दसैं तिहारमा लामो दुरीका सवारीसाधनमा यात्रा गर्नुपर्नेलाई 'दशा' लागेको हुन्छ। एउटा टिकटको लागि पनि निकै सोर्सफोर्स लगाउनु पर्छ। गौशालामा मैले चिनेको रमेशदाइ टिकट काउण्टरमा काम गर्थे। उनैलाई भनेर पूर्व जाने बसको 'ख' नम्बरको टिकट काटेको थिएँ। डेरा गौशाला नजिकै भएकाले अक्सर म त्यहीबाट नाइट चढ्थेँ। खचाखच भरिएको बसमा मेरो नजिकैको 'क' सिट खाली थियो। मुढा राखेर बस्नेसम्म ठाउँ नभएको बसमा खाली सिट देख्दा सबैले नजर लगाउथेँ र सोधिहाल्थे 'खाली हो?'
म रेडीमेट उत्तर दिन्थेँ -मलाई था छैन।
बस कलंकी काट्यो। थानकोट पुग्नै लाग्दा एक घुम्तीमा बस रोकियो। एक महिला गाडीमा चढिन्। खाली सिट उनकै रहेछ। मैले झ्यालको सिट छोड्दिदै बाटो दिएँ। तर उनले 'हैन तपाई त्यतै बस्नुस' भनेर मलाई नै झ्यालतिर बस्ने इसारा गरिन। अक्सर झ्यालको सिट रोज्ने मानिसहरूको बीचमा उनी फरक लागिन मलाई। नौबिसे पुग्दा अँध्यारो भैसकेको थियो ।उनलाई म नियालेर हेरिरहेको थिएँ। बसभित्र बलेको धिमा प्रकाशमा उनको श्यामश्वेत पहिरन र मलिन अनुहार धपधपी बलिरहे झैँ लाग्थ्यो। उनको सादगी देखेर मैले बोलाउने हिम्मत जुटाउन सकिनँ। उनको फोन आयो, उताबाट कुन ठाउँमा छौ भनेर सोधेछन क्यार उनले मलाई सोधिन-यो कुन ठाउ हो?
मैले 'नौबिसे भन्दिनु न' भनें।
केही समयपछि मैले धृष्टता गरेर सोधेँ- तपाई कहाँसम्म जाने हो? के काम गर्नुहुन्छ?
उनले एकै सास मा भनिन- म कसैलाई परिचय दिन्नँ र ब्यक्तिगत कुरा पनि भन्दिनँ' यो वाक्यले म निरास भएँ। मैले त्यस्तो अर्थमा सोधेको थिइन उनको बारेमा । पुरै रात बाँकी छ यसो गफगाफ गर्दै गए बाटो काट्न सहज हुने थियो भन्ने मात्र मेरो हेतु थियो।
तैपनि अब मेरो बोल्ने आँट आएन र म आइपडमा चुपचाप गीत सुन्न थालेँ।
खाना खाने ठाँउ आयो, म अक्सर लाइन होटलमा खाना खान्न। म बाहिर ननिस्किने देखेर उनले 'बाहिर नजाने भए मेरो झोला हेर्दिनुस न' भनिन्।
मैले भनें- अपरिचितको झोला रुग्ने गरेको छैन।
उनी अलि लज्जित भइन् सायद। मैले उनको अनुहारतिर पनि हेरिनँ। फेरि भनिन् -तपाईंले त मेरो कुराले माइण्ड गर्नुभयो क्यार?'
मैले उनीतिर नहेरेरै भने- होइन।
गाडीले फेरि रफ्तार लियो, उनी अलि खुलिन।
'म जन्मजात यस्तै कठोर हैन। समयले कठोर बनायो।' उनले अाफ्नो कहानी सुरू गरिन्। १४ वर्षको उमेरमा छोरो जन्माएकी रहिछन बेलडाँगीकी नम्रता परियारले । किशोर अवस्थामा घिमिरे थरका एक युवासँग भएको प्रेम विवाह र त्यो समयको वर्णन गर्दा उनका आँखा निकै बेर रसाइरहे। १३ वर्षमा भागेर गरेको बिहे र एकसाल पछि नै भएको सन्तानले उनलाई जीवनप्रति जिम्मेवारी मात्र बढाएन आत्मनिर्भर बन्न पनि सिकायो रे। अन्तर्जातीय विवाहका कारण घर छोड्न बाध्य भएर उनीहरु खनारको रिलायन्स धागो फ्याक्ट्री मा काम गर्दा रहेछन्। विस्तारै छोरा १ सालको भएपछि परिवारले चासो देखाउन थाले। अनि बेलाडाँगीमा उनकै श्रीमानको घरमा गएर बस्न थालेछन्। सबै कुरा राम्ररी चलिरहेको थियो रे। दुबै जना फेरि स्कुल भर्ना भएर एसएलसी पनि दिए।
समय सधैँ एकैनास चलिरहँदैन। एकदिन बिहान सामान्य घर झगडा पश्चात बाईक लिएर बाहिरिएका उनका श्रीमान चारकोसे झाडी नजिकै मृत भेटिएपछि उनको जीवनमा बज्रपात परेछ। उनको हत्या वा दुर्घटना जे भएको भए पनि नम्रताको जीवनमा कालो पोतिन सुरु भएछ। राम्रो सम्बन्ध स्थापित भैसकेको घरबाट एकाएक उनलाई श्रीमान हत्याको आरोप लाग्न थालेछ।
सबैले 'आफ्नै श्रीमानलाई त बाँकी राखिन अरुलाई के छोड्ली र' भन्दै 'यसलाई गाउँ निकाला गर्नुपर्छ नत्र हाम्रा छोरा भतिजालाई पनि यसले बिगार्छे, यो बोक्सी हो' जस्ता आरोप लगाए। अाफन्तकै प्रहार सहन नसकेर उनी हतोत्साही भइन।
'रुख देख्दा झुण्डिउ जस्तो लाग्थ्यो, पोखरी देख्दा फाल हालौं जस्तो लाग्थ्यो, म मर्न नसकेर बाँचेकी हुँ' उनले भनिन्। घरको सियोदेखि बारीका आलु चोरेकोसम्म आरोप उनीमाथि लाग्न थालेपछि मुटुको टुक्रा छोरालाई नै छोडेर एउटा चर्चको सहायतामा उनी काठमाडौं आइन्। रात कतिखेर बित्यो पत्तो भएन। उनका दर्दनाक कुरा सुन्दा सुन्दै इटहरी आइपुगिएछ। उनी त्यही ओर्लिइन् म धरानतर्फ लागें।
बाटोभरि सोचें एकल महिलाको दुर्दशा हाम्रो देशमा अकल्पनीय छ। हाम्रो समाजको कति निकृष्ट सोच छ विधवा महिलाहरुप्रति। यै समाजको कुसोच को कारण आज हाम्रो सनातन धर्म समेत बद्नाम भएको छ। कैयौं दलित तथा गरिब परिवारका पीडितलाई अन्य फिरंगी धर्मले आफ्नो छाँयामा पार्न सफल भएको छ। यस्ता कुरीतिको अन्त्य गर्नु हाम्रो जिम्मेवारी हो। एकल महिला तथा दलितहरुलाई सामाजिक सुरक्षा दिनसक्नु युवा पुस्ताको अभिन्न काम हुनुपर्छ।