साझा सवालको पछिल्लो भाग ‘बाँचेका मान्छेहरू’ धेरैले हेरे, नौलो र प्रभावकारी पनि थियो। त्यसमा उजेली नामकी वास्तविक चरित्रको एउटा साधारण प्रश्नले धेरैलाई रूवायो, धेरैलाई सोच्न बाध्य बनायो। यो हेरेपछि यसअघिनै मैले आफ्नो ब्लगमा ‘उजेलीको आँशु र दुई जादुको कथा’ भन्ने लेख लेखिसकेको छु। हेर्नुहोला।
केही दिनअघि मात्रै युवा जोस भएको, सहयोगी मन भएको, भर्खरै ६१ औं वसन्त पार गर्नुभएको सर्जन डा. सरोज धितालको एउटा पुस्तक विमोचन भएको छ, सकारात्मक विचार समेटेर उहाँले बेलाबेलामा लेख्नुभएका लेखहरू मिलाएर किताब तयार पारिएको भन्ने सुनेको छु, तर पढ्न भने पाएको छैन। पुस्तकको नाम भने मलाई खुबै मनपर्यो, ‘उज्यालाका बीउहरू।’
साझा सवालको यो भाग हेरेपछि धेरैले दुई तरिकाले सोचेको मैले पाएँ। एक जमातले चैं जनताको यो दु:खको सारा दोष भ्रष्ट नेता र कर्मचारीहरुलाई दिए र तिनैलाई गाली गर्दै आफ्नो मन शान्त बनाए (संयोग नै होला यसैबेला यी दुई देशकै भ्रष्टचारी नं १ भएको प्रतिवेदन पनि निस्कियो)।
अर्को जमात जुन केही गरौं भन्ने थियो, तिनले चैं उजेलीको दु:ख कम गर्न केही गर्नुपर्छ भन्ने त सोचे तर ‘पैसा छैन’, ‘मैले मात्र गरेर के हुने हो र’, ‘आफ्नो व्यस्तता छोडेर उजेलीको त्यो गाँउसम्म कसरी पुग्ने होला’, ‘गर्न त गर्ने के गर्ने कसरी गर्ने’ आदि भन्ने सोचे, र शायद अब केही दिनमा यो जमातको ठूलो हिस्साले त्यो आँशु पनि बिर्सनेछ र फेरि आफ्नो दैनिकीमा फर्कनेछ।
उजेलीको प्रश्नले मलाई पनि रूवायो, सोच्न बाध्य बनायो, ‘के हाम्रा केही प्रतिशत जनता सधैं नै गरिबीको रेखामुनी रहेर बाँच्नुपर्ने हो?, ‘यो दु:खको अन्त्य कहिले हुँदैंन?’ आफू स्वास्थ्य क्षेत्रमा भएकोले यहीँको दु:ख बढी देखिन्छ। अस्पतालमा यसै पनि हरेक विरामीको आफ्नै पीडाको कथा हुन्छ, झन दुर्गमको सरकारी अस्पतालमा त गरिब र असहाय विरामीसँग दिनदिनै साक्षातकार हुनुपर्ने हुन्छ। ‘के पैसा र पहुँचको अभावमा मान्छेले सही उपचार नपाएर ज्यान गुमाइराख्नुपर्ने हो?’ लाख, करोडको कुरा नगरौं, असाध्य रोगहरुको कुरा नगरौं, यहाँ केही हजार रूपैंया नभएर, ठाउँमा चिनेका र बोलिदिने कोही नभएर पुग्नुपर्ने अस्पतालसम्म पनि पुग्न सकिरहेका छैनन्, पाउनुपर्ने उपचार नि पाउन सकेका छैनन्। यो अवस्था कहिलेसम्म?
