महासचिब । अष्ट्रेलियाका घले संघका अभियन्ता हुन् ।
थापाले साउन १९ गते अनलाइन मार्फत उम्मेदवारी घोषणा गरेका थिए। घलेले साउनमै काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन्। थापा सन् २००९ मा समेत अध्यक्षको प्रत्यासी थिए। पछि उनले सहमति प्रयासप्रति समर्थन गर्दै तत्कालीन अध्यक्ष देवमान हिराचनका लागि अध्यक्ष छाडिदिएका थिए। थापा भन्छन्, ‘एनआरएनको वृहत एकताका लागि सन् २००९को चौथो विश्व सम्मेलनमा सर्वसम्मत अध्यक्ष पदको चयनका लागि मैले देवमान हिराचनका लागि छाडेको थिएँ, यसपटक सबै साथीले मेरो लागि छाड्नुपर्छ ।’
अध्यक्ष पदका अर्का प्रत्यासी शेर्पा पनि ‘अध्यक्ष पदका लागि जुलाईमै उम्मेदवार घोषणा गरेको र चुनावी प्रचारमा सक्रियतासाथ लागेकाले कसैलाई छाड्ने कुरा नआउने’ बताउँछन्।
योपटक एनआरएन चुनाव काठमाडौंलगायत नेपाली डायस्पोराबाट प्रकाशित हुने पत्रपत्रिका, अनलाइन, रेडियो र टेलिभिजनमा मात्र नभएर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा समेत राम्रै लागेको छ। चुनाव लाग्नु प्रजातान्त्रिक पद्धति सुरु भएको विश्लेषण गर्न सकिन्छ ।
एनआरएन अभियानका संस्थापकमध्ये एक भीम उदास भने पछिल्लो दौडधूपले विशुद्ध सामाजिक अभियानभित्र अस्वस्थ्य प्रतिष्पर्धा संस्थागत हुँदै गएको चिन्ता व्यक्त गर्छन् । उनका विचारमा यसबाट आउने परिणामले गैरआवासीय नेपाली र नेपाललाई फाइदा पुग्दैन। यस्तो वातावरणले एनआरएनबाट वौद्धिक जमात बिस्तारै बाहिर धकेलिँदै जाने उनको आकलन छ।
बेलायतका उत्कृष्ट विश्वविद्यालयमध्ये एक लिड्सका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी अन्तर्राष्ट्रिय प्राज्ञिक वर्गमा चिरपरिचित छन् । उनी एक महिनापछि काठमाडौंमा आयोजना हुने गैरआवासीय नेपालीको विश्व सम्मेलनमा भने आउने छैनन्। बरु यतिबेला उनी अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो उपस्थिति कसरी प्रभावकारी रूपमा विस्तार गर्न सकिन्छ भन्नेबारे सोच्दैछन्। एनआरएन अभियानका संस्थापकमध्ये एक सुवेदी हाल संरक्षक छन्।
अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयका प्राध्यापक शिव गौतम, युनिभर्सिटी अफ न्यू मेक्सिकोका प्राध्यापक आलोक बोहरा र अमेरिकामा अंग्रेजी साहित्यमा नाम बनाएका प्राध्यापक सम्राट उपाध्याय कोही पनि यसपल्ट सम्मेलनमा सहभागी हुने छैनन् । संयोगले मायामी विश्वविद्यालयका प्राध्यापक जनार्दन सुवेदी त्यस बेला काठमाडौंमै हुनेछन् तर सम्मेलनमा सहभागी नहुने उनले बताएका छन्।
यीअतिरिक्त विदेशमा कयौं नेपाली छन्, जसले बौद्धिकता वा प्राज्ञिकताका लागि नाम कमाएका छन्। कयौं नेपालीले प्राविधिक ज्ञान हासिल गरेर उच्च प्रतिष्ठा हासिल गरेका छन्। त्यस्ता व्यक्तिहरू क्रमिक रुपले गैरआवासीय नेपाली अभियानबाट टाढा बस्न रुचाउन थालेका छन् ।
किन त?
