नेताज्यूहरुलाई मेरो नमस्कार।
एउटा पहाडीया मगर केटाले हामीलाई खुला पत्र पठाएर जग हसाँयो नभन्नु होला। म त्यो मगर केटाको हैसियतमा पत्र कोरेको हुँ जसको पहाडको टाकुराहरूमा नेपाल खाद्य संस्थानले वितरण गर्ने दश किलो चामल लिन दुई दिन पैदल यात्रा हिँड्नु पर्दथ्यो। त्यो दश किलो चामलमा पनि सात किलो जति त बियाँ र किरा हुन्थे होला। तराईमा चामलको बिरुवा उम्रिन्छ भनेर हजुर बुवाको मुखबाट सुन्दा यो मन खूसीले चङ्गा हुन्थ्यो। मैले धान फलेको खेत त तन्नेरी भएपछि तराई झरेर मात्र देखेको हुँ।
म त्यो पहाडीया केटाको हैसियतमा पत्र कोर्दैछु जसको अफ्ठ्यारा भिरपाखा र खोल्सा खोल्सीहरूमा लडेर कैयौं स्कुले नानीहरूले अल्पआयुमै संसारबाट बिदा लिनुपर्छ। रूघाखोकि र ज्वरोको औषधि जडिबुडि बाहेक अरुपनि हुन्छन् भनेर धरै पछि थाहा भएको हो, जतिखेर नजिकको स्वास्थचौकीमा एकजना मधेसीमुलका स्वास्थकर्मी खच्चडभरि सिटामोल बोकाएर पहाड पुगेका थिए। उनको पसिनाले लुछुप्पै भिजेको त्यो शरीर, तर ओठमा भरिएको मिठो खुसी अहिले पनि सम्झन्छु म। सप्तरीका तिनै अखलेश यादवले हाम्रो गाँउका बिरामीलाई औषधि खान सिकाएका हुन्।
कहिलेकाँही अखलेशको मुखराबिन्दुबाट फुत्त निस्कने दुखेसोले मेरो बाल मष्तिस्क छिचोलेको थियो। तराईमा भूमिबिहिन कमैयाहरूलाई खेतको समस्या छ, जमिनदारको हालिमुहालि छ। त्यसैले धान, ऊखु जति सबै भारत पुग्छन् र तयारी बोरामा चामल र चिनि उल्टै नेपालीलाई चर्को मूल्यमा बेच्छन् भन्ने सुनेको थिएँ। खेत नेपालमा छ तर खेतको मालिक चाँहि भारतमा बस्छन्, सिजनमा धान उठाउन मात्र नेपाल आउने हुन् भन्ने पनि सुनेको थिए। मैले सोच्ने गर्थे तराईमा पनि पहाडमा जस्तै हलि, गोठाला, बन्धकी बस्ने संस्कार रहेछ क्यारे। हाम्रो पहाडमा के हुन्थ्यो भने साहुको ऋण चुक्ता गरेपछि पनि ब्याजको पैसामा बाँच्दासम्म गोठाला बस्नुपर्ने।
यहि निम्छरो पहाडीया हैसियतमा तपाईहरूलाई पत्र कोर्दै गर्दा यो उद्देलित मस्तिष्क प्रत्येक हरफहरूमा आन्दोलित हुन नखोज्ने होईन। यहि बर्गिय भिन्नताका पिडाको घनत्वले च्यापेर होला राजेन्द्र महतोजीहरू महाराजाको गद्दि रेखदेख गर्दै पटक-पटक मन्त्री पदमा आसिन हुँदा म थरूहट प्रदेश घोषणा गर्ने पार्टीको सदस्य थिए। जसले थरूहट प्रदेश घोषणा गरे ती आतंककारी होईनन् भनेर बोलेको कुरा हृदेश त्रिपाठीजीहरूको मुखबाट सुन्ने शौभाग्य कहिल्यै मिलेन मलाई, न महन्त ठाकुरहरूले आँखाको दृष्यले नभ्याउने जमिन कमैयाहरूलाई बाँडेको सुनियो। बरु धेरै पटक मन्त्री पद प्राप्त गरेको, घरखेत, गर गहना जोडेको जस्ता खबरहरूले अखबार भरिन्थे।
