भाइटीकाको दिन फुर्सदमै थिएँ म। साँझ हाल अमेरिकामा रहेकी साथी निशासँग कुराकानी भयो। खुसी लाग्यो। तिहारको शुभकामना साटासाट एउटा औपचारिकता थियो। पुरा गर्यौँ।
साथीसँग कुरा गर्न पाउँदाको त्यो खुसी धेरै समय टिकेन। च्ााडबाडको यामको पारिलो घामले उनलाई छुन नसकेको कुरा ठम्याउन मलाई बेर लागेन। ‘चाडबाड आउँछन् जान्छन्। परदेशमा थाहै हुँदैन। सानो मन नगर‘ उनलाई सहज महसुस गराउन मैले भनेँ।
भर्खरै अघिल्लो सालमात्र विदेशिएकी उनीभन्दा पहिले देश छोडेकी म अनुभवी जो ठहरिएँ उनको ‘चाड त मन खुसी भए पो रमाइलो, मन नै दुःखी भए न चाड रमाइलो न त मौसम नै‘ उनी बोलिन्।
बल्ल पो झसङ्ग भएँ भूकम्पले हल्लाएको उनको मन र जीवन स्थीर भएको छैन। भौतिक परकम्प आउन रोकिए पनि जीवन हल्लिइरहेको छ। मानसिक कम्पन आइरहने छ जीवनभरि यसरी नै भूकम्पमा उनले गुमाएको आफ्नो एउटै मात्र भाइ र आमा बुबाका २ सन्तान मध्ये एकको अभावमा निरन्तर...।
त्रिभुवन विश्वविद्यालयबाट केमेस्ट्रीमा केही साल अगाडि नै मास्टर्र्स सकेकी उनी २ साल अगाडि म नेपाल जाँदा अमेरिका जाने तयारीमा थिइन्। भाइको भर्खरै घर छेउकै प्लस टुमा लागेको जागिरले पनि उनलाई सत्तरीको हाराहारीका आंशिक पक्षघातबाट पिडित बुबा र पैँसठ्ठीकी आमालाई छाडेर जान सजिलो बनाएको थियो।
धेरै मेहेनतपछि काठमाडौंको एउटा प्लस टुमा पाएको फुलटाइम जागिर र अमेरिका जानका लागि गर्नुपर्ने तयारी दुवैलाई एकसाथ तान्न खुब गाह्रो भइरहेको थियो निशालाई। संविधान सभाको चुनावको समय थियो। चुनावको विरोधमा वैद्य माओवादी लगायत अन्य ३३ दलको बन्दको कारण तिहारपछि उपचारका लागि काठमाडौं गएकी म धरान फर्कन नपाएर त्यतै थुनिएकी थिएँ। बन्दका कारण उनले पढाउने कलेज खुल्न नसकेकोमा उनी फाइदामा थिइन्। अमेरिकाका कुनै युनिभर्सिटीमा आफूले रिसर्च गर्न चाहेको विषयको प्रपोजल तयार गर्न र पठाउन उनलाई समय मिलेको थियो। आइइएलटिसका लागि तयारी गर्न र परीक्षाको मिति लिन सजिलो भएको थियो। बन्दले हामी दुवैलाई पारेका प्रभाव विपरित थिए। कुरा गर्दै खुब हाँस्थ्यौं।
प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने हाम्रो डेराबाट एमाओवादीको त्यो चुनावको अन्तिम र्याली र सभाका प्रत्यक्षदर्शी थियौँ हामी। यति धेरै मानिस थिए कि प्रचण्ड त्यो क्षेत्रमा हार्छन् भनेर कसैले सोचेकै थिएनन्। अघिल्लो दिनसम्म कांग्रेसले जित्ने दाबी गरिरहेका हाम्रा घरबेटी बा पनि चुपचाप भएका थिए।
परिणाम घरबेटी बाकै पक्षतिर पर्यो। उसो त पानी पनि तेलभन्दा कम चलाउन भन्ने बाले परिणाम घोषणा भएको भोलिपल्ट उनको घरमा डेरामा बसेका हामी सबैलाई चिया र जेरी पनि खुवाए।
पल्लो कोठामा बस्ने युक्त भाइको युनिभर्सिटीको कन्फर्मेसन लेटर आइसकेको थियो। माथिल्लो तलामा बस्ने राजेन्द्र पनि युनिभर्सिटीको कन्फर्मेसन लेटर आउने कुरामा ढुक्क नै थिए। अनिश्चितता खाली उनीसँग मात्र थियो।
चिया गफमै घरबेटी बाले भनेका थिए,‘पोर चारडाना अमेरिका गयो यो घरमा बसेकाहरू, यसपालि को को डान्ठ कुन्नि।‘
