रमझम, नाचगान, होहल्ला, सान्दर्भिकभन्दा पनि बढी उश्रृंखल गीतहरू बजिरहेका छन् । आज हिन्दु नारीहरूको महान पर्व “तिज”मा राताहरिया लुगा लगाएर, हातमा पूजाको थाली, थरीथरीका फलफूल बोकेर शिवमन्दिर धाउने नारीहरूको लर्को अच्चमको छ । दूध पनि चढाउनुपर्छ रे...।
एउटा कलेज पढ्ने केटी पनि ब्रत बसिरहेकी छे, भोको पेट, पानी पनि नखाई तर घरमै छे । केही श्रृंगारपटार पनि छैन । मन्दिर किन गइन त ?
भाडामा लिएको एउटा कोठा, किताबहरू छरिएका छन्, झ्यालबाट मन्दमन्द हावा उस्को केशसँग जिस्किँदै छ । उसलाई तिजको रमझमले छोएको छैन । कोठामा न टिभी छ, न रेडियो... । हातमा भएको मोबाइलमा
आँखा परेर झट्ट सम्झी । तिजका गीतहरू सुन्नुप¥यो भनेर एफएम अन गरी । बल्ल माहोल तिजमय भयो । फुल भल्युम गरेर सुन्दैछे ।
बाहिरको हल्लाखल्ला, हाँसोठट्टाले उसको ध्यान भंग ग¥यो । झ्याल बाहिर आ“खा फालेको त घरबेटी आमै छोरीहरूसँग गहनाले झकिझकाउ भएर मन्दिरतिर जाँदै रहिछन् । श्रृंगारपटार गरेपछि कस्ता राम्रा देखिन्छन् हो । आइमाईहरू साँच्चिकै सुन्दर ।
एक हिसाबले ठिकै पनि हो व्रत बस्नु, रमाइलो गर्नु, भगवान मान्नु । केटी मन्दिर गइन भन्दैमा ऊ भगवान नमान्ने पटक्कै हैन, नत्र किन निरााहर ब्रत बस्थी ? उसलाई रमझम, भिडभाड खासै मन पर्दैन । घरबाट टाढा, साथीसंगी पनि खासै छैनन् । नाच्न चाहिँ खुब मन पर्छ उसलाई । एकचोटि नाच्न सुरु गरी भने रोकिने नामै लिन्न ।
शिवजी, आज सबैजना मन्दिर आए, त्यो केटी किन आइन भनेर नरिसाउनू है । उसले मन मन्दिरबाटै हजुरलाई सम्झिँदै छे । घरपरिवारसँग भए त पूरै विधि पु¥याएर पूजा गरेरमात्र ब्रत सकिन्थ्यो । अब परदेशको एक्लो बसाइ कसरी विधिपूर्वक गर्न भ्याउनु । फेरि यता सहर र गा“उको तिज मान्ने तरिका पनि भिन्न छ । देखावटी शान, श्रृंगारपटार, महँगा–महँगा गहना, तिजको गुनगानभन्दा पनि “उसको सारी राम्रो, उसको जुत्ता राम्रो भन्ने” गनगन, के यसरी सफल होला तिजको व्रत ?
अरुलाई सामान्य लागेका कुराले उसलाई असामान्य रुपमा सोच्न बाध्य बनाउछ । अरुले यो यस्तै हो भन्दा, यो किन यस्तै हो भन्नेतिर उसको ध्यान लान्छ । कत्तिले नदेखेझँै गरेर हिँड्छन् त्यो सडकछेउ बस्ने एकजना आइमाई जसको अनुहारमा कोतारेको दाग, मैलो शरीर, झुत्रे लुगा र निन्याउरो मुखाकृति π त्यही अनुहार झलझली याद आइरहेछ केटीलाई । त्यो आइमाई जस्को एक गासको टुंगो छैन, रातमा बसबिसौनीको बास छ, उसलाई केको तिज ? कहाँको भगवान ? आज पनि त्यो आइमाई त्यही सडक छेउमा होली, बाटोमा हिँड्ने तितका ब्रतालुलाई हेर्दै होली, उसको मनमा के कुरा खेलिरा’ होला ? उस्ले कति दिन भयो भोको पेट बसेको तर अरुहरू एक महिना अगाडिदेखि दर खाने निहुँमा फजुल खर्च गर्छन् र आजको दिन ढुङ्गाको देवतालाई दूध, फलफूल चढाउछन् ।
ब्रत भगवानका लागि बस्नु ठिकै हो तर खानेकुरा त खान नपाएकालाई खुवाए हुन्थ्यो । आखिर मन्दिरमा शिवजी स्वयम् प्रकट भएर खाने त पक्कै पनि हैनन् ।
शिवजी मान्छेको मनमा मानवता जगाइदेऊ, जड्याहा श्रीमान्को लामो आयु माग्नेहरूको पुकार नसुन्नू । आजको दिन रहरले भनु वा रीतिले भोको बस्नेलाई के थाहा भोकप्यास कस्तो हुन्छ भनेर π जसलाई सधैं ब्रत बस्नुपर्छ खान नपाएर वाध्यतामा उस्को मर्म कस्ले बुझ्ने ? सबैका श्रीमान् होलान् तीजको ब्रत तोड्न तर उस्को सधै्रको ब्रत कस्ले तोडिदिने, कस्ले उस्लाई एक गास खाना र एक थोपा पानी देला ?
मानवता कता विलीन हुँदैछ ? किन मान्छेहरू झनझन् जड बन्दैछन् ? स्वार्थी मनहरू र उनको पीडा नदेख्ने अन्धा आँखाहरु भौतिकवादतिर मात्र लम्किँदैछन्, आफ्नो मात्रै जिन्दगी यशआरामले व्यतित गर्न दौडँदैछन् पाइलाहरू । उदास अनुहारमा मुस्कान ल्याउँदा, भिजेका परेली पुछ्दा र आफूले सक्दो सहयोग गर्दा प्राप्त हुने सन्तुष्टिबाट बेखबर भएर फिक्का र खोक्रो खुसीमा रमाइरहेका छन् मान्छेहरू । त्यही भएर होला सम्पन्नताका बाबजुद पनि रत्तिभर खुसी हुन सक्दैनन् ।
केटी यस्तै कुरा खेलाउँदै टोलाइरहेथी । एक्कासी फोनमा घण्टी बज्यो, घरबाट आमाको फोन रहेछ । ऊ भन्दैथी–“आमा आज मलाई तिजको कुनै रङले छोएको छैन ब्रत बस्नुबाहेक ।”