‘धान खाने मुसा, चोट पाउने भ्यागुता’ भने जस्तै यो दुई दशक यता गरिबहरूको नारा उचालेर धैरै चलाखहरूले धान खाए, र सोझा मानिसहरूले झन धेरै चोट पाए। ति धान खानेहरू औँलामा गन्न सकिएला तर चोट पाउनेहरू बालुवाको कणभन्दा धेरै छन्, त्यसैले यो नमिठो कुरा उल्लयेख गर्न चाहान्न। मधेसी मोर्चाका एक मुर्धन्य नेता राजेन्द्र महतोजी पनि यो देशको भूतपूर्व आपूर्ति मन्त्री हो, उहाँले आफूले गरेको योगदान र धराताललाई यति चाँडै बिर्सनु हुदैनथ्यो। आपूर्ति मन्त्री भईसकेको एकजना मान्यजनले आपूर्ती नै ठप्प हुने गरि नाकामा अवरोध गर्दा त हाम्रो पनि चित्त फाटेकै छ।
अस्ति मात्रै एक टेलिभिजन कार्यक्रममा बोल्दै उपेन्द्र यादवजीले आफ्नो छाँति तिर औँला देखाउदै भन्नुभयो- ‘म नै हुँ ‘बोडर क्लोज्ड’ गर्ने मान्छे, कसले के गर्न सक्छ गर- म हुँ म।’
मान्यवर उपेन्द्रजी औषधि सेवन गर्न नसकेर अस्पतालको शैयामा छट्पटाईरहेका बिचरा बिरामीले केहि गर्न सक्दैनन्। काखिमा नानि च्यापेर माईत हिडेँकि थकित महिलाले पनि केहि गर्न सक्दैनन् तपाईलाई। महिनौंदेखि स्कुल नगएका कलिला भाईबहिनिहरूले पनि केहि गर्न सक्दैनन्। न केहि गर्न सक्छन् ग्याँसको लाइनमा भोकै बसेका अशक्त अपाङ्गहरूले। बरु भन्नुहोस् तपाई पर-राष्ट्रमन्त्री हुदाँ मुलुक र मुलुकबासीको लागि कस्तो परराष्ट्र नीति ल्याउनुभयो?
पत्रमा तपाईँहरूको नाम नै काडेर पीडा व्यक्त गरेकोमा र तपाईँहरूलाई दुःखी तुल्याएको भए म बिनम्रताका साथ माफी चाहान्छु। एक पटक होइन धेरै पटक माफी माग्छु, उठबस गर्छु। म चाहान्न मेरा दुई-चार शब्दहरूले तपाईँहरूको आन्दोलित मन एक्कासी शान्त होउन्। तपाईहरूको मन, मस्तिष्कमा दनदनी बलिरहेको आगोको रापमा तेल थप्नको लागि यो पत्र कोरेको होइन।
आन्दोलनको प्रकृति जस्तो सुकै भएपनि तपाईँहरूले आफ्नो राजनीतिक अधिकारको भरपुर प्रयोग गर्नु भएकोमा म विश्वस्त छु। तर मलाई यो चिन्ता भने अवश्य छ, कि करौडौँ निर्दोष नेपाली जनताहरुले भोग्नु परेको पिडालाई बुझेर कुन राजनेताले माफी माग्ला?
माफीको कुरा गर्दा गल्तिको कुरा अगाडि आँउछ। तपाईँहरूलाई गल्ति देखाउनु मधेश बिरोधि हुनु हो, चाहे त्यो शान्ता चौधरी नै किन नहुन्। तर आफ्नो माग पुरा गर्नकै लागि अरूको हक-अधिकारको हनन् गर्न पाईँदैन भनेर सामान्य लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूलाई हुनैपर्छ। हुन त हाम्रो देशमा भएको लोकतान्त्रिक विकाश, ब्याज खानको लागि भनेर साहुले सहिछाप गराएको तमसुक जस्तो भएको छ। यदि तपाईहरूको जारी आन्दोलन मधेसी जनताहरूको मुक्तिका लागि थियो भने आफैंले बहिस्कार गरेको संबिधानको नियमावलिमा उक्लेर शुसील कोईरालालाई प्रधानमन्त्रीको रूपमा मतदान गर्न कुन प्रलोभनमा फसेर डौडिनुभयो? जवाफ चाहियो।
