चार्ल्स डार्बिनले प्रकृतिको अध्ययन गर्ने क्रममा भनेका थिए, “जब प्रकृतिले आवश्यकता भन्दा बढी कुनै वस्तुको महसुस गर्छ त्यसपछि कुनै पनि प्रलयबाट त्यसको न्युनीकरण गरिदिन्छ।” डार्विनको भनाईलाई हेर्ने हो भने नेपालको भूमीलाई यहाँको जनसंख्या आवश्यकताभन्दा बढी भयो। डार्बिनको भनाईमा सत्य असत्य जे भए पनि मानिस आफ्नो जीवनकालमा बाच्नैका लागि चौबिसै घण्टा हरेक वस्तुसँग पौठेजोरी खेल्छ अन्ततगत्व प्रकृतिको लडाईसँग उ सधै नराम्रोसँग पछारिने गर्छ। यस्तै दुर्भाग्य आइलाग्यो नेपालीलाई बैशाख १२ गते ११: ५६ मिनेटमा।
गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पले अर्बौंको क्षतिभएको छ। सम्पूर्ण राष्ट्र अझै शोकमा डुबिरहेको छ। सिंङ्गो देश अझै पूर्णरुपमा तङ्ग्रिन सकेको छैन। ठुलो मानवीय र भौतिक क्षतिको तस्बिर हाम्रो मानसपटलमा ताजै छ। भूकम्पबाट घरबारविहीन हुनेको आफ्नै पीडा छ। सम्पूर्ण परिवार गुमाएर आफू एक्लै बाँच्दाका आङै सिरिङ्ग पार्ने यर्थाथ हामीमध्ये कतिले भोगिरहेका छौं।
भर्खरै सिन्धुपाल्चोकमा चिसोका कारण ७ जना भूकम्प पीडितको मृत्यु भएको छ, तिनै पीडितको कोटामा नेताका छोराछोरी विदेश सयर गरिरहेका छन्। नाकाबन्दी कारण चूल्हो बल्न छोडेको महिनौ भइसक्यो, च्याङ्लो लगाएर फ्याङ्लो खान समेत मानिसले पाउन छोडेको अवस्था छ। तराई जलिरहेको, जनआन्दोलन ०६२/६३ को भन्दाबढी मानिसले ज्यान गुमाइसकेको अवस्था छ, यस्ता सङ्कट र विपदको सामना गर्दै बाँच्ने र आफू नेपाली भएकोमा गौरव गर्ने नेपालीहरुमा सर्वप्रथम हृदयदेखि आभार नै छ।
संविधानलाई लिएर उत्पन्न परिस्थितीले पर्यटन क्षेत्र तहसनहस छ। हरेक राजनैतिक, आर्थिक, समाजिक लगायतका क्षेत्रमा भारतबाट निरन्तर सहयोग पाएको नेपालले हाल भने बैरीको भन्दा बढी दु:ख पाएको छ। इन्धन, खाद्यान्न, लताकपडा लगाएतका सम्पूर्ण वस्तुहरुमा भारतको भर पर्दै आएको नेपाललाई नाकाबन्दी जस्तो अमानवीय व्यवहारले घरको न घाटको बनाएको छ। पर्यटकलाई यस्तो लाग्छ– जब म नेपालभित्र झिर्छु, नेपाल फुत्त बाहिर निस्कन्छ, नेपालभित्र सबैथोक छ तर नेपाल छैन।
साँच्चै नै पर्यटकहरु नेपाल छिर्न बित्तिकै उनीहरुले देख्छन् सहजरुपमा सवारी गुडेका हुन्छन्, सहज रुपमा जुनसुकै वस्तुहरु पनि पाइन्छ तर १५ रुपैँयाको चाउचाउलाई ४५ रुपैंया तिर्नुपर्छ। अनि सोच्दछन् सबैथोक छ तर सरकार छैन। यदी सरकारले मात्र यस्ता कालाबजारीयारुलाई नियन्त्रण गर्ने हो भने पनि नाकाबन्दी र भूकम्पको खासै असर पर्यटन क्षेत्रमा देखा पर्दैन थियो।
