भूकम्पपछिका प्रत्येक महिना म बारपाक पुगेको छु। त्यही क्रममाः गत आइतबार र सोमबार पनि म बारपाक बसेँ। बारपाक पुगेपछि पहिले र अहिलेको गाउँको तुलना गरिन्छ। पहिले एकैनासका घर र ढुङ्गैढुङ्गा छापेका गल्लीहरु थिए। भूकम्पले गाउँको नाम, निशासना मेटिदियो। मुहार बदलियो।
भूकम्पले भत्काएका भौतिक संरचना हटाएर नयाँ संरचना निर्माणको तयारीमा बारपाकी देखिन्छन्। तर, किन–किन पुनःनिर्माणमा जुट्न सकेका छैनन्। १४ सय ५७ घरधुरीमध्ये पाँच प्रतिशत भूकम्पपीडितले मात्रै पक्की टहरो बनाएका छन्। बाँकी भूकम्पपीडित जसोतसो जीवन गुजारिरहेका भेटिन्छन्।
एउटा छुट्टै निराशाले बारपाकीलाई घेरेको छ। सरकारले एकीकृत बस्ती बिकास गर्ने भनेपनि फटाफट काम सुरु गरेको छैन। नयाँ घर बनाएमा मापदण्ड बिपरीत हुने डर छ भने अर्कातिर त्रिपालले बेरेका टहरोमा दिनरात कटाउन मुश्किल परिसक्यो। बारपाकबासीले असिनापानी, हिमपात र हावाहुरीको डर चैत्र, बैशाखसम्म खेप्नुपर्नेछ। भूकम्पपछि डब्लुएफपीको सहयोगमा सप्रोसले कामका लागि खाद्यान्न कार्यक्रम लागू गर्यो। काम गरेर दाल, चामलको जोहो हुने भएपछि गाउँलेहरु धमाधम सडक खन्न तयार भए। अहिले गाउँभरि सडकै सडकले घेरिएको छ। भूकम्पपछि बारपाकमा विकास भयो भन्नेहरु पनि छन्। अर्थात्, बारपाकमा ‘रिङरोड’ बनेको छ। वडा, वडामा सडक पुगेको छ। अझै बारपाकीहरु घरघरै सडक पुर्याउन चाहन्छन्।
बारपाकीलाई मागेर खानुपर्ने, लगाउनुपर्ने रहर पटक्कै छैन। तर, राहत थाप्न थुन्से बोकेर हिड्नेहरु प्रशस्तै भेटिन्छन्। को पहिले राहत बाँडेको क्याम्प पुग्ने र राहत लिएर टहरा फर्कने भन्ने प्रतिस्पर्धा जस्तै देखिन्छ। कोरिबाटी, मेकअप गरेका र तन्नेरी तिग्रेहरु पनि राहतको लाइनमा हुन्छन्। लाग्छ–गाउँमा अझै ठूलो बिपद् छ। बारपाकीहरु अल्छि भएका छन्। जसरी पनि राहत पाउनुपर्ने अडान लिन्छन्। त्यो रातो कार्ड नभएको बाहना होस् वा कमाउने कोही छैनन् भन्ने बाहनामा। एक न एक बाहनामा राहत थाप्छन् उनीहरु। यस्तै हो भने भित्रीबारीमा पाती फूल्ने मानिसहरु भूकम्पपीडितको नाउँमा राहत थाप्न लाइन बसेको हेर्नुपर्नेछ। त्यस्तो हुनबाट बचाउन सरकारले छिट्टै राहत सामग्री वितरणमा रोक लगाउनुपर्ने देखिन्छ। जाडोमा कम्मल, ज्याकेट, टोपी र पछ्यौरा बाँड्ने गर्मीमा पङ्खा, पातलो कपडा बाँड्दै जाने हो भने हैटीको हाल हुनेछ।
वास्तविक पीडितहरु अझै पीडित छन्। जसको घर भत्किएको छ उनीहरुले रातो कार्ड पाएका छैनन्। कार्ड नभएपछि सरकारी राहत र एनजीओको राहत पनि उनीहरुले पाएनन्। बारपाकमा काम गर्दै आएको केयर नेपालले रातो कार्डको सट्टामा केयर कार्ड बनाएर राहत बाँडेको छ। चिसोले बिचल्लीमा परेका भूकम्पपीडितलाई केयर कार्डकै आधारमा न्यानो कपडा बाँडियो। केही मानिसहरुले फटाफट घर बनाएका छन्। भूकम्पछिको नयाँ घर तल्लो तलामा चारैतिर गाह्रो र माथिल्लो तलामा काठपातको प्रयोग गरिएको छ। सरकारी अनुदान आउने बिश्वास नलागेर बारपाक–९ का धनप्रसाद घलेले दुई तले घर बनाए। गाउँलेहरुले दुई लाख पाइँदैन घर नबनाऊ भनेका रहेछन्। तर, उनले तीन लाख ऋण खोजेरै घर उभ्याइदिए।
