सन् १८२० मे १२ मा फ्लोरेन्स् नाइटिंगेलको जन्मसँगै सुरू भएको आधुनिक नर्सिङ अहिलेको समयसम्म आइपुग्दा थुप्रै कोल्टे फेरेको छ।
नेपाल जस्तो विकाश्वन्मुख मुलुकमा पहिले गरिब, विधवा वा पिछडिएको वर्गले यस पेशामा संग्लग्न हुने चलन थियो, समयको परिवर्तन र मागसँगै अहिले सबै वर्ग, क्षेत्र अनि जातका युवाको आकर्षण नर्सिङ पेशामा बढेको छ।
यसको प्रमाण नर्सिङको प्रेवश परीक्षामा भएको विद्यार्थीको चापबाट प्रष्ट हुन्छ। वास्तविकरूपमा भन्नु पर्दा छिटो रोजगार पाउने अनि सेवामुखी पेशा भएर यसमा आकर्षण बढेको छ। आखिरमा के हो त नर्सिङ? यो यस्तो पेशा हो जसमा केही वर्षको पढाई अनि साथमा तालिमपछि कुनै पनि नर्सले आफ्नो पेशाको क्षेत्रभित्र रहेर बिरामीको सेवा गर्न सक्छन्। हामीले अस्पताल, स्वास्थ्य संस्था, स्वास्थ्य शिक्षण संस्थामा, सामुदायिक स्वास्थ्य कार्यलयमा वा जहाँ नर्सको आवश्यकता हुन्छ वा पर्दछ ती क्षेत्रमा गएर काम गर्न सक्छौं।
हाम्रो समाजले कुनै बेला ‘छि’ नर्स भनी हेला गर्थे आज यही समाज छोराको बिहे गर्न नर्स केटी खोज्दै हिड्न थालेको छ, वा छोरीलाई नर्सिङ पढाए राम्रो हुन्छ भन्ने भएको छ। यो परिवर्तन हाम्रा लागि सुखद् छ र राम्रो पनि।
हाम्रो पेशा सेवाको हो। रात, दिन, चाडवाड वा आफ्ना जीवनका महत्वपूर्ण क्षण होस् या कार्यक्रम केही नभनी हामी अह्रोरात्र विरामीको सेवामा खटिन्छौं। कसैको जीवनमा खुसी, शान्ति अनि निरोगीपना ल्याउनु जस्तो सुखद् अनुभूति सायदै नहोला। यस्तो पवित्र छ नर्सिङ पेशा।
गर्व लाग्छ मलाई आफूले आफूलाई नर्स भनेर चिनाउँदा। तर, हामीले हाम्रो फाँटमा सुधार गर्नुपर्ने कुरा धेरै छन्। मैले देखेको नर्सिङ पेशामा आफूले मेहनत गरेर सेवा गरेर एउटा मर्ने अवस्थामा पुगेको बिरामीलाई मृत्युको मुखबाट खोसेर जीवनको नयाँ मोडमा ल्याउनुको सन्तुष्टि त छदै छ तर काम गरेर अनुसारको इज्जत र माया नपाउँदाको खल्लो अनुभूति पनि छ।
हामीमा, अझै पनि हामीले यति दुःख गर्यौ, हामीले यस्तो गरेका थियौँ र अब तिमीहरुले पनि त्यस्तै गुर्नपर्छ भन्ने सासुबुहारीको जस्तो सम्बन्ध कायमै छ। अब पहिलेको जस्तो डाक्टरले जे भने त्यहीमात्र गर्नुपर्छ पर्ने वा कुनै कुरा सजिलोसँग गर्न सकिन्छ भने गाह्रो वा पहिलेको जसरी दुःखै गरेर गर्नुपर्छ भन्ने छैन। हामीसँग नर्सिङको माथिल्लो तहसम्म पढेको जनशक्ति छ। हामी सबैसँग मिलेर कार्यहरु सहजतरिकाले गर्न सक्छौं। हाम्रो पेशा आफैमा आत्मनिर्भर भएको पेशा हो। जसले गर्दा हामी कसैको अन्डरमा काम गर्नु पर्ने बाध्यता हटेको छ। हामी एकअर्काको खुट्टा तान्ने प्रवृति अनि आग्रह र पूर्वाग्रहबाट पछाडि हट्न सक्यौं भने हाम्रा लागि अझ फाइदा हुन्छ।
