सन् १९९२ को आरम्भमा लन्डनस्थित बिबिसी नेपाली सेवामा काम गर्न आउँदा तीनवटा लक्ष्य साथमा थियो। प्रसारणको क्षेत्रमा थप ज्ञान, सीप र दक्षता हासिल गर्ने, आर्थिक अवस्थामा सामान्य सुधार गर्ने र छोरी स्मारिकाको उपचार गराउने।
आज करिब २३ वर्षपछि फर्केर हेर्दा ती सबै लक्ष्य धेरै हदसम्म हासिल भैसकेको अवस्थामा उभिएको छु। छोरीको पूर्ण उपचार यो संसारमै सम्भव रहेनछ। त्यसलाई त्यही रूपमा स्वीकार गर्नुपरेको छ। परिवारलाई लन्डनमा छाडेर बिबिसीबाट समयपूर्व अवकाश लिँदै अब नेपाल फर्कने दिन आइपुगेको छ।
छोरीको हेरचाहको सामान्य सुविधा मात्र नेपालमा उपलब्ध भइदिएको भए सपरिवार सँगै फर्कन सकिन्थ्यो। त्यो अवस्था नरहेकाले उनको भविष्यसित सम्झौता गर्ने हिम्मत जुटाउन सकिनँ। तर, १२ घन्टामा दुई देशबीचको यात्रा पूरा गर्नसक्ने अवस्था भएकाले अहिलेका लागि एक्लै फर्किने टुंगोमा पुगेको छु।
लाग्छ, जीवनमा दुई शब्दले कहिल्यै नछाड्ने भयो– ब्रिटिस र ब्रोडकास्टिङ। लन्डनस्थित ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) छाडेर अब ब्रिटिस फोर्सेज ब्रोडकास्टिङ सर्भिस (बिएफबिएस) गोर्खा रेडियोको सम्पादकका रूपमा काठमाडौंमा कार्यरत रहनेछु। नेपालकै एक टेलिभिजन स्टेसनमा साप्ताहिक कार्यक्रम गर्ने योजना पनि छ। तालिम र अन्तरक्रिया कार्यक्रममार्फत यस क्षेत्रमा हासिल गरेको अनुभव भावी पुस्तालाई बाँड्ने चाहना पनि छ। यिनै लक्ष्य बोकेर फर्कंदैछु।
कसै–कसैले सोधजस्तो कुनै पुरानो वा नयाँ शक्तिमा सामेल हुने अहिले कुनै अभिलाषा छैन। बाँकी जीवन पनि मिडिया शक्तिकै सुधारमा समर्पित गर्ने हो। कला, साहित्य र संगीतप्रतिको झुकाव त रही नै रहनेछ।
रेडियो नेपालको सात वर्ष र बिबिसीको करिब २३ वर्षको रेडियो यात्राका क्रममा धेरै स्रोताको मनमा बसिसकेछु। बिबिसी छाड्दा सामाजिक सञ्जाल र पत्रपत्रिकामा व्यक्त भएका भावनाबाट जीवनमा केही प्राप्त गरेछु भन्ने खुसी मिलेको छ। हजारौं प्रशंसक र स्रोताको त्यही माया र विश्वास बोकेर फर्कंदैछु। यो निर्णयलाई खुल्ला हृदयले साथ, समर्थन र सहयोग गर्ने परिवारका सदस्य र साथीभाइलाई कुन शब्दमा धन्यवाद दिउँ?
यतिका वर्षपछि र अहिलेको अवस्थामा देश फर्कने निर्णय लिन त्यति सजिलो थिएन। तर, त्यसका केही कारण छन्। सामान्य लक्ष्य लिएर आएको मानिस सामान्य रूपमै फर्कंदैछु। यो अवधिमा धेरैपटक छुट्टिमा र कामको सिलसिलामा नेपाल आउने–जाने गरिराखेकै छु। छोराले भन्ने गर्छ, ‘नेपाल हुँदा त बाबा मानिस नै अर्कै हुनुहुन्छ।’
हो छोरा!! नेपालमा रहँदा मेरो छाती नै चौडा हुने गर्छ, मेरो अनुहारमा बेग्लै उज्यालो छाउँछ। तिमी पनि जीवनका सामान्य लक्ष्य पूरा गरेपछि नेपाल नै फर्कनू!
