स्वधर्मबारे गीतामा भनिएको छ– राम्ररी आचरण गरिए अरुको धर्मभन्दा गुणरहित नै देखिए पनि आफ्नै अर्थात स्वधर्म नै उत्तम छ र आफूले पालना गरेको धर्ममा मर्न निको छ, कल्याणकारक छ किनकि अरुको धर्म भय उत्पन्न गराउने खालको हुन्छ । गीताका शब्दहरूलाई यहाँ धर्मको आशय स्वभाव, प्रकृति र गुणका रूपमा हेरिनुपर्छ । आफ्नो धर्म र अको धर्म भनी भेद गरिएको विषय बुझ्नलायक छ । धर्म भन्नाले कुनै निश्चित परिपाटीका धार्मिक समूहलाई बुिझन्छ तर गीता प्राचीन ग्रन्थ भएको र शाश्वत चेतनाका स्वरुप श्रीकृष्णबाटै प्रकट भएको हुँदा यसलाई संकीर्णतामा होइन, एउटा वृहत अर्थ र गहिरो प्रमाणिकताका आधारमा त्यसको उपादेयता तथा प्रभाव बुझ्नुपर्छ । प्रचलित मान्यता र रितकै हिसाबले हेर्ने हो भने पनि हिन्दु कुलमा जन्मेको व्यक्तिले अर्को धर्म अनुशरण गर्न सजिलो, स्वीकार्य र प्रीतिकर छैन । जुन कुल धर्ममा जन्मिएको छ, व्यक्ति त्यही रितिथिति, परम्परा, मान्यता र चलनअनुसार जीवन जिउँछ अक्सर । केही अपवाद भने हुन सक्छ यस सम्बन्धमा । स्वधर्म र परधर्मबारे यसरी पनि हेर्न र व्याख्या गर्न सकिन्छ ।
यहाँ गीताको आशय स्वधर्म भन्नाले निश्चित गुण, प्रकृति र चरित्र निर्माण हुँदै आएको अगाडिको जीवनदेखिको इच्छावृत्तिलाई नै लिनुपर्छ । यसमानेमा बाबुको स्वधर्म छोरासँग मिल्दैन, एकै दाजुभाइभित्र त्यो स्वधर्म फरक हुनसक्छ । हरेक व्यक्तिभित्र केही बन्ने र हुने बिज छिपेको हुन्छ, अर्थात उसको आफ्नै प्रकारको पोटेन्सियलिटी हुन्छ, सम्भावना हुन्छ र त्यो कसैको बालककालदेखि र कसैको अलि माथिल्लो उमेरको जीवनकालमा चाख, लगन र इच्छाको आवेग स्वरूप प्रकट हुन्छ ।
स्वधर्म र परधर्म के हो? यो बुझ्न अलि मेहनत गर्नुपर्छ । समाज र परिवारले मान्छेलाई सदा एउटा निश्चित दिशातर्फ डोर्याउन खोजिरहेको हुन्छ । बाबुआमाले आफ्नो सन्तानलाई सुखी र सम्पन्न देख्न चाहन्छन् र त्यही अनुरूपको वृत्ति अपनाउन प्रेरित गर्छन्, समाजले पनि आफ्नो मूल्य, मान्यता, चलन र गरिरहेको काम हत्तपत्त छोड्न–छोडाउन चाहँदैन हत्तपत्त । व्यक्तिलाई त्यही अनुरुप चल्न उक्साइरहेको हुन्छ । परधर्मले लोभ्याइ रहेको हुन्छ, किनकि यो प्रत्यक्ष देखिन्छ, स्वधर्म भने भित्र भविष्यको गर्भमा छिपेको हुँदा तत्क्षण आकर्षण गर्न सक्दैन । त्यसैले परधर्म तत्क्षण छ, स्वधर्म भविष्यमा छ र ‘अननोन’ छ ।
स्वधर्ममा जान खोज्दा दुःख पनि आउँछ । योगी हुने संस्कार रहेको मान्छेलाई जबर्जस्त कुनै अन्य पेशामा लगाउँदा र वैवाहिक सम्बन्धमा बाँध्न खोज्दा सफल हुन नसकेको वा केही समयमा टुट्न गएका उदाहरणहरू पनि छन् । सामान्य जीवनमा हेर्ने हो भने पनि चाहना वा चाखबिनाको पेशा र व्यवहार खल्लो, उत्प्रेरणारहित र असफल नै लाग्छ । त्यस्तो वृत्ति तथा कार्यमा भित्रबाटै उत्प्रेरणा आउँदैन, लगनशीलता कम हुन्छ ।