म तपाईँहरूको आन्दोलनबारे खिसी गर्ने मानिस होइन। मलाई पनि त गरिब दुःखीहरूको सुखी दिन आएको हेर्न मनपर्छ। पिछडिएका समुदायहरू निकै अगाडि बढेको देख्न मनपर्छ। भोकाहरूले पेट भरि खान पाएको सुन्न मनपर्छ। अनि नाङ्गा केटाकेटीहरूको शरीरमा न्याना लुगाहरूले ढाकिएको नियाल्न मनपर्छ। तर तपाईँहरूले जस्तो पटक-पटक जनतालाई ढाँटेको सुन्न मन पर्दैन। तपाईँहरूले जस्तो गरिबको नारा उचालेर आफ्नै पेट भरेको, आफ्नै दुनो सोझ्याएको देख्न मन पर्दैन। तपाईँहरूले जस्तो जनतामाथि गद्दारि गरेर खुपियाहरूसंग संगत गरेको नियाल्न मन पर्दैन। म फेरि पनि भन्छु- म मधेश बिरोधि होईन तर आम जनतालाई दुःख दिन हुन्न भन्ने बारेमा गहिरो डिप्रेशनमा परेको मानिस हुँ।
नेताज्यूहरू, हेर्नुहोस्- अरबी सागरको यो तातो हावाभन्दा तपाईहरू उभिएको तराई भूमिको तातो हावा बाफ बनेर बिश्व भुमण्डलिकरणमा उडिरहेको छ। संसारका जुन समचार संस्करणहरूमा आँखा लगाएपनि कहिँ न कहिँ तपाईँहरू भेटिनु हुन्छ र तपाईँहरू सँगै म एउटा नेपाली नागरिक भेटिन्छु। यो हाम्रो भेट सुखदायी हो वा पिडादायी हो, त्यो त ईतिहासको जिम्मामा छाडौं। तर, जब एउटी सानी बिरामी बच्चीलाई बचाउन भनेर अस्पताल डौडिरहेको एम्बुलेलेन्समाथि जुन आक्रमण भयो, जसले मेरा आँखाहरू ओभानो रहन सकेनन्। यदि मधेश मेरो हो भने तपाई मधेसी नेताहरू पनि मेरो नै हो, तपाईहरूले होईन भनेपनि हो। भन्नुहोस्-बिरामी बच्चीले कसको के बिगार्यो?
के औषधि खान पाउनु बिरामीको अधिकार होइन? तपाईँहरूको युद्व हो कि आन्दोलन हो? युद्वमा पनि घाईतेहरूको उपचार हुन्छ दुश्मनबाट। फ्लोरेन्स नाइटेङ्गलको नाम किन अमर छ तपाईँहरूले अध्ययन गर्नु भएकै होला। मुलकभरका अस्पतालहरूमा औषधिको चरम अभाव छ। रक्तदानको लागि रगत संकलन गर्ने सामाग्रि समेत छैनन्। समान्य प्राथमिक औषधि अभावका कारण प्रियजनहरू गुमाउन परेको दुखद् खबरहरू आईरहेका छन्। औषधि बोकेको गाडीमा कुनै हतियार त थिएनन्, औषधि नै थिए तर तपाईहरूले पेट्रोल बम प्रहार गर्नुभयो। के यो मानव अधिकारको गम्भीर हनन् होइन र, नेताज्यूहरू?
अधिकारको माग गर्नेले अरूको अधिकार पनि हनन् हुने काम गर्नु हुँदैन। सबै जनता तपाईँहरूले भनेकै मान्ने भए वा तपाईँहरूले अङ्गिकार गरेको विचारलाई समर्थन गर्ने भए संविधानसभामा वा अहिलेको संसदमा तपाईँहरू दुई तिहाईको बहुमतमा हुनुहुन्थ्यो होला। तपाईँहरूको एकलौटी सरकार हुन्थ्यो र स्वायत्त मधेश प्रदेशको कल्पना तपाईँहरूको दिमागबाट बाहिरिन सक्थ्यो। किनकि, जब-जब तपाईँहरू सत्तामा भित्रिनु हुन्छ मधेशको मुद्दा बाहिरिन्छ। यदि त्यसो नभएको हुदोँ हो त अहिलेसम्म प्रत्येक मधेसी जनताको घरमा ट्वाईलेट हुन्थ्यो, बाढी डुबान क्षेत्रहरूमा मानव बस्ती हुदैनथ्यो र एक बिगाहा जमिनको अभावमा मधेसी युवाहरु बिदेशिने काम हुँदैनथ्यो।