प्राध्यापक सूर्य सुवेदीले यस पंङ्तिकारसँग भने, ‘यस अभियानमा अनेक थरिका लफडा सुरु भएका छन्, दलीय राजनीतिक स्वार्थ मौलाएको छ। विभिन्न स्वार्थी तत्व घुसेका छन्। पैसाको खेल ज्यादा हुन थालेको छ। पदका लागि अस्वस्थ्य प्रतिष्पर्धा सुरु भएको छ। यसले गर्दा बौद्धिक क्षमता भएका मान्छेहरु अभियानबाट क्रमिक रुपमा टाढा हुँदै गएका छन् । यो दुर्भाग्यपूर्ण हो।’
तैपनि आगामी सम्मेलनले संसारभर छरिएका बौद्धिक तथा प्राविधिक जमातलाई पनि नेतृत्व प्रदान गर्नसक्ने नेतृत्व दिनेमा अझै आफू आशाबादी रहेको उनी बताउँछन्।
‘एनआरएन महासागरका रुपमा परिणत भएको छ । अब यो महासागरलाई सँगै मिलाएर लैजानसक्ने बहुआयमिक नेतृत्वको खाँचो छ । आर्थिक क्षमता भएका र बौद्धिक क्षमता भएका व्यक्तिलाई मिलाएर अघि बढ्न सक्ने भिजन भएको नेतृत्व चाहिएको छ,’ उनले भने, ‘बौद्धिक क्षमता भएका मान्छेहरु टाढै बस्नुपर्ने वातावरण अन्त्य भए मेरोमात्र होइन, धेरै विद्वान साथीको सक्रियता अझ बढ्छ।’
एक दशकको यात्रा
एक दशकअघि पहिलो विश्व सम्मेलनबाट गैरआवासीय नेपाली संघको स्थापना भएको थियो।
२०५९ माघ पहिलो साता तत्कालीन राजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको विवाहमा बेलारुसका लागि नेपाली वाणिज्यदूत डा. उपेन्द्र महतो, जर्मनका लागि वाणिज्यदूत रामप्रताप थापा र क्यानडाका लागि वाणिज्यदूत कुञ्जर शर्मा पाहुना थिए। त्यसै बेला पूर्वराजाले विश्वभर छरिएर रहेका नेपालीलाई एकीकृत गरेर सशक्त संगठन बनाउने र नेपालमा गैरआवासीय नेपालीको लगानी भित्र्याउनुका साथै विदेशमा नेपालीले सिकेको ज्ञान र सिप समेत ल्याउन उत्साह जगाउन प्रस्ताव गरे। राखेका थिए । यो प्रस्तावले तीनैजना गैरआवासीय नेपाली प्रभावित भएपछि विश्वभर रहेका नेपाली संगठित हुने अभियानले मूर्तरुप पाएको थियो ।
मस्कोमा डा. उपेन्द्र महतो, भीम उदास र जीवा लामिछानेले गैरआवासीय नेपाली एकीकृत अभियानको तयारी थाले। लगत्तै लन्डनमा नेपालीहरुको पहिलो प्रारम्भिक भेला भयो जसले गैरआवासीय नेपाली संघको पहिलो विश्व सम्मेलन काठमाडौंमा आयोजना गर्ने निधो गर्यो। अक्टुवर ११, २००३ मा गैरआवासीय नेपाली संघको पहिलो विश्व सम्मेलन काठमाडौं आयोजना भयो। त्यसै दिनलाई एनआरएन स्थापनाको औपचारिक दिन मानिन्छ ।
गैरआवासीय नेपाली संघको विश्व सम्मेलन दशैंअघि या पछि हरेक दुई वर्षको अन्तरमा हुन्छ। सम्मेलन ताका काठमाडौंमा गैरआवासीय नेपालीको कुम्भमेलाझैं हुन्छ। केही अपवाद छाडेर बर्षौंपछि नेपाल फर्किएकाहरू सम्मेलनमा सहभागी हुन्छन्।
विश्वभर छरिएका नेपालीसँग सम्बन्धित राष्ट्रवाद अर्थात नेपाली डायस्पोरा नेसनालिजम् को उत्थानमा गैरआवासीय नेपाली अभियानको भूमिका महत्वपूर्ण छ। यस अभियानबाट नेपाल केन्द्रित बहस प्रारम्भ भएको छ। गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद् ६५ देशमा स्थापना भइसकेको छ। त्यसमार्फत नेपाली सामाजिक पद्धति र संस्कृति मनग्य प्रवाह भएको छ। नेपालभित्र कुनै दैविक प्रकोप पर्दा बाहिरका नेपालीको सहयोग प्राप्त गर्न पनि धेरै सहज भएको छ। नेपालमा उल्लेखनीय पैसा भित्रिएको छ।
