सन् २००५ मा नर्वेमा रहँदा नर्वेजियन साथी सिस्टन र उनको श्रीमान उलाभसँग मैले विश्वको सवैभन्दा उत्तरी भुभाग स्वालबार वा स्पिटस् बर्गेन आइल्याण्ड अर्थात आर्कटिकस्थित उत्तरी ध्रुवको बेसक्याम्पमा जाने निर्णय गरेँ।
उत्तरी ध्रुव ८९ डिग्रि उत्तर पर्छ भने यसको बेसक्याम्प ७९ देखि ८१ डिग्रिसम्म। विरलै नेपाली पुग्ने त्यो अद्भूत ठाउँको कल्पनाले म दिउँसै पनि सपना देख्थेँ। समुद्रको पानी जमेर बनेका हिउँका ढिस्काहरू, सेतो भालु वा पोलार बियर, एप्रिल २० देखि आकासमा २४ घण्टा सूर्य रहेर केही हप्तासम्म रातै नपर्ने अवस्था अनि हस्कि जातका कुकुरले हिउँको मरुभूमीमा तानेर एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने डग स्लेजिङ् आदि इत्यादि कुरा सोचेर म निकै उत्साहित हुन्थेँ।
तर, स्पिट्सबर्गेन आइल्याण्ड जानु करिव ३ दिनअघि अचानक सिस्टनको ८० वर्ष पुग्न लागेकी आमाको हृदयघात भयो र अस्पतालमा भर्ना गरियो । सिस्टन आमाकी एकमात्र सन्तान भएकोले मैले सोचेँ अब या त म एक्लै स्पिटस् बर्गेन आइल्याण्ड जानुपर्नेछ या हाम्रो छुट्टी नै रद्द हुनेभयो। तर, सिस्टनले छुट्टी रद्द नगर्ने वताइन्। मैले छक्क पर्दै सोधेँ, ‘अस्पतालमा एक्लै छोडेर जाँदा तिम्रो आमालाई नराम्रो लाग्दैन?’ उनले भनिन्,‘म अस्पतालमा बसेपनि मेरो त्यहाँ केही काम छैन। अस्पतालले नै मेरो आमाको अत्यन्त राम्रो उपचार र हेरचाह गर्छ। म अस्पतालमा हुनु र नहुनुमा खासै फरक पर्दैन।
अनि बल्ल बल्ल मिलाएको छुट्टीलाई अहिले छोडेँ भने अर्को छुट्टी पाउन मैले निकै समय कुर्नुपर्छ, त्यसैले म मेरो छुट्टी विगार्न चाहँदिन। मेरो आमासँग त म जतिखेर पनि फोनमा कुरा गरिहाल्छु नि। केही तलमाथि परे अस्पतालले खबर गर्छ म कुदिहाल्छु।’
मेरो साथीको कुरा सुनेर मलाई त्योवेला अलि अनौठो लागेको थियो। तर घुम्न जाने साथी पाएकोले म खुसी भएँ। अहिले यो कुरा सोच्दा बुढाबुढी र विरामीको जिम्मेवारी राज्यले लिएको कारणले न त विरामीलाई मेरो छोराछोरी र आफन्तले मलाई हेरेन, अस्पतालमा कुरेन भन्ने गुनासो न त विरामीका आफन्तलाई नै मैले विरामीको उपचार गर्न सकिँन वा एक्लै छोडेँ भन्ने हिनभावना।
माथिको प्रसंग मैले एकजना नेपाली कलाकार लक्ष्मी राणाको कथासँग जोड्न खोजेको हुँ। करिब ५० वर्षीया लक्ष्मी राणालाई अहिले बीर अस्पतालको किड्नी वार्डमा भर्ना गरिएको छ। लक्ष्मीको भनाइ अनुसार उनको एउटा किड्नी केही वर्ष अघि नै फेल भइसकेको छ र अर्को किड्नीले पनि राम्रो काम गरेको छैन। सानै उमेरमा आमाबाबु वितेपछि सानो भाईलाई लिएर आफ्नो जन्मथलो वीरगन्जबाट उनी काठमाडौं आइन्। नाच्ने र अभिनय गर्ने सीप भएकोले सानैदेखि कलाकारको रुपमा आफ्नो पहिचान बनाइन्। साथै पद्म कन्या क्याम्पसमा आइ.ए.सम्मको अध्ययन पनि गरिन्।
उनले नेपाल टेलिभिजन स्थापना भएपछि नेपालमा सम्भवतः पहिलो पटक बनेको टेलि सिरियल बाचा विर्सेको छैन, एक साँझ र चलचित्र मनकामना आदिमा पनि अभिनय गरिन्।
