अमेरिकामा बस्ने एकजना दिदीले खाना खान बसेकी आफ्नी छोरीलाई सोधिन्, 'तँ कोक खान्छेस कि जुस?'
'पानी खान्छु, आइस हालेर,' बाह्र कक्षा सकेर क्याम्पस पढ्दै गरेकी छोरीले उत्तर दिइन् ।
'हैन, डाइट कोक खान!' दिदीले कर गरिन् ।
छोरीले झर्को मानेझैं गरी दिदीलाई हेरिन् ।
भिनाजु कराए, 'पानी खान्छु भन्नेलाई कर गरीगरी किन कोक, फ्यान्टा, जुस ख्वाउनु परो?'
दिदीले जबर्जस्ती कोक भिडाइन् ।
…
सानो हुँदा कोक खान पाउनु ठूलो रवाफ हुन्थ्यो । पैसा पनि हुन्थेन कोक, फ्यान्टा खान । पैसा हुनेले फ्रूटी खाँदा आफूले भने पानी खानु पर्थ्यो पैसा नभएर । एकपल्ट बुबाले १० रुपैयाँ दिदा २ घण्टा लाएर साथीहरुलाई देखाएर फ्यान्टा खाँदा आफ्नो ठूलो इज्जत भएको ठानेको थिएँ । कसैकोमा पाहुना भएर जाँदा स्क्वास, ट्यांङ इत्यादिले सत्कार हुँदा आफूलाई ठूलो महसुस हुन्थ्यो ।
पछि ठूलो भएपछि पैसा पनि हुन थाल्यो । अनि त कोक, फ्यान्टा, स्प्राइट कति खाइयो कति । अहिले पनि पैसा तिरेर पानी खानुभन्दा कोक खान अघि सरिन्छ । रेगुलर कोकभन्दा डाइट कोक वा अन्य कुनै डाइट पेय पदार्थ, यिनीहरुले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ भन्ने जान्दाजान्दै ।
…
अमेरिकामा करिब ८९ हजार नर्समा गरिएको अध्ययनले सफ्ट ड्रिंक्स भनिने कोक, फेन्टा, पेप्सी इत्यादि चिनीजन्य पदार्थ सेवन गर्नाले हार्ट अट्याक लगायत अन्य मुटुका रोगहरुको सम्भावना धेरै हुने देखाएको थियो । तेस्तै २००४ मा गरिएको अर्को अध्ययनले सफ्ट ड्रिंक्स खाने मान्छेहरुमा डाइबिटिज़ रोगको सम्भावना बढी हुने देखाएको थियो। यो अध्ययन पनि करिब ९० हजार मान्छेहरुमा गरिएको थियो । सफ्ट ड्रिंक्सले गर्दा हुने स्वास्थ्य समस्या यत्तिमै सकिँदैन।
स्कुले बच्चाहरुमा यसको समस्या अझै भयावह छ । ब्राजिलका करिब १२०० स्कुले बच्चाहरुमा गरिएको अध्ययनले सफ्ट ड्रिंक्स खाने बच्चाहरुमा मोटोपनको समस्या हुने देखिएको थियो । तेस्तै बेलायतमा गरिएको अर्को अध्ययनमा कोक, पेप्सी इत्यादि सेवन गर्ने बच्चाहरुमा मोटोपनको समस्या अधिक देखिएको थियो। मोटो बच्चाहरुलाई ठूलो भएर अध्ययनमा समस्या हुने, अरुको अगाडि लाज हुने, चिनी रोग, मुटुको रोग लाग्ने अध्ययनले देखाइसकेका छन्।
सफ्ट ड्रिंक्सले स्वास्थ्यमा गर्ने असरहरु धुम्रपानले फोक्सोको क्यान्सर गरेजत्तिकै सत्य भैसकेको छ। यसै कुरालाई ध्यानमा राखेर संसारका धेरै देशले सफ्ट ड्रिंक्समा धेरै ट्याक्स लिन थालेका छन्। अमेरिकाका स्कुलमा बच्चालाई सफ्ट ड्रिंक्स दिन/बेच्न पाइन्न। न्युयोर्क सहरमा ठूलो बोतलको कोक, पेप्सी बेच्न प्रतिबन्ध गर्ने कानुन त्यहाँका मेयरले ल्याएका थिए।
सफ्ट ड्रिंक्स त्यागेर पानी वा अन्य स्वस्थकर पेय पदार्थ खानेहरुको जमात बढ्दो छ।यस्ता अस्वस्थकर पेय पदार्थमा जुस, फ्रुटी, रियल इत्यादि अप्राकृतिक ड्रिंक्सहरु पर्छन् । त्यस्तै ट्याङ, स्क्वास पनि स्वस्थ पेय पदार्थमा पर्दैनन्।
अनिडाइटपेयपदार्थनि?
अध्ययनहरुले डाइट पेय पदार्थ पनि उत्तिकै खतरनाक हुने देखिएको छ । अझ धेरै खाने मान्छेलाई त यसले रेगुलरले भन्दा बढी हानी पुर्याउने देखिएको छ।
भयावह स्वास्थ्य समस्यालाई ध्यानमा राखेर आजैदेखि आफू पनि स्वस्थकर पेय पदार्थ दूध, पानी, फ्रेस जुस (चिनी नहालेको) इत्यादि सेवन गर्न थालौं ।अनि, बच्चा वा अन्य कसैले पानी खान्छु भन्दा जान्ने भएर 'कोक, फेन्टा, पेप्सी, सेभेन अप खाऊ' भन्ने गल्ती कहिले पनि नगरौं ।
म पनि बिस्तारै कोकको साटो पानी नै खान थालेको छु, फ्री नै भेटियो भने पनि।
(डा. दाहाल अमेरिकाको न्यु ह्याम्पसायरस्थित अस्पतालमा कार्यरत छन् ।)