अर्को महत्वपूर्ण कुरा कुरा यदि तपाईँहरू वास्तवमै मधेसीको हित चाहानुहुन्थ्यो भने भारतको एकै जिल्लामा २० हजार बिहारीहरूले हाम्रो नेपालको नागरिकता सहजै प्राप्त गर्ने थिएनन्। हुन त रोटिबेटिको सम्बन्ध भनेर मक्ख पर्नु भएको हुन सक्छ। राजनीतिमा साक्खै बाबु र छोराको सम्बन्ध पनि सिरिया र फ्रान्सको जस्तो हुन्छ। भोलिको मधेशमा कुनै कारणवश जनमत सङ्ग्रह हुन गएमा त्यो २० हजार बिहारीले तपाईँहरूलाई धुलो चटाउने छन्। र हजारौँ वर्षदेखिको मिथिला सभ्यता अपहरणमा पर्न सक्छ। यद्दपी नागरिकता प्रकरणमा तपाईँहरूको भन्दा प्रजातन्त्रप्रेमीहरूको धेरै दोष छ। र पनि साँचो अर्थमा नेपाली मुलका मधेसी नेताहरू चलाख हुने समय हो यो। राजेन्द्र महतोजीको चलाखिपन हावि हुने समय हुँदै होइन।
तपाईहरू राजनीतिक रुपमा जति जान्ने हुनुहुन्छ, त्योभन्दा धेरै गुणा नेपाली जनता जान्ने भइसके। तपाईँहरूले नै सिकाउनु भयो। आफ्नो अभिष्ट पुरा हुन नसक्दा ईतिहासमा भारतले पटक-पटक नेपालमाथि नाकाबन्दी लगायो। त्यो कुरा तपाइहरूले सिक्नुभयो। तपाईँहरूले एम्बुलेन्स र औषधिको गाडी जलाएको भोलि कुनै न कुनै समूहले त्यही सिक्छ।
चाहना होला युद्व गरेर तर्साउछौ राज्यलाई। ख्याल गर्नुहोस आजको युगमा युद्व समाधानको बाटो होइन, यसको उपलब्धि क्षति मात्र हो। बिभिन्न दूतहरूको गठन गरेर पाँचतारे होटलमा भारतीय राजदूत रन्जित रेको आशिर्बाद माग्दै गर्दा खुद भारतकै आन्तरिक शुरक्षा कतिको मजबुद छ विश्लेशण गर्नुहोस्।
जहाँसम्म सरकार, वार्ता र संविधान संशोधनको कुरा छ, केपी ओली सरकारका आफ्नै कमजोरिहरू होलान् तर नयाँ संविधानको घोषणा गरेको सरकारले होइन। कुनै पनि मुलुकमा सरकारले संबिधान घोषणा गर्दैनन्। सरकारले संविधान निर्माण गर्दैनन्। यो कुरामा मानिसहरूलाई भ्रम परेको छ। सरकारको काम संविधानसभालाई भौतिक, आर्थिक, प्राविधिक रूपमा सहयोग पुर्याउने मात्र हो। संविधान निर्माण गर्ने काम निर्वाचित सभासद र बनेका राजनीतिक समितिहरूको हो, जहाँ मधेसी दलहरूको उपस्थिति थियो नै। संविधानको घोषणा र पालना राष्ट्रपतिबाट हुने हो, र यसको बिधि सभामुखले तय गर्ने हो, नेपालमा पनि त्यो नै भयो।
तर बहुमत सदस्यहरूको सही छापका आधारमा ‘हुन्छ’ भन्नेहरूको स्वर ठूलो सुनिएपछि संबैधानिक तरिकाले पारित गरेको संविधान तपाईँहरूको लागि आणविक हतियार बनाए जस्तो लाग्यो। यसो भन्दै गर्दा म पुनः स्मरण गराउन चाहान्छु कि म तन्नेरि भएपछि मोटर देखेको एक पहाडिया केटाको हैसियतमा पत्र कोर्दैछु, सरकारको प्रवक्ता होइन। तत्कालिन राष्ट्रपति रामवरण यादवज्यूले जारि गरेको संविधान तपाईँहरूले अमान्य भन्नुका पछाडि केहि कारण देख्छु। जस्तो कि, विगतमा भएको सहमति लागू गर- त्यो भनेको समूहगत रूपमा मधेसीलाई सेनामा प्रबेश गराउ, झापा, मोरङ, सुनसरी सबै मधेशमा गाभिहाल, हिजो बिहारबाट आएकालाई आज राष्ट्रपति बनाउँ। यसको जवाफ प्रधानमन्त्रीज्यूले बारम्बार दिदै आउनुभएको छ।
