निजामती सेवा राज्य सञ्चालनको स्थायी संयन्त्र हो। यसलाई अर्को शब्दमा स्थायी सरकार पनि भनिन्छ। निजामती सेवाले निभाउने भूमिकामा नै सरकारको सफलता वा असफलता निर्भर रहन्छ। समयको परिवर्तनसँगै संसारभरि नै सूचना प्रविधि लगायत सबै क्षेत्रमा आएको चामत्कारिक परिवर्तनले निजामती सेवालाई पनि प्रत्यक्ष रुपमा प्रभाव पारेको पाइन्छ। जसले गर्दा निजामती सेवा सञ्चालन प्रणालीलाई समयानुकुल परिवर्तन गर्नुपर्ने दबाब सिर्जना भएको छ।
आधुनिक सूचना प्रविधिलाई आत्मसाथ गर्नुपर्ने खाँचो छ। बदलिँदो सेवा प्रवाहलाई समेत ध्यानमा राख्दै अगाडि बढ्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त मागलाई सम्बोधन गर्न क्षमतावान जनशक्तिको सांगठानिक आवश्यकता महसुस हुँदै गएको छ। वर्तमान कार्यरत जनशक्तिको स्तरोन्नति तथा वृत्तिविकास गर्दै क्षमतावान व्यक्तिलाई आकर्षिक गर्दै संगठनमा प्रवेश गराउने कार्य नै अहिले निजामती सेवाको प्रमुख चुनौती हो।
निजामती सेवामा बजारका राम्रा जनशक्ति भित्र्याउन नसक्नु प्रमुख समस्याका रुपमा रहँदै आएको छ। अहिले पनि सरकारी विद्यालय र क्याम्पसबाट उत्पीडित जनशक्तिको मात्रै निजामती सेवा रोजाइको विषय बनेको छ। निजी क्षेत्रबाट उत्पादित अब्बल दर्जाको जनशक्ति निजामती सेवाप्रति आकर्षित हुन सकिरहेको छैन। अहिले पनि अधिकांश त्यस्ता जनशक्तिको रोजाई पहिलो विदेश र दोस्रो निजी क्षेत्र रहँदै आएको छ। राज्य संचालन गर्ने सेवामा बजारका गुणात्मक जनशक्ति भित्र्याउन नसक्दा निजामती प्रशासन चाहेजति गतिशील र प्रभावकारी हुन नसकिरहेको अवस्थामा यसको खास कारणको खोजी गरी त्यस्ता जनशक्तिलाई सेवामा आकर्षित गर्नेतर्फ ध्यान दिनु जरुरी र अनिवार्य देखिन्छ।
निजामती सेवामा राम्रा जनशक्ति आकर्षण हुन नसक्नुमा धेरै कारण छन्। कुनै पनि संगठनभित्र काम गर्न किन उत्प्रेरित हुन्छ भन्ने कुरा निजामती सेवाभित्र खोजी गर्नु आवश्यक छ, जुन हालसम्म गरिएन। न्यूनतम तलब तथा सेवा सुविधा, काम गर्ने वातावरण नहुनु, यसभित्र रहेको तहगत अहंकार र असमान सेवा सुविधा वितरण नै यसको प्रमुख कारण हो। सेवाभित्र रहेको कर्मचारीले आफ्नो आधारभूत आवश्यकता पनि परिपूर्ति गर्न नसक्ने सुविधाको कारण उसले सन्तुष्टि भएर संगठनभित्र प्रभावकारी सेवा दिएको देखिँदैन। नेपालको निजामती प्रशासन बाइसाइकल प्रवृत्तिको रहेको भन्ने गम्भीर आरोप लाग्ने गरेको पाइन्छ। किन कि निजामती सेवामा आफूभन्दा ठूलो तहका सँग अनावश्यक झुक्ने र तल्लो तहलाई पेलेर लाने प्रवृत्ति छ। निर्णय प्रक्रियामा तल्लो तहका कर्मचारीको राय समेटेको पाइँदैन। प्रतिभालाई भन्दा पदलाई बढी महत्व दिइन्छ।
सेवाको छनोट प्रक्रिया परम्परागत छ भने पाठ्यक्रम पनि वैज्ञानिक र व्यवस्थित हुन सकिरहेको छैन। सेवाभित्र पस्नुभन्दा पनि त्यसभित्र रहेको झन्झटिलो सरुवा बढुवा प्रणालीका कारण अब्बल दर्जाका नवयुवाको रोजाइमा निजामती सेवा पर्ने गरेको पाइँदैन। नीतिगत र सैद्धान्तिक अस्पष्टताले सेवा सञ्चालनमा समस्या छ । सेवा प्रवाह परिणाममुखी नभई प्रक्रियामुखी छ। युवा परिणाम चाहन्छन्, जो सेवाग्राहीमैत्री होस्। तर नेपालको निजामती प्रशासन ठीक यसको विपरीत चल्छ। त्यसकारण नेपालको कानुन दैवले जानुन् भन्ने भनाइको छाप सेवाग्राहीमा परिरहेको छ।
