गणेशमान सिंह अभिमानका धनी थिए । राजा वीरेन्द्र र बीपीको भेटपछि गणेशमानले बीपीलाई सोधेका थिए, ‘राजाले तपाईंलाई तिमी भनेर सम्बोधन गर्यो कि तपाईं भनेर?’ बीपीले यसको स्पष्ट जवाफ दिएनन् र भने, ‘हामी राजाले सबै जनतालाई तपाईं भनुन भनेर लडाई लडिरहेका छौं गणेशमानजी, त्यसकारण मलाई उनले के भने भन्ने कुराले महत्व राख्दैन ।’
बीपी र गणेशमान सिंहबीचको यही सम्बादले मात्र पनि गणेशमानको अभिमानी चरित्र बुझ्न सकिन्छ । उनी हरेक नेपाली स्वाभिमानभन्दा पनि अगाडि बढेर अभिमानको अनुभूति गर्न सक्ने अबस्थामा पुग्नु पर्छ भन्ने मान्यतामा दृढ थिए । जनताको स्वाभिमानको सम्मान नगर्नेहरुसँग उनी सधै लडिरहे । नेपाली राजनीतिमा उनको बिशेषता गिन्ति गर्ने हो भने उनी लौहपुरुष थिए, वीर थिए । अभिमानी थिए । त्यागका प्रतिमूर्ति थिए । लोकतान्त्रिकिकरण र लोकतान्त्रिक संघर्षका कमाण्डर थिए । क्रान्ति अनी निरन्तर क्रान्तिका पक्षपाती थिए ।
उनलाई राणाहरुले क्रुर यातना दिएको र त्यो यातनाबाट उनले खोजेका मुक्तिका प्रसंगहरु अहिलेको पुस्ताका लागि किंवदन्ती लाग्न सक्छन् । पाइखानाको सेफ्टी ट्यांकीबाट भागेर जेल मुक्त भएका उनका कथा हुन् वा राणाहरुको सयांै कोर्रालाई सहेर यातना दिनेहरुलाई नै थकाएका सन्दर्भ हुन्, काल्पनिक कथाका किंबदन्ती सरह छन् । तर उनले जनताको अभिमानपूर्ण बाँच्न पाउने अधिकारको पक्षमा आफूलाई दृढतासाथ उभ्याए । यसै विशेषताका कारण गणेशमान सिंहलाई लौहपुरुष(फलामले बनेको शरीर¬ सहितको पुरुष) भनियो । बीपीले गणेशमान सिंहका बारेमा एकपटक भनेका छन्, ‘गणेशमान सिंह यति अडान राख्नु हुन्छ कि रेलको लिकमा उहाँ उभिएको अबस्थामा रेल आयो भने आफूले रेललाई बाटो छाड्ने हैन, रेलले आफूलाई बाटो छाडिदिनु पर्छ भन्नुहुन्छ ।’ उनीप्रतिको यो टिप्पणीले उनी लडाइँ र आफ्नो मान्यताको पक्षमा उभिदा जस्तो सुकै अबरोधको पनि सामना गर्न तयार रहन्थे भन्ने देखाउँछ । यही चरित्रले नै उनलाई वीरपुरुषको संज्ञा दिलायो ।
२०४६ सालको परिवर्तनपछि राजाले अन्तरिम सरकार निर्माणका सम्बन्धमा उनीसँग कुरा गर्दा तिमी भनेर सम्बोधन गरेपछि उनले त्यसको प्रतिवाद गर्दै भनेका थिए, ‘मैले नेपाली जनताको प्रतिनिधिको हैसियतमा सरकारसँग कुरा गर्दै छु, त्यसकारण मेरो पनि इज्जत छ सरकार ।’ यो प्रतिवादपछि राजाले गणेशमानलाई तपाईं भनेर सम्बोधन गरेका थिए । उनको अभिमानको यो अर्को उदाहरण हो ।
त्यागी चरित्र उनको अर्को महान गुण हो । गणेशमान सिंहलाई ०४६ सालको आन्दोलनपछि प्रधानमन्त्री पद अस्वीकार गरेका कारण मात्र उनलाई त्यागी भनी ब्याख्या गर्ने गरिएको पाइन्छ । तर, उनी सधैं त्यागी नेताका रुपमा रहँदै आए । बीपीका समकालीन र बीपीपछिको हैसियतमा रहेको भए पनि उनी कहिल्यै पदमा जाने रहर गरेनन् । एकपटक सुवर्ण शमशेरसँग पार्टी सभापति पदमा चुनाव लडेर पराजित भएको बाहेक उनी पार्टीको पदीय जिम्मेवारीका आकांक्षीसमेत देखिएनन् । किशुनजी कार्यबाहक सभापति बनाइए, परशुनारायण चौधरी र गिरिजाप्रसाद महामन्त्री बनाइए, २०३६ ताका जनमतसंग्रहको प्रचारका क्रममा बीपीले ‘भावी प्रधानमन्त्री परशुनारायण चौधरी’ भन्दै भाषण गरे । तर, गणेशमानले कहिल्यै चित्त दुखाएको अथवा आफूलाई कुनै भूमिकामा स्थापित गराउन आग्रह गरेको पाइएन । त्यसक्रममा उनी कहीँ असन्तुष्ट भएको पनि देखिँदैन । त्यसकारण ०४६ पछिको उनको प्रधानमन्त्री नबन्ने निर्णय अस्वाभाविक थिएन, उनको मौलिक चरित्रको एउटा प्रस्तुति मात्र थियो ।