यसै क्रममा उनलाई पटक पटक जापानमा कलाकारको रूपमा काम गर्ने मौका पनि मिल्यो र केही पैसा पनि कमाइन्। अविवाहित लक्ष्मीको आफ्नो भन्नु भाइ एकजना मात्र भएकोले भाइको पढाई र कामका लागि धेरै लगानी पनि गरिन्, तर भाइले दिदीले लगानी गरे अनुसारको परिणाम ल्याउन सकेन। लक्ष्मीको पनि विभिन्न कारणले आर्थिक अवस्था कमजोर हुँदै गयो।
जापाजिन भाषा फररर बोल्ने लक्ष्मी करिव ७ वर्षअघि केही पैसा कमाउने उद्देश्यले फेरि जापान पुगिन् र कुनै एउटा कम्पनीमा काम गर्न थालिन्। तर दुर्भाग्य, जापान पुगेको करिब ८ महिनापछि एकदिन अचानक ढलिन् र साथीभाइले अस्पताल पुर्याए। अस्पतालले उनको एउटा किड्नी फेल भएको र किड्नी सम्वन्धी कडा रोग लागेको बतायो।
इन्स्योरेन्स् र कानूनी कागजातको अभावमा जापानको अस्पतालले मानवीय हिसावले गर्न सक्ने उपचार गर्यो र उनी नेपाल फर्किन्। नेपाल फर्केर वीर अस्पतालमा उनको किड्नी सम्वन्धी अप्रेशन भयो। उपचारपछि काठमाडौंमै डेरा गरी सानोतिनो काम गरेर गुजारा चलाउँदै थिइन् तर त्यो बीचमा भाइको पनि मृत्यु भयो। उपचार गर्ने र नियमित औषधी खाने पैसा भएन। त्यसमाथि गत वैशाखको भुकम्पले कीर्तिपुरमा उनी बस्ने छाप्रो डेरा पनि भत्कायो।
त्यसपछि उनको विचल्लीका दिन सुरू भए। बल्ल बल्ल कपनको कुनामा एउटा डेरा सरेपछि साथीभाइको सहयोगले खाने र बहाल तिर्ने खर्चसम्म जोहो गर्दै थिइन्। तर, गत कात्तिकदेखि सुरू भएको भारतीय नाकाबन्दीले उनको अवस्था अझै नाजुक बनायो। खाना पकाउने ग्यासको अभावले उनले कहिले कहीँ बाहेक करिब ४ महिना तातो भात खान पाइनन्।
त्यसमाथि जाडो महिना र लोडसेडिङले उनलाई थला पार्यो। अन्तमा घरको भाडा तिर्न नसकेर डेराबाट पनि निकालिइन्।
म करिब २ साताअघि काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलको तर्फबाट बंगलादेशमा आयोजना भएको ढाका इन्टरनेशनल फिल्म फेस्टिभलमा भाग लिन गएकी थिएँ। फेस्टिभल नसकिँदै मेरो घरबाट फोन आयो लक्ष्मी मेरो घरमा आएर बसेकी छिन् र उनको अवस्था साह्रै नाजुक छ।
घरकाहरू पनि आँतिएका थिए उनी तलमाथि पर्छिन कि भनेर। मैले फोनमै शरणमा आएकोलाई मरण गर्नुहुँदैन म नआउन्जेलका लागि उसको राम्रो हेरचाह गर्नू र जे खान्छु भन्छ दिनू भनेँ। तर, मलाई उसको अवस्था सम्झेर निकै चिन्ता लाग्यो र ढाकाबाटै मैले चिनेजानेका साथीभाइहरूलाई फोन गर्न थालेँ कसैले उसलाई कुनै आश्रममा राखेर उसको उपचार गरिदिन्छ कि भनेर। यो लक्ष्मीको समस्या होइन मेरो समस्या हो र लक्ष्मीलाई होइन मलाई सहयोग गरेको ठानेर सहयोग गर भनेर मैले साथीहरूसँग अनुरोध गरेँ।
कतिपय साथीहरूबाट आश्वासन पाएँ त कतिले हाम्रो आफ्नै समस्या छ यस्तो मामिलामा हात हाल्न सक्दिन भनिदिए। कतिले प्रहरी र केही ठाउँमा बुझ्न सल्लाह दिए। लक्ष्मीलाई चिनेजानेकामध्ये कतिले उसकै बुद्धिले गर्दा दुःख पाएको हो भने। तर, सबैको आफ्नै संसार र समस्या पनि छन् र समय अभाव छ भनेर मैले बुझेँ।
