अस्ति भर्खर मलेसियामा रहेका मित्रले मलाई म्यासेज गर्यो। ऊ कलेज पढ्दाको लंगौटीयार थियो। धेरै कालखण्डपछि भेट भएको थियो फेसबुकमा।
पश्चिम नेपालबाट राजधानी आएको सिधा, सरल र हँसिलो केटो। क्याम्पसमा ऊ धेरै आउँथेन हामी जस्तो। ऊ जागिर खान्थ्यो। यसर्थ कहिलेकाँही मात्र हाजिर हुन्थ्यो। तर पनि हाम्रा मन मिल्थे।
१८ वर्षकै उमेरमा ऊ बाउ बनिसकेको थियो। जिम्मेवारीको जोडले ऊ त्यतिखेरै कहिलेकाँही उदास देखिन्थ्यो। आज फेरि उसको बोलीमा उदासी देखियो।
उसले मसँग भाइबरमा कल गर्दै भन्यो, ‘म बरबाद भए। के गरौँ? लौन मलाई सहयोग गर्नुपर्यो।' भएको के रहेछ भने ६ वर्षअघि ऊ बाबु-आमा, श्रीमती, एक छोरा र किशोरी छोरीलाई छाडेर विदेश लागेको रहेछ। अहिले उसकी श्रीमतीले सासु-ससुरासँग बस्न नसक्ने, बस्न परे उसलाई समेत छाड्ने धम्की दिइछन्।
यता किशोरी छोरीले आफ्नी आमा परपुरुषसँग आउजाउ गर्ने भएकाले घरमा द्वन्द आएको भनेकी रहिछन्। यति कुरा गरिसकेपछि उसले फोनमै रूँला झै गर्यो। मैले सुझाउँने धेरै कुरा थिएन। यत्ति भने, ‘प्रहरीमा जाने, सम्बन्ध टुंग्याउने कुरा हाम्रो समाजमा त्यति उचित हुन्न। तपाईँ यतै आएर माम्लो मिलाउनुस् यार। मैले के नै पो जानेको छु र?’ अमिलो मान्दै मैले फोन राखेँ।
मैले थोरै शव्दमा उसलाई सुझाएँ तर नेपाली पुरूषका कथा, कुण्ठा र जिम्मेवारी मनमा अनेक तर्कना आए।
पुरूष टाक्सिएरै भएपनि आफ्ना जहान र बालबच्चाको रहर पूरा गर्न कसिन्छ। ऊ बालुवा बोक्छ, इँट्टा भट्टामा जोतिन्छ। गाडा तान्छ। गाडी चलाउँछ। तरकारी बेच्छ। वायरिङ गर्छ, वेल्डिङ गर्छ। कान्ला तास्छ। बाउसे गर्छ। हलो उचाल्छ, दाँदे पछार्छ। खसाल्छ। झुण्डिन्छ। बेरिन्छ। जमिनभित्र पस्छ। ओडारभित्र छिर्छ। बन्दुक बोक्छ। जुत्ता फाट्ने गरी ‘सल्युट’ ठोक्छ। बौद्धिक श्रममा पनि पुरुष अघि नै छ तर सबैजसो शारीरिक श्रमहरूमा सबैभन्दा अगाडि उभिन्छ।
‘खलाँसी' बन्छ। भरिया बन्छ। उ ‘एक्स्टेन्डेड’ रहरहरू पुरा गर्न/गराउन अपराधी र चोर समेत बन्छ। तर, हाम्रो समाज पुरूष जातिसँग यति अनुदार छ कि उसलाई सार्वजनिक रूपमा धक खुलाएर रुन समेत दिँदैन।
‘छोरो भएर पनि हेर, के लाज नभाको होला’ भनिदिन्छन्। हुतिहारा, जोइटिङ्ग्रे र लबस्तरो विशेषण जोडिदिन्छन्। तैपनि के त्यस्तो तत्व छ प्रकृतिसँग, पुरुष प्रायः हार मान्दैन।
ऊ घरमुली हो। केही अपवाद बाहेक समाजले उसलाई सदियौँदेखि त्यही स्थान दिएको छ। (जबसम्म बिहे गरेर स्त्री पुरुषको परिवारमा जाने चलन रहनेछ ,सम्भवतः त्यतिखेरसम्म पुरूषको हैसियत यही नै रहने छ।) उसको काँधमाथि आफ्नो बंश, गोत्र, थर या परिवारको मुल या सहायक जिम्मेवारी हुन्छ। उसलाई यो वर्ष राम्ररी पानी पर्यो कि परेन भन्ने चिन्ता हुन्छ। उसलाई बारी या खेत जोत्ने चिन्ता हुन्छ। दिनभरी गोरूसँगै खेतबारी