२००७ देखि समृद्ध नेपाल बनाउने जनताको उत्कट चाहना आजका मितिसम्म पुरा भएको छैन। झट्टपट्ट पुरा हुने सम्भावना पनि देखिदैन।
खोलामा धेरै पानी बगेे पनि हामी र हाम्रा नेता उही आशामा झुण्डिइरहेका छौं। तर, प्राप्तिको विन्दु हामी भन्दा अझै धेरै टाढा भएको अनुभूत हुँदैछ।
राणा र पञ्चायत गए। पंचयात गएकै २६ वर्ष बितिसक्यो। तर, जनतामा कुनै परिवर्तनको अनुभूति हुन सकेको छैन।
व्यवस्था परिवर्तनले मात्र जनताको खास जीवन र रोजीरोटीमा परिवर्तन ल्याउन सकेनन्।
यो साह्रै लज्जाको विषय हो।
जनताले त्यति ठुल्ठुला सपना पनि बोकेका छैनन्। प्रशस्त साधनस्रोत भएको देश हुनाले कुशल नेतृत्व पाएमा देशले काँचुली फेर्ला, देश समृद्ध बन्ला कि भन्ने कुरामा सबै विश्वस्त भएकै हो। तर, जहानीयाँ राणाकालमा जत्तिको पनि सुझबुझ तथा देशप्रतिको इमान्दारिता पछिल्लो चरणमा नपाइनु लज्जाको विषय बन्दैछ।
यसको मतलव राणाले राम्रो गरे भन्ने होइन। र, सबै राणाहरुले गलत गरे पनि भन्न मिल्दैन। अहिले शीर्षस्थानमा रहेका केही नेता भन्दा त्यसबेलाका राणाले समेत जनप्रिय काम गरेका छन्। त्यसबेला र आजको समय फरक छ। विश्वपरिवेश फरक छ। तर, हामी जहाँको त्यहीँ छौं भन्दा अत्युक्ति नहोला।
देशको समृद्धिको कुरा त कता हो कता। सिमानामा राणाकालमा गाडिएका जंगे पिलरसमेत हामीले बचाउन सकेका छैनौं। यी र यस्तै कमीकमजोरीको फाइदा उठाएर छिमेकीले हाम्रो चुल्हो निभाउन रातविरात तम्सिरहेको छ।
आन्दोलनको आँधीवेहरीमा दुःखी र निमुखा कार्यकर्ता लडाइँको अग्रमोर्चामा उभिएका थुप्रै उदाहरण छन्। हरेक आन्दोलनमा नेतृत्वभन्दा कार्यकर्ता निसानामा पर्दै आइरहेका छन् र गोलीको सिकार हुने गरेका छन्। तर, तिनै कार्यकर्ताले ल्याएको परिवर्तनबाट बनेका नेता र सत्ता सम्हालेका मान्छेहरुको अदूरदर्शीताले आज धेरैका चुल्हो फेरि धरापमा परेको छ। छिमेकीप्रति पुरै परनिर्भर हुनु र राज्यप्रतिको जिम्मेवारीवोध गर्न नसक्नुकै परिणाम आज मोदी रिसाउँदा हाम्रो चुल्हो निभेको हो।
बन्द र हड्तालले रोजीरोटी गुमाउनुको पीडा सहेर आधा पेटमा पटुकी कस्न बाध्य सर्वसाधारणलाई कतिबेला आफ्नै आन्तरिक कारणले त कति बेला मोदी रिसाएर चुल्हो जोगाउन धौ–धौ परिरहेको छ। हाम्रा आन्तरिक समस्या ज्यूँकात्यूँ छन्। तर, पछिल्लो दुई महिनायता भारतीय सरकारले गरेको अघोषित नाकाबन्दीले नेपाली जनता थप मारमा परेका छन्।
कठै! मेरो देश, मेरो सरकार।
सार्वभौमसम्पन्न राष्ट्रको परनिर्भरताको यो पराकाष्टा देखेर लाज लागेको छ। कम्तिमा पनि ६ महिना नभए ३ महिना त्यो पनि नभए १ महिनालाई थेग्नसक्ने इन्धन पनि स्टोर गर्न सकेका रहेनछौं।
आयल निगममा भएको भ्रष्टाचार र त्यसभित्र देखिएको माफियातन्त्रले निगमभित्रको दुर्दसा के रहेछ भनेर सहजै अनुमान गर्न सकिन्छ। देश रोइरहेको बेलामा समेत लुट्न पल्केका आयल निगमका निर्लज्ज बज्रस्वाँठहरुले यसअघि कति लुटे होलान्?