हालसम्म पनि नाकाबन्दी खुल्ने कुनै सङ्केत देखिँदैन यद्यपी खुलाउनका लागि पनि खासै पहलकदमी भएको छैन। मलाई लाग्छ नेपालले अहिलेको सन्दर्भमा नाकाबन्दीलाई लिएर अन्तराष्ट्रियकरण गर्नु उचित हुँदैन थियो। भारत शक्तिशाली प्रजातान्त्रि मुलुक, नेपाल कम्युनिष्ट बाहुल्य मुलुक फेरि यसबेला सरकार पनि कम्युनिष्ट कै छ। युएन, इयुमा पनि प्रजातान्त्रिकहरुकै हालीमुहाली छ भने अर्कोतर्फ हाम्रो कुटनीति असाध्यै कमजोर छ। अन्तराष्ट्रिकरण गर्ने बित्तिकै हामीले नै जित्छौँ भन्ने छैन।
अहिले हामी दोहोरो बातचितमै छौं, जुनदिन दोहोरो बातचित बन्द हुन्छ त्यो दिन मात्र अन्तर्राष्ट्रियकरण गर्नु उचित हुन्छ। वास्तवमा संसार शक्ति मै अडिएको छ। अन्तराष्ट्रिकरणले पनि नेपालीलाई न्याय दिएन। यसबेला सम्पूर्ण देश नै सङ्कटपूर्ण अवस्थामा गुज्रिएको छ। जसबाट करोडौँको नाक्सानी देशले व्यहोरको अवस्था छ।
अब कुरा गरौं पर्यटनको। महाभूकप्पमा मात्रै पर्यटन क्षेत्रले २४,५७३.७० बिलियन नोक्सानी व्यहोरेको नेपालले नाकाबन्दीका कारण कति नाक्सानी भयो हिसाब गर्न समेत नभ्याएको अवस्था छ। अहिले भूकम्प र नाकाबन्दीका कारण पर्यटन क्षेत्रमा दिन दुगुना रात चौगुना क्षति पूगेको अवस्था छ।
यसको क्षतिप्रतक्ष्य रुपमा पर्यटन व्यवसायमा समेत परेको छ। भूकम्पले जति पर्यटन क्षेत्रमा क्षति पुर्याएको छ त्यति नै मात्रमा नाकाबन्दीले पनि अर्थतन्त्रमा क्षति पुर्याएको छ। बिडम्बना नै भन्नु पर्छ नेपाल आउने पर्यटकरुमा पनि सबैभन्दा बढी भारत बाटै आउँथे, अहिले सुन्य भएको छ। भूकम्पले जनधनको क्षतिमात्र हैन एउटा इतिहासको समेत अन्त्यगरिदिएको छ भने नाकाबन्दीले पनि त्यति नै मात्रमा अर्थतन्त्रमा क्षति पुर्याएको छ। पर्यटनका दृष्टिले अति महत्वपुर्ण मानिएको ऐतिहासिक धरोहर “धरहरा” नेपालका प्रथमप्रधानमन्त्री भिमसेन थापाले निमार्ण गरेका थिए। जसको अवलोकन गर्न दिनहुँ पर्यटकको घुइँचो लाग्ने गर्थ्यो। यस्ता महत्वपूर्ण विश्वसम्पदामा सूचीकृत नेपालका पाटन, भत्तपुर, काठमाडौं दरबार क्षेत्रलगाएतका स्थलहरु पनि क्षति भएको छ। र अन्य यस्तै धार्मिक तथा पर्यटकिय क्षेत्रमा समेत केही क्षति भएको छ। त्यसमाथि दुखेको आलो घाउमा नाकामन्दीले नुनचुक छर्ने काम गरेको छ। यसकारण पर्यटन व्यवसायमा प्रतिकुल असर परिरहेको देखिन्छ। जुन स्वभाविकै हो। नेपालका लागी पर्यटन व्यवसाय प्रमुख आयश्रोतमध्ये एक मानिन्छ। तर भूकम्प र नाकाबन्दीकाकारण ठूलो क्षति व्यर्होन पुगेको छ।
के के भए त पर्यटन व्यवसायमा क्षति?