समस्या सबै क्षेत्रमा हुन्छन् तर नर्सिङ पेशामा अझ बढि मौलाएको छ। एउटा नर्सलाई अन्याय पर्दा अर्की नर्स उसको लागि बोल्न डराउँछिन् किन भने अन्याय गर्ने हाकिम नर्सले यदि अन्य नर्स पीडितको लागि बोले भने उनीहरुलाई पनि दमन गर्ने प्रचलन व्याप्त छ। प्रशासनले दिएको विदा लिन पनि हाकिम नर्सलाई खुशी बनाउन सक्ने क्षमता हुनु पर्ने प्रचलन हावी भएको छ। नभए उनले पाउने विदा पनि खोसिदिन्छन्। अर्को समस्या भनेको च्याउसरी मौलाएका नर्सिङ कलेज, अनि लाखौँ लाख खर्चिएर पढेपनि जागिर नपाउने समस्या/ राजनीतिक अस्थिरता हुने हाम्रो जस्तो देशमा चाहिँने भन्दा बढि जनशक्ति उत्पादन हुनु नै प्रमुख समस्या हो।
लोक सेवा आयोगले खोलेको दर्बन्दीमा पनि आफ्नै विषयका विज्ञहरुले मुद्दा मामिला गरेर कयौँ पटक सातौँ तहका परीक्षा नै रद्द गराएका छन्। यस्तो स्थितिले निरास भएर, देशले लगानी गरेर उत्पादन गरेको जनशक्ति विदेशले प्रयोग गरिरहेको छ। यसको विकल्प भनेको सुधार हो, जुन हामी आफैबाट हुनु जरुरी छ। हामी सबै मिलेर एकले, अर्कोको खुट्टा नतानी यो पेशालाई अझ सुदृढ गराउनु जरुरी छ।
नर्सिङ कलेज सीमित हुनुपर्दछ, गुणस्तरिय शिक्षासँगै नर्सहरुमा राम्रो शिक्षा, कला र आचरण हुनु पर्दछ चाहे सिनियर होस् वा जुनियर। मन परेकालार्इ काखा अनि मन नपरेकालाई पाखा राख्ने प्रचलन हट्नुपर्छ, मान्छेको कार्यक्षमता अनुसार मुल्याङ्कन गर्नु पर्दछ कुरा अनुसार होइन।
अन्याय गर्नुभन्दा सहनु पाप हो त्यसैले हामी स्वयं कुनै ठाउँमा भोलिन्टियर कामा गर्नु भन्दा त्यसको विरोधमा उभिएर दबाब दिन सक्नुपर्छ।
यो सुन्दर सेवाको पेशालाई मन, वचन र कर्मले ओतप्रोत गराएर हामी हाम्रो जनशक्ति स्वदेश विदेश सबैतिर वाह् नेपाली नर्स भन्ने बनाउनु पर्दछ ताकी हामी अझ गर्वले भन्न सकौं कि हामी नर्स हो। मैले देखेको नर्सिङ पेशाको भविष्य सुनौलो छ मात्र हामी हाम्रो सङ्लोपनालार्इ जोगाइ राखौं कसैसँग आग्रह पूर्वाग्रह नराखौं अनि एउटालाई गाह्रो पर्दा अर्काले सहयोग गरौं। अनि नर्सिङ पेशालाई अझ सम्मानित बनाऔं।
(लेखिका वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा स्नातकोत्तरतहमा अध्ययनरत विद्यार्थी हुन्)