निजामती सेवा ऐनमा नेपालको निजामती सेवाको सन्दर्भमा राजनीतिप्रति तटस्थ तथा सेवाप्रति प्रतिबद्ध हुनेछ भन्ने व्यवस्था गरिएको पाइन्छ। तर कतिपय अवस्थामा विभिन्न नाममा राजनीतिकरण हुने गरेको सदावहार आरोप पनि लाग्ने गरेको पाइन्छ। क्षमतावान्, इमान्दार र लगनशील व्यक्तिलाई भन्दा पनि राजनीतिक झण्डा लिने व्यक्तिहरुले नै धेरै अवसर लिने गरेको आरोप पनि छ। यी फगत आरोप मात्रै नभई यसमा सत्य पनि हो। निजामती सेवामा भ्रष्टाचार, कामचोर, ठगी जस्ता आरोप पनि लाग्ने गरेको छ। राम्रा भनिने कार्यालयमा कर्मचारीको दौडधुप रहने गरेको पाइन्छ। स्रोतसाधनको चरम दुरुपयोग, लापरवाही तथा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बाक्लै छ।
अस्वस्थ कार्य वातावरण तथा निष्कृय अवस्थामा रहेको वृत्ति विकास प्रणाली नै नवयुवाको प्रवेशीको तगारो बनेको छ। उच्च पदस्थ कर्मचारीले आफूलाई मालिक ठानेर जे गरे पनि हुने र तल्लो तहका कर्मचारीलाई दासलाई जस्तो एकोहोरो काम गर्न बाध्य बनाउने प्रवृत्तिले सिंगो निजामती सेवालाई दूषित बनाएको छ।
निजामती सेवामा इमान्दार र नैतिकतामा रहने कर्मचारी पनि कमी छैनन्। सिंगो निजामती सेवालाई भ्रष्ट र सबै कर्मचारीलाई एउटै टोकरीमा राखेर गरिने विश्लेषणले कतिपय अवस्थामा समस्या सिर्जना गर्ने गरेको छ। त्यो आफैंमा गलत छ। तर राम्रा काम गर्नेलाई गरिने सम्मान र नराम्रा कामलाई दण्ड सजाय दिने प्रणाली व्यवस्थित बनाउनु पर्ने देखिन्छ। कर्मचारीको कार्यसम्पादन जस्तो महत्वपूर्ण विषयलाई कार्यालय प्रमुखको तजबिजमा छाड्ने व्यवस्थाले निजामती सेवाको छवि धमिल्याएको त छँदैछ त्यसमाथि कर्मचारीले कार्यसम्पादन गरेवापत १००% अंक प्राप्त गर्ने तर निज कार्यरत योजना परियोजनाको प्रगति जम्मा ५०% मात्र हुने जस्ता विडम्बनापूर्ण अवस्थाले कर्मचारीको मूल्यांकन पद्धतिको उपाहस भएको छ।
कामको आधारमा कर्मचारीको मूल्यांकन हुन सकिरहेको छैन। यसमा सुधार गर्नुपर्ने देखिन्छ। वास्तवमा निजामती सेवाभित्रको विकृतिको कारण नै नवप्रवेशीको रोजाइको विषय बन्न सकिरहेको छैन। अहिलेको २१ औं शताब्दीका युवाहरु सबै कुरामा फरक अनुभूति गर्न र गराउन चाहन्छन्। उनीहरु सैद्धान्तिक विषयभन्दा पनि व्यावहारिक अभ्यासलाई रचनात्मक बनाउने कुरामा भूमिका खेल्न चाहन्छन्। उनीहरु ठग र कामचोरभन्दा पनि चुनौतीपूर्ण काम गर्न चाहन्छन्। चुनौतीलाई अवसरको रुपमा परिणत गर्न चाहन्छन्।
काममा चौबीस घन्टा खटिन तयार हुने तर त्यसको निम्ति उपयुक्त वातावरण चाहन्छन्। निजामती सेवामा क्षमतावान युवालाई आकर्षित गराउने विषय त छँदैछ तर भएकालाई पनि सक्षम बनाउँदै लगिनुपर्छ। अहिले निजामती सेवामा ८० हजारभन्दा बढी जनशक्ति कार्यरत छन्। पुरानो जनशक्तिको अनुभवलाई पनि नयाँ ढंगबाट कामलाई रुपान्तरित गरिनु पर्छ। विभिन्न सेवा सुविधा वृद्धि गर्दै पुराना कर्मचारीहरुलाई ऐच्छिक अवकासको नीतिगत व्यवस्था गरी नयाँ जनशक्तिबाट प्रतिस्थापन गर्ने व्यवस्थाको विकास गरेमा मात्रै निजामती सेवा व्यावसायिक र प्रतिस्पर्धी हुने देखिन्छ।
नेपालको निजामती सेवामा दक्ष जनशक्तिको प्रवेश नगराएसम्म राज्य संचालनको विषय गतिशील हुन सक्दैन। राजनीतिक दलले देशको राजनीतिक नेतृत्व गर्छ भने निजामती सेवाले प्रशासनिक नेतृत्व गर्छ। तर प्रशासनमाथि नांगो हस्तक्षेप गर्ने र प्रशासकलाई दोषी चश्माले हेर्ने परिपाटीको अन्त्य गरी प्रशासनलाई आफ्नै गतिमा चल्न दिनु आवश्यक छ। निजामती सेवालाई आफ्नै सिष्टममा चल्न दिने नीतिगत र संस्थागत व्यवस्था गरेमा मात्र निजामती सेवा क्षमतावान नवयुवाको आकर्षणको विषय बन्न सक्नेछ।