त्यसैले अरुको इच्छा तथा चाख अपनाउन बाध्य गर्नु हुँदैन, यो भयावह हुन्छ भनिएको छ । मानिसको अगाडि बढ्ने गतिमा अरुले जति प्रयत्न गरे पनि बाहिरको आवरणमात्र बदल्न सक्छन् । भित्र आत्मामा छिपेको गुण, संस्कार जुन जन्मजन्मदेखि आएको छ त्यो बदल्न सकिन्न भन्ने आशय यहाँ छ । त्यसैले एकै बाबुआमाका छोराछोरीमा भिन्न गुण, स्वभाव र चाख हुन्छ । विभिन्न पेशा अपनाउँछन् र सफलता असफलता पनि फरक हुन्छ । यो शुक्ष्म विषय बुझ्न अध्यात्मको यस बारेको मर्म बुझ्नुपर्छ । गीतामा यसैलाई स्वधर्म भनिएको छ । अहिलेको युगमा देखासिकी गरी आफ्ना सन्तानलाई चाख विपरीतको शिक्षा लाद्ने र वृत्ति थोपर्ने गर्दा मान्छे असफल हुने र उत्प्रेरणा नजाग्ने तथा एकाग्रतापूर्ण रुपमा कार्य नभई कार्य नै ध्यानमा परिणत हुन सक्दैन । त्यसबाट राम्रो कला, साहित्य र उत्कृष्ट सिर्जना हुन सक्दैन ।
त्यसैले गीताको यो आशय र अर्थ बुझ्दा अरुको जीवनशैली र पेशागत धर्ममा चल्नेभन्दा स्वधर्ममा दृष्टि पु¥याउन आवश्यक छ । यो खोजी गर्न आवश्यक छ कि पृथ्वीमा म के हुन आएको छु र मेरो के हुनसक्ने सम्भावना छ ? मभित्र छिपेको बिजले के खोज्छ, कुन दिशातर्फ जान खोज्छ ? वास्तवमा हरेक व्यक्तिको निश्चित उमेर अवस्थामा यो बिजले केही न केही इंगित गरिरहेको हुन्छ । तर, मान्छे स्वधर्मतर्फ नभई परधर्मतर्फ मोडिन्छ परिवार र समाजका कारण । किनकि परधर्म सजिलो छ, आकर्षक छ । एउटाले अपनाएको पेशा वा वृत्ति अर्काले अपनाउन तथा पितापुर्खादेखि गरिआएको काम गर्न सजिलो छ । देखासिकी गर्न सजिलो छ र अरुलाई पनि यो गर भन्न सजिलो छ ।
स्वधर्मममा चल्नु भनेको जीवनको सही मार्ग निर्माण गर्नु हो र यो मोक्षउन्मुख मार्ग पनि हो । तर स्वधर्ममा जोखिम देखेरै मान्छेले परधर्म अँगाल्छन् र जीवनमा भड्किरहन्छन भन्ने गीताको आशय बुझिन्छ । स्वधर्म असंख्य छन्, जति मान्छे त्यति स्वधर्म भन्नेजस्तो पनि लाग्छ र मान्छे जे हुन सक्छ, त्यो हुन पाउँदैन र पाएको पनि छैन ।
यसमा धेरैधेरै कारणहरू छन् । यो भन्नुपर्छ कि मान्छे अक्सर परधर्ममा नै बाँचेका छन् । परमात्मामा पुग्न चाहिँ परधर्म छाडेर स्वधर्मको मार्ग लिनुपर्छ र स्वधर्म जागेपछि अधर्ममा गिर्दैन, अनि परधर्मको व्यवहार छुटिहाल्छ । त्यसैले स्वधर्ममा अघि बढ्दै गएपछि आत्म साक्षात्कार तथा परम सत्यको मार्ग खुल्दै जाने छ र त्यही बखत सच्चा धर्म उदय हुनेछ भन्ने रहस्य हो गीताको । ओशोले पनि भनेका छन्– यदि अधर्मतर्फ जाने हो भने परधर्मको बाटो हो र धर्म तर्फ जाने हो भने स्वधर्मको । त्यसैले धर्मतर्फ जाने मान्छे एकान्तमा जान्छ जहाँ दोस्रो व्यक्ति कोही हुँदैन र ऊ एक्लै हुन्छ । अध्यात्ममा एकान्तवास गर्नु पनि स्वधर्मको मार्गमा जाने चेष्टा हो । बुुद्ध जंगल जानुभयो र महावीर पहाडतर्फ लाग्नुभयो । धेरै महान सन्तहरूले पनि सुरुका अवस्थामा ज्ञान प्राप्ति गर्न एकान्तवास नै गरेका छन् ।
साधनाको अन्तिम अवस्थामा शान्त र आनन्दित हुन मान्छे एकान्तमा रहनुपर्छ । यही रहस्य हो अध्यात्मको । ब्रम्हचर्य पालन पनि एक्लै रही अभ्यासी हुने अवस्था हुँदा सही ब्रम्हचर्य पालनबाट शान्ति र आनन्द छ भन्नुको तात्पर्य पनि यही हो । सही धर्मको मार्ग स्वयंभित्र छ भन्ने सार नै गीताको स्वधर्मको सार हो ।
यो माथिको तात्पर्य गीतामा उल्लेखित स्वधर्मबारे एउटा बुझाइ हो । अध्यात्मका शिखर पुरुष शिवपुरी बाबाले आफ्नो शिक्षामा स्वधर्मको महत्व बताउनुभएको छ । बाबाको स्वधर्मको शिक्षा बुझ्न अहिले केही पुस्तकहरू पनि उपलब्ध छन् । बाबाले अन्तर्वार्ताका रूपमा, व्याख्या र उपदेशहरू दिँदा, विभिन्न जिज्ञासुहरूका जिज्ञासा मेटाउन स्वधर्म उल्लेख गर्नुभएको छ । यो प्रसंगमा बाबाको जीवन, शिक्षा र विभिन्न सन्दर्भहरूबारे जोन बेनेट तथा ठाकुरलाल मानन्धर, डा. योगेन्द्रभक्त श्रेष्ठ, विष्णुप्रसाद तिमिल्सिना, रिपम्यान, रेनुलाल सिंह, डा. एन्सली मारेस आदिका पुस्तक, लेख तथा नोट र टिप्पणीहरू महत्वपूर्ण छन र उहाँहरूले यी महत्वपूर्ण विषयहरू खोज गरी प्रकाशित गरिदिएर ठूलो गुण लाउनुभएको छ । नत्र बाबाजस्तो महान आध्यात्मिक पुरुषबारे जान्न र बुझ्न हामी असमर्थ हुने थियांै र एउटा शिखर पुरुष बारेको जीवन–सन्दर्भ, रहस्य र महत्व छुटन जान्थ्यो अध्यात्मका जिज्ञासु र साधकका लागि । यहाँ अध्ययनबाट स्वधर्मलाई जीवन जीउने उत्तम कला वा राइट लिभिङका रुपमा बुझ्न सकिन्छ । केकस्तो आचरण, व्यवहार–अनुशरणवाट कर्तव्यपालन गर्दै धर्मको पथमा अग्रसर भई ईश्वर साक्षात्कार हुन सक्छ, सत्य साक्षात्कार हुनसक्छ भन्ने शिवपुरी बाबाको स्वधर्मको मूलभुत विषय छ । गीतामा प्रयुक्त स्वधर्म र शिवपुरी बाबाको शिक्षाको स्वधर्म एउटै गुणधर्म बोकेको जल विभिन्न नदीमा प्रवाह भएजस्तै हो । त्यहाँ एकै नाशको स्वच्छता र गुण–धर्म छ र स्वधर्मका यी दुवै नदीको उद्गम एकै स्रोतमा छ र अन्तिम गन्तव्य पनि त्यही परमात्मारूपी विशाल सागरमा छ । केवल शब्दको प्रयोगको प्रयोजन र इसाराका शैली केही फरकजस्तो मात्र देखिएको हो ।