मान्यवर नेताज्यूहरू, मधेश स्वयत्तताको जुन माग छ, त्यो तपाईँहरूको राजनीतिक मुद्दा हो। यो कुरामा दुई मत छैन। तर यो संबिधान सभाबाट मधेसी जनताले केहि पनि पाएको छैन भनेर हुँईयाँ फैलाउनु धेरै नै अराजनीतिक हुन सक्छ। सीमापारीको बेटीले नेपाली बाबुबाट पैदा गर्ने बच्चालाई स्वतः बंशजको आधारमा नागरिकता प्रदान गर्ने संबैधानिक ब्यबस्था गरेको छ। बुहारीलाई सरकारी नोकरिमा कुनै रोकावट छैन। संसारमा यस्ता धेरै देश छन् जहाँ बिदेसीसँग बिहे गर्नै पाउदैनन् चाहे त्यो आँगनसँग सीमाना जोडिएको देश किन नहोस्। तुलनात्मक रूपमा भारतकै संविधान दाँजेर हेर्दा नेपालको संविधान धेरै उत्कृष्ठ छ भनेर संविधानविद्हरूले स्वीकार गरेका छन्।
पिछडिएका समुदायहरूलाई राज्यको मुलधारमा ल्याउन विभिन्न किसिमका आयोगहरू गठन गरिएका छन्नै। समानुपातिक प्रतिनिधित्वको कुरा त मुलभूत रुपमा छदै छ। जहाँसम्म भुगोल बाँडफाँडको कुरा छ कालिगण्डकी नदीबाट बिद्युत उत्पादन गर्न सकिन्छ भन्दैमा पहाडको ४ नम्बर प्रदेशलाई मधेशमा गाभ्न सकिदैन, नजिकैको झापा त सकिदैन। फेरि पनि प्रतिपक्षमा रहेको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको प्रस्तावमा संविधान संशोधनको प्रावधान अगाडि बढेको देखिन्छ। जनता र दलीय सहमतिको आधारमा मुलुकलाई दिशा दिन यो प्रस्तावको खास उपादायेता हुने नै छ।
तर अहिलेको मुख्य कार्यभार भनेको सरकार र आन्दोलनरत दलको वार्तालाई निरन्तरता दिँदै विश्वासको वातावरण कायम गरेर नाकाबन्दी खुला गर्नु नै हो। जनताको घरमा चुलो बलेको छैन, मुलुक दाउरे युगमा प्रबेश गरेको छ। बिगत ३३ बर्ष यताकै सबैभन्दा खराब अर्थतन्त्रको सुचाङ्कमा पुगेको छ नेपाल।
दैनिक अर्बौँको बजार घाटा ब्यहोर्नुपरेको छ। पर्यटन, हवाई क्षेत्र, यातायात, होटल ब्यवसाय नराम्रोसँग प्रभावित छन्। बिगत ३ महिनादेखि तराईका स्कुलहरू बन्द छन्, बिहानको समयमा खुलाउने मधेसी मोर्चाको निर्णयले विद्यार्थीलाई मानसिक रूपमा तयार राख्दैन। सवारि साधनको अवगमन ठप्प हुँदा देशका धेरै भुभागका शैक्षिक संस्थाहरू सुचारू हुन सकेका छैनन्। अस्पतालमा औषधि छैन, बिरामीको बिजोक छ।
राजनीति भनेको केवल राजनीति गर्नका लागि मात्र होइन, राजनेता जन्माउनको लागि पनि हो। जस्तो कि नेल्शन मण्डेला जन्मिए, महात्मा गान्धी जन्मिए, मदन भन्डारी जन्मिए, विपि कोइराला जन्मिए, पुष्पलाल जन्मिए। उनीहरूले मुलुकका लागि धेरै उन्नति गर्न नसकेपनि धरै क्षति भने गरेनन्। उन्नति गर्नुभन्दा क्षति नगर्नु ठीक हुन्छ। जनतालाई दुःख दिने, पीडा दिने जस्ता कुराहरूले मात्र मगज भरिएको नेता मानवता बिरोधि हुन्छन्, तिनले जनताको हितको लागि काम गर्दैनन्, तिनले उन्नति गर्दैनन्, अनेक बाहनामा क्षति मात्र गर्छन्। जस्तो कि हिटलर, इनामिन दादा, लेण्डुप दोर्जे।
महात्मा गान्धि बन्ने कि लेण्डुप दोर्जे जिम्मा तपाईहरू कै!
हवस्त अहिलेलाई यत्ति, बिदा हुन्छु! नमस्कार।