अघिल्लो दिन मथि घरको ढिकीमा पिठो कुट्ने पालो नपाएकोले टिकाको दिन सबेरै घरको कामकाज र टिका लगाउने बन्दोवस्तको जिम्मा मलाई लगाएर आमा पिठो कुट्न माथि घर जानुभयो।
आगनी भरि छिरलिएका कोदोका बाला समेटेर ढाकढुक पार्दै टिका लगाउने ठाउँ लिपपोत गरेर बनाएँ। हिजैदेखि टिपेर बाहिर राखेका नांग्ला भरिका सयपत्री र मखमलीका थुंगाहरूलाई पहरा दिँदै मोति जस्तै टल्किरहेका थिए शीतका थोपाहरू कतिवेला भाइको गलामा माला बनाएर पहिराऊँ जस्तो लागिरहेको थियो।
उसो त आमाले भाइटीकाको दिन फलाम छुन हुँदैन आजै बनाउँ भनेर करकर गर्दै हुनुन्थ्यो तर मलाई यस्ता कुरामा विश्वास पटक्कै लाग्दैनथ्यो छुन हुँदैन भन्नको कारण दिदीबहिनीले एकदिन भएपनि आराम गर्नु भन्ने भएर होला भन्ने ऊ बेला होइन अहिले पनि लाग्छ त्यसैले अटेर गरी बिहान माला गाँसेँ।
टिका नलगाई खान हुँदैन भनेको हुनाले भाइबहिनी उठेर घडीहेर्दै थिए। तल्लो घरबाट सेलको बास्ना आउन थालिसकेको थियो अघिल्लो दिन नै घाँसका भारीले धन्सार भरि देखेर लाग्थ्यो गाईभैंसी पनि आनन्दित र खुसी छन्। मेरो मन पनि यसै यसै खुसीले फुरूंग र दंग थियो टिका लगाउने भन्दा पनि भरे देउसी खेल्न जान पाउँला भनेर मनमनै डर पनि थियो कतै आमाले जान दिनु हुँदैन कि भन्ने। रातिमा केटाकेटी मान्छे त्यो पनि छोरी मान्छे हिड्नु हुँदैन भनेर आमाले लगाउने बन्धनले मेरो लागि अशैय्य पिडा दिने गर्दथ्यो।
त्यही पनि काम गरेर आमालाई खुसी बनाएर अनुमति पाउने पर्खाइमा थिएँ।
यत्तिकैमा भाइले घर नजिकै खेल्न जान अनुमति माग्यो। घरकी ठूली छोरी भएकाले म सानै भएपनि कहिलेकाही अलि ठूलै जिम्वेवारी वहन गर्नुपर्ने हुन्थ्यो र भाइबैनीको लागि पनि आफू अनुशासित बन्नुपर्थ्यो। भाइबैनी पनि अनुशासित नै थिए भनेको मान्थे।
सानै भएपनि भाइ अझ मेरो विश्वासिलो थियो र इमान्दार पनि त्यसैले टाढा नजाऊ भनेर खेल्न पठाएँ। बैनीहरु पनि देउसी खेल्न जाउला दिउँसो भनेपछि सकि नसकी घर नजिकैको धाराबाट ग्यालेनमा पनि ओसारेर गाग्री भर्दै थिए।
आमा आउनुभयो मलाई भाइबैनीलाई नुहाईदिएर तयार गर्न भन्दै भान्छा तिर लाग्नुभयो। अचार तरकारी तयारी नै थियो सेल पकाउन थाल्नुभयो, म गोठको अगेनोमा ताउला भरि पानी तताउन राखेर भाइलाई बोलाउन गएँ।
सधै एक दुई पटक बोलाउन साथ हजुर भन्दै हतार हतार आइपुग्ने भाइ आज कयौं पटक बोलाउँदा पनि आवाजसम्म दिँदैन। मन डरायो भाइ सधै खेल्ने साथीको घर गए त्यहाँ पनि गएको रहेन्छ अब कहाँ जाऊ आमालाई भनौ भने झन आत्तिनु होला भनेर एक्लै खोज्न थालेँ।
तल्लो गाउँ गएँ सबै टिकाको तयारीमा थिए भाइको पत्तो भएन अत्तासिदै बारी खेतका कान्ला कान्ला हाम्फाल्दै बोलाउदै हिँडे सुनसान थियो। बाँसको घारीमा काग र टुनीका रूखमा न्याउलीको आवाज बाहेक केही सुन्दिनँ।
भाइलाई केही भयो भने परदेशमा भएका बाबालाई के भनौंला आमाले के गर्नुहोला एकाएकै रून थालेँ सबै अध्यारो लाग्यो। हे भगवान के गरौं कहाँ जाऊ? अलि पर एकजना आन्टी घाँसको डोको बोकेर आउँदै गरेको देखेँ हतार गर्दै रूदै सोधेँ मेरो भाइ देख्नु भाथ्यो र ? ३/४ जना केटाकेटी तल्लो बाटो पारी मगर गाउँ तिर गएका थिए। कुनकुन त थाहा भएन यति सुन्नासाथ म गए पनि नभनी अग्ला अग्ला खेतका गरा आँखा चिम्लेर हाम्फाल्दै थिएँ।
लाग्थ्यो म कुनै प्रतिस्पर्धामा सहजै प्रथम हुनेछु। निक्कै तल पुगेपछि ३ जना फुच्चेहरू भीरको बाटो माथितिर आउँदै गरेको देखेँ कामना गरेँ ती मध्ये एक मेरो भाइ होस्, मेरो भाइ ७/८ वर्षको फुच्चे यतिटाढा आजसम्म आएको छैन कसरि होला र? छ भन्नेमा पनि विश्वास लागेन, त्यै पनि दौडिँदै उतै गएँ।
हो जस्तै लाग्यो बोलाए बाबु ...माथि तिर टाउको ठड्यायो मलाई संसार जिते जस्तै लाग्यो नभेट्दासम्म भेट्न पाए ग्यर्लाम्म अंगालो हालेर मेरो भाइ भन्दै रूनेथिए जस्तै लागेको थियो। देखेपछी यो सारा दुःख दिएको देखेर रिस उठ्यो मलाई नजिकै देख्न साथ ऊ आफैं रातो अनुहार लगाएर रून थाल्यो।
डरले, कसले लिएर आएको यहाँ भनेर कराएँ तीन जना मौन थिए एउटा प्लास्टिकको झोलामा २ रुपैयाँका केहि नोट र चामल थियो मलाई कुरा बुझ्न गार्हो भएन।
देउसी खेलेर चामल र पैसा धेरै दिन्छन त्यही चामलले बनभात खाने भनेर यहाँ आएको भन्दै तीनै जना रून थाले।
घरमा खान पाएका छैनौ भन्दै गाली गरेँ। मलाई आमाले प्रयोग गर्ने शव्द सापटी लिएर गाली गरेँ। तर त्यसरी आएको चामल पैसाले खाने बनभातको महत्व मलाई पनि कम कहाँ लाग्ने होर।
पसिनाले निथ्रुक्क भिजेको भोक र थकाई त्यसैमाथि डरले ओइलिएको फूलजस्तै बनेको मेरो भाइलाई सुम्सुम्याउँदै हिँडेँ।
गाउँमा सबैको घर टिका लगाउन थालिसकेका थिएँ, घर आमाको होसवास उडेको होला घरपुगेपछि आमाको गाली खाने पक्का थियो। भाइलाई लिएर खुसी हुँदै घर आएँ।
आमा पनि खोजेर भर्खर आउनुभएको रहेछ रूदै हुनुन्थ्यो देखेर खुसी हुनुभयो। भरे के के गर्छु पर्ख अहिले छिट्टो हातखुट्टा धोएर कपडा लगाउन भन्नुभयो बैनीहरू पनि खुसी भए र भाइका चिसो र धूलोले फुटेर राता बनेका गाला हात खुट्टा तातोपानीले धोइ नुहाई दिएर आफूपनि तयार वनेर टिका लगायौं।
हराएको भाइ भेटेँ टिका लगाइदिएँ भाइटिकाको मूल अर्थ थाहा थिएन तर भाइको माया र महत्व त्यो बेलादेखि नै थाहा थियो, त्यति बेला मेरो भाइ एकछिन हराएको थियो, अहिले नेपाली लाखौं मेरा दाजुभाइ गरिबी र बाध्यताले वर्षौंदेखि परदेश तिर हराएका छन्। लाखौ दिदीबहिनी खुसी खोज्न विदेसिएका छन्। सवै नेपाली दाजुभाइ दिदीबहिनी सँगै भएर नेपालको आँगनीमा सप्तरंगी लगाएर सयपत्री र मखमलीको माला पहिरिने दिन छिट्टै आवोस् कामना गर्दछु।