भारतका भूतपूर्व राष्ट्रपति (तत्कालीन उपराष्ट्रपति) स्व. राधाकृष्णन्ले बाबालाई भेट्दा स्वधर्मबारे भौतिक, नैतिक र आध्यात्मिक अनुशासनका रूपमा चरणबद्ध, अन्तरसम्बन्धित र उपल्लो सोपानमा उक्लँदै जाने आध्यात्मिक उन्नतिको मार्गबारे बहुतै सरल रूपमा वृहत सत्यलाई संक्षिप्तमा बताई दिनुहँुदा आफ्नो लामो अध्ययनको बिद्धता बाबाका ती गहन तर सरल शिक्षाका अगाडि छायाँमा पर्न गएको अनुभव भएको प्रसंग बहुतै चाखलाग्दो र मननयोग्य छ । सत्यलाई सरल भाषामा थोरै शब्दमा पाउँदा विद्धान राष्ट्रपति नतमस्तक बन्नुभयो ।
हुन पनि मान्छेले भौतिक अनुशासन राम्ररी पालना ग¥यो भने ऊ नैतिकवान बन्दै जाने र यी दुई अनुशासन गहिराइमा समाहित भएपछि सच्चा रूपमा मान्छे आध्यात्मिक बन्ने अर्थात आध्यात्मिक अनुशासनको विकास हुन्छ । तर, मान्छे मूलमा नै चुकेका छन् । किनकि भौतिक अर्थात शारिरीक अनुशासनमा बस्न सक्तैनन् र बसेको भान भए पनि त्यो देखावटी हुन्छ । यसको प्रभाव नैतिक अनुशासनमा देखा पर्छ । एउटा अनैतिक मान्छे कहिलै आध्यात्मिक हुन सक्तैन । त्यसैले लुकिछिपी व्यभीचार गर्ने तथाकथित धर्म गुरुहरू पतीत त हुन् नै र ती धर्मगुरु होइनन्, आध्यात्मिक व्यक्तित्व होइनन्, कलंक हुन् पृथ्वीका ।
अहिले राजनिति गर्ने पण्डित मात्र होइन, धर्म गुरुहरू भनाउँदा पनि प्रचारमुखी छन् । धन, ऐश–आराममुखी छन्, विलासी जीवन उनीहरूको धर्ममार्गको सदावहार चौतारी बनेको छ । विश्वमा केही महान सन्तहरूमात्र यसका अपवाद पाउँछौ हामी, जसले जीवन र जगत बुझ्न कठिन साधना गरे, सत्य साक्षात्कार गरे र त्यसपछि पनि जीवनलाई सात्विक, सरल र सामान्य अवस्थामा नै राखे । कुनै तडकभडक र संग्रहउन्मुख बनेनन् अर्थात महासेठ हुन चाहेनन् । त्यसैले उनीहरूको सादा जीवन, महान आदर्श र शिक्षाले मानवलाई सही रूपमा अध्यात्म बुझ्न र अध्यात्मका स्रष्टा–द्रष्टा बुझ्न प्रेरणा जगाइरहने छ ।
यही प्रेरणा स्रोतका रूपमा हुनुहुन्छ, शताब्दीकै महान सन्त शिवपुरी बाबा । उहाँको जीवन र शिक्षाबारे गत साल पनि यसै अवसरको दिनमा ‘शताब्दीका दुर्लभ सन्त’ शीर्षकमा श्रद्धासुमनसहित केही शब्दहरू व्यक्त गरेको थिएँ । बाबाको आजको दिन जन्मतिथिका अवसरमा सवैले स्मरण गर्ने र बुझ्नु पर्ने के देखिन्छ भने धर्मका नाममा र गुरुका नाममा फैलिँदै गएको विकृतिले अध्यात्म जगतलाई कुरुप बनाउन खोज्दैछ । कतै सत्य नै पो छैन कि, परमात्मा छैनन् कि अनि स्वाङ, मिथ्याचार र अधर्म तथा धर्मबीच फरक छैन कि भन्नेजस्ता वेदनाहरू जाग्नु स्वभाविक छ । बजारमा प्लास्टिकका फूल पनि टिलिक्क छन् तर सच्चा पूmल फुल्न तदनुरुप माटो र हावापानी चाहिन्छ, मौसम चाहिन्छ र त्यो कोपिला हुँदै मुस्कुराउँदै ओइलिन्छ र झर्छ पनि ।