युक्त भाइ मुसुक्क हाँसे, केही बोलेनन्। उनको साटो माथिल्लो तलाकी संगीता नै बोलिन्,‘युक्तजीको कन्फर्मेसन लेटर आइसक्यो बा, राजेन्द्र जी नि जानुहुन्छ।‘
राजेन्द्र बोले, ‘निशाजी पनि जानुहुन्छ। प्रपोजल पठाइसक्नु भो होला नि?‘
‘छैन‘ मात्र भनिन् निशाले।
‘पठाउन पर्छ निशा जी अब त ढिला हुन्छ, सँगैका साथी सबै गइसके‘ निशाभन्दा निकै पछिल्लो ब्याचका भएर पनि कन्फर्मेसन लेटर आइसकेको भएर होला युक्त अलि ओभर स्मार्ट नै लागे मलाई त्योबेला। युक्तका खुसी र उत्साह दुवै विज्ञानमा मास्टर्स गरेका सबैलाई अमेरिका जानलाई नै हौस्याइरहेका थिए।
भोलिपल्ट साँझ आइइएलटिसका लागि मिति लिएको कुरा सुनाइन्। तयारी चल्दै थियो उनको।
रोजीरोटी जुटाउन परदेशिएकी म बिदा सकेर सिंगापुर फर्किएँ। केही समयपछि उनको मेसेज आयो। नेब्रास्काको एउटा युनिभर्सिटीले स्कलरसिपमा अध्ययन गर्ने अवसर दिएछ। खुसी थिइन्। उनी अमेरिका पुगेपछि कहिलेकाहीँ फेसबुकमार्फत् कुराकानी हुन्थ्यो। पढ्न शुल्क नलागेपनि खान र बस्न जो आफैँ जोहो गर्नुथियो। उनको व्यस्तता बढ्यो, कुराकानी घट्यो। सामान्य सञ्चो बिसञ्चो बाहेक खासै कुरा हुन पाएको थिएन।
नेपालले महाभूकम्प भोग्यो। कम्पनले कामेका मुटुहरू अझै स्थीर हुनसकेका छैनन् अहिलेसम्म पनि। निशालाई मेसेज गरेर सोधेकी पनि थिएँ। सब ठीक छ भनिन्। सोचेँ ठीकै होला। पछि थाहा भो घरभित्र रहेका पक्षघात पीडित बुबालाई बचाउन सफल भाइले आफू बाँच्नुपर्छ भन्ने नै भुलेछन्।
माटोले पोतेको त्यो घरबाट बुबालाई तान्दै निकालेर अगाडि हुत्याउनसम्म भ्याएका भाइको टाउकैमाथि माथिल्लो तला बजि्रएछ। आँगनमा रामनाम जप्दै गरेकी आमा कै आँखा अगाडि पुरिएछ। कति छटपटियो होला। गाउँलेले उद्दार गर्न कोशिस गरे रे। सबैका घरमा कोही न कोही पुरिएका थिए। समयमा उद्दार गर्न सकिएन होला।
समाचार थाहा पाएर गाउँ पुग्दा ९ दिन लाग्यो रे निशालाई। भूकम्प आएकै दिनबाट बोली हराएका बुबा र रुँदारुँदा सिद्रा झैँ सुकेकी आमा, माटोको ढिस्कोमा परिणत घर अनि घरभन्दा केही तल सुन्तलाको बोटमुनि १ ढिस्का माटो। त्यति नै थिए रे उनी घर– गाउँ पुग्दा।
रातो माटो भएको म पुगेको तर नाम बिर्सिएको ग्ाोरखाको त्यो गाउँमा छोरीलाई पढाउने चलन नहुँदा पनि पहिला गोरखा बजार अनि पछि डुम्रेमा होस्टल राखेर पढाएका थिए भारतीय सेनाबाट अवकाशप्राप्त उनका बुबाले निशा र भाइलाई। काठमाडौं मै कलेज पुरा गरेकी उनी पछिल्लो समय आंशिक पक्षघातबाट पीडित बुबालाई भेट्न अक्सर गइरहन्थिन्। गाउँघरमा आफ्ना संगिनीहरू लालाबाला च्यापेर माइत आउँथे। आमा मौका पारेर नातिनातिनी खेलाउने रहर जाहेर गर्नुहुन्थ्यो रे। पढाइ पुरा भइसकेपछि निशाको घरजमको चाहना थियो बुबा आमाको।
सन्तानका लागि प्रायः सबै आमाबुबा भलै चाहन्छन्। तर निशाको केशमा भाइ ज्यादा सपोर्टिभ थियो। भाइ चाहन्थ्यो निशाको अध्ययन अझै अघि बढोस्। त्यसैले रोजेको थियो उसले घर पायकको कामलाई।
