जसरी शरीर आत्माको, ज्योति प्रकाशको, मन्दिर मूर्तिको, पुत्र पिताको, अभिव्यक्ति भावको, मार्ग लक्ष्यको, ध्याता ध्येयको, भाव बन्धनको तथा संसारिकता संसारको प्रतीक मानिन्छ, त्यसैगरी सूर्यलाई भौतिक उर्जा, प्रकाश, आरोग्य, उपासना, आत्मोत्कर्ष, चतुष्प्रद फल, मोक्ष प्राप्ति, आयु, प्राण, आत्मोन्नति, व्रह्मचर्य तथा श्रद्धाको उदीयमान प्रतिक मानिन्छ ।
आदित्य पर्व छठ नेपालको एउटा प्रमुख र मिथिलाको सर्वप्रमुख पर्व हो । सूर्य जगतको आदि कारण भएकोले आदित्य, उर्जा–शक्ति उत्पत्ति गर्ने स्रोत को रुपमा चिनिन्छ । सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतिक पनि मानिन्छ। जीवन, जगत, प्रकृति, वनस्पति, ग्रहनक्षत्र, संवतसर, समय, काल सबैका कार्यकारक सूर्य नै हो ।
मिथिलांचलमा यस सूर्यपूजालाई पराशक्ति प्रकृति पूजाको रुपमा, लोकविधि–विधानानुसार परम्परागत रुपले पूजा गर्ने परम्परा छ । यसै तिथि–मितिमा छठिमाईको पूजा सूर्यपूजा सँगै गरिन्छ । मिथिलामा छठिमाईको आसि र सत्या असीम र अटूट रुपमा मानिन्छ । छठीमाईको जन्म प्रकृतिको छैठौं अंशबाट भएको हो र यसैकारणले उहाँको नाउ छठी मैया पर्न गएको हो ।
एकै दिनमा एकै अर्घ–नैवेद्यबाट सूर्य र छठीमाईको पूजा हुने गरेको छ । सबै देव माताहरु माता नै हुन् र सबै पूजयनीय भएपनि छठीमैयालाई लडि़कोरी÷सुत्केरी आमा मानिन्छ र यिनलाई नै निनियाँ देवी पनि भनिन्छ। बाल–बालिका जन्मेको छठौं दिनमा प्रत्येक सुत्केरी आमाले अनिवार्य रुपमा छठियार पुज्ने गर्छिन्।
लोक विश्वास छ कि छठिमैयाले बालकको भाग्य–भविष्य त्यसैदिन लेख्ने गर्छिन । अर्को नवजात शिशु, शिशु अवस्थामा निदाएपछि, निन्द्रावस्थामा यिनै छठिमैयाको न्यानो काँखमा हुने गर्दछन् र यी मैयाले शिशुको माया–दुलार गरी हर्ष–आनन्द प्रदान गर्ने गर्छिन्।
पौराणिक मान्यतानुसार देवसेना नायक र्कािर्तकको पत्नी एवं शिव–पावर्तीको छेठी बुहारी भएकोले पनि विशेष पूजनीय र लोककल्याणकारी आमा छिन ।
महिमामय छठ पर्वको शुभारम्भ कार्तिक शुक्ल पक्ष तृतियाको दिन देखि शुरु हुन्छ । पाँच–दिने छठ पर्वको पहिलो दिन व्रतालु महिला तथा पुरुषहरुले माछा–मासुका साथै लसुन, प्याजरहित सात्विक भोजन ग्रहण गर्दछन्।
सोही अनुसार छठ पर्वको दोस्रो दिन चतुर्थीमा छठ व्रतालुले आफ्नो मन र शरीरलाई पवित्रिकरण गर्छन् जसलाई ‘नहाय खाय’ भनिन्छ।
पञ्चमीको दिन सूर्यास्तपछि उपवास बसेका व्रतालु गुड़–चामलले बनेको खिर र मौसम अनुसारको फलले सूर्य भगवानलाई पूजा–अर्चना गरी प्रसाद ग्रहण गर्ने गर्छन्। त्यसपश्चात् पूर्ण भक्ति भावका साथ आउँदो दिनको तयारीमा लागि पर्छन्। कात्र्तिक शुक्ल षष्ठी, छठको मुख्य दिन पूजा–स्थल, नदि–नाला, ताल–तलैया, पोखरी तथा जलाशयको बहुरंगी सजावटमा व्रतालु लगायत सम्पूर्ण परिवारजन सूर्य–आवेष्ठित अध्र्य–सामग्री लिएर भक्ति भावका साथ उपस्थित हुन्छन् ।
लोकपूजा छठी–व्रत आदिपूजा हो र सभ्यता संस्कृतिको साथै धेरैजसो अन्न र खाध–पदार्थको प्रचलन ठीक ढंगले नभएको अवस्थाको रहेको बुझिन्छ । अरुवा, सुथनी, बेसार, भन्टा, नेवो, नारियल, ऊखू, तरकारी नैवेद्यको रुपमा चढाउने गरिन्छ। सोही दिन छठ ब्रतालु अस्ताउन लागेको सूर्यलाई जलाशयमा प्रवेश गरी अर्घ दिन्छन्। पुनः सप्तमीको दिन छठ ब्रतालु मिर्मिरे बिहानीमा उदयमान भगवान भास्करलाई अर्घ दिन छठी घाटमा उपस्थित हुन्छन् । सूर्य नउदाउन्जेलसम्म महिलाहरुले लोक गीतको माध्यमले बिन्ती गर्छन्–
‘उग हो सुरुज देव
अर्घ के बेरिया’
आदिपर्व छठको विभिन्न गीतहरु प्रचलित छन्। यो गीत लोकसामवेदीय गानको रुपमा प्रसिद्ध छ। यस गीतलाई यस पर्वको सवै तयारीको क्रममा, अराधना आदिको क्रममा अवश्य नै गाइने गरिन्छ। यसमा सूर र छठि मैयाको महिमा, व्रतको महिमा र फलाफलका साथै अन्य भावका सुमधुर गीत गाइने प्रचलन छ।
यसरी गीतका साथै प्रकाश रुपी आदित्य देव दिवाकरलाई स्तुतीगान गर्दै अर्घदान दिएर छठ पर्वलाई पूर्णाहूति दिइन्छ।
आदित्य पर्व छठको मुख्य आश्यलाई केलाउँदा आदित्य भक्ति एवंम समर्पण भाव अति मनोहारी तथा वैज्ञानिक आध्यात्मिक महत्व परिलक्षित हुन्छ ।
विभाकर सूर्यको अध्ययनबाट स्पष्ट हुन्छ कि यसको माध्यमबाट उत्पन्न हुने महाप्राण परमव्रह्म परमात्माको अंश जसले गर्दा यो सृष्टि निविर्घन चलिरहन्छ। यो महाप्राण रुपी प्रकाश जब शरीरमा अवत्तिर्ण हुन्छ अनि आरोग्य, आयु, तेज, ओज, शक्ति, उत्साह, स्पूmर्ति, इन्द्रिय शक्तिको रुपमा दृष्टिगोचर हुन्छ ।