प्लास्टिकका पूmललाई कोपिला बन्नु पर्दैन र चाँडै ओइलाउनु पनि पर्दैन, तर तिनमा सुवास हुँदैन, यथार्थ सौन्दर्य हुदैन, रौनक हुदैन । ती टाढाबाट पूmल देखिन्छन्, तर छेउमा आउँदा प्रष्ट हुन्छन् प्लास्टिक भनेर । बनावटी देखिन्छन् । अहिलेका धर्मगुरुहरू भनाउँदाको हाल यही छ । व्यापारमा छन्, सौदाबाजीमा छन् र धेरैजसो व्यभिचारमा पनि छन् । हामी बारम्बार सुन्छौं समाचारहरूमा । तर यसो भनेर सच्चा धर्म हराउने वा तिनका स्रष्टा सद्गुरु लोप हुने होइनन् । यी त सूर्यझैं अटल छन् र सच्चा गुरु नै ब्रम्हतेजका प्रतिनिधि हुन् । यस्तै शुद्ध बुुद्ध स्वरूप, धर्मका अनुयायी र अध्यात्मका आदर्श हुनुहुन्थ्यो शिवपुरी बाबा ।
शिवपुरी बाबाले भन्नुभएको छ– तिमी भगवानमा विश्वास गर्छौ भने तिम्रो खोज भगवानकै लागि हुनुपर्छ, तर यदि तिमीले त्यस्तो दिव्यतामा वा केहीमा पनि विश्वास नगर्ने हो भने पनि यो दृष्यवान जगतको पछाडि छिपेको रहस्यको कुनै अर्थ त अवश्य पनि होला भन्ने विश्वास त हुनैप¥यो र त्यो अर्थ पत्ता लगाउन र अनुभव गर्न कम्मर कस्नैप¥यो । यस प्रयोजन वा उपादेयताका लागि पनि बाबाले स्वधर्मको पालनामा जोड दिनुभएको छ । हुन पनि त्यसै कोरा विचार, तर्क र संकल्प–विकल्पमा दौडिएर जीवन र जगतबारे रहस्यका कुराहरु बुझ्न र अनुभव गर्न सकिन्न ।
बाबा भन्नुहुन्थ्यो– अत्यन्त साधारण कुराहरूको अलिकति अभ्यास गर्ने त हो नि । जीवनको अन्त्य अवस्थातर्फ उहाँले भन्नुभएको छ– स्वधर्मको पालना गर्नु, भगवानको पूजा गर्नु, बस् यति नै, अरु केही पनि होइन । बाबाले गीताको १६ औं अध्यायका प्रथम तीन श्लोकहरू पढ्न र तिनमा लेखिएका २६ गुणहरूको अभ्यास गर्न भन्नुभएको छ । ती गुणहरूले स्वधर्म तथा राइट लिभिङतर्फ मानिसलाई प्रवृत्त गराउँछन् । बाबाले ईश्वर अर्थात सत्यको साक्षात्कार मानिसले संसारमा बसेर नै गर्नसक्छ, संसार छोडेर भगौडा हुनुपर्दैन भन्नुभएको छ ।
कर्तव्य पनि गर्दै जाने र स्वधर्मको पालना गर्दै जाने मार्ग नै जीवनको उत्तम मार्ग हो भन्ने बाबाको शिक्षा सबैका लागि प्रेरणादायी छ । अर्थात, आफ्नो जीवनयापन गर्न आवश्यक कर्तव्य कर्म न्यूनतम समयमा पूरा गरी बाँकी समय ईश्वरको चिन्तन, ध्यान–साधनामा बिताउनु श्रेयस्कर हुने र कर्तव्यकर्म सम्बन्धमा पनि तीन प्रकारका कर्तव्यकर्मबारे उहाँले भन्नुभएको छ । आफ्नो शरीर स्वस्थ राख्न, परिवार, समाज र राष्ट्र हितका लागि अनि आफ्नो पेशा स्वच्छ, मर्यादित तथा उपयोगी सिद्ध गराउने कार्यहरू सम्पन्न गर्न ।