एनआरएन सम्मेलनमार्फत नेपालमा पर्याप्त आर्थिक लगानी भित्र्याउन ठूलाठूला कुरा भए। विश्व तथा क्षेत्रीय सम्मेलनहरुमार्फत कयौं घोषणा पत्रहरु जारी भए। ती कति कार्यन्वयन भए ? या कति कार्यान्वयन हुने तहमा छन्? भन्नेबारेमा एनआरएनको एक दशकको यात्रा पूरा भएको सन्दर्भमा सुक्ष्म रुपमा लेखाजोखा हुनु सान्दर्भिक हुन्छ ।
दोस्रो विश्व सम्मेलनले अत्यन्तै महत्वाकांक्षी योजना घोषणा गरेको थियो, सय मिलियन डलरको कोष स्थापना गर्ने । उक्त घोषणा मृत अवस्थामा पुगेको छ।
सूर्य सुवेदी भन्छन्, ‘एनआरएनभित्र धेरै गलत मान्छे पनि आए। लगानीका कुरा धेरै भए। तर काम भएन्। अतिरञ्जित प्रचार धेरै भयो। नेपालीमा आशा धेरै जगायो। त्योअनुसार काम हुन सकेन।’
एनआरएनको पर्याप्त लगानी नभित्रिनुमा नेपाल सरकारसमेत दोषी रहेको महासचिव तेन्जी शेर्पाको दाबी छ। सय मिलियन डलरको कोष स्थापना गर्ने घोषणा मृत भएको संस्थापक सदस्य भीम उदास स्वीकार गर्छन्। तर ५ अर्ब रुपैयाँ लगानीमा एनआरएन सामूहिक लगानी कोषको स्थापना भएको छ। हालसम्म कोषमा १ अर्ब रुपैया जम्मा भइसकेको छ। त्यसमार्फत नेपालमा लगानी सुरु भएको छ। १०० मेघावाटको विद्युत परियोजना सञ्चालन गर्ने कार्य अघि वढिरहेको छ। त्यस अवधारणालाई संघका वर्तमान अध्यक्ष जीवा लामिछानेले नेतृत्व दिएका छन्।
एनआरएनले ७५ जिल्लामा शिक्षा सम्बन्धी सामाजिक परियोजना सञ्चालन गर्ने अर्को महत्वांकाक्षी घोषणा गरेको थियो। यो पनि घोषणामा मात्र सीमित भएको छ।
नेपालको आज प्रमुख केही समस्यामध्ये ठूलो संख्यामा राम्रो जनशक्ति ‘ब्रेन ड्रेन’ हुनु पनि हो। त्यही बे्रनलाई नेपाल फर्काउन अभियान सञ्चालन गरेर नेपालको विभिन्न विधामा लगाउन सकेको भए गैरआवासीय नेपाली संघ स्थापनाको वास्तविक महत्व पूरा हुन्थ्यो।
नेपालको ठूलो जनशक्ति विदेशिनुले हाम्रो देशमा प्रसस्त रेमिटयान्स त भित्रिएको छ, त्यो रेमिटयान्स खाडी मुलुकबाट ज्यादा आएको छ या अन्यत्रबाट ? लेखाजोखा हुन आवश्यक छ ।
तर प्रतिभाहरू पलायन हुनाले देशमा ‘ब्रेन ड्रेन’ को समस्या नराम्ररी झेल्नु पर्ने भइरहेको छ। नेपालमा भन्दा बाहिर गएपछि थाहा हुन्छ नेपालको ‘ब्रेन ड्रेन’ भएको कुरा । युरोपका विकसित मुलुकहरू पुगौं या अमेरिका, त्यहाँ पर्पाप्त नेपाली व्रेन प्रयोग भएको छ ।
गैरआवासीय नेपालीको अभियान सुरु भएको एक दशकको यात्रा पूरा भएको सन्दर्भमा यसका अभियन्ताहरुले यो वितेको दशकको राम्रै लेखाजोखा गर्नु पर्ने हुन्छ, आगामी सम्मेलन मार्फत । त्यसलाई सुधारेर लैजाने वा एकाध धनाढय नेपालीले सामाजिक तथा आर्थिक क्षेत्रमा गरेको लगानीलाई नै एनआरएन अभियान दाबी गर्ने हो भने यसको भविष्यप्रति प्रश्नचिन्ह खडा हुन्छ।
डा. उपेन्द्र महतो, जीवा लामिछाने, निरज श्रेष्ठ या शेष घले, दीपक खड्काले व्यक्तिगत रुपमा गरेको लगानीलाई एनआरएन अभियानसँग जोड्न मिल्दैन । उनीहरुले मात्र अब एनआरएन धान्न गाह्रो छ । नेपालको राजनीतिमा प्रवेश गर्ने मञ्चका रुपमा मात्र यो परिणत भयो र मञ्चलाई सरकारसँग वार्गेनिङ गर्ने शक्तिका रुपमा प्रयोग गरियो भने त्यो दुर्भाग्य हुनेछ।
(अधिकारीले गैरआवासीय नेपालीबारे ‘विदेशमा नेपाली, सफलताको कथा’ पुस्तक लेखेका छन्।)