गणेशमा सिंहको अर्को विशेषता भनेको लोकतान्त्रिकरण र लोकतान्त्रिक संघर्षको कमाण्डरका रूपमा सधै रहनु हो । नेपालका कम्युनिष्टहरुलाई उनले नै पहिलोपटक लोकतान्त्रिक आन्दोलनमा ल्याएका हुन् । कम्युनिष्टहरुको लोकतान्त्रिकीकरणमा उनको यो ठूलो योगदान हो । कतिले यो भूमिकालाई बीपीको लाइन छाडेको भनेर सतही व्याख्या पनि गरे । तर, ‘प्रजातन्त्र स्वीकार्ने भए हामीसँग आऊ, अन्यथा सहकार्यको अर्थ छैन’ भन्ने बीपीको लाइनको निरन्तरता नै थियो, गणेशमान सिंहको यो भूमिका । बहुदलीय प्रजातन्त्र, संसदीय व्यबस्था र संबैधानिक राजतन्त्रका पक्षमा कम्युष्टिहरुलाई सहमत गराएर नै ०४६को आन्दोलनमा गणेशमान सिंहले कम्युनिष्टहरुलाई ल्याएका थिए । यसैकारण उनी प्रजातान्त्रिकीकरण र प्रजातान्त्रिक संघर्षका सधै अगुवा नेताका रुपमा स्थापित छन् । नेपाली जनताबाट सवतस्फूर्त रुपमा ‘प्रजातन्त्रका पिता’ (फादर अफ डेमोक्रेसी) को उपाधि पाउनु चानचुने कुरा थिएन । गणेशमानको त्यही भूमिकाका कारण जनताले यो उपाधि दिएका हुन् । नोवेल पुरस्कार पाउनुपर्ने भनेर उनको पक्षमा पैरवी हुने* महत्वपूर्ण आधार पनि उनको यही छवि नै हो ।
गणेशमान सिंहको अर्को बिशेषता भनेको उनी निरन्तर क्रान्तिका पक्षमा उभिनु हो । क्रान्तिकारीको छवि बनाएका उनी सधैं तात्कालीन समयको माग बमोजिमको क्रान्तिको पक्षमा रहन्थे । आफूहरु क्रान्तिकारी बाटोबाट विचलित हुन्छौ कि भनेर उनी सधैं सचेत भइरहन्थे । बीपीले मेलमिलापको नीति ल्याउँदा त्यो मार्गले क्रान्तिको बाटोबाट अलमल पार्छ कि भनेर उनले बिपीसँग सुरुमा विमति पनि राखेका थिए । पछि ‘क्रान्तिको स्वरुप र चरित्र सधैं एक हुँदैन’ भन्ने कुरामा ‘कन्भिन्स’ भएपछि उनले यो नीतिको पक्षमा आफूलाई दृढतासाथ उभ्याए । जनमतसंग्रहको परिणाम स्वीकार्दा पनि क्रान्तिको बाटो त्यागेको हुन्छ कि ? अर्थात पञ्चायत बिरुद्धको क्रान्तिको नैतिक आधार समाप्त हुन्छ कि भनेर उनी सचेतताका साथमा बीपीसँग संवादमा उत्रिएका थिए । ‘परिणाम नस्वीकार्दा क्रान्ति नै अराजकतामा परिणत हुने खतरा र बहुदलको पक्षमा खसेको मतको सम्मान गर्ने नैतिक आधार समेत गुम्ने’ तर्कमा सहमत भए पछिमात्र उनी परिणाम स्वीकार्ने पक्षमा उभिए ।
०४६को परिवर्तनपछि पनि उनले ‘क्रान्ति सकिएको छैन’ भन्ने खबरदारीका साथमा आर्थिक क्रान्ति र समाबेशीताको पक्षमा बलियो आवाज उठाए । उनको यो ‘स्प्रिट’लाई कांग्रेसी सरकारले बुझ्न नसकेको भान भएपछि उनी कांग्रेससँग असन्तुष्ट भई बाहिर बसेरै देशको सेवा गर्ने निर्णयमा पनि पुगे । तर, क्रान्तिकारी छवि ओझेल पर्न दिएनन् ।
उल्लेखित बिशेषता र मौलिकताका साथमा नेपाली राजनीतिमा आजीवन क्रियाशील रही नेपाली जनताका नेताका रुपमा रहेका उनका बिशेषताहरुको सम्मान भनेको ती बिशेषताहरुको अनुशरण नै हो ।
समकालिन नेपाली राजनीतिमा देखिएको बिसंगतिको एउटा महत्वपूर्ण कारण दलहरुका बीचको अविश्वास हो भने अर्को पद र शक्ति प्रतिको आशक्ति हो । यस्तो अबस्थामा हामीले लौहपुरुष गणेशमान सिंहको स्मरण गर्दै उनले देखाएको बाटो पछ्याउँदा देशप्रतिको दायित्व निर्वाह गरेको ठहर्ने छ । उनको अर्को अनुसरण गर्ने कुरा भनेको व्यक्तिगत चाहनालाई केन्द्रमा राखेर निर्णय गर्नुभन्दा आफ्नो लक्ष्य प्राप्तीको मार्गलाई अझ बल पुग्ने गरी निर्णय लिने चरित्र नै हो । बीपीका सच्चा अनुयायीका रुपमा गणेशमान सिंहले आफुलाई प्रयोगात्मक रुपमा समेत स्थापित गरेका छन् । उनको यो चरित्र आजको अर्को आबश्यकता हो । अस्वाभाविक सम्बन्ध राखेर सत्ता स्वार्थमा लिप्त बर्तमान नेतृत्वलाई गणेशमान सिंहको स्मृति दिवसले देश र जनतालाई केन्द्रमा राखेर निर्णय लिन र स्वार्थ त्याग्न प्रेरणा देओस् । सर्वोच्च नेता सिंहप्रति हार्दिक श्रद्धाञ्जली ।
*नोबेल पुरस्कार पाउनुको आधार भएकामा सच्चाइएको।