भूकम्पपछि विस्थापित भएकाहरुलाई स्थापित गर्न नसक्दा समस्या थपिएको देखिन्छ। बारपाक–५ को ४० घरधुरीका दलितबस्ती–४ को जग्गामा बसेका छन्। उनीहरुको नाउँमा अब सुरक्षित जग्गा छैन। पहिलेको गाउँको भूगोल भूकम्पले चिराचिरा परेको छ। विस्थापित भएकाहरु सरकारले सुरक्षित ठाउँमा स्थापित गरिदिनुपर्ने माग गर्छन्। बारपाक ५ का उत्तम बिकले घर बनाउन अनुदान सहयोग गर्ने मात्र होइन पहिले सुरक्षित ठाउँको खोजी गरी विस्थापितलाई स्थापित गर्न सरकारसंग माग गरे। उनी मात्रै होइन ४० घरधुरीका दलित बस्तीलाई सुरक्षित ठाउँमा सार्नुपर्ने देखिन्छ। मानिसहरु नयाँ घर बनाएर बस्न चाहन्छन्। तर, आर्थिक अभाव, घरको नक्सा, सरकारी मापदण्ड र आफ्नो नाउँमा जग्गा नहुँदा घर बनाउन सकेका छैनन्। त्रिपालको बास छ।
भूकम्पपीडित बृद्धबृद्धालाई दमको रोग देखिएको छ। चिसोले गर्दा सुत्केरी, बालबालिका र महिलाहरु समस्यामा छन्। गाउँको स्वास्थ्य चौकीमा आवश्यकता भएजस्तो औषधि छैन। धन्न स्वास्थ्यकर्मी भेटिन्छन्। नीजि स्तरमा खुलेका मेडिकलमा पनि औषधि सकियो। चिसोले बिद्यालयमा विद्यार्थीहरु कम उपस्थित हुन्छन्। जसले गर्दा विद्यार्थीको पठनपाठनमा पनि समस्या छ। बारपाकमा दिनको २२ घण्टा लोडसेडिङ्ग छ। स्थानीय बीरबहादुर घलेको पहलमा ५० केभीए क्षमताको जेनेरेटर जडान गरेपनि नाकाबन्दीले गर्दा उत्पन्न इन्धन समस्याले डिजेल अभाव छ। बेलुकी ६ देखि ८ घण्टासम्म टहरोमा उज्यालो हुन्छ। बेलुकीपख विद्यार्थीहरुले पढ्न पाउँदैनन्।
भूकम्प गएको दश महिना हुँदासमेत खासै गाउँको मुहार परिवर्तन हुन सकेको छैन। गाउँलेहरु हाँसीखुसी जीवन निर्वाह गर्न सकेका छैनन्। पछिल्लो सयम लाप्राकमा परेको हिमपातले बारपाकीलाई फाइदा पुगेको देखियो। लाप्राकमा राहत बाँडेसंगै विभिन्न एनजीओ बारपाक पनि पुगे। भूकम्पपीडित भजाएर एनजीओको कमाउधन्दा राम्रोसंग फस्टाएको छ। भूकम्पपीडितलाई सधै माग्ने बनाउने र राहत बाँड्ने काम रोक्नुपर्छ । एकै दिनमा ८८ जना लाहुरे भर्ति भएको गाउँ बारपाकमा अहिले पनि युवाहरु धेरै बस्दैनन्। उनीहरु दुःखकष्ट सहेरै पनि बैदेशिक रोजगारीमा रमाएका छन्।
एनजीओको खेती मौलाएजस्तो भूकम्पपीडितको जीवनमा खासै सुधार आएको छैन। केही बारपाकीहरु भने राहत लिँदालिँदा आत्तिएका छन्। आफूहरुले केही दिन नसकेको भन्दै उनीहरुले अर्काले दिएको खाँदा, लगाउँदा आयु घटेको समेत सुनाए। पुनःनिर्माण र नव निर्माणमा गाउँमा रहेका युवाहरुलाई सहभागी गराउनु पर्छ । भूकम्पपीडितहरु आशैआशमा बाँचेका छन्। उनीहरुलाई एकीकृत बस्ती विकासमा सहभागी गराएर मापदण्ड अनुसार घर निर्माणमा लगाउनुपर्छ। आफ्नो घर अर्काले बनाइदिन्छ भन्ने सोचबाट जहिलेसम्म बारपाकीहरु मुक्त हुँदैनन् तबसम्म गाउँको बिकास हुन सक्दैन। एउटा छुट्टै अठोट र बिश्वासका साथ नेपालकै ठूलोमध्ये गाउँ बारपाक पुनःनिर्माणमा जुट्नुपर्छ । त्यसका लागि सरकारी सहयोगको आवश्यकता छ ।
पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो बारपाक। बारपाकीलाई गाउँमै होमस्टे प्रबद्र्धन, पर्यटन प्रबद्र्धन, घरेलु तथा साना उद्योगमा रोजगारीको सु–अवसर दिएर मेहेनती, परिश्रमी बनाइ गाउँ बिकासमा लगाउनु पर्ने आबश्यकता छ।