‘म दिदी भएपनि ऊ मेरा लागि दाजु थियो‘ निशाका शब्दहरू थिए यी अबरुद्द गलाबाट निस्किएका, ‘पढाइ अधुरो छाडेर त्यतै बस्न सकिनँ। पढाइ पूरा होस् भन्ने बुबाको इच्छा पनि थियो। आमा त मेरो खुसीमा सधैँ खुसी। खेतबारी गाउँलेलाई छोडेर आएँ दुई ढिस्काहरूबाट दुइ मुठ्ठी माटो बोकेर। आफूलाई बिजी राख्ने कोशिश गर्छु। अलिकति पनि फूर्सद भयो कि मन त्यतै पुग्छ। बोली र सुझबुझ हराइसकेका बुबालाई आमा कसरी सम्हालिराख्नु भएको होला, लडेको घर गोठ कसरी उठाउँदै हुनुहोला थाहा छैन।‘
निशाका यी कुराहरूसँग गर्ने कुरै थिएनन् म सँग। उनी बोल्दै थिइन्, ७ रेक्टरको भूकम्प मभित्र मच्चिइरहेको थियो। मुस्किलले बोलेँ, ‘प्राकृतिक प्रकोप कसरी आउँछ र कस–कसलाई लुटेर फर्कन्छ भन्नै सकिन्न निशा! जे जे आइपर्छन् ती सहनु नै सायद जीवन हो।‘ धेरै बोल्न सकिनँ। मलाई सुनिरहन त यति गाह्रो भो भने भन्नेलाई कस्तो भा होला। फेरि कुराकानी गर्ने प्रतिबद्धता जाहेर गर्दै छुट्टियौं।
उनकै गृह जिल्लामा केन्द्रबिन्दु बनाएर आएको वैशाख १२ को भूकम्पका भौतिक पराकम्प रोकिए पनि उनको जीवनमा उनको परिवारका सदस्यको जीवनमा त्यो भूकम्पले ल्याएको पराकम्प जो कहिल्यै रोकिने छैनन्। अस्ति निशासँग कुरा भएदेखि दिमागमा यति कुराले डेरा जमाएको छ। निस्किएर भाग्ने नामै लिएको छैन।
भूकम्पले प्रत्यक्ष अ–प्रत्यक्ष असर पारेका केही व्यक्तिहरू हुनुहुन्छ मेरा वरिपरि। देख्छु, पीडा महसुस हुन्छ। बोल्ने, कुरा गर्ने आँटै आउँदैन, निःशब्द हेरिरहन्छु बस। त्यतिका व्यक्तिले ज्यान गुमाए। ज्यान गुमाउनेले ज्यानसँगै आफ्नो दुःख पनि लिएर गए तर आफन्त र बास गुमाउनेको पीडा सजिलै सकिने छैन।
गतसालको हिउँदमा आमाको काखमा लुटपुटिदै निदाएका कतिलाई चिसो रात बेस्सरी ठिहिर्याउँदो हो यसपालि। जवान छोराछोरीमा भोलिको आश गर्ने कतिलाई सास निस्सासिँदो हो। कतिका प्रेम पुरिए होलान् त कतिका जीवन ढले होलान्। कति अरबको मरुभूमिमा पसिनासँगै आँखाबाट आँसु झार्दै होलान् भूकम्पले दाबी गरेर लिएर गएका आफन्तको वियोगमा। कति निशा जस्तै शरीर आफूसँग तर मन यतै (घर) तिर छोडेर बाँचिरहेका होलान् संसारका विभिन्न कुनाहरूमा।
निशाको कथा उदाहरण मात्र हो। यो समय धादिङबेसीकी प्यारी साथी बिमलालाई पनि सम्झिरहेकी छु जसको अहिलेसम्मको कमाइले दुःखले भर्खरै बनाएको घर माटैमा मिल्यो। साथी मून जसका श्रीमान धरहरासँगै ढले। नानीहरूको अनुहार हेर्न पनि गाह्रो हुन्छ। चिनेकाको कुरा भए यी। बाँकी कति छन् कति जसका पीडा बिझाउँछन् प्रत्येक पल।
समयसँगै दुःख घट्ला सबैको। भावानात्मक रुपमा आफैँ सबल नभए अर्को उपाय हुन्न।दाताले दिएको चिउरा–चाउचाउ, कम्बल र केही पाता जस्ताले यो हिउँद टार्ने हो कि होइन। ढलेका मठ मन्दिर, चैत्य र गुम्बा उठाउने कहिले हो थाहा छैन। कमसेकम न्यूनतम बास, कपास र गाँससम्म पाए चाँडै उठ्थे होलान् टहरा र टेन्टका पीडित। छ महिनाअघिको विनाश बिर्सिएको सरकार चिसोमा न्यानो आशासम्म बाँड्न सक्दैन बरु पुर्नर्निमाण प्राधिकरणमै अल्झिरहेको छ। ब्युँझिने कहिले हो, थाहा छैन।
बस! भूकम्पको झट्का रोकियो, भौतिक पराकम्प रोकिदै गए ती हजारौंका जीवनमा बाँचुन्जेल र सोच्न सकुञ्जेल नरोकिने पराकम्पहरू मनभरि, सम्झना भरि छोड्दै।