‘जिउनु’ दर्द भोग गर्नु हो, तर ‘बाँच्नु’ त्यो भोगाईमा पनि क्यै अर्थ भेटाउन सक्नु हो। दार्शनिक फ्रेडरिक नित्सेले भन्थे। शायद समयको त्यही परीक्षा घडीमा छौं हामी।
हामी ठप्प छौं। हाम्रो मात्रै समयको बोटमा ऐजेरु पलाएको जस्तो यो क्रुर कालखण्ड! मेची-कालीको बीचको यो पुण्यभुमि प्राकृतिक प्रकोपपछिको मानवीय त्राशदीमा घस्रीरहेझैं छ। धिकिरधिकिर! अनि हाम्रा लगाम लिनेहरु यसैलाई मनग्गे ‘तन्त्र’का नाम दिएर गमक्क छन्। म कुनै राजनीतिक विश्लेषण गरिरहेको छैन। न गर्दैछु कटाक्ष कसैलाई। न अर्थ क्यै छ यो मेरो शब्द बुनाईकै। पाउ जकडीएका धावक, निशब्द कुनाका भावक। बिचरा हामी! यो त्यही कुदेको समयबीच ट्वाल्ल टोलाउने स्थिर शीतनिद्राका ‘भूपी’गत ‘हामी’ जातिको कथा हो। नाकाबन्दीका सदाबहार निलडामधारी!
चिसो चुल्हो, लड़खडाउँदो यातायात, रित्ता इन्धन, बन्द स्कुल, कालोबजारी, व्यतिक्रम समय, सम्बेदनहिन शासन! यी भन्दा के नै डाम चाहिन्छन् र? घिटिघिटी परानमा अझै अस्तित्व खोजेकै छौं जिनतिन।
अपराध थियो हाम्रो संबिधानमा छिमेकीले भनेजस्तो बिधान नलेख्दिनु! धुर्त तरिकाले दुत आए, संविधान तुहाउनदेखि प्रधानमन्त्री चुन्नेसम्मको बेला! जब पुगेनन् आफ्ना स्वार्थ, प्रयोग भयो त्यही अनुभवप्राप्त अचुक ब्रम्हाश्त्र ‘नाकाबन्दी’ र बोल्यो अर्कै थोक- ‘कुनै बन्दी भएको छैन।’ काम लागेनन् हिन्दुत्वको वकालत गर्ने नाकाबन्दी कर्तालाई ‘उदार चरीतानां बसुधैव कुटुम्बकम्’। न काम लागे साफ्टा, बिमस्टेक, डब्लुटिओका सन्धि हस्ताक्षर! एक ठूलो माछा, एक सानो माछा! तब त बोल्दैनन् शक्तिराष्ट्रले शक्तिराष्ट्र ओत्न खोलिएका ‘राष्ट्र संघ’ र ‘सार्क’। न गुहार्न सक्छन् हाम्रा भनेकाले संसार।
महंगिएको खाद्यान्न दुगुनाको सट्टा डेढगुना मुल्यमा किनेर आउनसक्दा नाकका पोरा फुलाउँदै के छिरेथें, देख्छु एक कक्षे शिशु पुन्टुरे प्यान्ट र लोभलाग्दो स्कुले-शर्टमा रेडी। आपूर्ति बन्द भए’नी सरकारले उच्चारण गर्न नहुने ‘नाकाबन्दी’ले गला अँठ्याएको बेला बिचरोको स्कुल पनि बन्द भएको कुरा बुझाएर नि बुझ्दैनथ्यो चिचिलाको मन। “बाबु, तिम्रो स्कुल बन्द छ।” सुन्नासाथ ढुक्कसित भनिदिन्थ्यो- “अँ, हैन। ऐले भुइँचालो त आ’छैन, सटर्ड़े नि हैन। दशैं नि हैन।” खरै उतार्यो। भुइचालोले हल्लाएर कायल पारेको ‘दुई ढुंगाबिचको तरुल’लाई दक्षिणपट्टिको ढुंगाले थिचेर बेसरी झ्याँकेको कसरी बुझाउन सकिन्थ्यो र? तैपनि मानिहाल्ला भनेर मसार्न थाले बाबैले- “छोरो! अस्तिनै भुइचालोले गर्दा छुट्टी भा’को। ऐले चाहिं त नाकाबन्दीले हो नि!”