छिर्छ। रंग्याउँछ पखेरो र पाटो। भलै ऊ बोकाको आकारको किन नहोस्, उसले आफ्नो आकारलाई बलजफित गोरुमा ढालेर जमिन रंग्याउनुपर्छ। किनभने दक्षिण एसियाली समाजले पुरुषलाई एउटा ‘अदृश्य धम्कि’मा बाँधेर राखेको छ युगौँदेखि,‘तँ मर्द होस्। तँ पुरुष होस्। तेरो जिम्मेवारी परिवारको पालन,पोषण विहाबारी र सुरक्षाको हो। तैँले जन्माएका बथानको मुल संरक्षण र व्यवस्थापनको कुनै पनि कमजोरीको जिम्मेवार तँ आफैं होस्।’
समाजका छोरा या छोरीहरू जब गलत बाटोमा लाग्छन्, प्रायः त्यहाँ बाउ, काका या दाई जोडिन आइपुग्छन्।
आजको समयको कुरा गरौं। उसको बधुले ऊ भन्दा कम पढे के भो? तर उसले थोरै पढेर हुँदैन। पुरूषले थोरै कमाएर हुँदैन। यदि श्रीमतीले कुनै जागिर गरेकी छन् भने इज्जत धान्नकै लागि पनि पुरूषले उनले भन्दा धेरै कमाउनै पर्छ।
बाँसका टाँगाजस्ता अग्ला केटाहरु होचा स्त्रीका ‘पोई' हुँदा ठिकै छ तर होचा र पुड्का केटाहरुलाई अग्ला स्त्रीहरु पटक्कै सुहाउन्नन्। महिला त दुब्लाउँदा नी त्यति नराम्रा देखिन्नन्, तर पुरुषले गमक्क मोटाउनुपर्छ। दुब्लाएको सुहाउन्न। सम्भवतः यही अदृश्य र अप्रतक्ष्य सामाजिक ‘ताप’ कै कारण पनि धेरै युवाहरु देश छाडेर अरबको रापमा बालुवा पेल्न तयार भएका होलान्।
तीनले पेलेको बालुवा र ढुंगाबाट यता तिल्हरी र मंगलसुत्र गलामा पहिरिन्छ। ओर्लन्छ त्यो पैसा बोर्डिङ स्कुलका एबीसीडी बनेर। छ त्यही पैसा भोजमा नाचेको। छ त्यही पैसा रंगीन र मत्ता बोत्तलहरुमा खनिएको। स्वदेशी पसिनाको विदेशी पैसा सुन्दर बँगैचा र आरसीसी बिल्डिीङ बनेर ठडिन्छ। भित्ता छोप्ने एलसिडी बनेर अपार्टमेन्टमा उत्रन्छन् पुरूषका पैसा। र पो त कलर्स, स्टारप्लस र लाईफओकेमा निरन्तर चलिरहेछन् अत्यासलाग्दा घरद्धन्दका भारतीय कथा श्रृंखंला।
कुनै समय म ‘प्लस टु’ मा ‘जेण्डर स्टडिज’ पढाउँथे। विद्यार्थीहरु सम्भवतः विपरित लिंगिप्रतिको आफ्नो आकर्षण र त्यसले निम्त्याएका केही परिघट्नाहरुलाई आत्मपरक विश्लेषण गर्दै भन्थे, ‘सर साँच्चै महिला र पुरुषको सोचाइमै फरक हुने रहेछ हगि?’ म स्वमूल्यांकन गर्दै भन्थेँ, ‘अहँ त्यो भ्रम हो। पुरुष हुन् या महिला सबैका समस्या साझा हुन्। ती दुबै बाउआमाको मिलनको परिणाम हुन्। मेरो स्वभाव र अनुहारलाई नियालेर हेर्दा त्यहाँ मेरै बाआमा देखिन्छन्। प्रकृतिले दिएका केही ‘हर्मोनजन्य’ उतारचढावलाई छाडेर हेर्ने हो भने महिला र पुरुषमा केही पनि भेद हुन्न।’
मेरो विश्लेषण आज पनि त्यही छ। तर, यसो नियालेर हेर्छु केही ‘कृतिम र अपाच्य विश्लेषणहरु।’ पुरुषहरुले नै जन्माएका केही छोरीहरु एकाध घट्नाको आड लागेर भनिरहेका भेटिन्छन्, ‘पुरुषको भूमिका केवल गर्भादान मात्र हो। पुरूष सबैभन्दा लुच्चा हो। पुरुष अमानुष हो। पुरुषले गर्दा संसार वर्वाद भइरहेछ।’ त्यस्तो हो र?
