२०५८ सालमा एसएलसी रिजल्ट हेर्न हामी एक हुल साथी गोरखापत्र खोज्दै न्युरोड, भुगोल पार्क पुगेका थियौं।
त्यतिखेर भुगोल पार्कमै नाङ्लोमा बनाना चुइगम, ल्याक्टो चकलेट र खैनी बेच्ने राधा कार्कीसँग पहिलोपटक भेट भएको थियो। २२ वर्षकी थिइन् उनी। मुश्किलले केही सय रुपैयाँको व्यापारले घरबार चलाउन सकस पर्ने बताएकी थिइन्।
एसएलसी रिजल्टमा म पास भएँ। जिन्दगीका त्योभन्दा कठिन परीक्षा त्यसपछि सुरु भए। राधा पनि जिन्दगीकै परीक्षासँग जुधिरहिन्, सायद।
चौध वर्षपछि गएको साता फेरि उनीसँग भेट भयो, उही भुगोल पार्कमै।
उही ठाउँ, उही मोड, उही मान्छे, उही नाङ्लो पसल।
अनुहारमा अलिकति बुढ्यौली थपिएछ। स्वाभाविक हो, म पनि त १४ वर्ष बूढो भएकैछु। त्यसबेलाको बाक्लो कालो कपाल फुलेर सेताम्मे पातला भएछन्। स्वाभाविक हो, मेरा पनि ठाउँठाउँमा सेता कपाल देखिन थालेकै छन्।
यो डेढ दशकमा राज्यले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा ठूलो उथलपुथल बेहोरेको छ। त्यसैले, राधा र मबीचको १४ वर्षे खाडल समय मात्र होइन, एउटा कालखण्ड हो, जसमा धेरैका जिन्दगी फेरिएका छन्। देशकै इतिहास फेरिएको छ।
‘दिदी, तपाईंलाई त मैले १४ वर्षअघि पनि यही ठाउँमा देखेको थिएँ,’ उनीसँग किनेको पानीको बोतल समाउँदै मैले सोधेँ।
प्रश्न भुइँमा खस्न नपाउँदै कार्कीले जवाफ दिइन्, ‘होला भाइ! २२ वर्ष बित्यो यही ठाउँमा यसरी नै बसेको।’
उनले दुई सय रुपैयाँमा थालेकी हुन् यो नाङ्लो पसल। यही कमाइले घडेरी जोडिन्। बाटोमा बसेर खिद्रिमिद्री सामान बेचेको देखी छिःछिः गर्ने आफन्तको मेख मारिन्।
‘तर्किएर हिँड्ने आफन्तलाई मसम्म जोड्ने बाटो यही नाङ्लो पसलले कोर्यो,’ ज्वरोले थलिएको अनुहारमा खुसी फिँजाउँदै कार्कीले भनिन्।
यस अवधिमा उनले दर्जनभन्दा बढी नाङ्लो फेरिसकिन्। न्युरोड वरिपरि दर्जनभन्दा बढी डेरा चहारिसकिन्। देशको काँचुली फेर्न भनी गरिएका सयौं आन्दोलन र भाषणकी स्रोता र दर्शक बनिसकिन्। र, पनि देश परिवर्तन भएको अनुभव उनलाई कहिल्यै भएन। अचेल त कसैले देश र राजनीतिको कुरा गर्यो भने उनको पारो छुट्छ।
‘राजनीतिले पेट भरिने होइन, किन बुझ्नुपर्यो हामीले राजनीति?’ उनको भनाइ छ।
राधालाई कुन प्रेरणाले २२ वर्षसम्म नाङ्लो व्यापार चलाउन हौस्यायो होला? वा, कुन बाध्यताले उनलाई यो सडक व्यापारमा घचेट्यो होला?
चौध वर्षको उमेरमा नाङ्लो पसल चलाउनुको बाध्यता उनको घरायसी व्यथासँग जोडिएको छ।
‘मैले देखेको र भोगेको दुःख, कष्ट सुनाउन मलाई केको अफ्ठ्यारो?’ माइती छाडेदेखि भोगेको यातना, नाङ्लो व्यापारको कथा र संघर्ष सुनाउन तयार भइन् कार्की।
आर्मीको घरबाट माग्न आएका थिए उनलाई। सरकारी जागिरे, त्यसमाथि आर्मी केटो। बिहे पक्का भइहाल्यो। उनी डोली चढेर दोलखा पुगिन्। तर, आठ वर्षसम्म श्रीमानसँग दोहोरो कुराकानीधरि हुन सकेन।
‘अहिले सम्झिन्छु, म बुहारीका रूपमा होइन खेतालाका रूपमा श्रीमानको घर पुगेकी रहिछु,’ उनले भनिन्।
श्रीमानले वास्ताब्यास्ता नगरेपछि उनलाई अर्को शंका पनि लाग्न थाल्यो, कतै बाहिर अर्की श्रीमती त छैन?