पैसा र पहुँच मात्रको अभावले कुनै पनि नागरिकले ज्यान गुमाउनु हुँदैन, दु:ख पाउनु हुँदैन भन्ने मेरो बुझाई हो। यसमा नेता र कर्मचारी वा अरू कसैलाई वा भाग्यलाई मात्र दोष दिएर बस्नुको सट्टा मैलेचैं तीन वटा काम गरेँ।
पहिलो,
पैसा र पहुँच नभएका विरामीहरू उपचारको लागि केन्द्रका (काठमाडौं, चितवन, बुटवल, भैरहवा, पोखरा, नेपालगन्ज आदि) अस्पतालमा काम गर्ने मेडिकल (डाक्टर, नर्स वा अरू कोही) र त्यही शहरमा बसोबास गर्ने नन-मेडिकल भोलेन्टियर साथीको एउटा समूह बनाऔं भनेर सोसल साइटमा आव्हान गरेँ। यी भोलेन्टियर साथीको काम भनेको त्यस्ता कुनै विरामी ती शहरका ठूला अस्पतालमा उपचारको लागि रिफर गरिएको बेला उनीहरुको उपचारको लागि सहयोग गरिदिने, बस्ने व्यवस्था मिलाइदिने, छिटोछरितो र सकेसम्म नि:शुल्क उपचारको लागि कुद्नुपर्ने ठाउँमा कुदिदिने, बोल्नुपर्ने ठाउँमा बोलिदिने, विरामीको एउटा साथी र संरक्षकको रूपमा रहिदिने हुनेछ।
योभन्दा पहिले पनि टिचिङमा एमडी गर्दाताका ट्विटरबाट केही हजार जम्मा गरी एउटी सुत्केरीमा देखिएको मुटुको रोग (Postpartum Cardiomyopathy) को उपचार गराएको थिएँ। उनलाई आइसीयू, सीसीयुमा नि:शुल्क भर्ना र उपचारको लागि म आफैं कुदेको थिएँ। आफू त्यहींकै रेजेडेन्ट डाक्टर हुँदा, पहुँच हुँदा, सबै कुरा थाहा हुँदा त त्यस्तो गाह्रो भएको थियो भने ती दुर्गम गाँउका, कहिले शहर नगएका त चाहेर पनि आफ्नो लागि बोल्न सक्दैनन्, त्यो भीडमा हराउँछन्। त्यसैले उनीहरूको साथी, विरामी र राज्यले तोकेको तिनले पाउनुपर्ने सुविधा, विरामी र तिनका स्वास्थ्यकर्मीबीच एउटा पुलको काम गर्नेछन्, हाम्रा भोलेन्टियर साथीले। उनीहरु ‘भ्वाइस टु द भ्वाइसलेस’ बन्नेछन्।
केही वर्षअघि हामी गाडीको बाटो भएर एउटा कन्फरेन्समा भाग लिन बंगलादेश गएका थियौं। भारत-बंगलादेशको बोर्डरमा दलालहरू बस्ने रहेछन्, जसले केही पैसा लिएर त्यहाँ गर्नुपर्ने सबै काम गरिदिने रहेछन्। तिनले हामीसँग पैसा लिए र सबै काम गरिदिएर बोर्डर पार गर्ने बेलामा पासपोर्ट हातमा दिएर पारीपट्टी देखाएर ‘त्यो हात उठाएको मान्छेलाई भेट, त्यसले सबै काम गर्दिन्छ’ भनेर पठाइदिए। काम त दलाली थियो, गैरकानुनी थियो, हामीलाई तिनले ठग्दै थिए, तर पनि केही थाहा नभएका हामीलाई त्यो नौलो ठाउँमा त्यसले धेरै सजिलो भएको थियो। राज्य, कानुन, व्यवस्था बलियो भएन भने जनताले दु:ख पाउछन् र यस्तै दलालहरुले सजिलो बनाइदिने नाममा ठग्न पाउछन्। पक्कै पनि हाम्रा धेरै सरकारी कार्यालयमा यस्तै दलालहरुको अनुभव धेरैले गर्नुभएको होला।
स्वास्थ्य क्षेत्रको अव्यवस्था, बोली र पहुँचका आधारमा मात्र राज्यले दिएका सुविधाहरू उपभोग गर्न पाउने हालको वातावरणको कारण गरिब र असहाय विरामीले भोग्नुपरेको पीडा र अन्योललाई केही कम गर्ने हाम्रो प्रयास रहनेछ।
दोस्रो,
त्यस्ता विरामीको उपचार सहयोगको लागि एउटा अक्षयकोषको स्थापना। सानो स्तरमा दर्ता नगरिएको र विश्वासका आधारमा सञ्चालन हुने भएकोले मैले आफ्नै नाममा एउटा नयाँ खाता खोलेको छु। ‘समीर लामा, खाता नं. ४४३००१६०५०१०, राष्ट्रिय वाणिज्य बैंक, विजुवार’। यसमा म लगायत केही साथीहरूले नियमितरूपमा हरेक महिना केही रकम जम्मा गर्ने निर्णय गरेका छौं। साथै कुनै बिरामीलाई सहयोग गर्नुपर्ने भएमा बेलाबेलामा सहयोगको आव्हान पनि गरिनेछ। त्यसरी जम्मा भएको सहयोग रकम सहयोगपछि बाँकी भएमा भविष्यमा अरू गरिब र असहाय विरामीको लागि प्रयोग गरिनेछ।