विवाह गरेर एउटी महिला पुरूषको घर प्रवेश गरेपछि उक्त पुरुष, उसको परिवार तथा उक्त स्त्री र उनको पूर्वपरिवारको दृश्य र स्वभावमा कायापलट हुन्छ। अस्तिभर्खरको पराया अब अर्कै घरको ऋणधन र सुखदुःखको भागी हुन पुग्छे। तर जब, त्यही स्त्रीसँग जोडीएर केही व्यवहारजन्य समस्या आउँछन्, त्यस्तो अवस्थाको सामना र व्यवस्थापन लोग्ने या ससुराले गर्नुपर्छ। सम्भव भएसम्म सबैसँग निहुरेर, घुर्सेर या फुर्क्याएर पारिवारिक मनोमालिन्य हटाउन धेरैजसो पुरुषले नै भूमिका खेल्छन्।
जब छोरा हुर्केर भोलि बुहारी भित्रिन्छन् ,त्यस्तो अवस्थामा धेरैजसो घट्नाहरुमा तिनै ससुराहरु बुहारीको पक्ष लिन्छन्। परिवारको वातावरण हार्दिक बनाउन पुरूष गम्भीर र रचनात्मक भूमिका खेल्छ। हाम्रा ‘बा पुस्ता’ का केही दिदीबहिनी बाल विधवा भएका र तिनलाई उनका आफ्नै दाई या भाइले परिवारमा ससम्मान ‘कोएक्जिस्ट’ गराएको देखेको छु। यस्ता सजिव र गौरव गर्न लायक दृष्टान्तहरु देख्छु र मनमनै गम खान्छु, ‘यी दाइभाईले इतिहासको त्यो कालखण्डमा कसरी व्यवस्थापन गरे होलान् बुहारी/भाउजु र नन्द/आमाजु सम्बन्धलाई? मेरो चिनोड रहन्छ, ‘यहाँ पनि पुरुषहरु नै निलकण्ठ बने होलान्।’
उसो त हजारौँ वर्षको ‘क्रमविकास’ ले हामी मानव जातिको स्वभाव निर्धारण गरेको छ। मान्छेको मात्र होइन, जब नेतृत्व, भौतिक परिश्रम र लडाईँ झगडाको कुरो आउँछ, त्यतिखेर जनावरमा समेत भाले शक्तिशाली देखिन्छ। देव, दैत्य र मानव इतिहासले पनि त्यही देखाउँछ तर इतिहासलाई हाँक दिएर महिला जाति आजको युगमा केही अघि बढ्न खोजेका छन्। तर यहाँ निर ख्याल रहोस्, आजको दिनमा इतिहासलाई हाँक दिने कदमहरुमा छोरीहरु आफ्ना प्यारा बाउहरुको सकृय साथ पाइरहेछन्। छोरीहरुलाई डाक्टर, ईन्जिनियर, शिक्षक, पाइलट, नर्स, आर्टिस्ट, राजनीतिज्ञ या लेखक बनाउन आमाहरुसँगै बाउ, दाई र भाईहरु पनि कस्सिएर लागेका छन् र पो त ‘नयाँ इतिहास’ लेखिँदैछ। र पो त, हेपिएका चेलीहरु आज चोला फेर्दैछन्। यो तारिफयोग्य कुरो होइन?