विदेशीमुद्राको कमी
पर्यटकको आगमन जति बढ्छ त्यति मात्रामा विदेशी मुद्रामा बृद्धी हुन्छ। हामीले जति पनि विदेशी मुद्रा नेपाल भित्र्याउन सक्छौं। त्यति नै हाम्रो प्रतिव्यक्ति आयमा वृद्धी हुनजान्छ। नेपालको प्रमुख आय श्रोत मध्यको एक मानिने पर्यटन क्षेत्र र रेमिट्यान्स हो। तर यसबेला भूकम्प र नाकाबन्दी कारणले गर्दा पर्यटन क्षेत्रबाट विदेशी मुद्रा भित्र्याउन सकिरहेको छैन।
रोजगारीको अवसरमा कमी
नेपालमा पर्यटन व्यवसाय नै गरेर धेरै मानिसले आफ्नो दैनिकी टार्ने गर्दछन्। बिहान बेलुका मुखमा माड लाउन पनि काम गर्नु हामी नेपालीको बाध्यता हो। ठूलो मात्रामा पर्यटकहरु नेपाल भित्रिँदा आफ्नो व्यवसाय राम्रो भएर व्यवसायी पनि उत्साहीत हुन्थे। आफुले मात्र आफ्नो व्यवसाय चलाउन नभ्याएर थप अरु व्यत्तिले समेत रोजगार पाउँथे। नेपालमै रोजगारीको अवसर प्राप्त भएपछि विदेशिने युवाको जमातमा पनि कमी आउँथ्यो। तर न त अहिले नाकाबन्दीले गर्दा पर्यटक नेपाल आउन सकेको अवस्था छैन। त्यस्तै भूकम्पका कारण थप रोजगार दिने भन्दा पनि स्वयम् पर्यटन व्यवसायी आफैं बेरोजगार हुने अवस्था आएको छ।
दुर्गम क्षेत्रको विकास नहुनू
पर्यटकको भ्रमण क्षेत्र सुगम मात्र नभएर दुर्गम पनि हुने गर्छ। नेपाल आएका अधिकांश पर्यटकहरु हिमाल पारीका मनाङ, मुस्ताङदेखि लिएर ओलाङ्गचुङगोला र सोलु भ्रमण गर्दछन्। यसले यी क्षेत्रमा मात्रै विकास नभएर त्यहाँ पुग्नका लागी जाने बाटाका ठाँउहरुको समेत प्रतक्ष्य अप्रतक्ष्य रुपमा विकास हुन्छन्। आयआर्जनमा मात्रै नभएर शैक्षिक क्षेत्रमा समेत विकास हुन्छ। जस्तो कखरा नजान्नेले पनि काम चलाउ अङ्ग्रेजी बोल्न सिक्छ। अर्को तर्फ त्यस क्षेत्रका जनताका आवाजलाई समेत राज्यको केन्द्र सम्मल्याई घच्घच्याउन समेत सहयोग पुर्याउँछ।
यतिमात्रै होइन यस्ता अनेक क्षेत्रमा क्षति पुगेको छ। जस्तो की घरेलु उद्योगको विकास, सांस्कृतिक आदानप्रदान, सरकारी आय, विदेशमा नेपालको प्रचारको कमी, व्यापारमाकमी, कुलगार्हस्थ उत्पादनमा कमी, मानव संशाधनको विकासमा कमी जस्ता क्षेत्रमा नाकाबन्दी र भूकम्पले प्रतिकुल असर गरेको छ।
यसरी विनाशकारी भूकम्प र नाबन्दीले प्रतिकुल असर पार्नुका साथै सञ्चार माध्यमले समेत केही पर्यटन क्षेत्रमा प्रतिकुल असर पारेको पर्यटन व्यवसायीको गुनासो रहेको छ। भूकम्पपछि सञ्चार माध्यमले त्यसको बारेमा आमजनतालाई जानकारी गराउनु सञ्चार माध्यमको दायित्व हो। त्यतिबेलाको सञ्चार माध्यमको प्रस्तुति हेर्दा यस्तो लाग्थ्यो काठमाडौं खाल्डोमा ठाडो घर देख्नु यतिको खोजि गरेजस्तै हो। अधिकांश सञ्चार माध्यमले बिग्रेकका,भत्केका, लडेकाचर्केका, घर, मठमन्दिर देखाए तर करिब ९० प्रतिशत घरहरु त ज्युँका त्युँ नै थिए भन्ने देखाएनन्। यही विनाशकारी भूकम्पले नेपाललाई मसानघाट नै बनाएछ भन्ठानेर पनि विदेशी सञ्चार माध्यमको नेपालमा ओहिरो लाग्यो तर बिडम्बना उही भत्केका घरहरुको फोटो र समाचार देखाउनमात्रै प्रतिस्पर्धा भयो। अझैपनि यती घरहरु यस्ता पर्यटकिय स्थलहरु सुरक्षित छन् भनेर न त नेपाली मिडीयाले समाचार बनाए न त विदेशी! अनि कसरी हुन्छ पर्यटन प्रबर्द्धन?