उनले जेठाजुलाई श्रीमानसँग दोहोरो कुरा गराइदिन आग्रह गरिन्। बिहे भएको आठ वर्षपछि श्रीमानसँग दोहोरो कुराकानी त भयो, तर मुश्किलले आधा मिनेट।
‘हो, तँलाई घरको काम गर्न ल्याएको हो,’ उनको शंका सही साबित गर्दै श्रीमानले भने, ‘इच्छा भए बस् नत्र गए हुन्छ।’
यत्रो बज्रपात पर्दा पनि माइतीबाट भने बिहे भएको घर छाड्न हुन्न भन्ने दबाब कायम थियो। उनले श्रीमानकै घरमा अघोषित दास बनेर अझ केही समय बिताइन्। तर, कति सहनु!
‘जाने बाटो कतै नदेखेपछि एकदिन तामाकोसीतिर लागेँ, सायद मेरो कर्ममा मर्नु लेखेको थिएन, पटुकोमा कच्याककुचुक पारेर बाँधेको दुई सय रुपैयाँले मेरो बाटो नै फेरियो,’ उनले भनिन्, ‘म त्यही पैसा बोकेर सरासर काठमाडौं छिरेँ।’
दोलखाबाट ६२ रुपैयाँ गाडीभाडा तिरेर काठमाडौं पसेकी उनलाई यहाँ के गरेर ज्यान पाल्ने भन्ने चिन्ताले खान थाल्यो। उनले सम्झिइन्, गाउँमा मेला जाँदा जेठाजुहरू कुरा गर्थे, काठमाडौंमा त बाटोमा चुरोट बेचेर पनि ज्यान पाल्न सकिन्छ।
उनको मनमा अचानक बिजुली चम्केजस्तो भयो। झमझम पानी परेपछि कालो बादल फाटेर उघ्रिएको आकाशजस्तै उनको आँखाअगाडि गन्तव्य छ्याङ्ग भएर आयो।
उनले आफूसँग बचेको पैसाले चकलेट, सुर्ती, चुरोट र चुइगम किनिन्। एउटा नाङ्लो पनि किनिन्। यहीँबाट सुरु भएको उनको जिन्दगीको नयाँ अध्याय।
त्यसयता यही ठाउँ र यही पसल उनको जीवन निर्वाहको आधार बन्दै आएको छ।
उनका श्रीमान अहिले नेपाली सेनाको ठूलो पदमा पुगेका छन्। उनका केही आफन्त श्रीमानविरुद्ध मुद्दा हाल्न उक्साउँछन् पनि। तर, उनी कसैका कुरा सुन्दिनन्।
‘उ बेला कसैले केही सुझाएनन्। अहिले म आफैं गरिखाने भएपछि अनेक सल्लाह दिन आउँछन्,’ उनले भनिन्, ‘उसले ठूलो मान्छे भएर यो काठमाडौं उपत्यका नै किनेको भए पनि मलाई केही चाहिएन अब। झ्यामझ्याम बाजा बजाएर भित्र्याएकी स्वास्नीलाई तँलाई काम गर्न ल्याएको भन्नसक्ने मान्छेले सुनको दरबारै बनाए पनि मलाई के काम?’
उनी नाङ्लो पसलबाट दैनिक लगभग ५ हजार रुपैयाँको व्यापार हुने बताउँछिन्। कुनै दिन बन्द गर्नु पर्दैन। कसैलाई भाडा तिर्नु पर्दैन। ‘महिनाको लगभग ५० हजार आन्दानी हुन्छ,’ कार्कीले मुहारमा उज्यालो ल्याउँदै भनिन्।
थोरै व्यापार भयो भनेको दिनमा ३ हजार हुन्छ। विदेश जान सपना देख्नेहरूको दिनभरि नयाँ सडकमा कचहरी सुन्छिन् उनी। ‘देशमा काम गर्न लाज मान्नेहरू विदेश जाने सपना देख्ने हुन्,’ उनको भनाइ छ।
गएको वर्ष १३ लाखमा भक्तपुरमा घडेरी जोडेकी छन्। ‘सकेछु भने आउँदो वर्ष बस्ने कोठा बनाउँछु। आजकाल ठूलो घर बनाउनु हुँदैन, भुइँचालोले भत्काउँछ भन्छन्,’ उनले भनिन्, ‘दुई कोठाको कटेरो भए पुग्छ।’
राधा कार्कीको नाङ्लो पसलले उनको अनुहारमा छरेको खुसी देखेर म प्रफुल्ल भएँ। जागिर पाइएन भनेर गुनासो गर्न चिया गफ आयोजना गर्ने हामीजस्ता धेरैलाई कार्कीको आयस्रोत अपत्यारिलो लाग्छ।
मैले फेरि फर्किने बेला सोधेँ, ‘मासिक कति कमाउनु हुन्छ रे दिदी?’
‘पुग–नपुग ५० हजार कमाउछु भाइ,’ उनले भनिन्।