“किन भ’को ममी, नाकाबन्दी?” बच्चोले छोड्ने सुर गर्दैन। सुइय्य गर्दै ममी काखमा लिन्छिन्- “इन्डियाले गाडी चल्न चाइने कुरा नदिएर!” सुन्नासाथ मलिन हुन्छ ऊ। एकछिन भद्रहरुले बिचारेझैं भन्छ- “इन्डिया त कस्तो है ममी? मलाई त मनै परेन।”
पत्रिका हेर्दाहेर्दै बुज्रुक बोल्छन्- “यही हो इन्डियाले कमाएको अहिले! नेपालका चुला, गाडी, पत्रिका, उद्योग त सुक्दैछन् नै, यी चिचिलाका मनमा नि इन्डियाको अनुहार सुक्दैछ।”
सन्नाटा, अर्को बच्चाले चिर्छ- “ममी, भुइचालो चांडोचांडो आउछ कि नाकाबन्दी!” अभावहरुमा गाँजिएर हैरान भएको बेला नि त्यो गजब बालसुलभ बोलीमा गृहिणी फिस्स मुस्काउंछिन्- “क्यै थाहा हुन्न सानु!” मनको कमेन्ट अर्कै थियो- “ठिकै त सोधेछ, भुइचालो भन्दा नि शक्तिशाली नाकाबन्दी! ठुलो भुइचालो असी बर्षमा आएथ्यो! नाकाबन्दी त हर बीस-पचिस सालमा आएकै छ नि!”
“त्यसो भए अब मामाघर जाम्! छुट्टी भए’सी मामाघर जानी भन्नुभाको त हो नि!” शैशवकालको उत्कट अभिलाषा प्रकट हुन्छ। उसको के दोष! शक्तिको युगमा खुम्चेका सिमाना झैं खुम्चिनुपर्ने हाम्रो नागरिक अस्तित्व चिचिलाले किन मानोस्? बिचरालाई के थाहा, मोटरसाइकलको रित्तो ट्यांकी र बसको छतछतमा झुन्डिदै जानुको सास्ती सम्झेर ड्याडी- ममीले मामाघरको यात्रालाई तिलान्जली दिईसके भनेर!
म हेर्दै जान्छु, धिकिर धिकिरचलेको बाटो, सुक्खा सुख्खा जलेको माटो। भित्रकाले जलाएको, बाहिरकाले खुइल्याएको! भित्रराष्ट्र वा मित्रराष्ट्रका माग! लोडसेडिङको डरमा थरथरी काप्दै भए’नि जलेका हिटर! कहिले झ्याप्प बत्ति गएर खाना आधा पाकेर बिसाई मार्थ्यो। थन्किएका बाइक पेट्रोल नपाएपनि कुनैदिन पाइने आशमा पम्पओरिपरी तेर्सो ठड्याएर गजब सजिएका; छ उप-प्रधान मन्त्रीको लहर जस्तै। यही भयो हाम्रो साजसज्जा गणतन्त्रको।
कालोबजारीका सिलिन्डरसित किन्नपर्ने ग्यासभन्दा माटाका चुल्हा बन्न/भित्रिन थाले घरघरै। “अब दाउरामा पकाएर खानेहो। कुरै छैन! कसो?” बनाउनेको अनुहारमा शालीन आत्मनिर्भरताको खुशी देखिन्थ्यो। “दाउरै पो कहाँ छ र यहाँ पुगिसरी?” “जुटाउँला नि” मेरो प्रश्नमा आशावादी जवाफ दिन्थे। आडैमा उभिएको भाडामा बस्ने अर्को किशोरले प्वाक्क भनिदिन्छ- ‘मध्ययुगीन जीवन अभ्यास।’ मेरो मन भन्थ्यो- ‘जिगीबिशाको हैन जीविकाको!’