इन्धनजस्तो संवेदनशील वस्तुको स्टोर क्षमता बढाउनुपर्छ भन्ने कुरा २०४५ को नाकाबन्दीबाट पाठ सिक्नु पर्दैनथ्यो, सरकारले?
यी यावत् प्रश्नले के मात्र पुष्टि गर्दछ भने हाम्रा नेताहरु वा सत्ता सम्हालेका शासकहरु भारतीय पक्षलाई रिझाएर व्यक्तिगत लाभ लिन तल्लीन हुनाले राणाकालीन, पञ्चायतकालीन विकासमा सीमित रह्यो। नेतृत्वको अदूरदर्शिताकै परिणामस्वरुप भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीको एक हप्ता बित्न नपाउँदै हामी हायलकायल भयौं। फलस्वरुप अधिकांश नेपालीका चुल्हो निभेका छन्। मोदी सरकार रिसाउँदा हाम्रो डिपोमा लाग्ने सवारी साधनका लाइन र जामले हामीलाई नै गिज्याइरहेको छ।
सत्ताको रस्वासदन लिन पल्केका हाम्रा नेताहरुले देशका लागि केही सोचेको भए सायद आज मोदीको यो क्रूरताबीच पनि हामी उँचो शीर गरेर स्वाभिमानको यो लडाइँ लड्न सक्थ्यौं होला। सरकारले जनताका लागि गर्नैपर्ने न्यूनतम् काम पनि नगरेकैले यो स्थिति आएको हो।
यसअघिका थुप्रै सरकारहरुले राजनीतिक परिवर्तनमा अनावश्यक भारतलाई दिएको स्थान नै आज घातकसावित हुँदैछ। भारतीय पूर्व प्रधानमन्त्री नेहरुदेखि मोदीसम्मको नेपालप्रतिको दृष्टिकोणमा खासै परिवर्तन छैन। मोदी घुमाइफिराइ नेपाललाई आफ्नो पञ्जाभित्र राख्न चाहन्छन् भन्ने तथ्य अब हामीमाझ छिपेको छैन। मोदीले नेपाली संसद्मा बोलेको धोके सम्बोधन केवल निहित स्वार्थका लागि थियो भनेर ठोकुवा गर्न सकिन्छ। अब राष्ट्रियताका नाममा जनता रुवाउने र भोकभोकै मार्ने दिनको अन्त्य गर्न राजनीति गर्नेहरुको बेलैमा चेत खुल्न जरुरी छ कि भोलि अरु …मोदी'हरु रिसाउँदा पनि नेपालीको चुल्हो ननिभोस्।
आखिर के चाहन्छन् मोदी?
भारतले नेपाल संघीयताको कारण आन्तरिक द्वन्द्वमा नराम्रोसँग फसोस् र सधैं ठूल्दाइको भूमिका निर्वाह गरेर नेपालभित्र रहेका अथाह साधनश्रोतको घुमाइफिराई अधिकतम् फाइदा गरिरहँु भन्ने चाहन्छ। भारतमा कहालीलाग्दो बन्दै गइरहेको पानीको संकटलाई समाधान गर्न उसले नेपालका नदीनाला चाहन्छ।
विहारमा सम्पन्न चुनावी आमसभालाई सम्बोधन गर्दा मोदीले पानीको अभाव र विजुलीको अभाव कम गर्न नेपालसँग प्रक्रिया अघि बढिसकेको बताएका थिए। मधेसी दलहरुलाई माया गरेको निहुँमा मधेस डुबाउने उनको भित्री इच्छा अब विस्तारै छताछुल्ल हुनुपर्छ। त्यति मात्र नभएर गौतम बुद्धका विषयमा समेत भारतले यदाकदा दुईजिब्रे पारा देखाउन पछि परेको छैन। नेपाल आउँदा जति उदारताका साथ गौतमबुद्ध र नेपालका भनी टिप्पणी गरेपनि बाहिर जाँदा भ्रामक अभिव्यक्ति दिएका छन्।
भारत यो वा त्यो बहानाबाजी गराएर गौतमवुद्ध र गान्धीको अनुयायी भएको बहानामा नेपालप्रति हेपाहा प्रवृत्ति राख्दैआएको छ। उसले संघीय प्रदेशको सिमांकनमा समेत विभिन्न प्राकृतिक साधनश्रोतका अलवा नदीनाला र लुम्बिनीसमेतलाई प्रभाव पार्ने गरी संघीय संरचना निर्माणमा चाहना राखेको अनुमान छ। उसको निहित स्वार्थपूर्ति गर्ने सवालमा तलमाथि हुनेबित्तिकै भारतले विभिन्न बहानाबाजीमा नेपाल र नेपालीलाई सताउँछ। यसैको परिणाम आज मोदी रिसाउँदा हाम्रो चुल्हो निभेको छ।