हालैका वर्ष बिबिसी नेपाली सेवाको अधिकांश काम नेपालमा सरिसकेको छ। त्यहाँ सक्षम युवा प्रसारकहरूको एउटा समूह नै तयार भइसकेको छ। लन्डनमा बसिरहेर आफ्नो कामबाट अब त्यति सन्तुष्ट हुनसक्ने अवस्था नरहेकाले एउटा परिवर्तनको खोजीमा थिएँ, जुन बिएफबिएसले पूरा गरिदियो।
७५ र ८० वर्ष पुग्न लागिसकेका आफ्ना आमाबाबु र सासूससुराको आँखामा हरेकपटक नेपाल गएर फर्कंदा उदासी पाएको छु। गर्न त के नै सकिन्छ र? तर, नजिकै आफ्नो उपस्थितिबाट उहाँहरूको अनुहारमा फैलने मुस्कान र सन्तोषले अरू धेरै कठिनाइ बिर्साइदिने आशा राखेको छु।
जीवनमा आर्जन गरेको सम्पत्ती हामी आफ्ना सन्तान र आफन्तलाई छाडेर जाने गर्छौं। जीवनमा आर्जन गरेको ज्ञान र अनुभव भने मरेर जाँदा आफूसँगै लिएर जाने? त्यसलाई पनि समाज, देश र भावी पिँढीसँग बाँड्न सके निश्चय नै सन्तोषको अनुभव हुनेछ।
विदेशमा धेरैको मुखबाट सुनेको छु, सब थोकले पुग्यो, अब नेपालको अवस्था ठिक भएपछि फर्कन्छु। हाम्रो सारा जीवन बित्न लागिसक्यो। खै, नेपालको अवस्था ठिक भएको? कहिले आउला नेपालमा सबै अवस्था ठिक भएको दिन? अवस्था ठिक होला र फर्कौंला भनेर कुरिरहने कि आ–आफ्नो क्षेत्रबाट अवस्था ठिक पार्ने प्रयासमा फर्कने? विदेशमा रहेर आफ्ना जीवनका लक्ष्य पूरा भएपछि सबैले एकपटक यो प्रश्नको जवाफ खाज्ने प्रयास गरे हुन्थ्यो।
ब्रिटेनले मेरो परिवारलाई धेरै दियो। त्यसको बयान गर्न अर्को लेख नै लेख्नुपर्ने हुन्छ। २३ वर्ष भयो, बिहान उठ्नेबित्तिकै घडीमा समय हेर्छु। स्वतः हिसाब गर्न पुग्छु। ए! नेपालमा त १० बजिसकेछ। अझै पनि पसलमा केही सामान किन्यो कि १६० ले गुणा गरिहाल्छु, नेपालीमा यति रुपैयाँ पर्यो भनेर। विदेशमा तन, स्वदेशमा मन। तन र मन बाँडिएको सुमन भएछु।
केही साताअघि दसैंको टीकाका लागि काठमाडौंबाट लन्डन फर्कंदै थिएँ। साथमा आफ्नो विद्यालयका एक सहपाठीका छोरा पनि थिए। लन्डन अध्यागमनमा दुईवटा लाम हुने गर्छ। एउटा ब्रिटिसका लागि र अर्को अन्य देशका नागरिकका लागि। उनी ब्रिटिस नागरिकको लाममा लागे, आफू अन्य देशका नागरिकको लाममा लागियो। पछि सामान लिने ठाउँमा हाम्रो भेट भयो। उनले भने, ‘हजुरले अझै ब्रिटिस पासपोर्ट लिनुभएको छैन? युरोप, अमेरिका घुम्न यो रातो पासपोर्टले सजिलो हुन्छ नि! शानै अर्को हुन्छ।’
मैले मुसुक्क हाँसेर मनमनै भनेँ, ‘बाबु, त्यो पासपोर्ट लिउँ भनेको भए तिमी जन्मनुभन्दा पहिल्यै लिन पाउँथेँ। मलाई यो हरियो नेपाली पासपोर्ट नै किन हो किन अति प्यारो लाग्छ, शानदार लाग्छ।’
दुई दशकभन्दा बढी समय कार्यरत थलो छाडेर जाँदा कता कता नियास्रो र नमिठो लाग्छ नै। अनेकौं मिठा सम्झना साथमा छँदैछन्। अन्तिम दिन लन्डनस्थित बिबिसी स्टुडियोबाट समाचार पढ्दै स्रोतासँग आफ्ना अनुभव बाँडेर फर्कंदै गर्दा अम्बर गुरुङको एउटा गीत गुनगुनाउँदै थिएँ :
वैशाख र आकाश छ मौसम त्यही
हिउँ पर्छ डाँडामा फेरि पनि
साउन ल्याउनेछ झरी त्यही
ओत लाग्ने त्यही यात्री हुन्न फेरि
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोलि...
अझै केही पारिवारिक समस्या बाँकी छन्। केही स्वास्थ्य समस्या पनि छन्। थाहा छ, देशमा कठिन अवस्था छ, अभाव र अन्योल छ। तैपनि यो आराम र परिवार छाडेर नेपाल फर्कंदैछु, किनकि मेरो देश त्यहाँ छ।