नेपालीमा एउटा उखान प्रचलनमा छस् बाह्र वर्षमा खोलो पनि फर्किन्छ । दक्षिण बगेको खोला उत्तर र पश्चिम बगेको खोला पूर्व फर्किन्छ भनेर यो पक्कै भनिएको होइन । धार फेरेर पल्लो पाखा पुगेको खोलो एक युगमा फर्केर पुरानै धारमा आउँछ भनिएको होला ।
यस्तै अर्को भनाइ जनजिब्रोमा छस् टुहुराको पनि दिन फिर्छन् !
खोला फर्केजस्तै वा कसैको दिन फिरेजस्तै अहिले करिब-करिब ल्याप्चेको पनि दिन फिरेको छ । गएको मंगलबार एप्पल कम्पनीले सार्वजनिक गरेको आइफोन फाइभ एस खोल्न र बन्द गर्न चार-अंकीय पासवर्ड हालिराख्नु पर्दैन ।
मोबाइलको गृहपातो (होमस्क्रिन) मा पुग्न कम्तिमा पाँचपटक दबाउन पर्ने आजको प्रविधिलाई तोकिएको ठाउँमा एकपटक आफ्नो ल्याप्चे लगाइदिएपछि पुग्न सकिन्छ । बन्द मोबाइल खोल्न थरि-थरिका बटन दबाउन नजान्ने वा झर्को मान्नेलाई यो जत्तिको सजिलो प्रविधि अरू हुन सक्दैनथ्यो ।
अब पाकेटमारले वा कुनै सज्जनले कोठामा छोडेको मोबाइल सुटुक्क लुकाउनेले मोबाइल हात पारेर मात्रै भएन, त्यसको मालिकको औंला पनि फेला पार्नुपर्यो ।
स्याङ्जाबारे एउटा किस्सा प्रचलनमा थियो । स्याङ्जाली मित्रहरूले माफ गर्नुहोला । यो देखेको किस्सा होइन, सुनेको हो—पटकपटक ! स्याङ्जामा सम्पत्ति भएका मान्छेले सुत्दाखेरि बुढी औंलामा टालो बाँधेर राख्थे रे । नत्र सुतेको बेला कसैले सम्पत्ति-त्यागको कागजमा ल्याप्चे लगाएर कुलेलम ठोक्थ्यो ।
त्यो त बुढी औंलाको कुरा भो । आइफोन फाइभ एस झ्याप पार्न खोज्नेले बुढी औंलाको ल्याप्चे खोजेर पुग्दैन । त्यसको मालिकले कुन औंलाको ल्याप्चे सेट गरेको छ, त्यो थाहा पाउन आवश्यक पर्छ ।
कलम, टाइपराइटर, कम्प्युटर, ल्यापटप, ट्याब्लेट, फ्याब्लेट, आदिको आविष्कार र शिक्षाको व्यापक प्रसारपछि सुरक्षित पहिचान र कानुनी कामकारवाहीमा हस्ताक्षर वा पासवर्डको प्रयोग यति व्यापक भयो कि ल्याप्चे मात्रै विकल्प लिएर बसेका अल्पसंख्यकले हीनतावोध गर्नु पर्थ्यो ।
अनिवार्य हाजिर गर्नुपर्ने कार्यालयहरूमा लेख्न नजान्ने निम्न-स्तरीय कामदार-कर्मचारीले ल्याप्चे लगाउन झन्झट मानेर अफ्नो सुपरिवेक्षकलाइ हाजिरी-पुस्तिकामा प्रत्येक दिन “हाजिर” को छोटकरी “हा” लेखाइमाग्थे र त्यही नै कार्यस्थलमा हाजिर भएको प्रमाण हुन्थ्यो, जुन अद्यापि कयौं नेपाली कार्यालयहरूमा प्रचलनमा छ ।
जिल्ला सदरमुकामहरू चल्ने तालिममा सहभागिता भत्ता लिन हस्ताक्षर गर्न सक्नेले बुझिसकेपछि ल्याप्चे लगाउनुपर्ने केहीले सबैभन्दा पछि भत्ता बुझ्न जान्थे र खिसिक्क रुन्चे हाँसो हासोसहित ल्याप्चे लगाउन औंला तेर्स्याउँथे ।
हाँडीमा लागेको कालो मोसोमा खाने तेल मिलाएर बनाएको लेप औंठामा दलेर लगाइने ल्याप्चे पढ्ने र ठिकबेठिक छुट्याउने एउटा विशिष्ट पेशा नै हो । यो काम जो कोहीले गर्न सक्दैन। त्यसैले यो प्रविधिको ल्याप्चेको व्यापक दुरुपयोग हुन्थ्यो र नेपाली ग्रामीण क्षेत्रमा अझै भैरहेको छ ।