‘सामान्य’ झैं भैसकेको कसैलाई अनौठो नलाग्ने यो दशकौं अघिको जस्तो जीवनले अचानक ‘प्रोफेसर अल्बर्टो मार्टिनी’को याद दिलायो। इटालीका फेमस ‘रयुमाटोलोजी बिज्ञ’। आफ्नो पोस्ट-ग्राजुएट अध्ययनक्रममा उनसित क्यै समय बिताउने सौभाग्य पाएकोथिएँ। उनले भनेका थिए- “अविकसित देशमा ब्रेन एकदम छन्, तर ती ब्रेन आफु र परिवारलाई उभिन सक्ने पार्दा पार्दै गलिसक्छन्। दिमाग पुरै दैनिक जिविकाले रल्ल्याईदिएपछि नयाँ कदम र नयाँ खोजमा डुब्ने दम भएर नि डल्लिन्छ मान्छे।”
ठ्याक्कै त्यस्तै लागेकोछ यतिबेला। हाम्रो ध्याउन्ना नै खाना पकाउनु, सामान जुटाउनु र इन्धन जोहो गर्नुमा बल्झेकोछ। तेलका लाइनहरुमा छ हाम्रो शक्ति, तत्तु सबै। अफिस बिदा लिएर नि चारदिन ग्यासको लागि कुर्नुपर्छ हामीले। जब बाँच्न नै कसरत गर्नुपर्छ भने त्यो भन्दा अगाडी हामीले कसरी सोच्न पाउँछौं र? हाम्रो दिमाग दैनिकी अल्झाइदिनसक्नु नाकाबन्दी गर्ने शक्तिशाली छिमेकीको लागि खुशी र जितको कुरा हो; हाम्रोलागि हार।
मधेश अशान्त रहिरह्यो। निर्दोष व्यक्तिहरु घानमा परे। हाम्रो साधारण दिमागले बुझ्ने यत्ति हो। कोहीले रक्सौलका पराया मेसमा खाना खाएर हाम्रा ढोका थुने रे, ठुल्दाईसितै उनका विधानका भाका चुने रे। दक्षिणका ठुल्दाइहरुले हाम्रा पुलिसलाई बर्साए रे पत्थर! सीमापारीबाट फ्याकिएका तेजाबका बोतलले कसलाई डढाल्दैन र? आखिर नेपाली पनि त नाकाबन्दीले अधमरो बनेको भए’नी मान्छे नै त हुन्।
बस् खडेरी परेको देशभक्त नेता त हो! ‘मेरो गोरुको सयमा उनान्सय गुण छ, एउटा बैगुन छ, त्यो के भन्दा जोत्नेबेला बस्छ।’ भन्ने किस्सा झैँ छ हाम्रा शासकहरुको नालायकीपन। जब आउँछ, आधारभूत अधिकार र जनजीविकाको सवाल, या आत्मसम्मानको प्रश्न, जोत्नेबेला बसिदिन्छ्न्, यी जनता जनता कोकोहोलो हाल्ने तर छातीमा कहिल्यै देश जनता नधडकिने नेताहरु।
दशमी आयो, दशैं आएन। कुनै रंग चढेन गाउँशहर। तरपनि गाडीका छत डन्डी कतै समाउँदै, गरे थुप्रैले धैर्यताको आत्मपरिक्षा! चितवनका धानबालीमा मनग्गे मधेसी देखिएछ्न्। काट्ने थन्क्याउने ती असली मधेशीका आवाज़ अर्कै थिए- “मधेशको हैन मधेशनेताको आन्दोलन भयो त्यो। हाम्रो पापी पेटकोलागि त्यहाँ उपचार थिएन। बरु थियो आगो- आज्ञा नमान्ने आफ्नै दाजुभाई जलाउनेखालको!” मनमा अनौठो हुण्डरी चल्यो। त्यसो भए साँधका पुलमा बसेकाको बोली र दक्षिणको बोलीले सबै भूमिपुत्रलाई पिरोलेकोरै’छ। धान काट्दै गरेका मधेशी हात भन्थे “हामीलाई किन चाहिएको छ र सिमानाको राग? हाम्लाई त चाहिएको थियो छाक र छानो। मियो र मानो!” त्यहाँ पहाडले तराइलाई काखमा लिएको सुन्दर दृश्य देखेझैं भएछ हृदयलाई!