हाम्रो समाजको सोच-संरचना र युरोपियन अमेरिकन समाजको सोच–संरचना आकाश जमिनको झैँ छ।
वर्षौँ सँगसँगै बसेका जोडी र बाउआमा बनिसकेकासमेत क्याल्कुलेटर थिच्दै परिवारमा आफूले गरेको लगानीमा दुई रुपैयाँ तलमाथि भयो भनेर पाखुरा सुर्कन्छन्। रेष्टुरेण्टमा खाजा खान जाँदा लेाग्नेले आफ्नै र स्वास्नीले आफ्नोमात्र पैसो तिर्छन्। तर हाम्रोमा विवाह महिला र पुरूष दुवैका एउटा विशाल सामाजिक दायित्वका रुपमा बुझिन्छ। लोग्नेका सारा सम्बन्धलाई स्वास्नी र स्वास्नीका सारा पारिवारिक सम्वन्धलाई लोग्नेले निर्वाह गर्नुपर्छ। त्यसो हुँदा जुन अर्थमा फ्रान्स,बेलायत या अमेरिकाका महिलाका समस्याहरु छन्, त्यस्तै खालका समस्या नेपालमा छैनन्।
हाम्रा महिलाका समस्या पश्चिममा भन्दा बिल्कुल फरक छ किनभने होटलमा लगेर खाना खुवाउनेदेखि गरगहना खरिद, घरजग्गा खरिद र बालबच्चाका सबै दायित्व प्रायजस्तो हाम्रो समाजमा पुरूषकै भागमा पर्छन्। बरू समाजले ‘पेवा’ सुविधा महिलालाई नै दिएको छ।
महिलाले यो देशमा अति तनाव, यातना, विभेद र अत्याचार भोगे विगतमा। तर आज शिक्षा र आधुनिकताको उज्यालोले त्यो क्रमश कम हुँदै छ। ठीक यतिखर कानुनी विभेद र बढ्दो स्वतन्त्रताका कारण विस्तारै पुरुषहरू पीडित हुने क्रम सुरू भएको छ।
उदाहरण दर्जनौं छन् समाज र कोठामा। जस्तो कि पुरूषले सम्वन्ध विच्छेद गर्न चाहेमा श्रीमतीको स्विकृति मात्र होइन, अनेक झन्झट व्यहोर्नुपर्छ तर महिलाले चाहेमा सहजै लोग्नेको सम्पतिसहित सम्वन्ध विच्छेद गर्न मिल्छ। यो प्रावधान न्यायको सर्वथा बर्खिलाप छ तर यो विषयमा मिडिया र बौद्धिक समाजले उति चर्चा गरेझैँ लाग्दैन।
उल्टै ‘गोरा देश’ बाट आफ्नै चस्मा लगाएर, आफ्नै पुस्तक बोकेर सुकिलाजन नेपाल आउँछन्। उनीहरु आफ्नै दर्शन बोकेर ती यता आउँछन् र पृथ्वीको यो भुभागमा पुरूषले महिलाहरुलाई अतिसारो अत्याचार बोकेको एकोहोरो ‘मिथ’ रेकर्ड गरेर लिएर जान्छन् र महंगो र ‘ग्लिज्ड’ पेपरमा ती रिपोर्टहरु उतारेर ठूला होटलहरुमा बाचन गर्छन्।
अवश्य पनि हो, शारीरिक परिश्रमजन्य गतिविधिमा पुरूष शसक्त देखिन्छ, तर त्यति नै कमजोर छ ऊ ‘पुरुष जानित जैविक इच्छा’मा। त्यसको कारक हाम्रो समाजको यौनप्रतिको दृष्टिकोण पनि हो। मलाई कहिलकाँही लाग्छ, हुर्केका महिला र पुरुषहरुको भेट र निकट सम्वन्धहरुमा सारै चियोचर्चा र सम्वन्धमा नियन्त्रण गर्नुको साटो हाम्रो समाजले पनि पश्चिमाहरुको जस्तै विवाह पूर्वनै केटाकेटीहरुलाई आफूले रुचाएकाहरुसँग साथसाथै बस्न दिने हो भने हाम्रो समाजको दृश्य कस्तो हुन्थ्यो होला?
त्यतातर्फ पनि समाजमा हल्का बहस त सुरू भएको छ तर यो संक्रमणमा पुरूष निरिह र टिठलाग्दो देखिएको छ। विचरा लोग्नेमान्छे।
लेखक आस्था विगत आधादशकदेखि काठमाडौको एक सामुदायिक क्याम्पसमा प्राध्यापन गर्छन्।