२०४८ सालअघि साझा संस्थाका व्यवस्थापकहरूले आफ्नै खुट्टाका औंलाहरूको ल्याप्चे तमसुकमा लगाएर नक्कली ऋणीका नाममा ऋण लगानी देखाएर संस्थाको पैसा हजम गर्थे । कालान्तरमा त्यो लगानी डुवन्त मानी त्यत्तिकै मिन्हा भयो ।
सार्वजनिक निर्माणमा वा खनिज वा अरु त्यस्तै अन्वेषणमा खटिएकाले भरिया वा कामदारको ज्याला खर्च बढी लेखेर रकम ठग्न मस्टर-रोलमा अनेक थरिका नाम भएका फर्जी कामदार खडा गरी आफ्नै खुट्टाको औंठाछाप लगाउन रातदिन मेहनत गर्थे ।
नेपाली समाजमा ल्याप्चेमहिमा अरू थुप्रै छन् ।
कुनै यन्त्र खोल्न वा बन्द गर्न ल्याप्चेको प्रयोग एप्पलले पहिला शुरू गरेको होइन । करिब एक दशकदेखि ल्याप्चे प्रयोग हुने “बायोमेट्रिक” प्रणाली चर्चामा छ ।
कतिपय मुलुकले भिसा दिने प्रक्रियामा विद्युतीय माध्यमबाट ल्याप्चे लिन्छन् र त्यसैलाई पछि व्यक्ति पहिचान गर्ने माध्यम बनाउँछन् । तर यो अदृश्य प्रणालीमा प्रयोग हुने उपकरण तथा सफ्टवेयरको विश्वसनीयतामा शंका पनि त्यत्तिकै छ । त्यसैले पश्चिमा मुलुकहरूले भिसा दरखास्त लिंदा प्रत्येक पटक नै दरखास्तवालाको औंठाछाप लिन्छन् ।
एउटा औंलाको मात्र भर नमानेर उनीहरू दशै औंलाको छाप लिन्छन—जो कहलिन्छ “टेनप्रिन्टिङ” ।
कार्यालयहरूमा हस्ताक्षर हाजीरीको सट्टा विद्युतीयल्याप्चे हाजीरी धेरै ठाउँमा शुरू भएको छ । तर बेलाबेलामा समस्या निस्कन्छन् । चलाख कर्मचारीले कम्पुटरमा साथीहरूको ल्याप्चे सुरक्षित राखेर कम्प्युटरबाटै नआएको मान्छेको पनि हाजिर गराई दिन सक्छन् ।
एप्पलले शुरू गरेको प्रविधिबारे गएको तीन दिनमा जति समीक्षा निस्केको छ, ति सबैले प्रयुक्त ल्याप्चे प्रविधि पूर्णतः त्रुटिरहित रहेको बताएका छन् ।
त्यतिमात्रै होइन, प्रयोगकर्ताको ल्याप्चे एप्पलले अफ्नो सर्भरमा भण्डार नगर्ने र आइफोनको नयाँ एम ७ चिप्समा मात्र त्यो रहने, जसलाई “जेलब्रेक” निकाल्ने धुन्धुकारीले पनि चोर्न असम्भव जनाइएको छ ।
यदि यो साँच्चिकै सुरक्षित प्रणाली हो भने हवाईजहाज चढ्न बोर्डिंग पास चाहिने दिन अब सकिए । बोर्डिंग पासको अधकट्टी लिन मान्छे पनि राख्नु परेन । तालाचाबी चाहिने गाडी, घर, सुटकेश, आदि पनि सेन्सरमा औंठाछाप देखाएर खोल्न र बन्द गर्ने दिन नजिकै छन् ।
ढोकामा ताला लगाउने नमिल्ने भएपछि घरिघरि तालाबन्दी गर्न तम्सिने आन्दोलनकारीहरूले के बन्दी गर्ने हुन् कुन्नि नेपालमा?
एक जमानामा साँच्चिकै धरापमा परेको ल्याप्चे बौरिएको छ ।
घरिघरि धरापमा पर्ने गरेको नेपालको लोकतन्त्रका दिन पनि ल्याप्चेको दिन फिरे जस्तै पक्कै फिर्ने छ । ल्याप्चेको त दिन फिरे भने, नेपालीको दिन पनि निसन्देह: फिर्ने छ ।