दशैं सकिए। भएका गाडीमा झुन्डिदै काठमाडौँ आए आशाका चेहराहरु। उपप्रधानमन्त्रीहरुको लाइनजस्तै बिरूप देखिने ग्यास र सवारीको लाइनले निलेकै थियो सडक। न बोल्थे हाम्रा अगुवा। न पग्लन्थ्यो क्रुर-छाती।
टेनेसी विलियम्स झुल्के विचारपटमा- ‘सबै क्रुरता प्रदर्शकले आफुलाई पारदर्शिताको उच्चतम उदाहरण ठान्छन्।’ आपूर्ति ठप्प भएर हाम्रो सास हत्केलामा आएपनि भारतले नेपालदेखि राष्ट्रसंघसम्म भनेकोभन्यैछ बिचरा ‘हामीले क्यै गरेका छैनौ।’ ‘अमानवीयता’ शक्तिवानको मुर्ख प्रदर्शन हो भन्ने कसले बुझाईदिओस् ठुला दाजुहरूलाई! कताकति चुहेका ट्यांकर आफ्ना पहुँचमा हुलेर आनन्द सुतिरहेकैछन् अगुवाहरु। तिनलाई कसले ब्युन्झाइदिने। “उद्यमेनैव सिध्यन्ति कार्याणि न मनोरथै: ।”
बाँकीको दिनचर्या चलेकै छ जेनतेन। महजोडीले उहिल्यैको नाकाबन्दीमा भनेझैं ‘मुख नभा’को; पुच्छर टाउकोमा गएका हामीहरु’। नाकाबन्दीका निलडामसित मस्त बसेका छौं उज्यालोको आसमा।
“दशैं बिदा सकियो, अब स्कुल जाने!” पुन्टुरे प्यान्ट र लोभलाग्दो शर्ट लाएर रेडी हुने त्यही पुस्ता फेरी तयार छ बालसुलभ मागसित। हामीसित क्यै जवाफ छैन। कपडा नखोली बस्छ त्यो चिचिलो लोड शेडिंगले निलेको हिटर छेउ। उसलाई काख लिंदै आमा तप्प दुई थोपा आँशु झार्छिन् र अनायासै सराप्छिन् आफैलाई- ‘धत्तेरी! के भा’को यो मन! सधै यही त छ कथा। किन रोएँ म?’ शायद आमाको आँखामा बच्चो नाकाबन्दीको निलडाम पढ्दै हुँदो हो मौनमौन।
मन बुझाउनलाई भएनी टनटनाएको निलडामलाई ढाडस दिन्छ मन- ‘कपुर आगोमा जल्दा झनै चम्किएझैं यो अनिकालमा खुट्टा फाल्नबाट बचाउनुपर्छ नेपाली साहसलाई!’ ऋग्वेदको सत्य दोहोर्याउंछ मन- ‘समानम् अस्तु वो मन: यथा व: सुसहा असति!’ हाम्रा निस्कर्ष एक होउन्, हाम्रा भावना जुटुन् देशलाई! हाम्रा मन एक बनुन्, हाम्रो तागत संगठित होउन् देशलाई!