केही महिनाअघि ट्विटरबाट नै आव्हान गरी केही रकम जम्मा गरेर यहीं प्यूठानकै एक विरामी (मलद्वारबाट आन्द्रा बाहिर निस्केर अड्किएको समस्या /Complete rectal prolapse) लाई अप्रेसनको लागि चितवन पठाइएको थियो, उनको सफल अप्रेसन भईसकेको छ। त्यसपछि म कार्यरत अस्पतालकै केही विरामीको उपचारमा अफ्ठ्यारो पर्दा सानोतिनो खर्च पनि गरिरहेको छु। अझै पनि त्यती बेला उठेको केही रकम बाँकी छ, त्यो पनि त्यही कोषमा नै रहनेछ। यो व्यक्तिगत तवरमा सञ्चालन हुने भएकोले खर्चका पूर्ण विवरणहरू दिन अलि गाह्रो हुनेरहेछ, सकेसम्म कोशिश गर्नेछु तर यो पूर्ण विश्वासको रूपमा चल्ने कोष हुनेछ।
‘नेपालका जो पनि गरिब, जसलाई पनि सहयोग चाहिन्छ’ भन्नेहरू पनि होलान्। कसलाई सहयोग गर्ने कसलाई नगर्ने भन्ने निर्णय गर्नु गाह्रो काम हो र कसैको सिफारिस वा भनसुनका आधारमा मात्र त्यो दिइनु पनि हुन्न, त्यसैले मैले यो अधिकार अहिलेका लागि पूर्णरूपमा म आँफैंमा राखेको छु। कति विरामी गरिब त हुन्छन् तर उनको रोग यती बढी सकेको हुन्छ कि त्यसको उपचार खर्च लाखौं, करोडौंमा पुग्छ अनि कतिको त रोग पनि असाध्य बनिसकेको हुन्छ।
दु:खसाथ भन्नुपर्छ त्यस्तो विरामीको पूर्ण उपचारमा सहयोग गर्न हामी असमर्थ छौं। अर्थात थोरै सहयोगले उपचारमा धेरै फरक पार्ने र विरामीको जीवनको ‘क्वालिटी’मा नै फरक पार्ने अवस्थाहरुमा सहयोग गर्नु यो कोषको प्राथमिकतामा पर्नेछ।
तेस्रो,
उजेलीको खोजी। खासमा उजेली एउटा व्यक्ति होइन, उ त एउटा बिम्ब मात्र हो, एउटा प्रतीक मात्र हो। देशका हरेक कुनाका, हिमाल, पहाड, तराईका दु:खमा बाँचीरहेका नेपालीहरुको प्रतीक। त्यसैले जुन उजेलीलाई मिडियाले वा अरु कोहीले अगाडि ल्यायो, उसैलाई नै सहयोग गर्नुपर्छ भन्ने छैन। आफ्नो वरीपरी मनको आँखा खोलेर हेरौं, धेरै उजेलीहरू भेट्नेछौं।
मैले पनि खोजें र भेटें। उनी हाम्रो अस्पतालमा विगत केही सातादेखि आफ्नो दाहिने छाती (फोक्सोको बाहिर) मा जमेको पीप (Empyema Thoracis) को उपचार गराइरहेकी छिन्। उनको परिवारको कमजोर आर्थिक अवस्थाका कारण चाहेर पनि उनीहरु शहरका ठूला अस्पतालमा जान सकेनन् र ‘जे गर्न सकिन्छ यहीं गर्नुहोस्’ भने।
मसँग म आबद्ध संस्था एनएसआई (Nick Simons Institute) ले अस्पतालको स्तर उन्नतीको लागि भनेर दिएको केही कोष थियो त्यसैको सहयोगमा काठमाडौंबाट सामान मगाएर उनको छातीमा पाइप हाल्यौं, धेरै पीप निस्कियो, उनको स्वास्थ्य अवस्थामा धेरै सुधार आयो तर त्यसले पूरै सफा भने गर्न सकेन र अबको विकल्प काठमाडौं नै हो। उनको थप उपचारको लागि अहिले टिचिङ अस्पताल, महाराजगन्जमा पठाउने तयारी हुँदैंछ।
आर्थिक सहयोग गर्न सक्नुहुनेहरुले सहयोग गर्नसक्नुहुनेछ, नसक्नुहुनेले प्रार्थना मात्र भए नि गर्न सक्नुहुनेछ। अथवा परेको बेलामा स्वयंसेवकको रूपमा केन्द्रका अस्पतालहरुमा काम गर्नसक्नुहुनेछ। हामीसँगै आबद्ध भएर काम गर्नुपर्छ भन्ने पनि छैन, जहाँ हुनुहुन्छ त्यहीं रहेर आफ्नो वरिपरि यस्तै ‘उजेली’हरू खोज्न सक्नुहुनेछ, जसलाई आफ्नो मनले सकेसम्म र गोजीले धानेसम्म सहयोग गर्न सक्नुहुनेछ। त्यही नै उजेलीलाई वास्तविक सहयोग हुनेछ।
साझा सवालको ‘बाँचेका मान्छेहरु' भागले धेरैमा एउटा उज्यालोको बीउ रोप्यो, त्यसका लागि बीबीसी नेपाली सेवालाई धेरै धेरै धन्यवाद। अब हामीले आफूमा त्यो बीउको लागि उर्वर माटो दिऔं, बेलाबेला मलजल गरौं, गोडमेल गरौं, अनि त्यो उज्यालो छिट्टै नै लहलह भएर झुल्नेछ र तिनले अरु धेरै उज्यालाका बीउहरु फैलनका लागि तयार पार्नेछन्।
(डा .लामा प्यूठान जिल्ला अस्पतालमा कार्यरत छन्।)