तिहार अगाडि चावहिल गणेस्थानमा एउटी गर्भवती महिला भेटीइन्। एउटा हातले करिब तीन वर्षको बच्चा डोर्याएकी र अर्को हातले रित्तो ग्याँस सिलिन्डर टाउकोमा राखेर छोपेकी। ग्याँसको लाईनमा जाँदै रहिछन्। मैले उनको सिलिन्डर बोकेर लाईनसम्म पुर्याईदिए। बाटोमा उनीसँग केहि कुरा पनि गरेँ। ‘तपाईको श्रीमान् कहाँ हुनुहुन्छ? किन यस्तो जोखिम मोल्नुभएको?’ अनुहार अध्यारो बनाउँदै उनले भनिन्,‘श्रीमान भूकम्पमा बित्नुभयो सिन्धुपाल्चोकमा।’
मैले थप प्रश्न सोध्न सकिनँ। उनले आफैं अगाडि भन्न थालिन्- यहाँ दिदीसँग बसेको दिदी आफै बिरामी भएकाले समस्या पर्यो भाइ। बिरामी दिदी र यो बच्चालाई पकाएर खुवाउने ग्याँस छैन, तैपनि पाइहाल्छ कि भनेर रित्तो न हो भनेर बोकेर हिँडेकी, ग्याँस पाइयो भने कसैलाई खोजेर पुर्याईदिन भन्छु।’
सिलिन्डर लाईनमा राखिदिदै मैले भने, ‘तपाईलाई ग्याँस मिलोस्, नेपालीले सधै दुःख पाए के गर्नू,’ मैले बोलिनसक्दै उनले भनिन्,‘त्यही त त्यो मोदीलाई सराप लागोस्, हाम्रो ओली नझुके हुन्थ्यो बरू जति दुःख भएपनि होस्।’
ती दिदीको रास्ट्रवादलाई मनमनै सलाम गर्दै म हिडेँ। अहिले धेरैमा त्यस्तै रास्ट्रवाद भेटिन्छ। चाहे पेट्रोलको लाईनमा होस् या चाहे गुन्द्रुक झैँ खाँदिएको बसमा। लाग्छ अहिले देश यही रास्ट्रवादले थामिरहेको छ। सरकारलाई केही गर्नु परेको छैन। कसैले केही सोध्यो भने दुईचार रास्ट्रवादी भाषण र दुईचार उखान टुक्का सुनाइदियो मानौं त्यसैले जनतालाई बाँच्ने उर्जा मिल्छ।
तिहारपछि बुटवलबाट काठमाडौं आउने रात्री बसमा सँगै यात्रा गरेका एकजना भलादमी मित्रको अलि फरक विचार पाईयो। बसको क्याबिनमा छिर्ने ढोका खुल्लै राखेर त्यहाँ थप गरिएको दुई बित्ता लामो एउटा फल्याकमा उहाँ र मलाई राखिएको थियो। सिट छ भनेर त्यसको पनि टिकट बेचिएको थियो। त्यसरी पनि यति लामो यात्रा गर्न सक्ने मान्छे त हामी होइनौं तर हामीलाई पनि रास्ट्रवादले सम्भब तुल्लायो। अगाडि खुट्टा राख्ने ठाउँ नभएर घुडा बोनटमा ठोक्किएर कति दुख्यो। तर, रास्ट्रवादले सहनसिल बनायो।
उहाँ मित्रको रास्ट्रवाद चाबहिलकी दिदीको भन्दा केही भिन्न थियो कुराकानी कै क्रममा उहाँले भन्नुभयो-‘यहाँ नक्कली रास्ट्रवादको डम्फु फुक्दैछ सरकार, केपी ओली र प्रचण्ड रास्ट्रवादी हुन् भन्ने मलाई लाग्दैन। यिनिहरू केही दिन अडान लिएजस्तो गर्छन बिस्तारै नुन छैन, तेल छैन,देशनै ठप्प भयो हामी बाध्य भयौं भन्छन् अनि भारतको माग संविधानमा हाल्छन् तपाई हेर्दै जानुहोस्, यिनीहरु सबै मिलेका छन् र अहिले त्यो वातावरण निर्माण गर्दैछन्।’
मैले उनको यो भनाईलाई आक्रोसको रूपमा मात्र लिएँ र उनलाई यस्तोबेला हामीले सकारात्मक सोँच र धैर्यता राख्नुको विकल्प नभएको कुरा गरेँ। उनको तर्क थियो-‘यदि त्यसो होइन भने खोइ त सरकारले विकल्प खोजेको? मरिचमान जति पनि गर्न नसक्ने त्यति कमजोर त होइनन नि यिनीहरू, यिनीहरू भित्रैदेखि केहि गर्न चाहेकै छैनन्। मैले चीन तिरको फिडब्याक पनि पाएको छु। चीन हरेकचिज दिन तयार छ। तर नेपालले पर्याप्त पहल गरेकै छैन।’
आफू एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने बताउने ती भलादमीको भनाई आक्रोश मात्र नभई अर्थपूर्ण पनि हुनसक्छ। आज देशको परिस्थिति हेर्दा डर लाग्न थालेको छ कतै ती दिदीको विश्वाश ती मित्रको शंकाले चकनाचुर पार्ने त होइन?