बाबाले यो पनि शिक्षा दिनुभएको छ– शुद्धता र पवित्रतामा जिउने व्यक्तिले कहिलै पनि गुनगान, तामझाम र प्रचार खोज्दैन । ब्रम्हसाक्षात्कार गरेको मानिस स्वयं ब्रम्हस्वरूप हुने हुँदा उसलाई जगतका तामझामको कुनै सौख र राग नै हुँदैन । अहिलेको जमानामा आफूलाई भगवान तथा महानगुरु हुँ भन्नेहरूले के खोज्छन्, त्यो हेर्दा तिनको सक्कली रूप थाहा पाइन्छ र अध्यात्ममा यो पहिचान चुक्दा मानिस शोषणमा परेका छन् ती महासेठ र व्यभीचारीबाट ।
ईश्वर साक्षात्कारपछि सबै शक्ति र ज्ञान व्यक्तिमा स्वतः समाहित हुने नै हुँदा त्यसपछि जान्न र बुझ्नलायक अरु केही रहन्न भन्नुभएको छ र सवै सत्यहरू हृदयबाटै आउने हुँदा हृदयकेन्द्र खोल्न बाबाले शिक्षा दिनुभएको छ ।
चार प्रकारको दानको अभ्यास गर्नुपर्ने उल्लेख गर्दै भन्नुभएको छ– प्रथमतः मनबाट दान तथा कसैको कुभलो नचिताउने, दोश्रो शब्दबाट दान अर्थात अरुलाई चित्त दुखाउने र बिझाउने शब्द प्रयोग नगर्ने, तेस्रो शरीरबाट हुने दान अर्थात शरीरको माध्यमबाट अधिकतम सहयोग पु¥याउने र चौथोमा पैसा वा चिज वस्तुहरू दिएर गरिब, दुःखी तथा असहायलाई सेवा पु¥याई उद्धार गर्ने ।
मान्छेलाई दुःख आइरहन्छ र गइरहन्छ पनि । तर दुःखलाई मन नपराउने, त्यसमा बढी उत्सुकता र डरका कारण हामी अझ बढी दुःखमा जान्छौं, तर दुःखमा पनि राम्ररी बाँच्न सिक्यो भने दुःख कम महसुस हुँदै जान्छ भन्ने शुक्ष्म विषयतर्फ बाबाले शिक्षा दिनुभएको छ र यसका लागि स्वधर्मको पालना नै उत्तम उपाय हो भन्नुभएको छ ।
वावा १ सय ३७ वर्ष जीवित रहनुभयो र यो प्रत्यक्ष देखिएको कुरा छ, कुनै किंवदन्ती वा हो–रे भन्ने विषय होइन । उपयुक्त प्राणायामको माध्यमबाट क्यान्सरजस्तो घातक रोग निको पार्न सम्मको अनुभव सिद्ध गरेको र मानिसको सामान्य आयु १ सय २५ वर्षसम्म हुन सक्ने तर जीवनी ऊर्जालाई बेकारमा बर्बाद गर्ने हुँदा मानिसहरू त्यसअघि नै मरिसक्छन् भनेर बाबाले स्वास्थ्य र दिर्घजीवनको रहस्य उद्घाटन गराई दिनुभएको छ । उपयुक्त प्राणायामको विधिबाट जीवन ऊर्जा प्राप्त गर्न सकिने र रोग निको हुने विदेशी विद्धान भक्तहरूलाई वैज्ञानिक र रहस्यपूर्ण दृष्टिकोणबाट बताइदिनुभएको पनि पाइन्छ ।
ईश्वर तथा सत्य साक्षात्कार भए पनि अर्को एकपटकलाई जन्मजन्मान्तरका महत्वपूर्ण संस्कारजन्य कार्य पूरा गर्ने ध्येयका लागि जन्म लिनसक्ने रहस्यमय महाविज्ञानको बाबाले सुक्ष्म रूपमा आभास दिनुभएको छ आफ्ना अनन्य भक्तसँग । बाबाको सम्बन्धमा उहाँको यो अन्तिम जन्म नै थियो भन्ने प्रष्ट हुन्छ भक्तहरूका कतिपय जिज्ञासाको उत्तर दिने क्रममा उहाँका वाणी र इशाराहरूबाट ।
यी महान सन्तलाई श्रद्धासुमन अर्पण गरौैं र यिनको शिक्षाको अनुशरणमा पाइला चाल्दै आध्यात्मिक उन्नति र मानवकल्याणमा प्रवृत्त रहौं, यही नै सच्चा स्मरण र श्रद्धासुमन हुने छ बाबाप्रति ।