त्यसैगरी नाकाबन्दी र तराइ आन्दोलनमा पनि मिडियाले नकरात्मक नै प्रचार गरेका छन्। अझ अनलाइन मिडियालाई त झन बढी दोष जान्छ। जस्तो कि रणभूमी बन्दै रौतहट, स्थिती सरकारको नियन्त्रण बाहिर जस्ता समाचारको हेडलाइनले के निर्दिष्ट गर्छ? त्यो हाम्रा मिडियाले बुझेर मात्रै सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्ने देखिन्छ। अनि मात्र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ।
यसरी सञ्चार माध्यमबाट यस्ता सामग्री प्रकाशन तथा प्रसारण गर्नाले नेपालको प्रमुख आयश्रोतमध्ये एक मानिएको पर्यटन व्यवसाय यतिबेलासम्म बामे सर्न सकेको छैन। अर्कोतर्फ सञ्चार माध्यमको दहीच्युरे भूमिका देख्दा आममसर्वसाधरण छक्क दङ्ग पर्दछन्। पहिला भूकम्पले तहसनहस छ भन्दै समाचार पस्कन होडबाजी गर्ने र हाल आएर कतिपय सञ्चार माध्यमले केही असर पारेको छैन भन्दै पर्यटन प्रवर्द्धन गर्न भन्दै नौटङ्की रचिरहेका छन्। यस्ता काँचा, अपरिपक्व, दुरदृष्टिहीन सञ्चार माध्यमकाकारण पनि हाल पर्यटन व्यवसायमा कमी आएको देखिन्छ।
अर्कोतर्फ भूकम्प गएलगतै नेपाल सरकारले काठमाडौं उपत्यकालाई एक बर्षसम्म संकटग्रस्त क्षेत्र भनि घोषणा गरेको थियो। जसको प्रतक्ष्य असर अहिले पर्यटनमा परिहेको छ। कतिपय राष्ट्रहरुले त आफ्ना नागरिकलाई भूकम्प र नाकाबन्दीले ग्रसित यस्तो क्षेत्रमा देशहरुमा घुम्ने अनुमति दिएका छैनन्। तर, यस्तो गम्भीर बिषयमा नेपाल सरकारले समेत सरोकारवालासँग उचित परामर्श नगरीकन निर्णय गर्नुले पर्यटकलाई अझ तर्साउने काम गरेको देखिन्छ।
देशको प्रमुख आर्थिक खम्बामध्ये एक मानिएको पर्यटन व्यवसाय यस्ता यावत कुराहरु बाट हालग्रसित छ। अब तुरुन्तै यस समस्यालाई समाधन गरी पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्छ। जसका लागी हामीले सकरात्मक सन्देश दिनुपर्छ। भूकम्पले क्षति नभएका पर्यटकीय स्थलहरु पनि छन् तिनीहरुको प्रचार गर्नु यसबेला आवश्यक छ। जस्तो की राराको रमणीय दृश्यमा कुनै कमी आएको छैन। कुनैपनि जीव नपाइने अचम्मको शे-फोक्सुण्डोले पर्यटकलाइ डाकिरहेको छ। सगरमाथाको छातीलाई भूकम्पको कुदृष्टिले छेड्न सकेको छैन। चितवनको सौराहाले सुस्केरा हाल्दै पर्यटकलाई बोलाइरहेको छ। पोखराको फेवा पर्यटक स्वागत गर्न आतुर छ। ईलामको अन्तुडाँडा अनवरत रुपमा पर्यटक पर्खिरहेको छ। मुस्ताङको कागबेनीलाई नाकाबन्दीले हल्लाउन सकेको छैन। यस्ता धेरै पर्यटकीय स्थलहरुमा भूकम्प र नाकाबन्दीको कुनै श्लेश असर समेत छैन। जसको फाइदा उठाउँदै पर्यटक तान्न सक्नु पर्छ।
पर्यटन विकास गर्ने जिम्मा सरकारको मात्र होइन तर सरकार निरीह बनेर पनि काम बन्दैन। सरकारले तत्काल कुटनीतिक पहलमार्फत नाकाबन्दी हटाउन सक्नुपर्छ। पर्यटन विकासका लागि सरकार, आन्दोलनरत मोर्चा, जनता, पत्रकार र पर्यटनव्यवसायी,पर्यटन क्षेत्रकाबासिन्दामिलेर माथि उल्लेखित ठाउँहरुको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नु पर्छ। यतिमात्र नभएर यस संकटको बेला पर्यटन विकासका लागी कोशीटप्पुका चरा हेर्न सात समुन्द्र पारी गएर पर्यटकलाई बोलाएर ल्याउन सक्नुपर्छ। आउँदा दिनमा थप कार्य योजना बनाएर पर्यटन मन्त्रालय अघि बढ्न सक्नुपर्छ। पर्यटन प्रवर्द्धनका लागि सम्बन्धित पक्षहरू सँगसँगै मिलेर काम गर्नुको विकल्प छैन। पर्यटन विकास एउटा व्यक्ति, एउटा संस्थावा सरकारको मात्र सरोकारको विषय हैन, यो त सम्पूर्ण नेपाल र नेपालीको सरोकारको विषय हो। आउनुहोस् हामी सबै हातेमालो गरेर अघि बढौं।