देश चरम संकटमा छ हालसम्म जेनतेन जनताले आधा पेट भएपनि खाइरहेका छन् । चिउरा र दालमोट भएपनि चपाईरहेका छन्। पुरानो भएको किचेन र्याक, फर्निचर कारखानामा पाउने काठका टुक्रा टुक्री र किराना पसलका खाली कार्टुन बालिरहेका छन्।
केहिदिन अघिसम्म निर्वाद भित्रिएको ब्ल्याक ईन्धनले देश चलेको छ। तर बिस्तारै अब ती बाल्ने कुराहरु सकिन थाले। भारतले ब्ल्याक ईन्धनमा पनि कडाई गरेको छ। जनताले शिघ्र प्रतीक्षा गरिरहेका छन् सरकारले के समाधान दिन्छ भनेर। तर, अहिलेसम्म कुनै ठोस प्रगति केहि देखिदैन।
चीनसँग हुने भनिएको ईन्धन सम्झौता समेत अहिलेसम्म हुन नसक्नु, केरूङ पुग्ने सडक स्तरउन्नति सुरू समेत नहुनुले ती मित्रको भनाईलाई टेवा प्रदान गरेको छ। त्यसैले आज प्रधानमन्त्रीज्यूलाई यो पत्र लेख्न बाध्य बनायो।
प्रधानमन्त्रीज्यू! तपाई एकातिर चरम संकटमा देश सम्हाल्नु पुग्नु भएको प्रधानमन्त्री हो भने अर्को तिर देशलाई सदाका लागि स्वतन्त्र तथा नाकाबन्दी मुक्त बनाउने अवसर प्राप्त भाग्यमानी प्रधानमन्त्री पनि हो। तपाई अघि बढ्नलाई जनताले पर्याप्त साथ् दिएका छन्। तर, याद राख्नुहोस् यो साथ तपाइँले अनन्त कालसम्म पाउनुहुने छैन।
जनताको चुलो पूर्णरुपले ननिभ्दै तपाइँले कम्तिमा एउटा काम गरेर देखाउनुहोस्। चुलो निभेपछि कुरो अर्कै हुन सक्छ, भोको पेटले रास्ट्रवाद नचिन्न सक्छ। तपाईँले बोलेजति सबै काम गर्ने पर्दैन मात्र एउटा गर्नुहोस् चीनसँगको ईन्धन सम्झौता फत्ते गर्नुहोस् र केरूङ पुग्ने सडक स्तरउन्नति तत्काल सुरू गर्नुहोस्। सरकारसँग बजेट छैन भने श्रमदानको लागि आब्हान गर्नुहोस् जनता बेल्चा बोकेर आउने छन्, त्यत्रो संख्यामा रहेको हाम्रो सेनालाई प्रयोग गर्नुहोस्, ३३ प्रतिशतको सट्टा बरू २० प्रतिशत नै किन नहोस तर, चीनबाट सधैको लागि ईन्धन आउने बाटो बनाउनुस्।
यदि तपाईँ बसमा भेटिएका ती मित्रको भनाईलाई झुटो सावित गर्न चाहनुहुन्छ भने यो एउटा काम मात्र गरेर देखाउनुस किन कि यो काम अहिले नगरे फेरि कहिले सम्भव हुनेछैन र अहिले भयो भने फेरि कहिले भारतको नाकाबन्दी भोग्नु पर्ने छैन। पटक पटकको छिमेकीको आक्रमणले थाहा भइसक्यो हाम्रो कमजोरी के हो र उसले कहाँ समाउँछ भन्ने।
त्यति मात्रै गर्नुहोस् तपाईँको नाम भावि पुस्ताले कहिले बिर्सने छैनन्। तपाईँका उखान टुक्काको संग्रह गरेर राख्ने छन्।