संविधान सभामार्फत् संविधान जारी हुनुअघि सुरु भएको आन्दोलन र अशान्तिले हालसम्म करिब ५० जनाको ज्यान गइसकेको छ। थुप्रै घाइते छन्। सय दिनभन्दा लामो समयदेखि मधेशमा जारी आन्दोलन हालसम्म थामिन सकेको छैन। नाकाबन्दीका कारण इन्धन, औषधिलगायतका अत्यावश्यकीय सामग्रीको अभाव/कमीका कारण आमजनजीविका इतिहासकै सबैभन्दा बढी सङ्कटमा छ।
ग्रिक मिथक 'प्यान्डोराज बक्स'मा सुन्दर युवती प्यान्डोराले जिअसले उपहारमा दिएको बाकस खोलेपछि राज्यभरी दु:ख, त्रास र रोगव्याधी फैलने कथा छ। अहिले नेपालको स्थिति ठीक यस्तै छ। खासमा लामो समयको प्रतिक्षापश्चात नेपाली जनताले आफ्नो संविधान आफैं बनाएका थियौँ। कसैको अनुमति र आदेशबिना। नेपालीले आफ्नो अपनत्व महसुस गर्ने संविधान जारी हुँदा यसले आफ्ना सवालहरु सम्बोधन नगरेको भन्दै विरोधका स्वरहरु थारु र मधेशी समुदायबाट भलै निस्किएका थिए, यो हाम्रो आन्तरिक समस्या थियो। यी समस्या समाधान गर्न नेपाल सक्षम थियो।
तर, जब तिनै विरोधलाई टेकेर भारतले 'धमिलो पानीमा माछा मार्न' खोज्यो, समस्या अतिरञ्जित भयो। जिअसकै शैलीमा भारत चिढिएर विभिन्न भूमिका खेलिरहेको यद्यपी छ। एउटा सार्वभौम मुलुकमाथि विभिन्न नाममा युद्वरत नाकाबन्दी लगाएर, जनतालाई उचालेर आन्दोलनका उभार सिर्जना गरेर तड्पाउने कुकृत्य गरिएको छ।
अहिले भारतसँगको सम्बन्ध ऐतिहासिक परिस्थितिमा आएर सर्वाधिक धुमिल भएको छ। नेपालको राजनीतिक जीवनबारे लामो समयदेखि जानकार र कतिपय रुपमा परिवर्तनलाई समर्थन मात्र होइन प्रत्यक्ष/परोक्ष सहयोग गरेको एक लोकतान्त्रिक मुलुक भारतले सानो छिमेकी मुलुकको खुसीमा भिज्न नचाहनु तर उल्टै अनेक बहानामा खेल्न खोज्नु ताज्जुब लाग्दो छ।
नेपाल इतिहासकै एक सङ्गिन क्षणमा उभिएको बखत भारतले 'नुनचुक छर्कन खोज्नु' ले हालसम्मको द्विदेशिय सम्बन्धका पाटाहरुको गम्भिर सिंहावलोकनको माग गर्छ। ऐतिहासिक राजनीतिक परिवर्तनको सारथी भए पनि भारतीय अभिष्ट 'मन नपरेको' सत्तालाई च्यूत गराएर आफ्नो बस अनुसार चल्ने कठपुतली कायम गर्ने भएको उदाङ्गिएको छ। यसपटकको भारतीय रवैयाले हालसम्मकै सौहार्द सम्बन्धलाई रसातलमा पुर्याएको छ।
अझ भूपरिवेश्ठित राष्ट्रका पनि अधिकारहरु हुन्छन्, उसले छिमेकी मुलुकबाट पारवहनलगायतका सुविधा प्राप्त गर्न पाउनुपर्छ। यो खालि द्विदेशीय भावनात्मक सम्बन्धमात्र नभएर अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुन पनि हो। तर, यही भूपरिवेष्ठित अवस्थाको फाइदामा भारतले लामो समयदेखि खेल्दै आएको छ। वैदेशिक सहायता, व्यापरिक आदानप्रदानको विषयको पृष्ठभूमिमा नेपालमाथि उसले कुदृष्टि लगाएको छ।
यद्यपी, यसबीचमा हामीले आफ्नो कमजोरी किमार्थ बिर्सनु हुँदैन। भारतीय हस्तक्षेपको निम्ता त हामी स्वयंले पनि दिएका छौँ। खासगरी राज्य र राजनीतिक तह यसमा बढी जिम्मेवार छ। सत्ता स्वार्थका लागि भारतीय आर्शिवाद लिन किञ्चित पछि नहट्ने राजनीतिक नेतृत्व र राज्यलाई आत्मनिर्भर बनाउनुको साटो भएका स्रोत/साधन सुम्पन तयार रहने राज्य र राज्यसम्यन्त्र यसको मूल कारण हो।
एक्काईसौँ शताब्दीमा घरघरमा ग्यासको प्रबन्ध मिलाउनु पर्ने सरकार दाउरा बाँडिहिँडेको छ, जनता हजार काम छोडेर आधा शिलिन्डर ग्यास र त्यो पनि नपाएपछि दाउराको लाइनमा बस्न बाध्य छन्। यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ? दुई महिना अर्कोको सहाराबिना बाँच्न नसक्ने नेपालीले आफैँतिर फर्केर कहिले हेर्ने हो! भारतले नाकाबन्दी गरे लालटीन बाल्ने,साईकल चढेर हिँडने जस्ता राष्ट्रियताको डिङ हाँक्नेले खै आत्मनिर्भरतातिर लान सकेको मुलुकलाई?
खासमा हालको नेपालमा देखिएको सम्पूर्ण सङ्कटको कारणसँग हाम्रो परनिर्भरता र भारतको बलमिच्याइँ अन्तरघुलित छन्।
नेपालमा संविधान जारी हुनु र जससँग भारतीय स्वार्थ टकराउनु एउटा संयोगपूर्ण तर अवश्यम्भावी परिणति हो। भारतको दृष्टिमा नेपालले संविधान जारी गरेर एउटा ठूलो गल्ती गर्यो, जसरी प्रमिथसले जिअसको अनुमतिबेगर कुनै धातुमजदुरकोमा गएर आगो ल्यायो। र, नेपालले भोगेको परिणतिलाई जिअसले कुनै कठपुतली पठाएर यपिमिथिअसलाई फसाएर दुःख दिए जसरी दुः ख दिएको छ। यसको हामी समाधान पनि हामी सबै मिलेर गर्नुपर्छ। त्यो जादुई बाकस बन्द गरेपछि मिथकको जसरी सुखद अन्त्य भएको छ, यस्तै सम्भाव्यता नेपालमा पनि नभएको होइन। सबै गम्भिर भएर चाँडो निकास दिनु आवश्यक छ।