अनि लक्ष्मी जस्ता धेरै समय, परिस्थिति, प्रकृति, स्वास्थ्य अनि भाग्यले पनि ठगेका प्रशस्त मानिसहरू नेपालभरि नै छन् त्यसैले साथीभाइ र व्यक्तिले कसरी यो समस्या समाधान गर्ने? मेरो लागि लक्ष्मी साथी भएतापनि उसलाई नचिन्नेका लागि उनी पनि सडकमा बस्ने एकजना दिनदुःखी मात्र हुन्।
ढाकाबाट घर फर्केपछि उसको अवस्था देख्दा साह्रै नराम्रो लाग्यो । मुख, हात खुट्टा र सवै शरीर सुन्निएको थियो र उठेर बाथरुमसम्म जाने र आफैंले सिरक तानेर ओढ्न सक्ने अवस्थासम्म पनि थिएन्। त्यस्तो अवस्थामा मैले पनि उसलाई घरबाट निकालेँ भने उसलाई मैले केही दिनभित्रै मेरो टोल छिमेक वरिपरि मरिरहेको देख्नेछु त्यसैले जसरी पनि उसलाई कतै न कतै राख्ने र उपचारको व्यवस्था व्यवस्था गर्छु भनेर मैले चिनेकाहरूलाई फोन गरेँ र प्रहरीमा पनि खबर गरेँ।
अन्तमा डब्लु डब्लु जेका चन्दा बिष्ट र शुभेक्षा विन्दुकोमाध्यमबाट धापासीमा रहेको पवित्र सेवा समाजकी दिक्षा चापागाइँलाई सम्पर्क गरेँ र दुईजना साथीको सहयोग लिएर लक्ष्मीलाई त्यहाँ पुर्याएँ । पवित्र सेवा समाजमा रहेका बुढाबुढी र बालबालिकालाई देख्दा दिक्षाजीले जे गर्नु भएको छ त्यो सवैले गर्न सक्ने काम होइन भन्ने लाग्यो।
सरकारी जग्गामा बनेको सानो टहरामा सवैलाई सुत्ने ठाउँ नपुगकोले कतिपयले छतमुनि तर खुल्ला ठाउँमा सुत्नुपर्ने अवस्था थियो । त्यही ठाउँ पनि छोड भन्ने संकेत आइसकेकोले दिक्षाजीलाई अबका दिनमा कहाँ जाने भन्ने चिन्ता पनि थियो।
करिब ३ पेज लामो लक्ष्मीको जीवन कथा त्यहीँ बसेर लेखेर दिक्षाजीलाई बुझाएँ। दिक्षाजीले त्यहाँ राख्ने ठाउँ नै नभएपनि लक्ष्मीको कथा र अवस्थालाई देखेर नाइँ भन्नु भएन। अर्कोदिन पवित्र सेवा समाजले नै उनलाई वीर अस्पतालमा भर्ना गरिदिएको छ। म आशा गर्छु राम्रो उपचारले उनी ठीक हुनेछिन् भएन भनेपनि अलि आरामले मर्न पाउनेछिन्।
लक्ष्मी जस्ता अरू हजारौँ असाहयहरू अझै बाटामै छन्। न त उनीहरूले यो जाडो र नाकावन्दीको अवस्थामा न्यानो सुत्ने ठाउँ छ न त उनीहरूले तातो भात नै खान पाएका छन्। आफन्त, साथीभाइ र सहयोग गर्ने मन भएका व्यक्तिहरूले कतिन्जेल र कसलाई कसलाई सहयोग गर्ने? सवैको आफ्नै समस्या र बाध्यताहरू छन्। नर्वेको जस्तो सुविधा र व्यवस्था नभएता पनि राज्यकातर्फबाट लक्ष्मी जस्ताका लागि कमसेकम टाउको लुकाउने छानोको साथमा दुईछाक तातो भात खान पाउने अवस्था र उपचारको व्यवस्था गर्न के गर्न सकिन्छ भनेर सोच्नेवेला अझै भएको छैन र? यो गर्ने बेला भएको छैन भने मनमा साँच्चिकै करुणा भएकाहरूले चलाएका पवित्र सेवा समाज जस्ता संस्थाहरूलाई नै राज्यले वार्षिक बजेट दिने र सो रकमको सदुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्ने व्यवस्था गर्न सकिँदैन र?
यो विषयमा छलफल चलाउने र राज्यलाई घच्घच्याउने हामी नागरिकको पनि जिम्मेवारी होइन र?